थारु समुदायमा माघको उल्लास, आजदेखि नयाँ अध्याय सुरु
धनगढी । माघको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ अध्याय सुरु भएको छ । माघ १ गतेबाट थारु सम्वत् २६४६ को सुरुवात भएको हो । चालु ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष माघ पर्वभन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत् भन्ने गरिएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।
यसैबीच थारु समुदायमा माघ तथा माघीको निकै उल्लास छ । पुस मसान्तदेखि सुरु भएको माघीको रौनकमा पूरै थारु वस्ती झुमिरहेको छ । दाङदेखि कञ्चनपुरसम्मको थारु बस्तीमा अलग्गै रौनक छाएको हो । उसो त आम नेपालीले माघ १ गते माघे संक्रान्तिको रुपमा आ–आफ्नै संस्कृति अनुसार मनाउँछन् । तर थारु बस्तीमा ३ दिनसम्म धुमधामसँग यो पर्व मनाइन्छ । टाढा–टाढा बसेकाहरु पनि पर्व मनाउन गाउँघरमा आएका छन् । चेलीबेटीहरु माइती घर पुगेका छन् ।
यसैबीच गाउँको नेतृत्वकर्ता अर्थात् बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै हुने हुँदा नेतृत्व चयनको बहस पनि सुरु भएको छ । ठाउँ–ठाउँमा माघी मेला, माघी मिलन, महोत्सवको आयोजनाले माघीको रौनक थप बढेको छ । यतिमात्रै नभई थारु बस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीतसँगै डफ र मादलको आवाजले गाउँघर गुन्जयमान बनेको छ ।
कैलारी गाउँपालिका–६, बेनौलीका स्थानीय ८० वर्षीय सत्यनारायण डंगौरा थारुका अनुसार पुसको अन्तिम दिन थारु समुदायमा जिटा अर्थात बंगुरको मासु खाने प्रचलन छ । सामूहिक रुपमा बंगुर काटेर धुमधामसँग भोज भतेर गरिन्छ । मासुको परिकारको अलावा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्दु्रक)लगायत विभिन्न परिकार बनाइन्छ ।
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट आशीर्वाद लिने र सानालाई अशीर्वाद दिने प्रचलन रहिआएको छ । यो दिन पनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको थारुको भनाइ छ । मकर संक्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास छ । यो दिन पशुपक्षी बध हुँदैन । यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन् ।
माघीको तेस्रो दिन (माघ २ गते) लाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरु बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक चौधरीका अनुसार माघी पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिममा कञ्चनपुरसम्म छ ।
एउटा परिवारका सबै सदस्य एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ । ‘खोजनीबोजनी’मा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने संयोजक चौधरी जानकारी दिए । उनले भने, ‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’
यसैबीच थारु बस्तीमा ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’ जस्ता बोलको कोरस गाउँदै बुढापाका, तन्नेरीहरु नाचगान गर्ने गर्दछन् । यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ । अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक् पिली गुरीगुरी जाँर’ गाउँदै युवा पिढीहरु नाचगान गर्ने चलन पनि छ ।
निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत रुपमा अन्त्य भई थारुहरुमा भोज विवाहलगायतका अन्य कार्यक्रम सुरु हुने गरेको बताइएको छ । पश्चिमतिर प्रचलनमा रहेको कमैंया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध छ । हाल कमैंया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाए पनि उहिले माघी पर्वपछि नै प्रायः कमैंया, कमलरी बस्ने प्रचलन रहेको बताउँछन् थारु कल्याणकारिणी सभा कैलालीका निवर्तमान अध्यक्ष प्रभात कुमार चौधरी ।
यद्यपि, जुनसुकै बेला कमैंया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरु माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्वसमेत भन्ने गरिएको निवर्तमान सभापति चौधरीको भनाइ छ । माघी धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्वको रुपमा लिइन्छ । थारु समुदायले माघीलाई महान पर्वको रुपमा मनाउनुको साथै यो पर्वले आपसी सम्बन्धमा सुधार ल्याउने गरेको जनविश्वास थारु समुदायमा छ ।