पाल्पाका विभिन्न ठाउँमा पिउने पानी दूषित

पाल्पा । पाल्पा जिल्लाका विभिन्न स्थानमा पिउने पानीको जाँच गरिएको छ । खानेपानीको जाँच गर्दा कोलफर्म र इकोलीका जीवाणु भेटिएको छ । यी जीवाणुले पानी दूषित रहेको पुष्टि गर्दछन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पुष्टि भएको हो । तिनाउ, रिब्दीकोट, बगनाकासकाली र माथागढी गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच गर्दा इकोली र कोलिफर्मका जीवाणु फेला परेको हो ।
स्वास्थ्य कार्यालय पाल्पाले रैनोदेवी छहराका दुई, तिनाउका दुई, माथागढीका दुई, बगनासकालीका एक, तानसेनका एक र रिव्दीकोटका दुई वटा स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँज गरिएको थियो । नौँ वटा स्वास्थ्य संस्था र एउटा व्यक्तिको घरको पिउने पानीको जाँच गरिएकोमा पाँच संस्थामा प्रयोग हुने पानी दूषित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिए ।
ती संस्थामा बिरामीले प्रयोग गर्ने पानीमा इकोली र कोलिफर्म जीवाणु फेला परेको भट्टराईले बताए । रिव्दीकोटको कुसुमखोला स्वास्थ्य चौकी, तिनाउको दोभान स्वास्थ्य चौकी, माथागढीको रहबास स्वास्थ्य चौकी, माथागढीकै गोठादी स्वास्थ्य चौकीमा बिरामीले पिउन प्रयोग गर्ने पानीमा कोलिफर्म र इकोली जीवाणु भेटिएको हो । यस्तै बगनासकालीको एक घरमा प्रयोग भएको पिउने पानीको जाँच गर्दा समेत कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाभरका २५ भन्दा बढी स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच तथा सुधारका उपाय अपनाउन पानीको परीक्षण सुरु भइरहेको छ । सोही क्रममा केही स्वास्थ्य संस्थामा प्रयोग हुने पानी दूषित पाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘स्वास्थ्य संस्थामै बिरामीले प्रयोग गर्ने पिउने पानी दूषित देखियो' उनले भने– 'पानी शुद्ध र पिउन योग्य बनाउन आवश्यक सुधार गर्न पालिकालाई सुझाव दिइएको छ ।’
स्वास्थ्य कार्यालय पाल्पाले पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पीएच, इकोली र कोलिफर्मको जाँच गरेको जनाएको छ । पानी दूषित भेटिएपछि दूषित भएको कारण पत्ता लगाउन र समस्या समाधान गर्न सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लाभर नै पानीको गुणस्तर जाँच गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ध्यानकर्षण गरिएको बताए ।