बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
राजनीति

सभामुख निर्वाचनको अङ्कगणित : एमालेका देवराजको पक्षमा बहुमत !

बुधबार, ०४ माघ २०७९, १५ : ४५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार सत्ता गठबन्धनबाट देवराज घिमिरे र विपक्षीकातर्फबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गरेसँगै सो पदमा घिमिरे र न्यौपानेबिच प्रतिस्पर्धा हुने भएको हो । सभामुख चयनका लागि बिहीबार निर्वाचन  हुँदैछ ।

उम्मेदवारी दर्ता अघि कांग्रेसले सरकार बाहिर रहेका दलहरूबिच मोर्चाबन्दी गर्ने प्रयासस्वरुप एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल गरेको थियो । कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । तर जसपा र लोसपा प्रस्तावक र समर्थक दुवैमा नबसेपछि ती पार्टीका सांसदहरूको मत कुन उम्मेदवारलाई दिन्छन् भन्ने अहिले नै निश्चित भएको छैन । जसपा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जसपालाई दुई मन्त्रालय भाग लगाएपनि भागबन्डामा कम मन्त्रालय दिएको भन्दै सरकारमा सहभागी भएको छैन ।

325819249_596435648961789_9000067752878776302_n

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेपनि सांसदको अङ्कगणितका आधारमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद घिमिरे निर्वाचित हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै भएको छ । सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ सांसद (मत) आवश्यक पर्छ ।

घिमिरेले उम्मेदवारी दर्ता गर्दा प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ बसेका छन् भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक रहेका छन् । प्रतिनिधि सभामा नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन्, यो सङ्ख्या जोड्दा १४५ पुग्छ । घिमिरेलाई जसपा र लोसपाले पनि मत दिए यो उनको पक्षमा १६० मत कट्ने देखिन्छ । जसपाका १२ सांसद छन् भने लोसपाका ४ जना सांसद रहेका छन् । यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत घिमिरेलाई सहयोग गर्न सक्ने भएकाले घिमिरेको जित निश्चित रहेको एमाले सांसद योगेश भट्टराई बताउँछन् ।

ishwori neupane

को हुन् देवराज ?

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा घिमिरे ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ मा २०१३ जेठ १३ गते जन्मिएका हुन् ।

स्नातकसम्मको शैक्षिक योग्यता रहेका घिमिरेले बाल्यकालमा स्थानीय श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको प्रारम्भ गरेका थिए । पछि ताप्लेजुङको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौँबाट स्नातक गरेका छन् ।

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)को विद्यार्थी संगठनमार्फत घिमिरे पार्टीमा होमिएका थिए ।

२०३३ सालपछि शिक्षालाई समेत थाती राखेर पार्टी सङ्गठन निर्माणमा खटिएका घिमिरेले भूमिगत अवस्थामै कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

२०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाको तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज भएर घिमिरेले काम गरिसकेका छन् ।

२०५८ सालमा एमालेको केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा सङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्जको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।

२०७५ सालमा तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बनेका उनी भूमिगत राजनीतिमा रहँदा पञ्चायती शासकले गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पुर्जी जारी गरेको थियो ।

 २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका घिमिरे २०७९ मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए । घिमिरे एमालेमा केपी ओली र माधव नेपाल गुट हुँदा सधैँ ओलीकै पक्षमा खुल्दै आएका थिए ।

एमाले सचिव योगेश भट्टराई घिमिरे पार्टीमा लामो समयदेखि योगदान दिएका र पुरानामध्येका एक नेता रहेको बताउँछन् ।

‘उहाँले पार्टी निर्माणमा लामो समयदेखि भूमिका खेल्नुभएको हो । खासगरी पूर्व मेचीका लागि उहाँ पुरानो र पार्टीमा योगदान दिएका नेताहरुमध्ये अग्रपंक्तिमा आउनुहुन्छ’, सचिव भट्टराईले घिमिरेको राजनीतिक योगदानबारे बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप