आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अष्ट्रेलियाको सांगीतिक यात्रामा नेपथ्य, आठ सहरमा प्रस्तुती रहने

बुधबार, ०४ माघ २०७९, १५ : २९
बुधबार, ०४ माघ २०७९


काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुतीसहित अष्ट्रेलियाको छ सहरको सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ ।

‘मानवताका लागि संगीत' नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशब्यापी यात्रा सफलता पूर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरुको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए । अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रबर्धन गर्न सफल भएको जस संकलन गरेको थियो ।    

"सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतीहरुलाइ ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौँ" नेपथ्यका अगुवा अमृत गुरुङले भने। 

नेपथ्य ' म्युजिक फर ह्युम्यानिटी' अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिन स्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट  प्रारम्भ हुने छ । त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा सम्पन्न भएसँगै चौथो प्रस्तुतीको लागि अष्ट्रेलियाकै केन्द्रिय राजधानी क्यानबेरामा पुग्ने छ । फेब्रुअरी ३ तारिख शुक्रबारका दिन त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले प्रस्तुती दिनेछ । यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ ।

पाँचौ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । फेब्रुअरी ५ तारिख आइतबारका दिन ब्याण्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ ।
त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ ।

सिड्नी पछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनौट गरिएको छ । सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेशन नजिकै रहेको छ ।  

त्यसपछिको नेपथ्यको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ । त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरु घन्कने छन् ।

नेपथ्यको अस्ट्रेलिया यात्राको लागि छ जना संगीतकर्मी सहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दैछ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप