बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री महेश बस्नेतका बुवा जसले लिए ७० वर्षमा स्कुटरको ‘लाइसेन्स’

मङ्गलबार, ०८ फागुन २०७४, १२ : ०७
मङ्गलबार, ०८ फागुन २०७४

७० वर्ष ६ महिना पुग्दा गुन्डु, भक्तपुरका पूर्णबहादुर बस्नेतले स्कुटरको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिए । ४४ वर्ष साइकल चलाएका बस्नेतले गत माघमा लाइसेन्स लिएका हुन् । 

‘लाइसेन्स’ विना स्कुटर चलाउँदा ट्राफिक प्रहरीले समाते समस्या हुन्छ भनेर छोराले सुझाएपछि उनी ‘ड्राइभिङ सेन्टर’ पुगे । घन्टाको पाँच सय रुपैयाँ बुझाएर एक साता सिकेपछि पहिलोपटकमै ‘ट्रायल पास’ गरे । उनले खुसी व्यक्त गरे, ‘लाइसेन्सका लागि पास भएको दिन असाध्यै खुसी लाग्यो । खुसी कसलाई सुनाऊँ, कसलाई सुनाऊँ भयो ।’ 

‘तपाईंले लाइसेन्स लिएकै हो ? भन्दै स्थानीय ज्येष्ठ नागरिक घरमै सोध्न आउँछन्,’ उनले सुनाए, ‘हामीले पनि लाइसेन्स लिन पाउँछम् भनेर सोध्छन् । मैले पाइन्छ भन्दिन्छु ।’ 

विनालाइसेन्स स्कुटर चलाउँदै आएका उनलाई ‘ट्रायल पास’ गर्न अप्ठ्यारो थिएन । लिखित परीक्षाका लागि भने नातिनीसँग तयारी गरे । नातिनीले मोबाइलमै दुई–तीन दिन पढाइन् । सिकाइन् । उनले एकैपटकमा लिखित परीक्षा पास गरे । लिखित परीक्षा पास गरेको साता दिनपछि उनी ‘ट्रायल’ मा गएका हुन् ।

कपाल सेतै फुलेका उनलाई ड्राइभिङ सेन्टर पुगेका अन्यले ठट्ट्यौलीपारामा कालो मेहेन्दी लगाएर आउन सुझाउँथे । ‘कसैले त्यसो भने पनि मलाई अप्ठ्यारो लागेन,’ उनले विगत सम्झे, ‘बरु मपछि ‘ट्रायल’ दिएका पाँच बहिनी ‘फेल’ भएर धुरुधुरु रुँदा नजाती लाग्यो ।’

संवत् २०६९ चैत १५ सम्म साइकल चलाएका उनी स्कुटर सिक्दा कहिल्यै लडेनन् । बरु साइकल चलाउन सिक्दा लडेको थिएँ । ‘नातिनीले स्कुटर किनेपछि मैले पनि चलाउन थालें,’ पूर्वमन्त्री महेश बस्नेतका बुवा पूर्णबहादुर बस्नेतले भने, ‘स्थानीय रुटमा चल्ने बसका चिनेकै चालकले म सिकाइदिन्छु भने । म स्कुटरमा बसें । उसले पछाडिबाट स्कुटर समातिदियो । म अघि बढिइहालें । उसले पख्नुस्–पख्नुस् भने पनि म रोकिइनँ ।’ त्यसपछि घरवरिपरि साता दिन चलाएँ । साता दिनपछि स्कुटर लिएर ‘मेनरोड’ निस्कें । साइकलभन्दा स्कुटर चलाउन सजिलो थियो । 

बस्नेतले चार वर्ष ‘लाइसेन्स’ विना स्कुटर चलाए । उनले श्रीमतीलाई स्कुटरपछि राखेर कहिले पशुपतिनाथ, कहिले बंगलामुखी त कहिले धनेश्वर र आशापुरी पुर्याउँथे । धर्मकर्ममा रुचि राख्ने उनी श्रीमतीसँगै मठमन्दिर गइरहन्छन् । 

‘विनालाइसेन्स स्कुटर चलाए पनि कहिल्यै डर लाग्दैनथ्यो,’ उनको भनाइ छ, ‘सही तरिकाले चलाएकाले होला, ट्राफिकले कहिल्यै समातेन । साइकल चलाउने भएकाले ट्राफिक नियम थाहा पाउन सजिलो भयो ।
छिटो र सजिलो खोज्नु मानवीय स्वभाव नै हो । छिटो र सजिलो खोज्नु अस्वाभाविक होइन । यो स्वभाव पूर्णबहादुर बस्नेतको जीवनमा समेत लागू हुन्छ । त्यही भएर उनले साइकल छाडेर स्कुटर चलाउन थाले । छोराले ‘लाइसेन्स’ निकालेपछि मात्रै चलाउनु भनेपछि उनले नाइँ भन्न सकेनन् । स्कुटरमा जाँदा घरबाट आधा घन्टाको दूरीमा रहेको ड्राइभिङ सेन्टर जान जाँगर चलाए । छोराले सुझाएअनुसार लाइसेन्स लिए । ‘६० वर्ष पार गरेकालाई लाइसेन्स दिँदैन रे भन्ने सुनेको थिएँ,’ बस्नेतले सुनाए, ‘छोरोले बुझिदिए । पाउँछ भनेपछि ड्राइभिङ सेन्टर दौडिइहालें ।’

काठमाडौं उपत्यकामा सडकको क्षेत्रफलभन्दा सवारीसाधन बढी छन् । अनुशासित भएर सवारीसाधन चलाउने नगन्य छन् । ‘स्कुटर त सवारीसाधन होइनजस्तोगरी ठूला सवारीसाधनले बाटो दिँदैनन्,’ बस्नेतनिवासमा भेटिएका उनले दुःखेसो पोखे, ‘त्यसैले म तीव्र गतिमा हाँक्दिनँ । ओभरटेक गर्दिनँ । बरु ढिलै होस् अन्य सवारीसाधनलाई बाटो दिएपछि आफू अघि बढ्छु ।’ ७० वर्ष पार गर्दा ‘लाइसेन्स’ हात पारेका पूर्णबहादुर बस्नेतको अर्को रहर के होला ? स्कुटरभन्दा यात्रा गर्दा सजिलो हुने भएकाले गाडीको ‘लाइसेन्स’ लिने उनको रहर छ । 

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा जागिर खाँदा उनी भक्तपुरको गुन्डुबाट साइकल चढेर कार्यालय पुग्थे । गुन्डुबाट बालाजु पुग्न एक घन्टा लाग्थ्यो । ‘त्यतिबेला हिजोआजजस्तो धेरै सवारीसाधन थिएनन् । बाटो पिच नभए पनि खाली हुन्थ्यो ।’ त्यसो त उनको आफ्नै स्कुटर छैन । काम परेको बेला नातिनीकै चलाउने गर्छन् ।

भक्तपुर औद्योगिक क्षेत्रमा पनि ३४ वर्ष प्राविधिक खरिदारको भूमिका निर्वाह गर्दासमेत उनी साइकलकमै कार्यालय जान्थे । संवत् २००४ साउन ४ गते जन्मेका उनले टेस्ट पास गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप