भूमिका लेखनको पारिश्रमिक विवाद
आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ ।
भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो निकै अघिदेखि आउन थालेको हो । वरिष्ठ समालोचक स्व. तारानाथ शर्माले पनि एक पटक बिनापारिश्रमिक भूमिका लेख्न सकिँदैन भनेर राष्ट्रिय स्तरकै पत्रिकामा लेख नै लेखेको बताउँछन् प्राडा रामप्रसाद ज्ञवाली ।
त्यो गुनासोको सम्बोधन नेपाली साहित्यका फाँटमा अझै चल्दैछ । यस क्रममा धरावासीले बिनापारिश्रमिक भूमिका लेख्न नसक्ने कुरा सामाजिक सञ्जालमा यसरी पोखेका छन्ः
‘जुनसुकै लेखकले पनि पुस्तक तयार भइसकेपछि छाप्नुअघि प्रुफ हेर्ने, लेआउट गर्ने, कागज किन्ने, प्लेट बनाउने, छपाउने, बाइन्डिङ गर्ने, बिक्रेतालाई छुट दिने सबैका लागि खर्चको व्यवस्था गरेको हुन्छ । उसले केवल त्यसको भूमिका लेखक र समीक्षकले मात्र निःशुल्क लेखिदिने वा बोलिदिने गर्नुपर्छ भन्ने सोच राखेको हुन्छ । जबकि ऊ पुस्तक प्रेसमा दिनुभन्दा एक साताअघि पनि पाण्डुलिपि पठाउन सक्छ र उसको समयभित्र लेखिदिनुपर्ने दबाबसहित उपस्थित हुन्छ ।
पुस्तक विमोचनभन्दा तीन दिनअघि चार सय पृष्ठको किताब लिएर सगौरव उपस्थित भई बाक्लो चिया वा एक छाक भान्सै गरी पर्सी सबै किताब पढेर बहुत राम्रो बोलिदिन घरको काम लगाएर जान्छ । कत्ति नजरसर्मी हुनु !
शोषण जहाँ र जसबाट पनि भइरहेको हुन्छ । आज सित्तैँमा पाइने बस्तु के छ बजारमा ? कुनै पनि सहरमा पुगे गोजीमा पाँच रूपैयाँ नभए पिसाब फेर्न पाइँदैन । बीस रूपैयाँको नोट गोजीमा नभए एक कप चिया आउँदैन । एक मुठो रायोको सागलाई तीस रूपैयाँ चाहिन्छ । हातले लेख्नु परे कागज चाहिन्छ । कलम र त्यसमा हाल्ने मसी चाहिन्छ । ती चिज बारीमा वा गमलामा फल्दैनन् ।
कम्प्युटरमा लेख्नुपरे त्यसका लागि कम्प्युटरको ह्रासकट्टी हुन्छ । बिजुली खर्च हुन्छ । इमेल गर्नुपरे इन्टरनेटको खर्च परेको हुन्छ । सम्बन्धित पाण्डुलिपि पढ्न लागेको समय, त्यसका लागि गर्नुपरेको मानसिक श्रम, लेख्न लाग्ने समय, आफूले वर्षौं लगाएर बनाएको व्यक्तित्वको मूल्य । यी सबैलाई विचार गर्दा एउटा विशिष्ट व्यक्तिले लेखिदिएको कुनै भूमिकाको मूल्य कसैले तिर्न सकेको होला ?
कुनै माइक्रो वा बसले बिनाभाडा चढाउँदैन । कुनै डाक्टरले निःशुल्क जाँचिदिँदैन । कुनै फार्मेसीले मधुमेयको औषधि निःशुल्क दिँदैन । कसैको पुस्तक विमोचनका लागि सात दिन लगाएर मनै नलागेको किताब पढिदिएर आफैँले गाडी भाडा तिरेर समयमै पुगिदिएर मनै नपरे पनि फूलबुट्टा भरेर विज्ञापनीय प्रवचन गरी चिसा सिङ्गडा खाएर कतिन्जेल फर्किरहने कुनै ज्येष्ठ लेखकले ?
नेपाली बजारमा के लेखकले मात्र झार्लाङ्गी भइरहने हो र ! हरेक वस्तुको मूल्य तोकिएको हुन्छ । अब हाम्रो लेखनको मूल्य पनि आफैँले तोक्ने हो । नबिके बिक्दैन । कम्तीमा यो बेकारको अनुत्पादक श्रमको शोषणबाट मुक्ति त मिल्छ ! अबदेखि मैले बिनापारिश्रमिक कुनै पनि सम्पादन, भूमिका, पुस्तक समीक्षा, पाण्डुलिपि पढी राय सुझाव नदिने निर्णय गरेको छु । यसको लागि कसैलाई असजिलो भएमा क्षमा चाहन्छु ।’
धरावासीको यो लामो गनथन अन्य भूमिका लेखकको सामूहिक पीडा हो । भूमिका लेखनमा जति परिश्रम पर्छ, त्यति परिश्रमबाट भूमिका लेखकले अरूतिरबाट आर्जन गर्न सक्थ्यो, भन्छन् प्राडा ज्ञवाली । “त्यसैले दिन सक्नेले दिँदा राम्रो हो तर पैसा नभई भूमिका लेख्दिनँ भन्नु हुँदैन,” ज्ञवाली भन्छन्, “आउने मानिस श्रद्धाले आएको हो, समय दिन सकिन्छ भने लेखिदिनुपर्छ, हैन भने भ्याइनँ भनिदिनुपर्छ ।” पैसा दिने भए लेख्छु नत्र लेख्दिनँ भन्नु चाहिँ अलि ठीक नहुने ज्ञवालीको ठहर छ ।
तर भूमिका लेखेको पारिश्रमिक लिनै हुन्न भन्ने चाहिँ होइन भन्छन् उनी, “जो व्यक्ति सबै कुरामा खर्च गर्न सक्षम छ, उसले २÷४ हजार दिन सक्छ भने फरक परेन । अरूतिर खर्च गर्न सक्नेले दिनुपर्छ ।”
तर प्राडा घनश्याम परिश्रमीको विचार भने केही फरक छ । भूमिका लेख्न पाँच सात दिनदेखि महिनौँ दिनसम्म लाग्न सक्छ । धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले पारिश्रमिकबिना लेख्न गाह्रो हुने उनी बताउँछन् ।
“नेपालमा दुई हजारभन्दा बढी गजल सङ्ग्रह प्रकाशन भइसकेका छन्, तीमध्ये लगभग ३५० वटा गजल सङ्ग्रहमा मैले भूमिका लेखिसकेँ,” परिश्रमी भन्छन्, “कृति पढेर भूमिका लेख्नेलाई न्यूनतम पारिश्रमिक त आवश्यक हुन्छ नि ।”
टाइपलगातय सम्पूर्ण काम लेखकले नै गर्नुपर्ने हुँदा मेहनत धेरै हुन्छ । शुभकामना दिन्छु भन्दा कृतिकारहरुले भूमिका नै चाहिन्छ भन्ने गरेको उनी बताउँछन् । अहिले पनि उनलाई भूमिका लेखिदिन १४÷१५ वटा पुस्तक लाइनमा छ । तीमध्ये कतिपय एक वर्षदेखि पर्खेर बसेका रहेछन् ।
त्यसैले, पुस्तक प्रकाशन गर्दा टाइप गर्ने, प्रुफ हेर्ने, प्रकाशन गर्नेलाई पैसा दिन कृतिकार तयार हुने तर भूमिका लेखिदिनेलाई केही नदिनु चाहिँ ठीक नहुने उनको तर्क छ । एउटा लेख रचना तयार गर्दा या अनुसन्धानको आर्टिकल लेख्दा वा कुनै कृति पढेर समालोचना लेख्दा राज्यस्तरले दिने पारिश्रमिक जतिको रकम भूमिका लेखकलाई पनि उपलब्ध गराउँदा ठिकै हुने परिश्रमी बताउँछन् ।
त्यसैले लेखिदिनुस् भन्नेहरूलाई उनले यसो दक्षिणा चाहिँ चाहिन्छ है पनि भन्ने पनि गरेका छन् । तर कतिपयले आफैँ बुझेर दिने गरेको पनि बताउँछन् । भन्छन्, “भूमिका लेखेबापत कसै कसैले मलाई ३२ हजारसम्म पनि पठाइदिएका छन् ।”
पारिश्रमिक दाबी गर्ने कि नगर्ने ?
पारिश्रमिक दाबी गर्ने या नगर्ने सम्बन्धमा दुवै कोणबाट हेरिनुपर्छ भन्छन् प्राडा रामप्रसाद ज्ञवाली । “मैले पनि ३÷४ सय कृतिको भूमिका लेखिसकेको छु, मेरा आफ्ना कृतिमाथि पनि धेरैले भूमिका लेखिदिनुभएको छ,” ज्ञवाली भन्छन्, “भूमिका लेखिदिनुभएको छ भनेर मैले पनि पैसा दिएको छैन र आफूले पनि लिएको छैन । म चाहिँ त्यसको बीचमा छु ।”
“जसले भूमिका लेखाउन चाहेको हुन्छ उसले श्रद्धा गरेर आएको हुन्छ । त्यस्तो श्रद्धा गर्ने मान्छेसँग पैसा देऊ भन्न चाहिँ निकै गाह्रो काम हो ।” भूमिका लेखन व्यावसायिक लेखन नभएको र नेपालमा अहिलेसम्म यो व्यवसाय बनिनसकेको ज्ञवालीको तर्क छ ।
तर यसबारे भूमिका लेख्ने व्यक्ति सुरुमै प्रष्ट हुन जरुरी छ भन्छन् प्राडा नेत्र एटम । पैसा नभई ‘भूमिका लेख्दिनँ, कार्यक्रममा बोल्दिनँ’ भन्न पनि नसक्ने अनि पैसा दिएनन् भनेर सार्वजनिक गुनासो गर्ने दोहोरो प्रवृत्तिले लेखकको नियत असल देखाउँदैन भन्छन् उनी । यस्ता कार्यले उसको इज्जत बरु केही घटाउँछ ।
नेपालमा भूमिका लेखनमा दुई धार देखिन्छ, एउटा प्रशंसै प्रशंसा र अर्को तटस्थ कृतिगत समालोचना गरेर लेख्ने ।
“मचाहिँ पारिश्रमिक लिएर भूमिका लेख्दिनँ । एनजीओको कार्यक्रममा गएर बोलेपछि बुझेजस्तो खाम साहित्यिक कार्यक्रममा अपेक्षा पनि राख्दिनँ,” एटम भन्छन्, “सकिन्छ भने मन लागेको कृतिको भूमिका लेखौँ, अपेक्षाका बारेमा पहिले नि स्पष्ट बोलौँ ।”
पछिल्लो पुस्तालाई सिर्जनात्मक निरन्तरताका निम्ति अलिकति प्रोत्साहित गर्न आग्रह गर्दै उनी भन्छन्, “भूमिकाको पनि अर्थ देख्छु, समालोचनाको पनि अपेक्षा राख्छु, कार्यक्रमका वक्ताको पनि महत्त्वपूर्ण भूमिका पाउँछु ।”
भूमिका कृतिको ऐना हो । यसमा कृतिका राम्रा पक्ष र कमी कमजोरीलाई पनि समेटिएको हुन्छ । त्यसैले धेरैजसो पाठकले भूमिका हेरेर नै पुस्तक किन्ने या नकिन्ने भन्ने निर्णय गर्छन् र त्यसको मूल्य तिर्छन् ।
कृति प्रकाशनपछि प्रचारप्रसार र त्यसको मूल्य उठोस् भन्ने चाहना जो कोही सर्जकको हुन्छ । त्यसैले, सर्जकले सितिमिति जोकोहीलाई भूमिका लेखाउन चाहँदैन । किनभने भूमिकाले त्यस पुस्तकको प्रतिष्ठामा योगदानै गर्छ । त्यसैले, सर्जकले सकेसम्म स्थापित साहित्यिक व्यक्तित्वलाई मात्र उक्त अवसर दिन्छ ।
पुस्तकको भूमिका लेखन त्यति सहज कार्य भने होइन । निकै अध्ययन, अनुसन्धान गर्ने व्यक्तिले मात्र राम्रो भूमिका लेख्न सक्छ । यस अर्थमा यो निकै गहन र चुनौतीपूर्ण कार्य हो । जोकोहीले भूमिकाको मर्मअनुसार लेख्न सक्ने क्षमता राख्दैन । त्यसैले असल सर्जकले गहन अध्येतालाई भूमिका लेखाउन चाहन्छन् ।
तर नेपालमा भूमिका लेखनमा दुई धार देखिन्छ, एउटा प्रशंसै प्रशंसा र अर्को तटस्थ कृतिगत समालोचना गरेर लेख्ने । प्रशंसा लेख्नेले कृति पढेर लेखकप्रति सहानुभूति राखेर आफ्नो भावना पोखेको हुन्छ भने समालोचनात्मक भूमिका लेख्दा कृतिको विधागत मूल्य, सामाजिक तथा साहित्यिक गहनताका सन्दर्भहरूलाई लिएर सकारात्मक पक्ष र कमीकमजोरीहरूलाई औंल्याइ दिन्छ ।
ज्ञवालीले ‘भूमिका समालोचनाहरू’ भन्ने पुस्तक नै प्रकाशन गरेका छन् । आफूले लेखेका भूमिकाहरू भूमिका मात्र नभई समालोचना हुन् भन्छन् उनी ।
कृतिमा भूमिकाको महत्त्वका सम्बन्धमा प्राडा. रामप्रसाद ज्ञवाली भूमिका लेखकले कसरी लेखेको छ भन्ने कुरा विशेष हुन्छ भन्छन् । “वासुदेव त्रिपाठी सर लगायतको भूमिका समीक्षात्मक कोणबाट लेखिएका हुन्छन्, यस्ता भूमिकाको ठूलो महत्त्व हुन्छ,” उनी भन्छन्, “भूमिकाको महत्त्व हुन्छ तर त्यो लेखकले गहिराइका साथ लेख्यो, लेखेन भन्नेमा निर्भर रहन्छ, शुभकामना मात्र दिने, प्रशंसा मात्र गरी लेखिएका भूमिका नलेखे पनि फरक पर्दैन ।”
तर समीक्षा नै गरेर कृतिको समालोचनात्मक तरिकाले लेखिएका भूमिकाहरू चाहिँ निकै महत्त्वपूर्ण हुने ज्ञवाली बताउँछन् ।
त्यसो त ज्ञवालीले ‘भूमिका समालोचनाहरू’ भन्ने पुस्तक नै प्रकाशन गरेका छन् । आफूले लेखेका भूमिकाहरू भूमिका मात्र नभई समालोचना हुन् भन्छन् उनी । किनभने उनका भूमिकाहरू गहन अध्ययन गरी १५ देखि ३० पृष्ठ सम्मका रहेका छन् ।
भूमिकाका कारण कालजयी कृति
कतिपय भूमिकाले कृतिलाई कालजयी बनाएका उदाहरण पनि छन् । मोहन कोइरालाका कविता सङ्ग्रहमा ईश्वर बरालले लेखेको भूमिकाका कारण उनका रचनाहरू पाठकले मनपराउन थालेको भनिन्छ ।
यस्तै पारिजातको ‘शिरीषको फूल’ उपन्यासमा शङ्कर लामिछानेले लेखेको भूमिका निकै चर्चित छ । शङ्कर लामिछानेको भूमिकाले गर्दा शिरीषको फूल उपन्यासले मदन पुरस्कार प्राप्त गर्न सजिलो भयो भन्ने खालका टिप्पणीहरू पनि छन् ।
यस्तै कुमारबहादुर जोशीको देवकोटामाथि पिएचडी गरिएको किताबमाथि वासुदेव त्रिपाठीले लेखेको भूमिका निकै महत्त्वपूर्ण छ । उनले लेखेको त्यो भूमिकालाई पछि विश्वविद्यालयको पाठ्यक्रममा नै राखियो ।
भूमिका लेख्नु त्यति सहज विषय होइन । किनभने त्यो कृतिको सुरुदेखि अन्त्यसम्म गहन अध्ययन गरेर लेखकले तटस्थ धारणा बनाउनुपर्छ ।
वरिष्ठ गजलकार प्राडा घनश्याम परिश्रमीको अनुभव पनि त्यस्तै छ । उनका भूमिकाले पनि कतिपयलाई निकै हाइलाइट गरेको छ ।
“श्रेष्ठ प्रिया पत्थरको ‘पग्लिएको व्यथा’ किताबमा २०५१÷५२ सालतिर भूमिका लेखिदिएको थिएँ । त्यो भूमिकामा उहाँलाई पहिलो नेपाली नारी गजलकार भनेर लेखिदिएँ,” परिश्रमी भन्छन्, “त्यत्तिले उनी धेरै प्रसिद्ध भइन्, नारी गजलकार भइन्, दुई चारवटा पुरस्कार नै पाइन् ।”
त्यस्तै, परिश्रमीले सरोज काफ्लेको गजल सङ्ग्रहमा पनि भूमिका लेखे । यसमा धेरै प्रशंसा पाएको उनी बताउँछन् । त्यो भूमिका पढेर ‘यस्तो भूमिका मैले जीवनमा पढेकै छैन’ भनेर कमल दीक्षितले उनलाई एउटा चिठी नै लेखेका थिए । यस्ता प्रसन्नता हुने कुरा भूमिका लेखकले बेला बेला पाउँछन् । त्यसैले कुनै कुनै भूमिकाले कृतिलाई बुझ्न र स्रष्टालाई उठान गर्न महत्त्वपूर्ण हुन्छन् ।
भूमिका लेख्नु त्यति सहज विषय होइन । किनभने त्यो कृतिको सुरुदेखि अन्त्यसम्म गहन अध्ययन गरेर लेखकले तटस्थ धारणा बनाउनुपर्छ । कृतिमा रहेका सकारात्मक पक्ष, त्यसका कमजोरी र सुधारका पक्षहरू तटस्थ रूपमा देखाउन सक्नुपर्छ । यसका लागि भूमिका लेख्ने व्यक्तिको धेरै समय र श्रम खर्च हुन्छ । उसले पारिश्रमिकको अपेक्षा राख्नु स्वाभाविक हो ।
एउटा राम्रो भूमिका लेख्नलाई झण्डै महिनादिन लाग्छ भन्छन् प्राडा ज्ञवाली । “कृतिको अध्ययन, बुँदा टिपोेट, विभिन्न पुस्तकबाट सन्दर्भहरुको खोजी गर्दा राम्रो भूमिका लेख्नेले त त्यसलाई पाँच दस दिन नै खर्च गरेको हुन्छ,” प्राडा ज्ञवाली भन्छन्, “त्यस कोणबाट हेर्ने हो भने उसको बौद्धिक श्रम पनि धेरै परेको हुन्छ र समय पनि धेरै खर्च हुन्छ ।”
कृतिकारको अपेक्षा
धेरैजसो सर्जकको अपेक्षा आफ्नो कृतिको राम्रा पक्षको मात्रै भूमिकामा चर्चा होस् भन्ने चाहना हुन्छ । त्यो स्वाभाविक पनि हो । तर एउटा राम्रो समालोचकले कृतिका कमजोरी नदेखाइरहन सक्दैन । कृतिकारको त्यो मनोभावलाई असल समालोचकले स्वीकार्न नसक्ने बताउँछन् परिश्रमी ।
“कोही कोही राम्रो भनेर, प्रशंसा गरेर लेखिदिनोस् भन्छन्, त्यस्तालाई म लेख्दिनँ भनिदिन्छु,” परिश्रमी भन्छन्, “मैले लेखेको भूमिकामा उपयुक्त मात्र प्रशंसा हुन्छ, कृतिभित्रका कमजोरी सबैकोमा लेखिदिने गरेको छु ।”
भूमिका भनेको सम्बन्धित कृतिको समीक्षा हो । लेखकीय इमानदारिता भएमा आम पाठक उक्त कृतिबाट ठगिनु पर्दैन ।
तर यसरी केलाइदिएका कमजोरीसम्बन्धि वाक्य कसै कसैले हटाएर प्रशंसा थप्ने काम पनि गरेको देखेका छन् उनले । एक बरिष्ठ साहित्यकार हुँ भन्नेले मुक्तकको भूमिका लेख्न लगाएको प्रसङ्ग सम्झँदै उनी भन्छन्, “मैले त्रुटिहरू पनि देखाइदिएको थिएँ तर उनले त्रुटि सुधार्छु गुुरु, तपाईंले लेखेको ती वाक्यहरू हटाउँछु भने । आफ्नो विवेक प्रयोग गर्नुस् भनिदिएँ ।”
पहिले पाण्डुलिपि बोकेर भूमिका लेखाउन भेट्न आएका तर प्रकाशनपछि पारिश्रमिक त के कृतिसमेत नपाएको गुनासो गर्छन् उनी । नेपाली साहित्यका क्षेत्रमा यस्ता धेरै लेखक छन् ।
यस्तै ज्ञवालीले लेखेका भूमिकामा पनि एक दुई जनाले एक दुई वाक्य हेरफेर गरेका तर तिनीहरूलाई भविष्यमा तिम्रो कृतिमा म कहिल्यै पनि भूमिका लेख्दिनँ भनिदिएको छु भन्छन् ज्ञवाली । कोही कोही मानिसले भूमिकामा चित्त बुझेन भने त्यस्तो गर्छन् । “एक जना हुनुहुन्छ, मैले लेखिदिएको भूमिका प्रकाशन नै गरिदिनुभएन । त्यसमा थोरै आलोचना पनि गरेको थिएँ,” प्राडा ज्ञवाली भन्छन्, “उहाँलाई छटपटी भएछ, भूमिकै राख्नुभएन ।” तर त्यो अप्रकाशित भूमिका उनले आफ्नो समालोचनाको किताबमा राख्ने बताए ।
निष्कर्ष
भूमिका भनेको सम्बन्धित कृतिको समीक्षा हो । लेखकीय इमानदारिता भएमा आम पाठक उक्त कृतिबाट ठगिनु पर्दैन । भूमिका कृतिको ऐना भएकाले पाठकलाई सो कृति उपयोगी छ या छैन भन्ने सहजै मूल्याङ्कन गर्न सक्छ र खरिद गरेको कृतिको अध्ययनबाट उसले आफ्नो रकम र समयको मूल्य असुल उपर गर्न सक्छ ।
त्यति मात्र होइन, समालोचकीय क्षमता भएको व्यक्तिले सो कृतिको सामाजिक मूल्यलाई आम पाठकसामु ल्याइदिन सक्छ । तसर्थ समालोचकीय ढङ्गले लेखिएको भूमिकाको ज्यादै महत्त्व हुन्छ ।
अब रह्यो भूमिका लेख्दा पारिश्रमिक माग्ने कि नमाग्ने ? यदि कृति र लेखका बारेमा प्रशंसा गरी लेख्ने र वर्षमा अक्कल झुक्कल लेखिदिनेहरूले पारिश्रमिक नलिँदा पनि हुन्छ तर बीसौँ कृतिको भूमिका लेख्नेहरूलाई यसले अवश्य मर्का पार्छ । किनभने आदर, सम्मान र प्रशंसाले मात्र लेखकले अहिलेको व्यावसायिक युगमा जीवन निर्वाह गर्न सक्दैन ।
तसर्थ, कृष्ण धरावासी र घनश्याम परिश्रमीले गुरु दक्षिणा चाहिन्छ भन्नु स्वाभाविक हो । तर त्यसबारे नेत्र एटमले भनेझैँ कति रकम लिने वा नलिने अपेक्षाका बारेमा पहिले नि स्पष्ट भन्न सक्नुपर्छ । कृतिकार र भूमिका लेखक यसबारे सुरुमै प्रष्ट भए कुनै पनि कृतिको मूल्यबारे भूमिकाले उजिल्याउनेछ ।