माघे संक्रान्ति : नुहाउन सिकाउने पर्व
काठमाडौँ । आज माघे संक्रान्ति, मकरसङ्क्रान्ति पनि भनिन्छ । शब्दकोश अनुसार, संक्रान्तिको अर्थ हुन्छ— ‘सूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय । कुनै एक अवस्था वा बिन्दु पार गरी अर्को अवस्था वा बिन्दुमा पुग्ने मार्ग । स्थानान्तरण । सौर महिनाको पहिलो दिन, १ गते ।’
खासगरी यस दिन सूर्य उत्तरायण लाग्ने मानिन्छ, अयन भनेको गति, अर्थात् यस दिनदेखि सूर्य उदाउने क्रम क्रमशः उत्तरतिर सर्दै जाने मानिन्छ । मान्यता यो पनि छ— उत्तरायण देउताहरूको दिन हो, मकरसङ्क्रान्तिको मृत्यु हुनेले मोक्ष प्राप्त गर्छन् ।
दिन लामो हुन थाल्नु भनेकै सूर्य उदाउने स्थान दक्षिणबाट क्रमशः उत्तरतिर सर्दै जानु हो । हामीकहाँ दिन लामो हुन थाल्ने दिनका रुपमा १५ पुसलाई मानिन्थ्यो, यसै आधारमा केही जातिले आफ्ना चाडपर्व पनि मनाउँछन् । जस्तो ः ल्होसार ।
हाम्रा पुराणहरूले विभिन्न अर्थ, संकेत र सारका रुपमा माघ महिनाको ‘महात्म्य’ (महत्त्व) गाएका छन् । मकरसंक्रान्ति र श्रीपञ्चमी लगायत हिन्दू धार्मिक पर्वहरू यही महिनामा पर्छन् । मकरसंक्रान्ति नेपाल र भारतका हिन्दुहरूले विशेष रुपमा मनाएको पाइन्छ । खासगरी खानपान र सरसफाइसँग जोडिएको यो पर्व नेपालमा विभिन्न समुदायले आ–आफ्नै किसिमले मनाउँदै आएका छन् । नेवार समुदायले ‘घ्योचाकु संल्हू’, मगर समुदायले माघे सङ्क्रान्ति र थारुले ‘माघी’ नाम दिएर यो पर्व विशेष रुपमा मनाएको देखिन्छ ।
थारु समुदायले माघीमा ‘माघोनल नृत्य’ प्रस्तुत गर्छ । डा. मोतीलाल पराजुलीको पुस्तक ‘नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू’ अनुसार, थारु जातिमा प्रचलित सामाजिक विषयवस्तुमा आधारित झुमरा शैलीको नृत्यनाटिका हो माघोनल । कथात्मक गीत र अभिनयमा आधारित यस नृत्यनाटिकामा पुरुष पात्रले मात्र भाग लिने गर्थे ।
नुहाउने पर्व
माघ महिनामा नदी वा कुनै पवित्र जलधारामा गई स्नान (नुहाउनु) लाई हिन्दू समाजले पवित्रतासँग जोडेर हेर्छ । माघे सङ्क्रान्तिको दिन नेपालका विभिन्न नदी किनारमा नुहाउन जानेहरू धेरै हुन्छन् । हिन्दू धर्मशास्त्रका विधिविधान बमोजिम, माघस्नान पौषशुक्ल एकादशी या पूर्णिमाबाट सुरु गरेर माघशुक्ल द्वादशी या पूर्णिमाका दिन समाप्त गरिन्छ । यद्यपि माघे संक्रान्तिका दिन नै नुहाउने प्रचलन बढी छ ।
यस दिन ब्रह्ममूहुर्त, उज्यालो हुनै लाग्दा, सूर्योदय हुनुअघि र सूर्योदय भइसकेपछि स्नान गर्ने र यी स्नानलाई पुण्यदायक भनिएको पाइन्छ । हाम्रा प्रायः अनुष्ठानले स्नानलाई महत्त्व दिएका छन् । मकर संक्रान्तिमा हिन्दूहरूले नुहाएर सूर्यपूजा गर्ने विधिविधान पनि छ । खासगरी सूर्यलाई अघ्र्य वा जल चढाएर सूर्यपूजा गरिन्छ । जल चढाउँदा भनिने मन्त्र छ— ओम् घृणि सूर्यआदित्याय नमः ।
आजको दिन नुहाउँदा पानीमा तिल मिसाउने गरिन्छ । तिल पेलेर तेल हुने, तेल बत्ती बाल्न पनि प्रयोग हुने र शरीरमा तेल लगाउँदा न्यानो महसुस हुने हुँदा तिलको महत्त्व दर्शाउन यो विधि गरेको बुझिन्छ । यस दिन तिलको दान गर्ने, तिलकै परिकार खाने पनि गरिन्छ । डा. चुन्दा बज्राचार्यका अनुसार, यस दिन दिउँसो सबै परिवार घाममा बसी तेल घस्ने गर्दछन् ।
माघ महिनामा विशेष गरी भगवान विष्णु, सूर्य र शनिको पूजा गरिन्छ । हाम्रा पुर्खाले सूर्यपूजाको संस्कार चलाउनुको पछाडि आस्था र विश्वास मात्रै होइन, विज्ञानसँग जोडिएको पक्ष पनि छ । हाम्रा पुर्खाले बुझे— हिउँदमा प्रायः पानी पर्दैन, अर्थात् सूर्य पृथ्वीदेखि दक्षिणतिर वा पर हुन्छ । सूर्य उत्तरतिर हुँदा नै पानी पर्छ, बोटबिरुवा उम्रन्छन् । हुन त हाम्रा पुर्खाले सूर्यले नै पृथ्वीलाई घुमेको देखे, यद्यपि जब आदिम मानवले सूर्यबिनाको संसार कल्पना गर्न सकेन, तब सूर्यप्रतिको प्रार्थना र पूजाको संस्कार बस्दै गयो ।
हाम्रा पुर्खाले बाँच्नका लागि अति आवश्यक चिजलाई नै देउता मानेर पुज्दै आएको पाइन्छ । नदीको महत्त्व हुनु, नदीमै नुहाउनु, नदीको पानी पवित्र मानिनुको पछाडि पनि कारण छ । नदीमा माछा हुने, पानीको अभाव नहुने, नदी किनारका फाँट खेतीयोग्य हुने, नदीका कारण आफ्नो सिमाना स्पष्ट हुने आदि कारण अधिकांश सभ्यता नदी किनारबाटै सुरु भए । कहिलेकाहीँ बाढी आएर नदीले सर्वनाश गथ्र्यो, यसलाई अलौकिक शक्ति ठानेर आदिम मानिसले पूजा–प्रार्थना गर्न थाले ।
हिउँदमा जाडो बढ्दै जाँदा मानिसले नुहाउन छाड्थे । न्यानो लुगा नभएकाले आगोकै छेउछाउ बसिरहन चाहन्थे, अल्छी हुन्थे । ननुहाउँदा अनेक रोगको सिकार हुनुपथ्र्यो । त्यसैले मानिसलाई नुहाउने संस्कार सिकाउन र फूर्तिलो बनाउन माघस्नान संस्कृति बनाएको बुझिन्छ ।
हाम्रा अधिकांश संस्कृति कृषि र मौसमी खानपानसँग सम्बन्धित छन् । कुन मौसममा कुन खानेकुराले राम्रो गर्छ भन्ने ज्ञान मानिसका लागि आवश्यक थियो र छ । मौसमी फलफूल स्वास्थ्यका लागि उपयुक्त हुँदै हुन् । हामी खास पर्व विशेषमा खास अन्न, सागपात र फलफूल खाने गर्छौं । अन्नबाली लगाउँदा र भित्र्याउँदाको पूजा हाम्रा लागि नौला होइनन् । नेवार समुदायमा त परिकारकै नाममा पर्व छन् ।
अचेल ज्ञान, विज्ञान र शिक्षाका कारण मानिसका लागि सरसफाइ सामान्य भयो । आफ्नो स्वास्थ्य अनुकूल, मौसम अनुकूलको खानपिनमा मानिसले ध्यान दिन थालेका छन् । चिसोले असर गर्ने हुँदा मानिसले आफ्नो अनुकूल तातोपानी वा घाम लागेका बेला नुहाउने गर्छन् । आर्थिक स्तर राम्रो हुनेहरूले संस्कृतिका धार्मिक पक्षलाई भन्दा खानपानलाई बढी जोड दिन थालेका छन् ।
संस्कृति मान्छेको पहिचान भएकाले आफ्नो संस्कृति जोगाउन मानिस लागिपरेकै हुन्छ । अचेल संस्कृति राज्य र समुदायकै आर्थिक आधार पनि बनेको छ । सुन्दर संस्कृति हेर्न पर्यटक आउँछन् । संस्कृतिसँग सम्बन्धित नाचगानले मानिसलाई ऊर्जा दिन्छ । यससँग सम्बन्धित मेलामा मानिसको भावनात्मक सम्बन्ध प्रगाढ मात्रै हुँदैन, आर्थिक क्रियाकलापमा वृद्धि हुन्छ । त्यसैले खासखास नदी वा जलधारामा नुहाउने संस्कृति आफैँमा सुन्दर र सकारात्मक छ, यसलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता