आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
व्यङ्ग्य

उपप्रधानमन्त्रीज्यूहरू, आउनुहोस् ‘कल ब्रेक’ खेलौँ

बुधबार, ०४ माघ २०७९, १८ : २२
बुधबार, ०४ माघ २०७९

चार जनाको कोरम पुगी हाल्यो, यो पदमा काम केही छैन, ट्याम पास कसरी गर्ने ? आउनुहोस्, उपप्रधानमन्त्रीज्यूहरू कल ब्रेक (ओटी) खेलौँ । 

अब खाल कहाँ जमाउने भन्नुहोला ? बिना विभागीय मन्त्रालयको  अफिस खाली छ सिंहदरबारमा त्यही जमाऔँ खाल । त्यहाँ भौतिक पूर्वाधार (टेबल, कुर्सी, गलैँचा, चकटी) छँदैछन् । पूर्वाधार मन्त्री भएको ठाउँ पूर्वाधारको के कमी ? 

रातीसम्मै खेल्ने भए त्यहाँ बत्ती पनि जाँदैन । ऊर्जा मन्त्री भएको ठाम ऊर्जा संकट हुन्न के । अर्थमन्त्री सँगै भए पैसाको के कमी ? गृहमन्त्री पनि खालमै भए कसले छापा मार्ने ? खाल गज्जब जम्ने भो । 

ढुक्क  भएर खेल्नुहोस्, बरु सचिवहरूलाई सितन–पानीको व्यवस्था गर्ने ठाडो आदेश दिनुहोस् । 

फेरि कल्ले पहिले बाँड्ने, कल्ले ठाउँ रोज्ने ? भन्नुहोला । वरियताअनुसार जाम्ला नि । वरियतामा लिङ्देन कान्छै हुन् क्यारे । 

नभए एक हात हान्दिम् । जित्नेले बाँड्छ (जान्ने ले छान्ने के), लास्ट हुनेले ठाउँ रोज्ला । यसमा सहमति नमिले एक एक तास तानम्ला । 

तर, कसैको एक्का आए त बर्बादै हुन्छ ।  सबै मै  ठूलो (एक्का) भन्लान् ।  बास्सा (राजा) आए लिङ्देनलाई बाँड्न दिम् । मिस्सी (रानी) आए फेरि तास तानम्ला । किनकि यो खाल उपप्रधानमन्त्रीमण्डलमा महिला छैनन् । त्यसैले, मिस्सी आए बदर । 

आउनुहोस्, नियम पनि बनाऔँ ।  हुकुम (तुरुप) नआए फेरि बाँड्ने । हुकुम त सबको चल्नु पर्यो । अनि मिस्सी या मिस्सी घटीको मान्छे (फेस कार्ड) आए फेरि बाँड्ने । यहाँ सबै मै एक्का या राजा चाहियो भन्नेहरू छन् ।  महिला छैनन् । त्यसैले मिस्सी गनिन्न ।  गुलाम त झन्, को गुलाम यहाँ छ र ? यहाँ त सब मालिक । 

ढुक्क भएर खेल्नुहोस् ।  के चिन्ता छ र ? गठबन्धन  छँदैछ । संसद्मा सबको साथ छ ।  प्रतिपक्ष नै छैन ।  कसले प्रश्न गर्ने ?  हम सात साथ है ।  ढुक्कै ढुक्क, कम्फर्टेबल  सरकार  छ ।  

कुर्सी  टिकाइरहन दक्षिणेश्वर महाराजको धाममा ढोगभेट गर्न जाने भनिसक्नु भो । उत्तर तिरको वर्षाको मान कमरेडले राखेकै छन् ।  नत्र उपचार गर्न उत्तरको अस्पताल गए भैगो । 

न्यूनतम साझा कार्यक्रम भइगो र बजेट भाषण त्यसैलाई निरन्तरता दिने हो । महिलाहरूलाई संसद् मन्त्रीमा समावेशी नभए पनि प्याड किन्न १५०० दिने भनी सक्नुभयो । 

अब असार लागे अलि बाटामा घाँस उम्रे उखेल्न प्रधानमन्त्री रोजगार कार्यक्रम छँदै छ । जयजयकार गर्ने आफ्नै गुटका कार्यकर्ता छँदैछन् ।  कराउने कराउँदै गरुन्, काग कराउँदै छ, पिना सुक्दै छ ।

आर्थिक मन्दी भ्रम हो । आईएनजीओ अनुदान र दातृनिकाय ऋण दिइहाल्छन् । आयात प्रतिबन्ध हटिगो, कर असुली भइहाल्छ । आफ्नै सरकार छ । पुलिस, अख्तियार पनि नियुक्ति बढुवाको आसमा जे भन्यो, त्यही गरिहाल्छन् । राजदूतमा  आफ्नै छोरा, भतिजा भरम्ला । अन्य उच्च निकायमा आफ्नै कार्यकर्ता भागबन्डामा राखौँ ।

लिपुलेकको नक्सा पास सबैले गरेकै हो, अरू के चाहियो ?  प्रतिपक्ष आफ्नै खुट्टामा बन्चरो हान्ने खालको छ । अन्य पक्ष धेरै उफ्रे पार्टी प्रवेश गराई या गठबन्धनमा सामेल गरी एक दुईलाई मन्त्री दिन्छु भने भैगो ।

आफ्नो गाउँ, आफैँ बनाऊँ, स्थानीय प्रतिनिधिले हेरिहाल्छन् । प्रदेशका सांसद भए के, नभए के ? मन्त्री बनाउन ज्वाइँ छँदै छन् ।  

चार जनाको कोरम पुगी हाल्यो । यो पदमा काम केही छैन, ट्याम पास कसरी गर्ने ? आउनुहोस्, उपप्रधानमन्त्रीज्यूहरू कल ब्रेक (ओटी) खेलौँ ।

खप्तडछान्ना गाउँपालिका–५, पिठातोला, बझाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णुप्रसाद जोशी
विष्णुप्रसाद जोशी
लेखकबाट थप