को हुन् मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल ?
जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा धनुषा निर्वाचन क्षेत्र १(२) बाट चुनाव जितेका नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ७४ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् ।
नेकपा एमालेका २४, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७ , राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध प्रसाद सिंहले मण्डलको पक्षमा मत दिएका हुन् ।
उनको विपक्षमा नेपाली कांग्रेसका २३ र नेकपा एकीकृत समाजवादीका ७ गरी कुल २९ जनाले मत दिएका थिए ।
२०३० साल श्रावण १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मिएका मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका सभामुख मण्डल उर्फ ‘मास्टर साहब’ सानै देखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै आएका व्यक्ति हुन् ।
मास्टर साहेव उपनाम भएको नवनिर्वाचित सभामुख मण्डल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरूलाई पढाउने उनलाई त्यसबेला देखिनै सबैले ‘मास्टर साहब’ भनेर बोलाउँथे र आज पनि उनलाई सोही नाउँबाट अधिकांशले बोलाउने गर्छन् । जनयुद्धकलामा शिक्षक पेसामा आबद्ध भएका भएका कारण पनि उनको नाम मास्टर साहब’ रह्न गयो ।
२०४६ सालमा नेकपा मालेबाट राजनीति यात्रा सुरु गरेका सभामुख मण्डल सोही २०४६ सालमा नेकपा माले गाउँ कमिटीको सचिव भएका थिए ।
त्यस्तै २०४७ सालमा उनी अखिल नेपाल स्वतन्त्रता विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य हुँदै काठमाडांै–धनुषा सम्पर्क मंचको संस्थापक अध्यक्षसमेत रहे ।
त्यसपछि उनी २०५४ देखि २०५९ सालसम्म शिक्षण पेसामा आबद्ध रही सामाजिक सेवा लगायतका काम गरे ।
माओवादी जनयुद्धको सुरुवातमा माओवादीको गतिविधिमा लागेका सभामुख मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए ।
अखिल नेपाल शिक्षक संगठनका संस्थापकको जिम्मेवारी समेत निर्वाह गरेको सभामुख मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज भएका थिए । त्यसैगरी २०६३ सालमै उनी ०६३ सालमा सेक्रेटरी केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्यको भूमिका समेत निर्वाह गरे ।
त्यसैगरी २०६४ मा अन्तरीम सरकार गठन पश्चात् ग्रामीण आवास कम्पनीको महाप्रबन्धक नियुक्त हुँदै कम्पनीको नेतृत्व गर्ने मौका उनले पाएका थिए । नियुक्त भएलगत्तै केही महिनापश्चात् भएको संविधानसभाको पहिलो निर्वाचनमा भाग लिएपनि उनी पराजित भए ।
२०६५ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा जनकपुर क्षेत्र विकास परिषद्को नेतृत्व पनि उनले गरे । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा समेत सभामुख मण्डलले भाग लिए । उनले दोस्रो पटक पनि हार व्यहोर्नु पर्यो ।
मुलुकमा संघीयताको जग बसाल्दै गर्दा २०७४ सालमा भएको निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भए । तत्कालीन समयमा उनी माओवादी केन्द्रबाट निर्वाचित हुँदै पार्टीको दलको नेतामा पनि चयन भएका थिए ।
मधेस प्रदेशमा तत्कालीन समयमा उनी प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति हुँदा नेकपाको विभाजनसँगै नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीबाट कारबाही भोग्नु पर्यो । त्यसबेला उनको सांसद पद पनि कारबाहीमा परेको थियो ।
२०८९ सालमा पुनः धनुषा १(२) बाट निर्वाचित उनी प्रदेशको सभामुख बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते