आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
राष्ट्रिय भूकम्प सुरक्षा दिवस

नेपालमा महाभूकम्प

सोमबार, ०२ माघ २०७९, १५ : १६
सोमबार, ०२ माघ २०७९

संसारमा निरन्तर नै दैवी र मानुषी विपत्तिहरू परिरहन्छन् । अकालमृत्यु, रोग, दुःख, कष्ट आदि कुरा त साधारण भने हुन्छ । ठूला–ठूला सामूहिक मृत्युका कारण बनेका विपत्ति पनि प्रायः परि नै रहन्छन् । तिनमा कति आन्तरिक विद्रोह, कलह, बाहिरी युद्ध, अशान्ति, आगलागी जस्ता विपत्ति मानुषजन्य हुन् भने बाढी, पहिरो, हुरीबतास, अतिवृष्टि, अनावृष्टि, दुर्भिक्ष, रोगव्याध, महामारी, भूमिकम्प आदि दैवीप्रकोप वा प्राकृतिक प्रकोपमा पर्दछन् । यी यस्ता प्राकृतिक प्रकोपहरू कति आज मानुषप्रयासबाट हटाउन सकिने, रोकथाम गर्न सकिनेमा पर्दछन् भने कति नसकिनेमा मुख्य भूकम्प हो । यसले मनुष्य प्राणीहरूको हत्या मात्र गर्दैन कि पहिलेदेखि बनेका मन्दिर, मूर्ति, कलाकृति, आवास भवनलाई पनि एकैछिनमा, एकै धक्कामा माटामा मिलाइदिन्छ । आजको जस्तो वैज्ञानिक युगमा पनि भूकम्पको पूर्वसूचना दिने उपकरण बन्न सकेको छैन ।

पृथ्वीमा सानातिना भूकम्पको धक्का भने प्रायः परि नै रहन्छन् तापनि विनाशकारी, महाभूकम्प भने धेरै वर्षको अन्तरालमा आउने गर्दछ । भारतको उत्तरी भागमा र नेपालमा पनि वि.सं. १९९० मा प्रलयकारी महाभूकम्प भएको थियो । यस भूकम्पको विनाशलीला प्रत्यक्ष आँखाले देख्ने, भोग्ने मानिस पनि अहिले सीमित मात्र छन् । यसको सय वर्ष पहिले वि.सं. १८९० मा पनि यस्तै विनाशकारी महाभूकम्प भएको थियो । यसले गर्दा साधारणतः सय वर्षमा महाभूकम्प आउँदोरहेछ भन्ने भान हाम्रा मानिसका मनमा परेको थियो । परन्तु यो कुरा सही थिएन, भूकम्प आउने कुनै निर्धारित समय हुने होइन । अब पहिले वर्तमानको २०७२ वैशाख बाह्र गतेको आफूले प्रत्यक्ष भोगेको भैँचालाको हाल अनुभव बताएर इतिहासका भैँचालाका कथा । वि.सं. १८९० को महाभूकम्प आएको २२ वर्ष पहिले पनि १८६८ मा नेपालको सुदूर पश्चिमाञ्चलमा महाभूकम्प गएको थियो र धेरै घर, गढी, किल्ला भत्काएको थियो भने वि.सं. १९९० को ५५ वर्षपछि २०४५ भाद्रमा पुनः भारतको विहारले र नेपालको पूर्वाञ्चलले महाभूकम्पको मार खानुपरेको थियो । अब पहिले वर्तमानकै भूकम्पको वर्णन संवत् क्रमैले अघिका भैँचालाका कथा कहन्छु । 

१) वि.सं. २०७२ को महाभूकम्प

अहिले हाम्रो देशमा माओवादी युद्धको कारणबाट उब्जिएको सङ्कट र सङ्क्रमणकाल सकिएकै छैन । स्वतन्त्र भएको २५ वर्षमा पनि विकासले गति लिन सकेको छैन । अब त संविधान बन्ला, अन्तरिम काल सकिएका देशमा स्थायित्व कायम होला भन्ने आशा पलाउन लाग्न लागेको बेला फेरि अर्को महाभूकम्पको प्राकृतिक महाविपत्तिले विचलित बनायो, असङ्ख्य धनजनको क्षतिले हाहाकार पायो । विकासको गतिलाई पनि झन् पर धकेलिदियो । माओवादीको युद्धमा १४–१५ हजार निर्दोष निरपराधी नेपालीले ज्यान गुमाए, अरू घाइते कति हो कति भए, सम्पत्ति कब्जा गरिएका र निर्वासित भएकाको सङ्ख्या झन् अनगन्ती छ । यस्तो माओवादी प्रकोपको पीडा शान्त भइसकेको छैन । रोग शोकले सन्तप्त मन सँगालिसकेको छैन बेपत्ता छानबिन सत्य निरूपण आयोगको कामको आरम्भै भएको छैन । यति बेलै फेरि महाभूकम्पको प्राकृतिक प्रकोपले पारेको पीडा नेपाली जनताले खेप्नुपरेको छ । यस महाविपत्तिमा परेका मरेकाको सङ्ख्या आठ, नौ हजार नाघिसकेको छ भने घाइतेको सङ्ख्या पनि एक्काइस हजार पुग्न लागेको छ । यो सङ्ख्या निश्चित रूपले यकिन कति ठहर्छ, पछि थाहा हुनेछ । पूर्ण क्षतिग्रस्त र आंशिक क्षतिग्रस्त भएका घरको सङ्ख्या पाँच, छ लाख करिब भएको देखाइएको छ । यो क्रम पनि बढ्दै छ । अब घरबारविहीन भएकाहरू कति हो कति छन् । अझै महाभूकम्पको पराकम्पनले विश्राम लिएको छैन ।

यस अवस्थामा सरकारको तर्फबाट भूकम्पमा परी मरेकाको लागि क्षतिपूर्ति दिनै पर्यो । बाँचेका भूकम्प पीडितहरूको लागि स्थायी–अस्थायी गाँस, बास, कपासको व्यवस्था मिलाउनै पर्यो । जो अनिवार्य आवश्यकता भएको छ । बीसौँ शताब्दीमा निरङ्कुशतामा जकडिएको देश एक्काइसौँ शताब्दीमा पनि मानुषी र दैवी सङ्कट समाधानमै बित्ने भो ।

अहिले सबैमा एकदम खट्किएको कुरा भयो, २०७२ वैशाख १२ गते बाह्र बज्न चार मिनेट बाँकी छँदा भूमि डगमगाउन लाग्यो, सबैका घर हर्लाङहुर्लुङ हल्लिन थाले । काग कङ्कला स्वरले कराउन थाले, कुकुर भ्वाङ भ्वाङ भुक्न लागे । स्त्री पुरुषहरू रामराम भन्दै कति छोराछोरी चेपेर हुर्रर निस्कन लागे । बडा चिहिलविहिल भयो, बडो हाहाकार मच्चियो । स्वयं मलई पनि यस शताब्दीका यस महाभूकम्पको प्रत्यक्ष अनुभव भयो ।

भूकम्पको साक्षात्कार 

हाम्रो देशमा भूकम्प आउँछ भनेर त्यसबाट जोगिने उपायहरू भनेर सञ्चारले विज्ञापन गरिरहन्थ्यो –भैँचालो आयो भने खाटमुनि लुक्नु अथवा ढोकामा उभिनु, सवारी चलाउँदै भए टक्क अडिनु, आदि विज्ञापन आउँथ्यो । विज्ञहरू उपदेश दिन्थे– ‘सातु चिउरा चाउचाउको पोको पारिराख्नु’ भैँचालो आउने साथ यो पोको च्यापेर घरबाट कुदेर निस्कनु, १९९० सालको भूकम्पको स्मृति दिवस मनाउँदै यस्तै उपदेश दिन्थे, इत्यादि सबै कुरा उपदेशमा सीमित हुँदारहेछन् विपत्तिको बेला । अकस्मात् भूकम्प आइलागेपछि बुरुक बुरुक उचाल्न थालेपछि होस हवासै गुम्दोरहेछ । कहाँ चिउरा चाउचाउको पोको बोक्नु, कहाँ कता खाटमुनि लुक्नु ? खुट्टामा चप्पलसम्म घुसार्न भ्याइएन, हिँड्दै गरेका मोटरसाइकल पर्लक्क पल्टिए ।

म त एकसुरले ३ तलामाथि आफ्नै कोठामा बसेर लेख्तै थिएँ । बाहिर कोलाहल मच्चिनासाथ घर्लाङ्ग घर उचालियो । भैँचालो आयो आयो भन्ने आवाज आयो । म पनि उचालिएँ, पहिले त रोकिन्छ कि भनेर ओछाएँ, भाग भाग भन्ने शब्द कानमा पर्छ, म लटपटिएँ । घुस्रँदै गएर भरेङको रेलिङ समातेर चिप्लिँदै झरेँ । उता भित्तामा यता भित्तामा ठोकिन्छु । जिउ लल्याकलुलुक छ, खुट्टा लरबराउँदै भित्री चेतले काने जुत्तामा खुट्टा घुसार्दै ढोकामा पुगेँ । माथिबाट घर भत्कँदैछ अब कताबाट मलाई थिच्छ थिच्छ भन्ने मनमा भय त्रास उब्जेको छ । बल्ल बल्ल ढोकामा पुगेर उभिएँ । बाहिरी भरेङ ओर्लन आँटै अएन । त्यतिबेरै दुई जना बाबु आएर मलाई समाएर बोकेर तल ल्याए । दिनभरि बारीमा नै बसियो । 

घरीघरी सानो भैँचालाले धक्का दिइरहन्छ । ३ महिनासम्म यसरी नै भन्ने सुनेको विश्वासले बेलुका भएपछि आएर म घरमा बैठकमै सुतेँ । सञ्चार माध्यमहरूले भैँचालाका आँखो देखाहाल अहोरात्र सुनाइरहेछन् देखाइरहन्छन् । मन छटपटाइ रहेछ । उज्यालो भएपछि छोरालाई लिएर छिमेकतिर निस्किएँ । तीन चारवटा माटाका घर ध्वस्त भएर माटैमा मिलेका, तल माटाको गाह्रो माथि सिमन्टीका चार घर बस्न नहुने गरी चिरिएका, अरू ढल्केका अग्ला ठूला पक्की घर भार थाम्न नसकेर फुटेका चिरिएका भासिएका ढल्किएका त कति हो कति । पीडितलाई सहानुभूति दिनेसम्म मेरो काम थियो, छोराले बनाउनु हुने नहुने भन्ने सल्लाह दिन्थ्यो । ऊ प्राविधिक भएबाट ऊसँग सल्लाह लिन चाहन्थे, बोलाउँथे पनि ।

२) २०४५ को महाभूकम्प

वि.सं. २०४५ भाद्र ५ गते आइतबार श्रावणशुदि ९ का दिन बिहान पहर फाट्दा नफाट्दै भुइँ अकस्मात् हल्लन लाग्यो र सारा मानिसलाई कहल्यायो, एक्कासि सबैलाई निद्राबाट ब्युँझायो भने कतिलाई त चिरनिद्रामा सुतायो । यो भूकम्प ६.९ रेक्टरको थियो । सरकारी सञ्चारमाध्यमद्वारा भुइँचालामा परी चिरनिद्रामा परेका मानिसको सङ्ख्या ७२१ बताइएको छ भने अरू पशुपक्षीको मृतकसङ्ख्या अज्ञातै छ । कैयौँ अर्थात् ६४,१७४ घर, कति मन्दिर, धर्मशाला, पाटीपौवा भत्केर विमाख भए, कति चर्केर बिग्रेर बस्न नहुने भए, तिनको यथावत् लेखाजोखा गर्दा विहारमा पनि २५० जति मानिस भुइँचालामा परेर मरेका थिए भने प्रत्येक मृतकका परिवारले केन्द्र सरकार र प्रान्त सरकारका तर्फबाट गरी भारु. १५,००० का दरले पाएका थिए । हाम्रो यहाँ चाहिँ प्रत्येक मृतकका परिवारले रू. २,००० का दरले र घर भत्केकाले रू. १,००० का दरले पाएको जनाएको थियो ।

३) १९९० सालको महाभूकम्पको संस्करण

अब यहाँ ९० सालको महाभूकम्पको आफूले सुनेको संस्मरण उल्लेख गर्नु उचित ठान्छु । म जन्मेको बर्सिको पुगेको थिइनँ, हाम्रा चार चारतले घर मतान रहेछन् । आँगन मुनि अर्को ढिकीजाँतो बाख«ाको खोर, केही पशुआहार राख्ने कटेरो र घर पछाडि तल गाईवस्तु बाँध्ने, पराल माथि राख्ने खोल्मा । माघको सोमबारे औँसी दिउँसो धेरै लोग्नेमान्छे मानामेला लागेका, हाम्रा भान्दाइ मात्र घाममा बसेर चोया काढ्दै, काहिँली आमै धान कुटाउँदै र आमै (हजुर आमा) आमाहरूलाई लिएर घरपछाडि पर चेपुवामा तेल पेलाउँदै गरेको बेला अकस्मात् भूमिकम्पायमान हुन थाल्यो । आमैले पुराना भूकम्पका कथा सुनेकाले सबैलाई बोलाउँदै ठूलो स्वरले निक्ल निक्ल, भाग भाग भैँचालो आयो, नानी कहाँ छ ? निकाल माहिला । भनेर हपार्दा मतानको दलान हल्लदा म बुर्लुक्क बलेँसीमा पल्टेँछु । रुँदा पो मालदाजुलाई होस आएछ, धरखराउँदै आएर मलाई समाएर आँगनको माझमा राखेर उनी भाग्नासाथ गल्र्यामगुर्लुम्म घर भत्कन थालेछन् । दुवै घरको छाना खसेछन्, अतिकतिले बीचमा म बाँचेको, त्यहीँनेर माहिली फुपू थिचिएर चिच्याइछन् । मालदाइले नै फेरि आएर मलाई फूलबारीमा फालेर फुपूलाई तानेर रक्तमुछेल नाङ्गै निकालेछन् । ढिकीमा अरू भागे, काहिली आमै सहआयो सहआयो भन्दै धान मुठ्याउँदा निदालले थिचेर कचक्कै भइछन् । पल्ला घर भाउजू पनि घरले किचिएर बितिछन् । गाउँमा ठूलो हाहाकार मच्चियो । सबैका घर धूलिसात् भए । कति स्त्रीपुरुष मरे । धुलो उडेर कुइरीमण्डल भयो । ठूलो विपत्ति आइपयो । मरुमारु परेको घरमा मानिस भेला भए । कतिलाई सागर लगे, कतिलाई नजिकैको खोलामा पुरे । त्यस दिन सबैका बास खुला आकाशमै भयो । घरीघरी भुइँ कामिरहन्छ ।

भोलिपल्ट गाउँभरिका मानिस भेला भए । त्यसबेला न राहत न रासन कसले दिन्थ्यो, न सरकारको आश कसैले गथ्र्यो । गाउँलेहरू आपसमा मिलेर ५–६ जनाको टोली बनाएर पालैपालो कटेरा बनाउन थाले । सामान भत्केकै घर काले पुगिहाल्थ्यो । दुई दिनमा जहान अनुसारको कटेरा सबै गाउँभरि नै बनिसके । तीन महिनासम्म भुइँ हल्लिरह्यो । कटेरामै बास भयो । पुनः त्यसैगरी अर्मपर्म । हसेरीमै सबैका घर पनि ठडिए । हाम्रा बाले अग्ला घर भत्किए भनेर एउटै होचो २२ हात लामो १८ हात चौडा फराकिलो ढ्याग्रे घर बनाएको थियो । सो घर ४५ सालको भूकम्पमा क्षतिग्रस्त भयो । अग्ला घरका बैकलमा राखेका ४–५ भकारी धान पोखिएर कोठेबारी भरी भएछन् । आमैले आफूलाई खान पुग्ने जति सोहोरेर अरू केलाएर लैजाओ भनेर गाउँलेलाई बताइदिनु भएछ । 

यो एउटा संस्मरण हो । जनताले आपसमै मिलेर कसैको आश नगरी यसरी भूकम्पको भार पार लाएका थिए र दुःख बिसाएका थिए । अहिले केवल १४ जिल्लामा भूकम्पको भार परेको छ । विश्वकै मित्रराष्ट्रले सहयोगको हात बढाइरहेका छन् । छिमेकी मित्रराष्ट्रले पनि चाहिँदो सहयोग गर्ने वचन दिएका छन् । ६०१ सांसदहरूको बथान छ । मेरो तेरो क्षेत्रको भेदभाव नराखी झिरिप्प यी भेला भएर सबै निर्वाचित सांसदहरू सरकारी आफूले पाएको विकास रकम खर्च गर्नुपर्थ्यो, पीडितक्षेत्रमा हिमाल, पहाड, तराईका प्रतिनिधि सांसदले हात बढाउनु पर्थ्यो । ठूलो विपत्तिको यस्तो अवस्थामा आफू चाहिँ केही नगर्ने, हात बाँधेर बस्ने, आफूले लिएको विकासका रकमसम्म खर्च नगरी आफैँ मुठ्याएर राख्ने, उल्टै मित्रले दिएको सहायता सामग्रीमा पनि राल चुहाउने यी निर्वाचित कथित जनप्रतिनिधि हुँ भन्नेहरू र सत्तासीनहरूले आफैँले प्रारम्भिक राहत सहयोग गरेको भए कति राम्रो हुन्थ्यो ? केही गर्न सकेनन् । आफू सांसदहरू केही नगर्ने अर्काकै आश गर्ने, के भन्नु, यिनले जनतालई बढो सहिनसक्नु सकसमा पारेका छन् । यस्तो महाविपत्तिले त यिनलाई केही सबक सिकाएको हुनुपर्ने, स्वावलम्बी, सत्तास्वार्थी त्यागी जनसेवी हुने पाठ यिनले कहिले सिक्ने ? कसले सिकाउने ? जनताले त के दैवले अप्रत्यक्ष सबक सिकाउँदा पनि यिनका चेत किन नखुलेको ? १ वर्ष पूरा भइसक्यो, सरकारको राहतको आशा आएमा भूकम्प पीडितका घर बन्न सकेका छैनन् । १ बर्खा पालमै सारी चिसो सहेर गुजारे, हिउँदमा जाडाले हिउँले पनि कठ्याङ्ग्रिएर, अर्को वर्ष पनि यिनले यस्तै भुक्तमान भोग्नुपर्ने हो कि ।

९० को भूकम्पले पूर्वाञ्चलमा प्रायः सबै कच्ची घर ध्वस्त भएका थिए । गाउँलेहरू आपसमा मिलेर हसेरी गरेर अस्थायी कटेरा तत्काल बनाइहाले । पराकम्पन रोकिएपछि वर्षा नलाग्दै आपसमा मिलेर गच्छेअनुसार माटा ढुङ्गाका घर पनि त्यसरी नै अर्मपर्म हसेरी लगाएर जेनतेन ठड्याइहाले । अहिले पनि सरकारको आशा नभएको भएर जनताले त्यसरी आपसमै मिलेर ऋण धन गरेरै भए पनि मुन्टो लुकाउने झुप्रो वा घर ठड्याउँथे ।

२५ वर्ष पुग्नै लाग्दा २०७२ को वर्षारम्भ भएपछि वैशाख १२ गते १२ बजे नै हुन लाग्दा विनाशकारी महाभूकम्प आयो । ९० सालको महाभूकम्पको केन्द्रबिन्दु पछि चैनपुरमा थियो भनिन्छ । ४५ को ७ रेक्टरको महाभूकम्पको केन्द्रबिन्दु उदयपुरमा थियो भने अहिलेको ७.९ रेक्टरको महाभूकम्पको केन्द्र बिन्दु गोरखाको बारपाकमा र काभ्रे, सिन्धुपाल्चोकमा पनि थियो । यसले अन्त पनि थोरबहुत क्षति पुर्याए पनि गोरखादेखि दोलखासम्मका जिल्लामा अत्यधिक विध्वंशलीला मच्चायो । यसका सानातिना पराकम्पन आइरहेकै भए पनि २९ को अर्को भूकम्पको धक्काको चाहिँ ठूलो घाउमा नुनचुक छर्के जस्तै भयो । ९० सालमा सहर गाउँका घर सङ्ख्या जनसङ्ख्या थोरै थियो तापनि करिब ८ हजार मानिस मरेका थिए । अहिले मृतक सङ्ख्या ६ हजारभन्दा माथि नै छ । घाइतेको सङ्ख्या २० हजार माथि पुग्ने देखिन्छ । बढ्ने क्रम छ घर भत्कनेको सङ्ख्या पनि । एउटा दैवसंयोग भनौँ वा भवितव्य, एकीकरण सफल अभियानले गोरखाली गोरखा, गोरखा राज्यको यति विघ्न नाम चल्यो, यति महत्त्व बढ्यो कि मानसम्मानको पनि प्रवासी नेपालीका लागि त मुख्य पहिचानको प्रतीक बन्यो । गोरखाली वीर भन्नु ठूलो शान, मानको द्योतक थियो । न्यायको प्रतीक थियो । अब त्यो रहेन, गोरखाली शाहवंशको शान गयो मान गयो । छत्र भङ्ग भयो । यही गोरखा अहिले भूकम्पको महाविपत्ति ल्याउने केन्द्रबिन्दु बन्यो र भूकम्पको उत्पत्तिको अखडाको रूपमा चर्चित भयो ।

छिमेकमै काम गर्ने एक जना कठोर मनोवृत्तिका केटाले ‘आफ्नो घर केही भएको छैन, अर्काको घर भत्केको हेरो मजा लियो’, प्वाक्क भनेको सुनेँ । संवेदनाशून्य यस्ता निर्दयी पनि हुँदारहेछन् भनेर मन च्वास्स दुख्यो । अर्काको दुःख देखेर आनन्द लिनेलाई के नामले पुकार्ने ? नामै छैन भन्ने नीति वचन सम्झेँ । अर्काथरी यस्तै मनोवृत्तिका केही लालची तस्कर राति यति बजे यसभन्दा ठूलो भैँचालो आउँछ, घरबाट निस्क भन्दै हिँड्ने र खाली घरमा पसेर लामो हात गर्ने अधर्मी पनि देखिए, सुनिए पनि । यस्तै घरमा टीभीमा भूकम्पले पारेको विपत्ति विनाश लीला देख्छु हाम्रा सांस्कृतिक सम्पदाको विध्वंश देख्छु, मनै भरङ्ग हुन्छ । रेडियो सुन्छु, पीडितहरूको दुःखदर्द चिच्याहट सुन्छु, मुटु ढुकढुक हुन्छ । घर मन्दिरको विनाश सांस्कृतिक सम्पदाको ठूलो विनाशले राष्ट्रकै क्षति गर्यो । सांस्कृतिक विरोधीको प्रकोपले पहिले पृथ्वीनारायणका निर्जीव सालिक ढालिएका थिए, अहिले प्रकृति प्रकोपमा परी उनका स्मारक भवन पनि क्षतिग्रस्त बने । त्यस्तै रानी ललितत्रिपुरा सुन्दरीले बनाएको सग्लो स्वच्छ पानी गलल्ल बग्ने सुन्धारा मान्छेकै प्रकोपमा परेर सुकाइयो । यस्तो प्रकोपले अहिले सहरकै शोभा जनउपयोगी तीर्थ पनि विलुप्त पारियो । स्वयं मैले पनि यस सुन्धाराको तातो पानीमा दुई वर्षसम्म निरन्तर नुहाएको थिएँ । उनै रानीको कीर्तिपताका फैलाउने शासकको उर्दी सुनाउने साधन बनेको अहिले सहरको रमिता हेर्न इच्छुक जनताको मनोवाञ्छा पुर्याइदिने सांस्कृतिक धरोहर भएको धरहरा पनि यही दैवी प्रकोपमा परेर अकस्मात् छिनभरमै भूमिसात् भयो केही आफूप्रति आकृष्ट भएका आरोही जनलाई पनि आफैँमा आत्मसात् गर्दै । यस्तै तीन सहरका पुराना कतिपय मन्दिर मठ पनि क्षतिग्रस्त बने । स्वयम्भू डाँडो स्तूपबाहेक धूलिसात् बनेको देखियो । संजोगले पुरानो तलेजु मन्दिर साबुत देखियो । अरू तीन सहरका विश्वकै आकर्षण बनेका कति पुराना सांस्कृतिक मन्दिर मूर्ति काष्ठकला प्रस्तरकला पनि विनाश भए, कति दिनको जीर्णोद्धारमा कति खर्च पर्छ, यसको लेखाजोखा गर्नु बाँकी छ । आवश्यक छ यथावत् पुनर्निर्माण गर्नु पनि त्यतिकै चुनौती छ । यिनै पुर्खाका सम्पदाले हाम्रो देशलाई शान, मान, गौरव, दिएको थियो । विश्वकै पर्यटकहरूको आकर्षण केन्द्र बनाएको थियो । यिनलाई अब उस्तै स्थितिमा उस्तै रूपमा उस्तै साधन प्रयोग गरी पुनः जीर्णोद्धार गर्ने गराउने मर्मतसम्भारको कार्यभार अब पुरातत्त्वविभागको काँधमा आइपरेको छ भने सय वर्ष पहिले चन्द्रशमशेरले बनाएको अहिले मन्त्रालय बसेको सिंहदरबार, त्यस्तै पहिलेको कृष्णशमशेरको शीतल निवास अहिलेको राष्ट्रपति भवन आदिको उद्धार गर्ने कार्यभार सरकारको काँधमा आइपरेको छ । यस्ता अमूल्य राष्ट्रका श्रीसम्पत्ति पुराना स्मारक सम्पदाको सुरक्षा स–सुधार गर्ने बृहत्तर कार्यभार पनि त सबैको बाह्य अभ्यन्तर सहयोग लिएर सरकारले नै तत्परता साथ गर्नु छ ।

यता भूकम्पको चपेटामा परेका जनसमूहको बिल्लीबाठ भएको छ । कतिका घर घूलिसात् भएरै भत्किएका छन् ढुङ्गा, माटा, इँटाले बनेका जति घर सबैजसो भत्किएका छन् । त्यसको ठीकविपरीत कति घर सिमेन्टी, पाका, इँटा प्रयोग गरी बनाइएका अग्ला चार पाँच तलाका पक्का ठूला ठूला घरहरू पनि पर्लक्क पल्टेका छन् । कतिपयले चाहिँ आफू मात्र नपल्टिएर आफ्ना छिमेकीलाई समेत लिएर ढलेका छन् । कति चाहिँ वरिपरिलाई त्राहिमाम पार्दै ढल्किरहेका छन् । यस्तै ठूला डिपार्टमेन्ट स्टोर, ट्रेड टावर, हाउजिङ पनि क्षतिग्रस्त हुँदा धेरैलाई त्राहित्राहि पारिरहेका छन् तथा सहरका महलहरूले भेटे जति थिचिएर अङ्ग अङ्ग भएका बिरामी परेका बेहोस बनेका स्त्रीपुरुष बालवृद्धालाई स्ट्रेचरमा राखेर पिँठ्युमा बोकेर पनि अस्पताल पुर्याउने । यिनै सुरक्षाबल सैनिक जवान नै भए, मृतकका शव अस्पताल पुर्याउने यिनै भए । सुरक्षाबलले पुरिएका झिक्न नसकिएकालाई साधनसम्पन्न मित्र राष्ट्रबाट आएका जवानसँग मिलेर जिउँदै पनि कति निकालिए, कति गन्हाएका लास पनि ।

भत्केर जति मानिस किचिए, तिनलाई सुरक्षा नौजवानहरूले कति जिउँदै निकालिदिए, कतिका लास निकालियो, कति त फेला नपरेका पनि हुँदा हुन् । सहरका यस्ता पक्की घर ध्वस्त क्षतिग्रस्त भएको देखेर एक जना सांसदले यी नगरपालिकालाई दण्ड दिनुपर्छ, यी घरको क्षति हुनुमा यिनैको दोष हो भनेर बोले, हुन पनि हो केही शुभलाभ पाएपछि घर जस्तासुकै हुन्, जहाँसुकै बनेका हुन् ती पास भइहाल्छन् । चाहे बाटो मिचेर बनाइएका हुन् चाहे हाइस्टेन्सन लाइनमुनि बनेका हुन्, चाहे गुठीका हुन्, चाहे देवमन्दिर मनुष्य मन्दिरमा परिणत भएका हुन् । चाहे नियमित मसला नमिलाई विधि नपुर्याई बनाइएका हुन् । त्यस्तो किन हेरिरहने अर्कै छ गुह्य हेर्ने कुरा, ती सरक्कै पास हुन्छन् । नगरपालिका दाहिनु भएन भने जस्तोसुकै हुन्, ती पास हुँदैनन् पेन्डिङमै रहन्छन् ।

सं १८९० को भूकम्प पनि १९९० कै जस्तो भयङ्कर विनाशकारी थियो । सं १८६८ फागुन ३ गते औँसीको दिन पश्चिम कर्णालीप्रदेशमा ठूलो भूकम्प गयो । छिनासिमको १ सिजाका २ गमगढीको १ तिव्रीकोट १ यी पाँच गडी किल्ला भत्किए, जुम्ला आसपासका मानिसका घर ९३५ भत्किए, भरकोट १४० मान्छे मरे । वरपरका घर भत्केका, मान्छे मरेका धेरै थिए । केन्द्रबाट निर्माणको राहतका लागि तुरुन्त परिबन्द मिलाइयो ।

जुद्धशमशेरकै भूगोलपार्कको अभिलेखमा १८९० को महाभूकम्पको र त्यसभन्दा अघि शक्तिसिंहका पालामा घटेको महाभूकम्पको मात्र संस्मरण गरिएको छ शक्तिसिंहरामका पालामा गएको भुइँचालोको स्मरण वंशावलीका आधारमा गरिएको हो । ने.सं. ५२८ मा शक्तिसिंह स्वयं पलाञ्चोकमा राज्य गर्दथे । यस बेलाका त्यहाँका अभिलेख र चीनको इतिहासबाट पनि यो कुरा प्रमाणित छ । त्यस बेला जयस्थिति मल्लका छोरा भक्तपुरको मूलगद्दीमा बसी राज्य चलाउँथे । यी राजाका पालामा नेपालभरका बढो उग्रदिन आई नेपाल संवत् ५२८ अधिक भाद्रशुक्ल १२ उत्तराषाढा नक्षत्रा सोमबारका दिन बडो उत्पात सङ्कट भूमिकम्प भयो, र मच्छिन्द्रनाथका देवालय भत्की द्वार बन्द भैगयो । देश देशमा देवालय भत्की धेरै बिग्री मैदान भैगयो । ललितपत्तनमा मतिको भैरव तर (तीर) लगनखेलको सहर युगल (पुलाइगल) त्यागल भन्याको जगा सबै मैदान भैगयो । कान्तिपुरमा पञ्चपुर भक्तपुर, धर्मपुर, खडगपुर, भन्याको जगा भत्की भैगया, धेरै दिनसम्म भूमिकम्प (भै) भूमि फाँटी, गाईभँैसी धेरै खसी मर्या, जीवजन्तु असङ्ख्य नाश भैगयो । अब सं. १८९० को महाभूकम्पको तात्कालिक वर्णन हेरौँ ।

१९९० सालको महाभूकम्पको पुनरुद्धार

यसभन्दा पहिलेको अर्थात् १९९० को महाभूकम्पले गरेको क्षति र त्यसको पुनरुद्धार कसरी भयो भन्ने सम्बन्धमा जनाउ दिन हाम्रो सामु नयाँ सडक, जुद्ध सडक, त्यही रहेको भूगोलपार्क र त्यसको अभिलेख स्मृति चिन्ह बोकेर खडा छ भने त्यहाँ रहेका अभिलेख र पाटन मङ्गलबजारको भूकम्पस्मारक, शारदास्तम्भलेखले पनि बढी से बढी जुद्धशमशेरको कीर्तिगाथा गाउँछन् तापनि भूकम्पपीडितहरूको उद्धारकथाको स्मरण पनि गराउँछन् । तिनबाट त्यस महाभूकम्पमा तत्काल उद्धारकार्य र पीडितहरूको सहायताका लागि साढे पाँच लाख खर्च गरियो र चन्दा र सरकारी गरी ६१ लाख रकमबाट भूकम्प पीडितोद्धार संस्था खोलिएको थियो । त्यसबाट ३० लाख जति सापटी ऋण बाँडिएको थियो भन्ने कुरा खुल्छ । पछि श्री ३ महाराज जुद्धशमशेरले सो सबै सापट दिएको ऋण मिनाहा गरिदिए । वि.सं. १९९० को ६१ लाख भनेको अहिलेको हिसाबमा कति बढी हुन्छ कति । त्यसबेलाको एक रू. भनेको एक तोला चाँदी हुन्थ्यो । अहिले चाँदीको तोला ७–८ सय पर्छ । यो मात्र होइन त्यति धनले उसबेला जति काम हुन्थ्यो त्यति काम गर्न अहिले कति खर्च गर्नुपर्ला ?

वि.सं. १९९० को महाभूकम्पको पीडा नेपाली जनताले भोगेको ८२ वर्ष लाग्यो । अघिल्लो सालमा जन्मेको म त्यस फालबाट धन्न भगवान्ले हात थापेकाले बचेको थिएँ । सो भूकम्पको कथा फेरि नेपालीले सुने जानेको कुराभित्रै पर्दछ । वि.सं. १८९० को महाभूकम्पको पनि सामान्य कुरासम्म सुनेको हुन सक्छ तर वि.सं. १८६८, १८६०–१८६५ तथा (१४७५–१६६५) १४०१–१३१२ का महाभूकम्पका कथा त नेपालका कतिपय इतिहासविद् भूगर्भविद्बाहेक अरूले सुनेको पनि छैन होला अहिले म सबभन्दा पहिलेका तात्कालिक प्रमाणबाट सुनेजानेका महाभूकम्पको सानो चर्चा गर्न लागेको छु । 

सं. १८९० को महाभूकम्प

सं. १९९० को महाभूकम्पको स्मृतिमा जुद्ध सडक भूगोलपार्कको र पाटनको शारदास्तम्भको शिलालेखमा सं. १८९० महाभूकम्पको उल्लेख मात्र गरिएको छ, बरु ने.सं. ५२८ को महाभूकम्पको अलिक बढी क्षतिको विवरण वंशावलीको आधारमा दिएको छ । सं. १८९० अघिका महाभूकम्प सामान्य वर्णन यस प्रकार छः

विक्रमको उन्नाइसौं शताब्दीमा प्रसिद्ध राजज्योतिषी भगीरथ जैसी (देवकोटा) थिए । उनले हेरेका साइतमा यात्रा गरे यात्रा सफल हुने कार्य गरे कार्य निर्विघ्न सिद्ध हुन्थे । उनको छोराहरू पनि त्यस्तै विछट्टका जानकार थिए । गोरखालीको पकलानो युद्ध साइत नपरेकाले बिग्रेको हो । साइत पर्दा फलानो युद्ध जितिएको हो भन्थे । उनको सही बिसही चल्थ्यो । उनका छोराहरू पनि वीरभद्र जैसी बाबुको बिँडो थाम्नेखालकै थिए, यसै कारण उनले छोराले पनि राजप्रसादबाट प्रशस्त जग्गाजमिन पाएका थिए । उनैका वंशज चैतन्यराज देवकोटाका सङ्ग्रहमा धेरै ऐतिहासिक सामग्री रहेछन् तिनै सामग्रीमा भगीरथ जैसीले उनका छोराहरूले उन्नाइसौँ शताब्दीमा भएका घटनाहरूलाई तथ्य तिथिमितिसहित टिपेका रहेछन् । तिनै केही सामग्री पाएर दिनेशराज पन्तले ‘प्रसिद्ध ज्योतिषी भगीरथ जैसी’ भन्ने सङ्कलन प्रकाशमा ल्याएका छन् । क्षति विवरणमा त्यसबेलाको भूकम्पको यसरी उल्लेख गरिएका छ ।

सं. १८६० भाद्र सुदी १४ को राति गढवालको श्रीनगरमा महाभूकम्प गयो । राजाको दरबार भत्कियो, रानीहरू किचिएर मरे । गाउँ सहर सबैतिर धेरै जनता पनि घरले किचेर स्वाहा भए । ठूलो उत्पात भयो, रातिको भैँचालोले धेरै मान्छे मर्नु स्वाभाविकै थियो । दरबार साँच्चै पक्की नै हुन्छ दरबार किल्ला भनेका कि पाका इँटा सुर्की चुनाले बनेका हुन्छन् कि त बढेबढे ढुङ्गा खोपेर फलामले जोडेर बज्रलेपले बनाएका हुन्छन् । त्यस्तो दरबार भत्किनु रानीहरू समेत किचिएर मर्नु भनेको सानोतिनो भूकम्प थिएन । त्यो महाभूकम्पै थियो ।

यस भूकम्पको पाँच वर्ष नपुग्दै ‘सं. १८६५ ज्येष्ठ शुदि दशहराका दिन यहाँ राजधानीमा महाभूकम्प गयो । खोकना बुङ्मतीमा घर भत्किए । काठमाडौँ, पाटन भादगाउँका पुराना र कच्ची घर धेरै भत्किए । कतैकतै जमिन फाटेर धाँजा पर्यो उत्पात भयो ।’ यसपछिको १८६८ को भूकम्प जैसीले दिएका छैनन् । चिठीपत्रका आधारमा मैले सो विवरण उल्लेख गरेको हुँ ।

तिनै ज्योतिषीले टिपेको घटना विवणको प्रसङ्गमा संवत् १८९० भदौको महाभूकम्प क्षतिविवरण यसरी उल्लेख गरिएको छ ।

संवत् १८९० भाद्र महिनाको १२ गते बेलुका ०३६ पला दिन बाँकी हुँदा ठूलो भूकम्प आयो । दरबार भत्कियो, विष्णुदेवल आदि धेरै देवल भत्के । वसन्तपुर दरबार सहरका धेरै घर भत्किए, मान्छे पनि धेरै मरे, रातभरि सहरभित्रका मानिस बाहिर निस्केर बसे । त्यस रातमा ४२ पल्ट भूकम्प गयो । त्यसपछि ज्योतिषीले गन्न साध्य नभएर छाडिदिए, थाहा पनि भएन होला ।

त्यसबेला पनि भक्तपुरमै ठूलो क्षति भयो । सहरै ध्वस्त भएर बसे जस्तो भयो र घर देवालायहरू तीन भागमा एक भाग जति बाँकी रहे हुन् । (मध्यकालको राजासमेत मरेको महाभूकम्पको वर्णन पनि यस्तै छ । भूकम्पमा भादगाउँमै बढी क्षति हुन्छ) अरू सहरमा भन्दा भादगाउँमै धेरै मानिस मरे । काँठकाँठमा गाउँमा पहाडहुँदो पनि धेरै घर भत्किएर मान्छे मरे । त्यसपछि पनि भूमिकम्प त भइरह्यो होला । (४ रेक्टरभन्दा तलका हुँदा महसुस भएनन् होला ?)

ठूलो भूकम्प गएको भोलिपल्टै बिहान सखारै २ घडी दिन जाँदा श्री ५ राजेन्द्रविक्रम शाह सहरका कति देवालय कति घर भत्के बिग्रे छन् भन्ने विचारले दरबारबाट निस्की हेर्दै सहरबाहिर बागमती त्रिपुरेश्वर पुगेका बखत राजा र सँगैका सबै सहरियाले देख्तादेख्तै जगन्नाथको देवालय गल्र्याम्मै भत्कियो, दुईवटा साँढे ग्याम्मै किचिए ।

यस भूकम्पमा परी काठमाडौँ सहरका मान्छे ४०० मरे । १३० देवालय भत्के, मानिस ३२ मिची मरे । भक्तपुर सहरका ७०० घर भत्किए । ५०० मान्छे मरे । पाटनमा घर देवालय गरी ४० भत्किए, मानिस चाहिँ २ जना मात्र मरे । पूर्व देश दोलखा सहरका घर चार सय थिए त्यसमध्ये दसवटा मात्र बचे, अरू सखाप भए । पहाडका गाउँगाउँका घर यसरी भत्किए । अन्यत्र कति मानिस मरे । हिसाब भएन । हुन त सं. १८९० को यस भूकम्पलाई ज्योतिषीले ‘नभूतो नभविष्यति’ भनेर लेखे, त्यसभन्दा अघिका भूकम्प नदेखेका नसुनेकाले त्यसो भने पनि भविष्यमा आउँदैन भन्ने के ग्यारेन्टी ? सय वर्षपछि १९९० र त्यसको ८२ वर्षपछि हाल २०७२ वैशाख १२ गतेको भैँचाला हामीले भोगिहाल्यौँ । तिनको वर्णन भइसक्यो । यस्ता ठूलठूला भूकम्प पहिले पनि हुँदै आएका थिए ।

(यहाँ माथि उल्लिखित घटना वर्णन पलापलोको हिसाब दिएको छ, जस्तो ३६ पला दिन बाँकी छँदा महाभूकम्प आयो । २ घडी दिन चढ्दा राजा भूकम्पका क्षति हेर्न निस्किए, यस्तो भगीरथ जैसी वा उनका छोराले लेख्ता यही घडी भिरेका थिएनन्, भिरेका भए घन्टा मिनेट लेख्नेथे । त्यस बेला ज्योतिषीहरू दिनमा धूप घडी रातमा पानी घडी उपयोग गर्थे, मिनमेख गर्थे । 

मध्यकालका महाभूकम्पः

मल्लकालमा यस्ता निकैवटा महाभूकम्प गएको सूचना हामीलाई मिलेको छ । वि.सं. १३१२ मा र १४०१ मा गएका भूकम्पको चर्चा गर्नुभन्दा पहिले १५६४ ताका गएको भैँचालाको यहाँ अलिकति चर्चा गर्नु प्रासङ्गिक पर्न आउँछ ।

चाँगुनारायण मन्दिरको भण्डारभित्र राखिएको राजा यक्ष मल्लकी पनातिनी राय मल्लकी नातिनी देविका देवीको सुवर्णपत्रको अभिलेखमा सोह्रौँ शताब्दीमा गएको भूकम्पको चर्चा प्रसङ्गले परेको छ ।

“भूकम्पेन विदारितं हरिगृहोद्वारं प्रचक्रे तया”

“श्रीश्रीश्री गरुडनारायणा देवल भूमिकंपन स्वङाव श्रीश्री देवी ठकुरिणीस्यं ल्हङा जुरो” (नेवारी पाठ)

त्यसबेला भैँचालो जाँदा यहाँ मानिसका घर, देवताका मन्दिरहरू भत्केको कुरा सूचित हुन आउँछ । चाँगुनारायणको मन्दिर भैँचालो जाँदा भत्केर बिग्रिएको थियो, त्यसको जीर्णोद्धार वि.सं. १५६४ असारमा देवकीले गराइन् भन्ने कुरा त्यस सुवर्णपत्रमा लेखिएको हुँदा त्यस बेला गएको त्यो भूकम्प पनि घर मन्दिर भत्काउन सक्ने हुँदा निकै ठूलो थियो भन्ने बुझिन्छ ।

नेपालमा गएका र जान्नमा आएका महाभूकम्पको चर्चा गर्दा ७४२ वर्ष र ६५३ वर्ष पहिलेका भैँचालोको चर्चा ऐतिहासिक प्रमाणको आधारमा यहाँ गर्न लागिएको छ । यतिबेला जस्तो दैवी मानुषी विपत्ति त अरू बेला सायद कमै परे होलान् भन्नुपर्छ । पूर्व, पश्चिम, दक्षिणबाट लगातार बाहिरी आक्रमण भइरहन्थे भने भित्र आन्तरिक सङ्घर्ष पनि कम थिएनन् । आन्तरिक र बाह्य युद्धसङ्घर्षले गर्दा त्यतिबेला नेपाल जीर्णशीर्ण भएको थियो । त्यसमा पनि मल्ल उपाधिधारी राजा विशेषतः अभय मल्लका पालामा त दैवी विपत्ति पनि अनेकौँ खनिए । अतिवृष्टि सलह महामारी दुर्भिक्ष आदि प्रकोपको यिनको शासनकाल सङ्कटमय बनेको थियो । यिनको नाम अभय मल्ल भए पनि यो समय जनताले भयैभयमै बिताएका थिए ।

भक्तपुरसँग बनेपा राज्यको आसपासमा आन्तरिक सङ्घर्ष चलिरहेकै थियो । यस्तैमा अभय मल्लको वृद्धावस्था जयदेव राजाले वि.सं. १३११ आश्विन कृष्ण २ मा पशुपति देउपाटनमा छुट्टै सिंहासन कायम गरी राज्याभिषेक लिए । यसको एक वर्ष पनि पुग्न पाएको थिएन, नेपालमा एक उग्र विनाशकारी महाभूकम्पको मार पर्यो । यसले राजाप्रजाको नै सत्यानाश पार्यो ।

यो महाभूकम्प वि.सं. १३१२ आषाढ शुदि ३ सोमबारका दिन गएको थियो । यस महाभूकम्पको मार सानोतिनो थिएन । राजाका दरबारदेखि लिएर जनताका घर कटेरा प्रायः सबै लडेर ध्वस्त भए । अरू पशुप्राणीको त के लेखा, देशका जनता तीन भागमा एक भाग चाहिँ यस भुइँचालामा थिचिएर किचिएर स्वाहा भए । दुर्भाग्यको कुरा भक्तपुर दरबार भत्किँदा किचिएर स्वयं राजा अभय मल्लको प्राणान्त भयो ।

ठूलो भूकम्प चलेपछि सानोतिनो कम्प धेरै दिनसम्म भइरहन्छ । २०४५ सालको भाद्र ५ गतेदेखि यता धेरैपल्ट भूकम्पको धक्का अनुभव भइरह्यो ।  १९९० साल माघमा महाभूकम्प गएपछि वैशाखसम्म सानातिना भूकम्प गइरहेको कुरा भुक्तभोगीहरू गर्दै थिए । त्यसकारण त्यस बेला पनि यो अत्यन्त ठूलो भूकम्प गएपछि त्यसभन्दा साना धक्का बारम्बार अनुभूत भइरहे । यसैले सारा जनता भत्केबिग्रेका घर छाडी एक महिनासम्म लाखापाखा लागेर बसे । यस महाभूकम्पमा पनि ठूलो मार भक्तपुरले नै खप्नुपयो । राजधानी यहीँ भएको हुनाले राजा र धेरै प्रजा पनि यहीँका परेका छन् । पछिका भूकम्पमा पनि भक्तपुरको नै बढी क्षति भएको देखिन्छ । 

यस महाभूकम्पको वर्णन पुराना वृत्तान्तका संस्कृत र नेवारी भाषामा दुई ठाउँमा यसरी गरिएको छ– राजा जयदेव भए, वर्ष २ महिना ८, तिनको राज्यमा ठूलो भुइँचालो गयो, ठूलो दुःख भयो, महामारी दुर्भिक्ष भयो, प्रजाको नाश भयो, ने.सं. ३७५ (वि.सं. १३१२) आषाढ शुक्ल द्वितीया सोमबार पुनर्वसु नक्षत्रदेखि महिनौँसम्म भुइँ हल्लिरह्यो । (नेपाल–वृत्तान्त)

राजा श्रीजयदेव वर्ष २ मा ८ तस्य राजें बृहद्भूमिचालनं महासन्तापं, महामारी दुर्भिक्ष प्रजाक्ष्य यो भवति । सम्बच्सर तृसप्त पञ्चआषाढ शुचि द्वितीया पुनर्वसु सोमवासरेत्यादि चालन चतुर्मासा । (नेपाल वृत्तान्त–गोपाल वंशावली) 

(उपर्युक्त वृत्तान्तको पाठमा ‘महामारी दुर्भिक्ष प्रजा ष्येश्चा भवति’ भनेर पहिले पढिएको थियो । त्यसको खण्डन गर्दै महेशराज पन्तले प्रजा पापो भवति भनेर पढे । अर्थ प्रजा दीना भन्ने अनुमान गरेकोमा शङ्का लागेर मूल हेर्दा प्रजोक्ष्ययो भवति भन्ने पाठ हुँदा सच्याएर यहाँ दिएको हुँ ।)

यी घटना अभय मल्लका पालामा घटेका हुन् भन्ने कुरा लेखिएको छ । अर्को पाठमा अनावृष्टि बढी छ । पानी नपरेर दुर्भिक्ष भएको र भूमिकम्पबाट छत्रभङ्ग (राजाको मृत्यु) भएको कुरा सूचित गरिएको छ ।

गत ९० सालको भूकम्पपछि वैशाखसम्म ३ महिना भुइँ हल्लिरहेजस्तै उसबेला पनि १ महिनासम्म भूमि कम्पन भइरहेको बुझिन्छ । नेवारी भाषामा १ महिना बाहिरै बसेको कुरा स्पष्टसँग लेखिएको छ । राजा अभय मल्ल पनि सोही भुइँचालामा परेर मरेको कुरा कहिएको छ र अहिलेको भूकम्पमा १२ महिनासम्म पनि ४÷५ रेक्टरको भूमिकम्प भइरहेको छ । त्यस बेला नाप्ने यन्त्र नहुँदा अनुभव नभएर होला ३÷४ महिना भनिएको ।

(ने.सं. ३७५ (वि.सं. १३१२) आषाढ शुदि ३ सोमबार पुनर्वसु नक्षत्र ध्रुवयोग परेको दिनमा ठूलो भूकम्प भयो १५ दिनदेखि एक महिनासम्म देश छोडी बाहिर बस्नुपर्यो । अनेकौँ देवमन्दिर घरहरू भत्के । अभय मल्लको विजय राज्यमा यस्तो भयो ।

सं. ३७५ आषाढ शुक्ल तृतीया सोमबार योग ध्रुव तब भूकम्प वव, बाला छियो लछिंव पिङदेश त्वहत माङा अनेकदेवल छें डोक्व । विजयराज श्री अभय मल्ल देवस अस्तदिन प्रजा शिक्व त्रिभागस १ भागवीस ।

राजासमेत तीन भागमा एक भाग प्रजाको मृत्यु भयो । पहिलो क पाठको संस्कृत भाषामा जयदेवको राज्यकालमा यो महाभूकम्प गएको भनियो । अरू संस्कृत पाठमा र नेवारी भाषामा अभय मल्लका पालामा भनियो । वास्तवमा भुइँचालाका दिनसम्म भक्तपुरको मूल गद्दीमा अभय मल्ल राजा गरिरहेका थिए, भुइँचालामा परेर उनको स्वर्गवास भयो । यसको ९ महिनाजति अघि नै वि.सं. १३११ आश्विन वदी २ मा देउपाटनको दरबारमा जयदेवको अभिषेक भएको थियो । यसै कारण कतै जयदेव कतै अभय मल्ल लेखिनु स्वाभाविक हो ।

यस भुइँचालामा परेर मरेका मानिसको सङ्ख्या अथाह थियो । पूरै जनसङ्ख्यामा तीन भागमा १ भाग मरे भनेपछि यो भुइँचालो कत्रो थियो सो अनुमान गर्न सकिन्छ । साधारण जनताका घरकटेराभन्दा निश्चय नै राजदबार र देवमन्दिर पक्का बलिया थिए । दरबारै भत्किनु मन्दिर नष्ट हुनु भनेको कुरा सानो भूकम्पका धक्काले हुने होइन । भक्तपुर पूरै सहर छाडेर मानिसहरू बाहिर बाहिरै एक महिनासम्म बसेका थिए । यसले पनि बीच बीचमा भूमिकम्पन भइरहेको बुझिन्छ ।

यसको ९८ वर्षपछि पुनः नेपालमा ठूलो भूकम्प भयो । यस बेला देउपाटनको दरबारमा रुद्र मल्लले स्थापना गरेका राजा जयारि मल्ल विराजमान थिए भने भक्तपुरको मूलगद्दीमा रुद्रमल्लकै छोरी नायकदेवी विराजमान बनेकी थिइन् । उनका उपपति राजकुमार जगत्सिंह बूढी महारानी देवलदेवीको सल्लाहले शासन सञ्चालन गरिरहेका थिए । ने.सं. ४६४ (वि.सं. १४०१) आश्विन शुदि ७ मा यो अर्को महाभूकम्प गएको थियो । यसको भोलिपल्ट राजा जयारि मल्लको देउपाटन दरबारमा मृत्यु भएको देखिएकाले यसपालामा पनि दरबार भत्किँदा राजा किचिएरै मरेका थिए भन्ने अनुमान हुन्छ । यसको चाहिँ नेवारी भागमा सङ्क्षिप्त चर्चा गरिएको छ । ने.सं. ४६४ (वि.सं. १४०१) आश्विनसुदी सप्तमीको दिन तीन पहर जाँदा ठूलो भूकम्प गयो । यसको भोलिपल्ट देउपाटनमा श्रीजयारि मल्लदेवको असत भयो । ने.सं. ४६४ (वि.सं. १४०१) आश्विन शुदी ७ स्वं पहरसं तव भूकम्प वव. ध्वसंती वलंस श्री जयारिमल्ल देवस अस्त” ।

आश्विन सुदी ७ भनेको दशैँको फूलपातीको दिन पर्यो । यस महाभूकम्पको प्रसङ्गमै राजाको मृत्यु बताइएकाले दरबारले किचेरै राजाको प्राण लिएको भन्ने कुरा बुझिन आउँछ । यसपाला प्रजाको कस्तो दुर्दशा भयो त्यसको चाहिँ वर्णन गरिएन, महाभूकम्प र राजाको मृत्यु भन्नेबित्तिकै यसको भयङ्करता र महाविनाश सोझै आभास हुन आउँछ ।

सं. १८६८ जुम्लाको भूकम्प परिशिष्ट पत्र

१. वि.सं. १८६८ मा पश्चिम जुम्लातर्फ गएको भुइँचालाको क्षति (प्रमाणको लागि १ सकल पत्र)

अर्जि उप्रान्त फागुणका दिन ३ जादा बुधबार आउसिका दिन बिहान ८ घडि ४० पला दिन जादा भूमिकम्प हुँदा छिनाछिना गरि १ सिंजाका गढि २ गमको गढि १ तिप्रिकोटको गढि १ भर्जुम्लाको खबर आइपुग्याको छैन नजिकपुढो बिग्र्याका घर नौसय पैतिस ९३५ मिचिमयका मानिस येक् सय चालिस् १४० उचाउचा पर्वत बन्द भैरह्याछन् छिनाछिनाको बाहिर गढिकै भित्रि किल्ला ई सबै गारद भया भैरवनाथ कम्पनिको कोतकिल्ला भित्र थियो र किल्ला गारद हुँदा तद्वीरसँग निसान र तासरमार्फ झिकिउ उर्खर्खुजना सबै मिच्यो । पछि उकास्ता साबुत रह्याको बिम्बा भयाको गारद् भै गयाको खजनाको तपसील उतारि चह्राइपठायाको छ । हजुरमा दाखिल होला । गढि किला बनाउनालाई भन्या मुलुकमा भारा लाञौ । चाहिन्या सैसराजाम र खैखर्चको रुक्का लेखि चह्राइपठाहुदो हो जो हुकुम सो सही । मिति फागुन सुदि ४ रोज १ शुभम्... ।

इत सेवक जसिवतन थापा कर्णवीर अधिकारीको कोटि कुर्णेस बन्दगी सलाम सलाम सलाम (पीठमा जैसीकोठा) साल ६८ का भरफागुनका महासुर सुवेदारका चिठी जुम्लाका चिठी समेत भन्ने उल्लेख छ ।

यही मितिमा भीमसेन थापा र रणध्वज थापालाई लेखेको सुब्बा जसिवन्तको पत्र पनि पाइन्छ । केन्द्रबाट किल्ला बनाउनु भन्ने रुक्कापत्र गयो । (जैसीकोठाबाट)

(सं. १८६८ को पश्चिम जुम्लातर्फ गएको भूकम्पको प्रमाणको लागि प्रस्तुत)

(भारद्वाज संस्कति संवद्र्धन केन्द्रद्वारा प्रकाशित ‘अपर्णा  भाग–४’बाट ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमणि नेपाल
ज्ञानमणि नेपाल

ज्ञानमणि नेपाल 

लेखकबाट थप