मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

लोप हुँदै माटोको भकारी

मङ्गलबार, ०३ माघ २०७९, १२ : १८
मङ्गलबार, ०३ माघ २०७९

जुम्ला । पहिले जुम्लाका घर–घरमा रहेको माटोको भकारी हेरेर परिवारको सम्पन्नता आकलन गरिन्थ्यो । खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो, त्यो परिवार त्यति नै सुखी, सम्पन्न रहेको मानिन्थ्यो ।

घरमा रहेको ढरा वा भकारीको संख्या र आकार प्रकारले परिवारको धनसम्पत्ति, खेतलगायत सो परिवारसँग रहेको श्रीसम्पत्ति आकलन गर्ने आधार हुन्थ्यो । तर अचेल गाउँघरमा माटोको ढरा र भकारी बिरलै देख्न पाइन्छ ।

जुम्लाको गाउँमा अन्न भण्डारणका लागि बनाइने माटोको भकारी लोप हुन थालेको छ । ‘गाउँमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको भकारी हेरेर उसको आर्थिक हैसियत आकलन गरेर वैवाहिक सम्बन्ध गाँस्ने गरिन्थ्यो तर अब भने न भकारी नै छन्, न त अब ती परम्परा प्रचलमा रहे,’ सिंजा– ६ की कुसा बुढा भन्छिन् ।

परम्परा, संस्कृति, कला र साहित्यको अनुपम उदाहरणका रुपमा रहेको विशिष्ट पहिचानयुक्त माटोको ढरा बनाउने परम्परा लोप हुँदै गएको स्थानीयवासी बताउँछन् । माटोको भकारीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित रहने भएकाले खाद्यान्न भण्डारणका लागि यो उपयुक्त मानिन्छ। धान, चामल, गहुँ, जौ, कोदो, फापर, सिमी, मकै, कागुनो लगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको भकारी अति उपयुक्त मानिन्थ्यो ।

माटोको भकारीको साटो प्लास्टिकका भाँडावर्तनको प्रयोग बढ्न थालेसँगै भकारी लोप हुन थालेको हो ।

सिंजा–६ कै लुहारे बुढाका अनुसार उत्पादित खाद्यान्न प्लास्टिकका भाँडामै अटाउने भएपछि भकारी बनाउने क्रम लगभग सकिएको छ ।

लेसिलो कालो वा रातो माटोमा गाईको गोबर र पानी मिसाएर मुछ्दै महिनौं लगाएर भकारी बनाइने गरिन्थ्यो । ७५ वर्षीय कालो बुढाका अनुसार  हिउँदमा भकारी बनाउने लहर नै चल्थ्यो । नयाँ पुस्तालाई भकारी बनाउने कलासमेत थाहा हुन नसकेको स्थानीयवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप