थारु आन्दोलनको रूपमा माघी
नेपालका आदिवासी भूमिपुत्र थारु समुदायको विभिन्न चाडपर्वमध्ये महान् एवं राष्ट्रिय पर्व हो माघ । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रूपमा रहेको छ ।
दुना टपरी, काठ दाउरा गर्ने, जिता खोज्ने, खानपानको जोहो गर्दै, नाताकुटुम्ब, इष्टमित्रहरुलाई निमन्त्रणा गर्दै महिनौँ अघिदेखि पर्वको तयारी गरिन्छ । पुस मसान्तको दिन सुँगुर/बङ्गुर/खसी “जिता मार्ने”, सोही दिन आगोको धुनी बाल्दै डफ र मादल सँगै ढुमरु गाउँदै रातभर जाग्राम रहन्छन् । माघ १ गते सबेरै भालेको डाकसंगै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ । जसलाई “माघ लहान” भनिन्छ ।
स्नान पश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पुरा हुने जनविश्वास रही आएको छ । सिका पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रज मान्यजनबाट आशीर्वादसहित “चामलको सेतो टीका” लगाई घरमा आएर “निसराउ काढ्ने” र घर परिवार इष्टमित्रमा साइनोअनुसार “स्यावा ढोग” लिदै माघको मीठा मीठा परिकार खाने सांस्कृतिक प्रचलन रहिआएको छ ।
थारु समुदायमा माघ पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक सद्भाव, सहिष्णुता, घर गाउँसमाजको लेखाजोखा समीक्षा गर्दै नेतृत्व चयन गरिन्छ ।
उत्पीडनको पीडाबाट उन्मुक्ति खोज्दै आदिवासी भूमिपुत्र थारु र समग्र थरुहट तराईवासीहरुको आत्मसम्मान, पहिचान, समानता, न्याय, हक र अधिकारका लागि शान्तिपूर्ण रूपले हुँदै आइरहेको थरुहट थारूवान आन्दोलन करिब डेढ दशक बित्नै लागेको छ ।
पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका थरुहट तराईमा बस्ने थारु समुदायले स्थान विशेषअनुसार माघ, माघी, तिलासंकराइत, खिचरा, खिचरी आदि फरक फरक नामले यो पर्व मनाउँदै आएका छन् । थारु कल्याकारिणी सभासहित विभिन्न थारु संघ संस्थाको संयुक्त रूपले २०५९ सालदेखि काठमाडौँमा राष्ट्रिय स्तरमा माघ महोत्सव भव्य मनाउँदै आइरहेका छन् ।
यस वर्ष पनि काठमाडौँ उपत्यकामा थारु संघ संस्थाहरूले पुस ३० र माघ १ गते टुँडिखेलमा “थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन” मूल नाराका साथ पर्वलाई आन्दोलनको रूपमा मनाइरहेका छन् ।
उत्पीडनको पीडाबाट उन्मुक्ति खोज्दै आदिवासी भूमिपुत्र थारु र समग्र थरुहट तराईवासीहरुको आत्मसम्मान, पहिचान, समानता, न्याय, हक र अधिकारका लागि शान्तिपूर्ण रूपले हुँदै आइरहेको थरुहट थारूवान आन्दोलन करिब डेढ दशक बित्नै लागेको छ । यस अवधिमा नेपाल सरकारले थरुहट आन्दोलकर्मीहरु सँग पटक–पटक सहमति सम्झौता गरेको छ ।
तर सहमतिअनुसार उनीहरूका माग मुद्दा सम्बोधन भएको छैन । आन्दोलनकै क्रममा २०७२ साल भदौ ७ र ८ को टीकापुर घटनापश्चात् थरुहट राजबन्दीहरूलाई सुनियोजित रूपमा झुटा मुद्दा लगाई अदालती प्रक्रियाबाट झनै जटिल बनाउँदै फसाइएको अवस्था छ । यसर्थ यस वर्ष पनि थारु माघ (माघी) पर्वको सन्दर्भमा थरुहट आन्दोलनका माग मुद्दाका आवाज बुलन्द गरी काठमाडौँ उपत्यकासहित देशव्यापी रूपमा मनाउनु स्वाभाविकै हो ।
बर्दियाको ठाकुरद्वारा, दाङ्गदेउखुरीको रिहार, खौरहवालगायत स्थानमा माघ १ गते माघ नुहाउने र वरदान माग्नेहरूको ठुलो घुइँचो लाग्ने गर्दछ । नुहाई सकेपछि अर्को कपडा फेर्ने तथा लगाई आएको कपडामा सुन पानीले चोख्याई मात्र लुगा लगाउने गर्दछन् ।
बरघरको आँगनमा जम्मा भई मघौटा र दिननच्वा नाचगान गरी रमाइलो गर्दै मनाउने गरिन्छ । साथै ढुमरु/डफ गीतले गाउँको वातावरण नै संगीतमय बनाई दिन्छ ।
विगतमा एकापसमा भएमा मनमुटाव, रिसराग झै–झगडाहरू बिर्सी खुसी साथ ढोगभेट गरी आशीर्वाद लिने दिने गरिन्छ । साथै, तयार पारिएका मीठा मीठा परिकारहरु खान दिने चलन छ ।
यस पर्वमा विशेषतः थारु जातिले खाने विशेष खाना परिकार ढिक्री/बरिया, खिचडी, तिलको लड्डु, लाइभुजा, अन्दीको गुलीयो जाँड, अन्डीको भात, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर/बँगुर/खसीको मासु, मुसाको मासु, माछा, घोंघी, गंगटाको चटनी, सिध्रा माछा (मसुलार), बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीको रोटी, तेल्पो रोटी र झझरा रोटीलगायत तयार पारी आफ्ना इष्टमित्र नातेदार तथा छरछिमेकहरुलाई बोलाई खाने प्रचलन रहेको छ ।
साथै, थारु समुदायले माघमा दिदी बहिनीहरुलाई ‘निसराउ’ (कोशेली उपहार) प्रदान गर्छन् । माघीको दिनमा नुहाएर आईसकेपछि अञ्जुलीले काढेको चामल, दाल, पैसा, विभिन्न खाना परिकार र त्यसमा केही थप गरेर निसराउस्वरुप चेलीबेटीहरुलाई दिइन्छ । निसराउ कार्यक्रमले दाजुभाई र दिदी बहिनीहरु बिचको सम्बन्ध झन प्रगाढ र जीवन्त बनाउनमा मद्दत गर्दछ ।
बरघरको आँगनमा जम्मा भई मघौटा र दिननच्वा नाचगान गरी रमाइलो गर्दै मनाउने गरिन्छ । साथै ढुमरु/डफ गीतले गाउँको वातावरण नै संगीतमय बनाई दिन्छ ।
पश्चिम तिरका थारु समुदायमा माघको दोस्रो दिन “माघी डिवानी” मनाउने गर्छन् । कतिपय स्थानमा माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ । त्यसैले, यो दिनलाई खिच्रह्वा भनिन्छ ।
माघ पर्वलाई स्वतन्त्रता दिवस, वर्षभरीको कार्यको समीक्षा र आगामी वर्षको कार्ययोजना बनाउने पर्वको रूपमा पनि लिने गरिन्छ । जसमा बरघर (गाउँको मुली), गुरुवा (धामी), चिराकी (गाउँको पूजारी) र चौंकीदार (गाउँको हुलाकी), घरायसी कामको लागि गरढुरिया एक वर्षको लागि चुनिने गरिन्छ ।
नेपालमा ब्राह्मण क्षेत्रीसहित अन्य जाति मगर, गुरुङ्ग, नेवार लगायतले पनि विभिन्न तरिकाले माघे सङ्क्रान्ति पर्व मनाउँदै आएका छन् । तर थारु समुदायको माघ पर्व मात्रै नभएर जीवनशैलीसँग जोडिएको छ ।
यसरी छनौट गर्ने प्रक्रियालाई ‘खोजनी बोझ्नी’ भनिन्छ । थारु समुदायमा माघी दिवानीमा पुराना कार्यको अन्त्य र नयाँ कार्यको प्रारम्भ गरिने भएको हुनाले यसलाई नयाँ वर्षको रूपमा पनि मनाइन्छ । पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ देखि नयाँ कारोबारको थालनी गर्ने प्रचलन छ ।
सरकारले २०५७ साल साउन २ गते कमैयाहरूलाई मुक्त घोषणा ग¥यो । नभए त्यसअघि कमैया, कम्लहरीहरु माघको अवसरमा मालिक छान्न स्वतन्त्र रहन्थे । त्यसैले, यसलाई उन्मुक्ति वा स्वतन्त्रता दिवसको रूपमा पनि मनाइन्छ । अहिले खेती अधिया लाउने अढेरवा र जमिन्दारबीवच यसै माघमा संझौता हुन्छ ।
नेपालमा ब्राह्मण क्षेत्रीसहित अन्य जाति मगर, गुरुङ्ग, नेवार लगायतले पनि विभिन्न तरिकाले माघे सङ्क्रान्ति पर्व मनाउँदै आएका छन् । तर थारु समुदायको माघ पर्व मात्रै नभएर जीवनशैलीसँग जोडिएको छ ।
माघीको बिदाको इतिहास हेर्दा २०५८ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पालामा माघ पर्वमा थारु समुदायलाई मात्र एक दिन सरकारी बिदा दिने घोषणा गरियो । २०५९ सालमा यस पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिई बिदा दिने निर्णय भयो । यस निर्णयबाट थारुहरूको महान् पर्व माघको झनै महत्त्व बढेर गएको छ । तर थारु समुदायले एक महिनासम्म माघ पर्व धूमधामका साथ मनाउने भएको हुनाले कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग उठाउँदै आइरहेका छन् ।
अन्त्यमा, माघ नयाँ वर्षको शुभ उपलक्ष्यमा शान्ति, सद्भाव, एकता सँगै देशमा स्थिरता र विकास होस् । थारुलगायत सबै जाति, वर्ग, लिङ्ग, क्षेत्रका माग मुद्दा तथा सवालहरूलाई संविधानसहित ऐन कानुनहरूमा सम्बोधन गरी मुलुकमा रहेको जातीय, क्षेत्रीय, लिंगीय, वर्गीय भेदभाव, शोषण, दमन उत्पीडन सदाका लागि अन्त्य होस् माघको शुभकामना ।
लेखक थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको उप–महामन्त्री हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो