सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अञ्जुको शोकमा डुबेको छ चाँदनीचोक

बुधबार, ०४ माघ २०७९, ११ : ५५
बुधबार, ०४ माघ २०७९

विराटनगर । विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ ।

काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२  सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो । 

को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन । बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गरेका थिए ।

विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्तझैँ हुछिन् । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गरेकी छिन् । नातिनीको वियोगमा उनले खानपिउनसमेत छाडेकी छिन् ।

छिमेकी र आफन्त को–पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गर्छिन् । हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताइन् । उनले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताइन्। विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने गर्थिन् ।
 
भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकी थिइन् । तर निम्ता अधुरै रह्यो । अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मनपर्ने भन्दै हजुरआमा शुभद्राले माइतीको पक्का घर पनि अञ्जु आफैँले ठड्याएको बताइन्। छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा शुभद्राले बताइन् । 

फूपू प्रमिला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन् । काका पुण्यप्रसाद खतिवडाले भतिजी अञ्जुमा कहीँकतै खोट लगाउने ठाउँ नभएको बताए । उहनी पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्कानिए । मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमान्को विमान दुघर्टनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए । 

दुघर्टनाको दिन पनि बिहान को–पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँंग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए । को–पाइलट अञ्जुको पहिलो श्रीमान् दिपक पोखरेलको पनि यति एयरलाइन्सको विमान दुघर्टनामा नै निधन भएको थियो । पोखरेलको निधनपछि अमेरीकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा यती एयरलाइन्समा को–पाइटलको रूपमा कार्यरत थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप