मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रेखा शर्माको राजनीतिक यात्रा : जेल जीवनदेखि सञ्चार मन्त्रीसम्म

बुधबार, ०४ माघ २०७९, १२ : ४७
बुधबार, ०४ माघ २०७९

रुपन्देही । नेपाली राजनीतिमा महिला सशक्तीकरणको आवाज बुलन्द गर्दै अहिले नेपाल सरकारको सञ्चार मन्त्री बन्न सफल एक नेतृको नाम हो रेखा शर्मा । दाङ जिल्लाको घोराहीमा ९ असोज २०२६ सालमा जन्मेकी नेतृ रेखा शर्माले वि.सं. २०४३ सालतिर राजनीतिक जीवनको प्रारम्भ गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य समेत रहेकी मन्त्री शर्मा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं। २ बाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै तेस्रो पटक संसद् छिरेकी हुन् । अनेकौँ राजनीतिक उतारचढाव झेल्दै नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान ओगट्न सफल नेतृ शर्माले महिला सशक्तीकरणको अभियानमा पनि उलेख्य भूमिका खेलेकी छन् ।

१८ वर्षको उमेरमै दाङ जिल्लामा अखिल क्रान्तिकारीको उपाध्यक्ष बनेकी शर्मा २२ वर्षको उमेरमा, वि.सं. २०४८ सालमा अखिल नेपाल महिला सङ्घ दाङको अध्यक्ष बनिन् । २४ वर्षको उमेरमा युवा सङ्गठनको केन्द्रीय सदस्य भएकी शर्मा २७ वर्षको उमेरमा अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष समेत बनिन् । सामान्य जीवनशैली अपनाउने नेतृ शर्माले स्थानीय तहदेखि केन्द्रीय राजनीतिमा बिस्तारै पहुँच कायम गरेकी छन् ।

वि।सं। २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बनेकी शर्माले जनयुद्धकलामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिन् । जनयुद्धकै क्रममा वि।सं। २०५८ साल चैतमा उनी साही नेपाली सेनाद्वारा काठमाडौँको चाबहिलबाट पक्राउ परेकी थिइन । रेखाले प्युठानका माओवादी नेता कृष्णध्वज खड्कासँग विवाह गरेकी छन् । चाबहिलमा रेखासँग उनका पति खड्का पनि पक्राउ परेका थिए । उनीहरू एक वर्षको जेल जीवनपछि रिहा भएका थिए । खड्का लुम्बिनी प्रदेशका पूर्व मन्त्री पनि हुन् ।

अनेकौँ राजनीतिक उतारचढाव झेलेकी दाङकी एक सशक्त महिला नेतृ रेखाले विभिन्न जिम्मेवारीमा सरकारमा रहेर काम गरेकी छन् । वि.सं. २०७० सालमा संविधान सभा सदस्य बनेकी शर्मा ०७४ सालको निर्वाचनमा पनि समानुपातिकबाट सांसद थिइन । यसअघि सामान्य प्रशासन मन्त्री भइसकेकी नेतृ शर्मा हिजो मङ्गलवार मात्रै गठित पाँच दलीय संयन्त्रको सरकारमा सञ्चार मन्त्री नियुक्त भएकी छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिधा सम्पर्कमा रहेर राजनीतिक गतिविधिमा सक्रिय रहेकी शर्माले छोटो समयमै उच्च राजनीतिक हैसियत बनाएकी छिन् । हिजो मङ्गलवार मात्र सञ्चार मन्त्रीको शपथ लिएपछि नेतृ शर्माले सूचना प्रविधि क्षेत्रको स्तरोन्नति आवश्यक रहेको बताएकी छन् । नौलो अनुभव भए पनि मेहनतका साथ आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप