थारु गाउँमा मघौटा गीत गुञ्जन
माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ । माघीलाई ठाउँ विशेषअनुसार माघ, माघी डेवानी, खिचरी, खिचरा, तिला संक्राइत आदि नामले पनि मनाइन्छ । यो लेख माघीको सामान्य परिचय तथा माघीको अवसरमा गाइने गीतबारे केन्द्रित छ ।
थारुहरूको नयाँ वर्ष
माघीलाई थारुको नयाँ वर्षको रूपमा लिइन्छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ ।
पुस मसान्तमा घर घरमा सुँगुरको मासु, माछा, घोंघी, ढिक्री (पिठोको एक परिकार) लगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरिन्छ ।
माघे सङ्क्रान्तिको दिन बिहान सबैजना नजिकैको खोला नदीमा नुहाउन जान्छन्, जसलाई ‘माघ लहान’ भनिन्छ । नुहाई सकेपछि तिलको आगो ताप्छन् । माघीको दिन स्नान गरी तिलको आगो आगो ताप्नाले वर्ष भरीको पाप पखालिन्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ ।
नुहाएर आइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचरहवामा खिचडी बनाई खाने चलन छ ।
प्रत्येक थारु गाउँमा एक अगुवा हुन्छ । अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा÷महटौँ भनिन्छ । आगामी वर्षको लागि सोही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा माघीमा नै छलफल हुन्छ । गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाइन्छ । भुरा खेल भनिने बैठकमा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति रहन्छ ।
माघीमा नै थारु समुदायका मानिसहरू आ–आफ्नो घरसल्लाह गर्ने प्रचलन छ । माघीमा सबै भाई एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गरिन्छ । भाइ–भाइमा मन नमिले माघीमा नै चल अचल सम्पत्ति अशंबण्डा गरिन्छ, यसलाई घर फुटाई भनिन्छ ।
माघीको दिन नुहाएर दाल, चामल छोई सकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ, यो प्रक्रिया घरबाट सुरु भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठुलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ ।
यो ढोगभेटले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । त्यस्तै, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन पहिल्यैदेखि थारु समुदायमा चलिआएको छ ।
माघीमा नै थारु समुदायका मानिसहरू आ–आफ्नो घरसल्लाह गर्ने प्रचलन छ । माघीमा सबै भाई एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गरिन्छ । भाइ–भाइमा मन नमिले माघीमा नै चल अचल सम्पत्ति अशंबण्डा गरिन्छ, यसलाई घर फुटाई भनिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलादमी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाइएको हुन्छ ।
माघीमा आफ्ना चेलीबेटीलाई उपहारस्वरूप निसराउ (कोशेली) दिने चलन छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप नगद तथा लुगालत्ता पनि उपहार दिइन्छ । माघीमा गुलियो जाँड, ढिक्री र सुँगुरको मासु अपरिहार्य मानिन्छ ।
माघीमा ढमार र मघौटा गीत नृत्य
पुस मसान्तको बेलुकी गाउँलेहरु बरघरको घरमा भेला हुन्छन् । रातभरी खानपीनका साथ बहरी (बैठक) मा धुनी जगाई ढुम्रु÷ढमार गीत गाउँछन् । रातभरि ढुम्रु गाएका पुरुषहरु भुक्भुके बिहानमा मादल बजाउँदै नजिकैको खोला, नदीमा स्नानको लागि जाने गर्छन् । कसैले मादल भिर्छन्, कसैले लँहगा लगाउँछन् । कसैले झ्याली समाउँछन् । मादलको तालमा नर्तकी बनेका बुढा नाच्न थाल्छन् । मादलको ताल र मञ्जिराको धुन घन्के पछि परिवारका अरू सदस्य हतार हतार उठ्छन् । स्नानका लागि जाँदा गीत गाइन्छ ।
बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा
सखियै हो, माठकि टिकुलिया मछुरि लुटि लैगैल ।
अर्थात् नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेट पछि महटाँवाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छः
हाँकि हाँकि पारल, गाउँक् कटवलिया रे हाँ
सखियै हो, सबहु मिलि टिकका लिहन चलि आओ ।
सुन कहि सुनल, सबहुँ सखिया रे हाँ
सखियै हो, चोलो जाई सबहु टिका लिहन ।
माघ १ गते एकाबिहानै मन मिल्ने समूह बाजागाजासहित स्थानीय नदीमा नुहाउन जान्छन् । नुहाउनेहरू आफ्ना पुर्खाको यादमा यति हराउँछन् कि पानीघाटमा आफ्नो टोपीसमेत बिर्सिएर आउने गरेको भाव माथिको गीतमा पाइन्छ ।
माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघीको ढिक्री, अन्दीको जाँर, सुँगुरको मासु, केटाकेटीलाई नयाँ लुगा, मघौटा नाचको धुनले थारु गाउँ माघै महिनाभरी उमंगले भरिएको हुन्छ भन्दा फरक परोइन । अशोक थारु (२०५६) को ढमार सङ्कलनअनुसार माघीमा बुढापाकाहरूले गुनगुनाउने ढमारको आफ्नै गहन अर्थ छ ।
सखियै हो माघक पिलि गुरि जाँर, सखियै हो ।
बाबा कि सगरवा, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा
सखियै हो, टोपिया छुटल पानि घाट, सखियै हो ।
माघ १ गते एकाबिहानै मन मिल्ने समूह बाजागाजासहित स्थानीय नदीमा नुहाउन जान्छन् । नुहाउनेहरू आफ्ना पुर्खाको यादमा यति हराउँछन् कि पानीघाटमा आफ्नो टोपीसमेत बिर्सिएर आउने गरेको भाव माथिको गीतमा पाइन्छ । युवती–युवती बीचको ईख पनि मघौटा गीतमा भेटिन्छ ।
सखियै हो, माघक पिलि गुरि जाँर, सखियै हो ।
बंगालिनके बेटियक टुरबु मैं टंगरि, बंगालिनके बेटियक
सखियै हो, मोर पिहा डेहलाँ डुब्राइ, सखियै हो ।
बैसले छोप्दै गएपछि मायाप्रीतिको डोरीमा को पो बाँधिदैन र ? जसरी आकर्षक युवतीले युवाका दिल हर्छन्, त्यसै गरी आकर्षक युवाको पदचापमा युवतीहरूको पनि ताँती लाग्छ । यस गीतमा बंगालीको बेटी अर्थात् श्यामश्वेत वर्णकी युवती बठिन्याले आफ्नो प्रेमीलाई मोहनी लगाएर दुब्लो ख्याउटे बनाइ दिएको आरोप छ । त्यो युवतीको खुट्टा नभाँची म कहाँ छाडुँला र भन्ने आक्रोश पनि छ ।
तर जुन युवतीलाई त्यस्तो आरोप आई लाग्छ, उनी पनि गीतैमार्फत् यसरी जवाफ फर्काउँछिन्–
सखियै हो, माघक पिलि गुरि जाँर, सखियै हो ।
नाहि मै बलैनु, नाहि मैं चलैनुँ, नाहि मै बलैनु,
सखियै हो, नाहिं हाँठ मरनु मैंसान, सखियै हो ।
अर्थात् न त मैले तिम्रो प्रेमीलाई बोलाएँ, न त हातले नै कुनै ईशारा गरेँ । तर ममाथि यति गम्भीर आरोप किन नि ? यसरी आफूले मन पराएकोले हेर्न छाडेपछि, घरकाले पनि वर खोज्ने छाँटकाँट नदेखाएपछि छोरीले बाबासँग बिहेको बिलौना पोख्छिन्–
सखियै हो, माघक पिलि गुरि जाँर, सखियै हो ।
सेन्डुरा ले मंग्नु बाबा, सेन्डुरा नै ले डेल्या, सेनुडरा ले मंग्नु बाबा,
सखियै हो, सेन्डुरक कारन बाबा छोरि डेबुँ डेसवा टोहार, सखियै हो,
अर्थात् मघौटा नाचको धुनमा झुमेकी छोरीले गीतको भाकामा भन्छे, ए मेरा बाबा, हजुरको नजर कता छ कुन्नि ? उमेर पुगेपछि हामीलाई पनि त चुरा, टीका, सिन्दूर लगाउन मन लाग्दो हो । यहाँ सिन्दूर बिहेको सङ्केतको रूपमा आएको देखिन्छ । मैले मुखै फोरेर सिन्दूर ल्याउन अर्थात् बिहेको कुरा गरेँ, तर हजुरले वास्ता गर्नुभएन । अब यही कारण हजुरको देश (गाउँ) छाडेर गई दिउँला भन्ने चेतावनी पनि दिइएको छ । उता आफ्नो जवान छोरीलाई बाबाले गीतैमार्फत् सम्झाउँछन्–
सखियै हो, माघक पिलि गुरि जाँर, सखियै हो ।
असौंक साल ढियरी सेन्डुरा मंहग भैल हाँ, असौंक साल ढियरि
सखियै हो, आगु साल डेहबुँ सेन्डुरा बेसाइ, सखियै हो,
बिहेभोजको खर्च जुटाउन कुन चाहिं अभिभावकलाई सजिलो होला र ? बिना तयारी, बिना तामाझामको बिहेभोज दुनिया हँसाइ नहोस् भन्नेमा उनीहरू सचेत हुनु स्वाभाविकै हो । यस वर्ष मँहगी बढ्यो, सिन्दूरको दाम पनि बढ्यो । त्यसैले, तिम्रो बिहेको बन्दोबस्त गर्न सकिएन । ल, अर्को वर्ष भने फरक नपर्ला । यसरी छोरी–बाबा बीचको मार्मिक गीत कमै लोकसाहित्यमा पाइएला ।
भैलो खेलेर पैसा उठाएझैँ माघीमा घर घरमा नाचगान गरी पैसा मागिन्छ । यस क्रममा बरघरको आँगनमा नाचिने मघौटा नाच झन् विशेष हुन्छ । बरघरको आँगनमा गाइने गीतको उदाहरण यस्तो छ–
डुरहि से डेखल चेरीया रे बहिनी रे हाँ
सखियै हो, इह पाँट बइठो रे राजा रे हमार
सखियै हो, इह पाँट बइठो रे बरि बरि लोग
लानो लानो चेरिया करयइक मडिया रे हाँ
सखियै हो, सभालोग डेहो रे पिया ।
अर्थात् ठूलाबडालाई बस्ने स्थान विशेष छुट्याइएको छ । ए चेली रक्सी ल्याऊ, नृत्यसभामा आएका सबैलाई पिलाऊ । यसरी गीतमा माघी मान्न आमन्त्रित गाउँघरका सहयोगी बनिया, जोलहा, सुनार, दर्जी आदि गैरथारू समुदायप्रति पनि आतिथ्य भाव टक्र्याएको पाइन्छ (आचार्य, २०६३ः ६०) ।
उपसंहार
माघी महोत्सवको रूपमा सहर पस्ने क्रमसँगै यसको मौलिकता हराउन थालेको छ । आधुनिक गीत, डिजे संस्कृति भित्रिने क्रमसँगै माघीमा गाइने ढुम्रु, ढमार गीत, मघौटा नाच हराउन थालेको छ । विभिन्न संघसंस्थाले आधुनिक गायकहरूलाई नै सम्मान पुरस्कार दिने गरेका छन् । यसले मौलिक स्वर उराल्ने पुर्खाहरूको स्वर झिनो हुन थालेको छ, तिनको गीतहरू पनि रेकर्ड हुन सकेको छैन । यसको मौलिकता जोगाउन माघीको अवसरमा खानपिनमा मात्रै नरमाई ढमार गीत तथा मघौटा नाच प्रतियोगिता गरिनु आवश्यक देखिन्छ । साथै, पुर्खाहरूको ढमार, मघौटा गीत रेकर्डका साथै अन्य लोकगीतको सङ्कलन, विश्लेषण गर्नु जरुरी देखिन्छ ।
सन्दर्भ सूची
आचार्य, गोविन्द । २०६३ । राप्ती लोकसाहित्य । काठमाडौः पैरवी प्रकाशन ।
थारु, अशोक । २०५६ । सखिए हो माघीक् पिली गुरी जाँर । काठमाडौः लावा बिहान चौमासिक, १(२), पृ. ४–६ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री