महाभारतकालीन ‘नियोग विधि’देखि ‘आईभीएफ’ र ‘बेबी पोड’सम्म
केही दिनदेखि मलाई व्यासको सम्झना आइरहेको छ । प्रायः हिन्दू धर्मालम्बीहरुलाई यो श्लोक स्मरण हुन्छः
अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषणस् ।
कृपस् परशुरामश्च सप्तैतै चिरजीविनस् ।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जितः ।।
हिन्दू धार्मिक मान्यतामा आठजना व्यक्तिलाई चिरन्जीवी मानिन्छ, व्यास यी मध्येका एक हुन् । व्यास जन्मसम्बन्धि कथाअनुसार ऋषि परासर वनप्रान्त हुँदै गइरहेका थिए । नदी छेउका माझी नाइके दासराजको छोरी मत्स्यगन्धाले आफ्नो नाऊबाट उनलाई नदी पार गराउँदै थिइन् ।
ऋषिको दिल माझी पुत्रीमा आकर्षित भयो । उनले कन्यासँग एउटा पुत्रको अभिलाषा गरे । अनेको शर्त र मागपश्चात् माझीकन्या ऋषिको अभिलाषा पूरा गर्न सहमत भइन् र ऋषिले नियोग विधिद्वारा छोरो जन्माए, जुन कालान्तरमा गएर व्यास नामले विख्यात भए ।
सृष्टि मैथुनीय छ । र, यस दृष्टिकोणले सृष्टि सञ्चालनका लागि मैथुनको अनिवार्यता अपरिहार्य हुन्छ । आधुनिक युगमा नियोगलाई सम्भोगकै एउटा अथवा कुनै प्रकारको विधि सम्झिनु बाहेकको समझ हुन सक्दैन हामीसँग । लेखमा यसबारे पछि चर्चा हुन्छ ।
व्यासका पिता ऋषि परासर, माता माझीपुत्री मत्स्यगन्धा हुन् । परासरलाई हिन्दू धर्ममा विष्णु पुराण, ऋग्वेदको मन्त्रद्रष्टा ऋषि, ‘परासर धर्मसंहिता’ ‘बृहत् परासर होराशास्त्र’ ( हिन्दू ज्योतिष विज्ञानको एउटा आधार स्तम्भ) का साथै वृक्षायुर्वेद र कृषि परासरम ग्रन्थका लागि सम्झिने गरिन्छ ।
पश्चिमा जगतले थिओफ्रास्टसलाई ‘बोटनी’को पितामह मान्छ । यसभन्दा हजारौं वर्ष पहिला परासर ऋषिले वनस्पति कृषि एवं बीउ संरक्षणबारे लेखिसकेका थिए । ईसापूर्व ४६० देखि हिप्पोक्रेट्स, सोक्रेटस, प्लेटो र ३२२ ईसापूर्व सम्मका एरिस्टोटलको ज्ञानको श्रोत के थियो ? सारा पश्चिम ज्ञानको त्रिवेणी यिनै दार्शनिकबाट निःसृत भएको देखिन्छ ।
‘बोटनी’को सन्दर्भमै कुरा गर्दा थिओफ्रास्टसभन्दा धेरै पहिला चिनियाहरुलाई अमिलो फल सुन्तला, कागतीको औषधीय एवम् भोजनसम्बन्धि उपादेयताका साथै यसको ‘कल्टीभेसन’बारे थाहा थियो । त्यसभन्दा पहिला बेबीलोनियनहरुलाई ‘डेट र पाम’को ‘सेक्सुअल रिप्रोडक्शन’बारे थाहा थियो ।
इजीप्सियनहरुले नाइल नदीको पानीलाई सिँचाईका लागि उपयोग गरेर भोजन प्रदान गर्ने बिरुवा उमार्नुका साथै औषधीय गुण हुने एवम् फूल बाटिका सम्मको ज्ञान हासिल गरेका थिए । परासर ऋषि त यसभन्दा धेरै पहिला अर्थात् द्वापर युगभन्दा पहिलाको त्रेता युगमा भगवान् श्रीरामको उदय हुनुभन्दा पहिला (श्रीराम भन्दा १०/११ पुस्ता पहिला) का व्यक्ति थिए ।
चर्चा त्रेतामा पुगेपछि रामको पुर्खाबारे उत्खनन गरौ । महर्षि शक्ति ऋषि परासरका पिता थिए । महर्षि शक्तिका पिता भने महर्षि वशिष्ठ थिए । कुरा रामको जन्म हुनु १० पुस्ता पहिलाको हो । रामका पर पर पितामह कल्माषपाद (सौदास, मित्रसह, अमित्रसह आदि नामले पनि चिनिने)ले वशिष्ठका पुत्र शक्तिको वध गरेका थिए । महर्षि शक्तिले मारिनु पूर्व राजा कल्माषपादलाई राक्षस हुने श्राप दिएका थिए ।
पुत्र वियोगमा आत्महत्याको प्रयाससम्म गरेका महर्षि वशिष्ठले पछि राक्षस भएका कल्माषपादलाई श्रापमुक्त गरे । कल्माषपादले अयोध्या फर्की राज्य सञ्चालन गरे र वशिष्ठलाई राजगुरु बनाएका थिए ।
केही धर्मग्रन्थका अनुसार राजा कल्माषपादको रानी मदयन्तीले महर्षि वशिष्ठद्वारा गरिएको नियोग पद्धतिद्वारा अश्मक नामक पुत्र पाएकी थिइन् । अश्मक इक्ष्वाकु वंशका ५८ औ नम्बरका राजा थिए भने राम इक्ष्वाकु वंशका ६८औं पुस्ताका थिए ।
इक्ष्वाकु वंश सूर्यवंशीको परम्परा अन्तर्गत आउँछ । सूर्यवंशको पहिलो राजा वैवस्वत मनु हुन् । हिन्दू धार्मिक मान्यताअनुसार ब्रह्माजीका १० मानस पुत्र (अन्य ग्रन्थअनुसार कुल ५९ पुत्र र एउटा पुत्री शतरूपा) मध्ये एउटा मरीचि हुन् । मरिचीका पुत्र थिए कश्यप ऋषि र कश्यपका पुत्र थिए विवस्वान अथवा सूर्य ।
यसरी सूर्यको पुत्रका रूपमा वैवस्वत मनु जन्मिए । यिनैबाट सूर्यवंशको परम्परा चल्यो । वैवस्वत मनुको सातौं पुस्तामा भएका राजा इक्ष्वाकु परम् प्रतापी राजा भएका थिए, यिनकै नामबाट सूर्य वंशमा इक्ष्वाकु वंशको नाम थपियो ।
ब्रह्माजीका ५९ पुत्र र एउटा पुत्री शतरूपाबारे छोटो चर्चा गरौं । विश्वकर्मा, अधर्म, अलक्ष्मी, आठ वसु, चार कुमार, १४ मनु, ११ रुद्र, पुलस्य, पुलह, अत्रि, ऋतु, अरणि, अंगिरा, रुचि, भृगु, दक्ष, कर्दम, पंचशिखा, वोढु, नारद, मरिची, अपान्तरतमा, वशिष्ट, प्रचेता, हंस र यति पुत्र हुन् । मनुबाहेक ब्रह्माजीका सबै पुत्र मानसिक हुन् ।
ब्रह्माजीको शरीरको दाँया भागबाट मनु एवम् बाँया भागबाट शतरूपाको जन्म भयो । मनु तथा शतरूपाबाट जन्मिएका सन्तानमध्ये प्रसूति नामक् कन्याको विवाह दक्षसँग भयो । प्रसूति र दक्षका २४ कन्यामध्ये भृगुसँग ख्याति, शिवसँग सती, मरिचीसँग सम्भूति, अंगिरासँग स्मृति, पुलस्त्यसँग प्रीति, पुलहसँग क्षमा, कृतिसँग सन्नति अत्रिसँग अनसूया, वशिष्टसँग अरुन्धतीको बिहे भयो ।
भन्न सकिन्छ कि मैथुनीय सृष्टिको आरम्भ मनु र शतरूपाबाट भयो । हामी रहेको कलियुगभन्दा अघिल्लो युग द्वापरसम्मका ऋषिलाई मैथुनीय सृष्टिका साथै मानसिक सृष्टि एवम रीतिले नियोग विधिले सन्तानोत्तपत्ति गर्नेबारे जानकारी एवम् दक्षता हासिल थियो ।
अब, ब्रह्माजीबाट सोझै द्वापर युगमा फर्कौं ।
महर्षि व्यासको जन्म परासर एवं माझीकन्या मत्स्यगन्धाबाट नियोग विधिले भयो । माझीकन्या तथा परासरको आशीर्वादले योजनगन्धा अथवा सत्यवती भइन् । मत्स्यगन्धा पनि माझी नाइके दासराजको पुत्री होइनन्, यिनी अद्रिका नामक् अप्सरा एवं उपरिचर नामक् वसुको सन्तान थिइन् । रमाइलो कथा छ यिनको जन्मबारे ।
कथाअनुसार ब्रह्माजीको श्रापवश अद्रिका नामक् अप्सरा माछाको शरीर धारण गरी जुनी काट्दै थिइन् । राज्य सुधन्वा नामक् राजाको थियो। राजा शिकारका लागि वन गएको बेला दरबारमा रानी रजस्वला भइन् । सुधन्वाले यो सन्देश पाउनासाथ एउटा दूनामा आफ्नो वीर्य राखी वेगवान पंक्षीद्वारा राजमहल पठाए ।
बाटोमा त्यस पंक्षीको अर्को पक्षीसँग लडाइँ पर्यो । परिणामस्वरुप वीर्य रहेको दूना नदीमा खस्यो र श्रापवश माछा बनेकी अद्रिका नामक् अप्सराले त्यसलाई ग्रहण गरिन् । यसैबाट अद्रिका गर्भवती भइन् र मत्स्यगन्धाको जन्म भयो । यसरी स्त्री पुरुष समागम बिना नै मत्स्यगन्धा अर्थात् महाभारतको एउटा प्रमुख पात्र सत्यवतीको जन्म भयो ।
महाभारत चन्द्रवंशी खलकमा कुरु राजवंशमा घटित भएको थियो । कृष्णको अवतार भने चन्द्रवंशी खलकको वृष्णि वंशमा भएको थियो ।
कुरु वंशका तेस्रो राजा शान्तनुको प्रथम विवाह गंगासँग भयो। यस विवाहबाट देवव्रत अर्थात् भीष्मको जन्म भयो। कालान्तरमा आखेटमा जाँदा शान्तनुको नजर योजनगन्धा अथवा सत्यवतीमाथि पर्न गयो । राजा शान्तनु सत्यवतीमाथि मोहित भए तर माझीले आफूद्वारा पोषित कन्याको बिहे गर्न शान्तनुका सामु शर्त राख्यो । उसको शर्त थियो राजा शान्तनु र सत्यवतीबाट जन्मिएको छोरो नै राज्यको उत्तराधिकारी हुनुपर्छ ।
शान्तनुका प्रथम छोरा देवव्रतले पिताको सुखका लागि राजकुमारको पद त्यागेर र आफू आजन्म बिहे नगर्ने सौगन्ध लिएर सत्यवतीसँग शान्तनुको बिहे हुने मार्ग प्रसस्त गरी दिए । यसै त्याग र प्रतिज्ञाले उनी भीष्मका नामले विख्यात भए ।
सत्यवतीले शान्तनुबाट दुइ छोरा चित्रागंद र विचित्रवीर्य जन्माइन् । भीष्मले पहिला चित्रांगदलाई गद्दीमा बसाले तर एउटा युद्धमा चित्रांगद मारिए । त्यसपछि भीष्मले विचित्रवीर्यलाई राजा बनाए । काशीराजका पुत्रीद्वय अम्बिका र अम्बालिकाको हरण गरेर विचित्रवीर्यको बिहे गराए भीष्मले । तर विचित्रवीर्य दुबै रानीबाट कुनै सन्तान नजन्माउदै स्वर्गे भए । अब सत्यवतीलाई आफूले ऋषि परासरबाट जन्माएको पुत्र व्यासको सम्झना आयो ।
व्यासले भाई विचित्रवीर्यका पत्नीद्वय अम्बिकाबाट धृतराष्ट्र एवं अम्बालिकाबाट पाण्डु नामक पुत्र जन्माए । व्यासले माता सत्यवतीलाई धृतराष्ट्र अन्धो हुने एवं पाण्डु जन्मैदेखि ‘एनीमिक’ हुने जानकारी दिंदा उनी दुखित भइन् । र, उनले एकपटक पुनः नियोगको आग्रह गरिन् तर यसपटक व्याससँग डराएकी अम्बिकाले आफू सट्टा आफ्नो दासी पठाइदिइन् । दासीबाट विदुरको जन्म भयो । कथामा ट्विस्ट हुने काम चलिराख्यो ।
धृतराष्ट्र नेत्रविहीन भएका कारण सर्वसम्मतिले पाण्डुलाई गद्दीमा बसाइयो । पाण्डुका दुइ पत्नी थिए, कुन्ती तथा माद्री । एउटा ऋषिबाट प्राप्त श्रापका कारण पाण्डुले राजगद्दी छाडी पत्नीद्वयसँग वन प्रस्थान गरे । वनमा कुन्तीले देवताहरुसँग नियोग विधिले युधिष्ठिर, भीम र अर्जुन एवम् माद्रीले नकुल र सहदेव जन्माइन् । वनमै पाण्डुको मृत्यु भएपछि माद्री सती गइन् र कुन्ती ५ वटै पुत्रलाई लिएर राजमहल फर्किन् । कुन्तीको बिहे पूर्व नै सूर्यको आशीर्वादबाट एउटा पुत्र थियो, जुन महाभारतकालमा कर्णका नामले चिनियो ।
पाण्डुले गद्दी छाडेपछि धृतराष्ट्र राजा बने, उनको विवाह गान्धार नरेशपुत्री गान्धारीसँग भयो। गान्धारीले व्यासबाट एक सय छोरा पाउने आशीर्वाद पाइन् । उनी गर्भवती भइन् तर निश्चित समयमा सन्तान नभएपछि उनले पेटमा प्रहार गरिन् । उनको गर्भबाट मासुको डल्लो निस्कियो । व्यास आइपुगे, उनले मासुको डल्लोबाट १०१ टुक्रा बनाउन लाएर विभिन्न पात्रमा राखे । र, तिनै पात्रबाट दुर्योधन, दुशासनसहित एक सय छोरा र दुशाला नामक् एउटा पुत्रीको जन्म भयो ।
धृतराष्ट्र र पाण्डुका छोरा हुर्किदै जाँदा उनीहरुबीच कटुता एवम् तिक्तता बढ्दै गयो । र, एक दिन व्यासले दरबारमा आएर आफ्नी माता सत्यवती र पुत्रवधुद्वयलाई भविष्यमा हुन गइरहेको भीषण परिस्थितिको चित्रण गर्दै आफूसँग वन जाने अनुरोध गरे । सासु एवम बुहारीद्वय व्याससँग वन गए । व्यासले गरेको भीषण परिस्थिति केही समयभित्र नै घटित भयो, धृतराष्ट्र पुत्र एवम पाण्डु पुत्रबीच भयानक युद्ध भयो ।
अनेकन ट्विस्टले भरिएको महाभारत कथापछि यस लेखको ट्विस्टमा प्रवेश गरौ ।
आधुनिक युग अथवा वर्तमानका धेरैजना विद्वानले रामायण अथवा महाभारतलाई कथा मात्रै मान्ने गरेको पाइन्छ । ठीक छ, उनीहरुले यसलाई फगत कथा भने पनि कुनै आपत्ति छैन । तर यिनै विद्वानले रामद्वारा शम्बूक वध, सीता परित्याग, बालि वध जस्ता विभिन्न घटनालाई आफ्नो पक्षमा बडो यत्नसाथ पस्किने गरेको देखिन्छ । कृष्ण विषयक विभिन्न तर्क पनि यी महानुभावले गरिरहेका हुन्छन्।
नियोगलाई स्त्री पुरुष समागम नै भन्ने गरेको तपाईंहरुले पनि सुन्नु भएको होला । कुन्ती तथा द्रौपदीबारे अनर्गल कुरा गरेको पनि सुन्न पाइन्छ । आफ्नो हित साध्ने कुरामा भने यिनीहरुका लागि रामायणकालीन एवम् महाभारतकालीन घटना आफ्नै आँखा सामु घटित भएको जस्तै हुन्छन् तर अन्य यावतका विषयवस्तुमा भने यी सबै ग्रन्थ गलत हुन पुग्छन् ।
हिन्दू धर्ममा एउटा माझीको छोरो (शायद अहिलेको अवस्थामा शूद्र) वेदादि ग्रन्थको संकलक, भाष्यकार हुन सक्छ । १८ पुराण र ब्रह्मसूत्रको सूत्रधार हुन सक्छ । महर्षिको पदमा आसीन हुन सक्छ । यो स्वीकार गर्दा यिनीहरुको निजी स्वार्थमा बाधा पुग्न जान्छ र यस कारण यी हिन्दू धर्मग्रन्थ काल्पनिक हुन्छन् यिनीहरुका लागि । महिला शिक्षा र असमानता हेर्छन् यिनीहरु हिन्दू धर्ममा । तर एकपटक वेद पल्टाएर हेरुन्, यी तथाकथित बुद्धिजीवीले ।
अदिति, देवजामि (देवजामयः), सावित्री, घोषा कक्षिवती, सिकता निवावरी, सर्पराज्ञी, दक्षिणा प्रजापत्य, इन्द्राणी, सचि (पौलोमी शचि), यमी वैवस्वत, वाक् आम्भृणी, अपाला आत्रेयी, जुहू ब्रह्मजाया, अगस्त्यस्वसा, विश्ववारा आत्रेयी, उर्वशी, सरमा देवशुनी, शिखण्डिन्यौ अप्सरसौ, श्रद्धा कामायनी, नदी, गोधा, शाश्वती (शश्वती आंगिरसी), वसुक्रपत्नी, रोमशा ब्रह्मवादिनी यी सबै ऋग्वेदका ऋषिका हुन् । ऋग्वेदका २२४ मंत्रका द्रष्टा महिला ऋषि हुन् । अथर्ववेदमा १९८ मंत्र महिला ऋषिबाट उद्घाटित भएका हुन् । यसका साथै लोपामुद्रा, गार्गी, मैत्रेयी, अरुन्धती आदि परापूर्व कालदेखि नै विदुषी महिलाका रूपमा विख्यात छन् ।
खैर, दुष्टसँग मुख नलाग्नु नै उत्तम । अब म सन् २०२२ मा प्रवेश गर्न गइरहेको छु ।
सन् २०२२ को कुनै महीनामा चीनबाट समाचार आयो, एक्टोलाइफ कम्पनीले एउटा मेशिन बनाएको छ, जसलाई कृत्रिम कोख भन्न मिल्छ । हाललाई यसको नाम ‘ग्रोथ पोड,’ ‘बेबी पोड’ भनिएको छ । यो एउटा यस्तो मशिन हो, जसमा स्त्री र पुरुष कोशिका निषेचन हुनुका साथै त्यसबाट बनेको भ्रूणानु एवं सम्पूर्ण भ्रूणीय विकास यसै मेशिनमा भएर शिशु जन्मिन्छ । प्रारम्भमा चिनिया वैज्ञानिक यस ‘बेबी पोड’ बाट ४ सय शिशु जन्माउने योजनामा छन् ।
तपाईं ‘आईभीएफ’सँग यसको तुलना नगर्नुस। ‘आईभीएफ’ एक किसिमले ‘असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी’ मात्रै हो । यस अन्तर्गत स्त्री प्रजनन अंग अण्डाशयबाट एउटा अण्डा (सेल) झिकी त्यसलाई ग्लास्टयूबमा राखेर पुरुष शुक्राणुबाट निषेचित गराइन्छ । यसरी ल्याबमा तयार भएको भ्रूणानुलाई स्त्री गर्भाशयमा स्थापित गरिन्छ । सम्पूर्ण भ्रूण विकास स्त्री गर्भमै हुन्छ । चाहे त्यो गर्भ ‘एग डोनर’ स्त्रीको होस् अथवा अन्य कुनै स्त्रीको ।
‘आईभीएफ’लाई मैथुनीय सृष्टि मान्ने कि नमान्ने ? यो हाम्रो मानसिकतामाथि निर्भर गर्छ । हो, यस पद्धतिमा पनि स्त्रीको रिप्रोडक्शन सेल र पुरुषको रिप्रोडक्सन सेलको प्रयोगले नै शिशुको जन्म हुन्छ । फरक यति हो, यस पद्धतिमा स्त्री पुरुष समागमको कुनै भूमिका हुन्न । एक हिसाबले यसलाई अमैथुनीय भने अनुपयुक्त हुन्न ।
आईभीएफले स्त्री पुरुष समागमबाट नै सृष्टि सुचारु हुने मान्यता ध्वस्त गर्यो । हुन त क्लोनिङ पनि अमैथुनीय पद्धति नै हो । केही वर्ष यतादेखि ‘डीएनए एडिटिङ’को दिशामा पनि उल्लेखनीय प्रगति भएको छ ।
विज्ञान पठन पाठनमा रूचि राख्नेहरुलाई विदित नै छ, विज्ञानको एउटा नयाँ शाखा ‘इपिजेनेटिक्स’ प्रारम्भ भएको छ । अब विज्ञानका हातमा त्यो सूत्र लागेको छ, जसले कुनैदिन पनि ‘सुपर ह्यूमन’ जन्माउन सक्छ । भौतिक र रसायन विज्ञानमा ख्यातिलब्ध रहेको ‘क्वान्टम मेकेनिक्स’ आउने दिनमा जीवविज्ञानमा प्रवेश गरेर ‘क्वान्टम बायोलोजी’को युग प्रारम्भ हुनेछ ।
‘डीएनए एडिटिङ’ र ‘रिपेरयिङ ’ प्रारम्भ भइसक्यो । आउने दिनमा मानवीय प्रज्ञा डीएनए र आरएनए स्तरमा मात्रै नभएर न्यूक्लियोटाइड (डीएनए– आरएनएको बिल्डिङ ब्लक) स्तरमै परिवर्तन, सुधार एवम् परिमार्जनको चरणमा प्रवेश गर्छ ।
आउने ३० देखि ५० वर्षमा पृथ्वी र यहाँका बासिन्दाको स्वरुप के कस्तो हुनेछ, यसबारे कुनै पनि अनुमान लाउन सकिन्न । सबै कुरा ठीकठाक रहे चीनले आउने २०/२५ वर्षमै ‘सुपर सोल्जर’ दुनिया सामु ल्याई दिनेछ । जसमा एउटा यस्तो सैनिक जुन मृत्युसँग किञ्चित पनि नडराई शत्रु सेनासँग भिड्छ । उसको शारीरिक र मानसिक शक्ति सामान्य सैनिकको तुलनामा कैयौ गुणा बढी हुन्छ ।
तपाईं हामीले महाभारतको कथामा धृष्ट्रराष्ट्रमा यति हातीको बल, भीममा यति हातीको बल हुनुका साथै विभिन्न योद्धामा फरक फरक अतुलनीय सामथ्र्य रहेको कथा पढेका छौ। ुजीन एडिटिंगुले, इपिजेनेटिक्सुले, ुक्वांटम बायोलोजीुले आउने केही वर्षमै यो कुरा प्रमाणित गर्ने सम्भावनाका प्रबल लक्षण देखा परिसकेका छन।
‘ग्रोथ पोड,’ ‘बेबी पोड’ अथवा ‘आर्टिफिसियल बोम्ब’ एवम् गान्धारी– धृतराष्ट्रका सय पुत्रको सामञ्जस्य हेरौ । व्यासले गान्धारीको गर्भबाट निस्केको मासुको डल्लोका सय टुक्रा बनाई विभिन्न पात्रमा राखे । कालान्तरमा ती सबै पात्रबाट एक एक छोरा जन्मिए ।
लेखको मूल विषयमै पुनः प्रवेश गरौं । ऋषि परासरले नियोग विधिबाट मत्स्यगन्धाको गर्भबाट व्यास जस्तो छोरो जन्माए । एक मिनेटलाई नियोग विधिलाई अहिलेको आईभीएफ पद्धति मानौं । परासरले आफ्नो शुक्राणु र मत्स्यगन्धाको डिम्बलाई अहिलेको जस्तो ‘क्रिस्पर क्यास ९’ प्रविधिबाट संशोधित गरी त्यसबाट भ्रूणानु बनाई मत्स्यगन्धाको गर्भमा प्रत्यारोपित गरेको हुन सक्दैन र ?
कालान्तरमा महर्षि व्यासले यसै तरीकाबाट धृतराष्ट्र र पाण्डु एवम् महात्मा विदुरलाई जन्माएको हुन सक्छ । एवम् रीतले कुन्तीले धर्मराज, वायुदेव र इन्द्रको आह्वान गरी विशिष्ट क्षमता सम्पन्न युधिष्ठिर, भीम र अर्जुन एवम् माद्रीले अश्विनीकुमारद्वारा नकुल र सहदेवलाई जन्म दिएको सम्झिन सकिन्छ ।
वर्तमानको एउटा स्मरण आयो । मेरा एकजना मित्रले लामो समयसम्म सन्तान नभएपछि आईभीएफ पद्धतिबाट छोरो बनाए । छोरो हुर्किएर ५/६ वर्षको भइसक्यो । बेलामौका उनी भन्ने गर्छन्, खोइ, यो छोरालाई हेर्दा यस्तो लाग्छ, कतै डाक्टरले मेरो र श्रीमतीको ‘जेनेटिक म्याटेरियल’ प्रयोग नगरी अन्य कसैको त प्रयोग गरी दिएन ?
ती मित्रले परिहासमा भनेको भए पनि यस्तो सम्भावनालाई इन्कार गर्न सकिदैन । र, यस्तो भएको हो भने पनि दीन दुनियाका लागि उनी नै त्यस बालकको पिता हुन्छन्, यो सामाजिक मान्यता हो । जस्तो कि कुन्ती र माद्रीले छोरा जो जसबाट पाए पनि छोराहरु पाण्डु पुत्र नै भए । धृतराष्ट्र र पाण्डु पनि व्यास पुत्र भएनन्, विचित्रवीर्य पुत्र नै कहलिए ।
‘ग्रोथ पोड,’ ‘बेबी पोड’ अथवा ‘आर्टिफिसियल बोम्ब’ एवम् गान्धारी– धृतराष्ट्रका सय पुत्रको सामञ्जस्य हेरौ । व्यासले गान्धारीको गर्भबाट निस्केको मासुको डल्लोका सय टुक्रा बनाई विभिन्न पात्रमा राखे । कालान्तरमा ती सबै पात्रबाट एक एक छोरा जन्मिए । ‘बेबी पोड’को कन्सेप्ट यही नै हो ।
कल्पना गर्नुस्, एउटा ल्याबको जहाँ लहरै व्यवस्थित ढंगले चाहिने जति संख्यामा ‘बेबी पोड’ सजाइएका छन् । हजारौं सन्तानको भरण पोषण गर्न सक्ने एलन मस्कदेखि मुकेश अम्बानी, विनोद चौधरी सम्मले आफूलाई मनपर्ने संसारका श्रेष्ठतम, सुन्दरतम र यावतका क्षमता सम्पन्न महिलाका डिम्ब किनेर जति पनि मूल्य तिर्न सक्छन् ।
सत्यवतीले त्यस बेलाको अर्को जीन एडिटिङ मास्टर अहिलेका चिनिया वैज्ञानिके हे जियनकुईलाई नियुक्त गरेको भए नेत्रहीन र एनिमिकको सट्टा स्वस्थ राजकुमार जन्मिएर कुनै समस्या नै आउने थिएन ।
डिम्ब र शुक्राणुमै उचित र चाहिने संशोधन गरेर लहरै राखिएका ‘बेबी पोड’मा हालेर निषेचन गराउनुका साथै भ्रूणानु बनेदेखि विभिन्न चरण पार गर्दै, विकसित हुँदै यसबाट शिशु जन्मिन्छन् । सय कौरव जन्मिएजस्तै एउटै प्रयास अथवा एउटै समयमा हजारौ अर्बपतिहरुका हजारौ सन्तान जन्मिन्छन् ।
सृष्टि सञ्चालन हेतु अथवा सन्तानोत्पादन हेतु पुरुषको भूमिका ‘आईभीएफ’ पद्धतिले नगण्य अथवा गौण गरिसकेको थियो, अब ‘बेबी पोड’ले स्त्रीको भूमिकालाई पनि शून्यमा झार्नेछ ।
महाभारत युद्धबारे धेरैले धेरैथरी अड्कालवाजी गर्छन् । वास्तवमा महाभारत युद्धको कारण गंगापुत्र भीष्म थिए, जसको भीष्म प्रतिज्ञाले जस्तोसुकै नालायक राजसिंहासनमा बसे पनि उनी टुलुटुलु हेर्न बाध्य भए । अनि सामथ्र्यवान भएर पनि युद्ध रोक्न सकेनन् ।
र, दोस्रो प्रमुख कारण मत्स्यगन्धा अथवा सत्यवती थिइन् । यिनको डीएनएबाट जन्मिएको चित्रांगद र विचित्रवीर्य अल्पायुका थिए । यिनलाई नियोगका बारेमा थाहा थियो र यिनले आफ्नै पुत्र व्यासलाई यस निमित्त नियुक्त गरिन् । व्यास यसका निमित्त मनले तयार थिएनन् । तर माताको आज्ञाका कारण व्यास भाईबुहारीसँग नियोग हेतु प्रस्तुत भए । व्यासलाई ‘जीन एडिटिङ’ गरेर शुक्रजस्तो आध्यात्मिक पुत्र जन्माउने कला ज्ञात थियो तर यहाँ राजपरम्पराको वाहक राजधर्म निर्वाह गर्नसक्ने पुत्र आवश्यक थियो । उनले गरेको ‘जीन एडिटिङ’ मा त्रुटि भएर एउटा नेत्रविहीन र अर्को जन्मैदेखि नै ‘एनिमिक’ पुत्र जन्मियो ।
सत्यवतीले त्यस बेलाको अर्को जीन एडिटिङ मास्टर अहिलेका चिनिया वैज्ञानिके हे जियनकुईलाई नियुक्त गरेको भए नेत्रहीन र एनिमिकको सट्टा स्वस्थ राजकुमार जन्मिएर कुनै समस्या नै आउने थिएन । व्यासले गान्धारीको गर्भबाट निस्किएको मासुमाथि प्रयोग गरेको एपिजेनेटिक्स र बेबी पोड पद्धति पनि त्रुटिपूर्ण रह्यो, जसका कारण दुर्योधन, दुशासन जस्ता नालायक अहंकारी पुत्र जन्मिए । र, अन्ततः महाभारत युद्ध भयो ।
अब जमाना ‘बेबी डिजाइनिङ’को आउँदैछ । अबका दिनमा महिला पुरुषले आफ्नो लुगा सिलाउन डिजाइनरको पसलमा गएजस्तै जन्मिने सन्तान डिजाइन गर्न ‘जीन एडिटर’लाई खोज्दै हिँड्ने दिन आउँछन् ।
शायद आउने शताब्दीमा प्रवेश गर्दा सबैलाई सन्तान उत्पादन हेतु आफ्नो ‘जेनेटिक म्याटेरियल’ प्रयोग गर्ने स्वतन्त्रता हुन्न । मात्र स्वस्थ, उन्नत, निरोगी शुक्र र डिम्बबाट र त्यसलाई पनि संशोधित गरी बनेको सर्वश्रेष्ठ भ्रूणानुलाई मात्रै प्रत्यारोपित गर्ने बाध्यता हुनेछ । स्त्रीलाई भने आफ्नै गर्भमा भ्रूणानुलाई विकसित गर्न, गराउने अथवा ‘बेबी पोड’को प्रयोग गर्ने अधिकार भने हुनेछ ।
तपाईंलाई माथि चर्चा गरिएको विषयबस्तु पढ्दा अचम्म लाग्छ भने एक पटक मनुष्य बाहेकका अन्य प्राणी जगततिर फर्की हेर्नुस्, त्यहाँ अहिले नै यसको प्रयोग भइरहेको छ । तपाईंलाई यस विधिबाट हिटलर जन्मिने आशंका भएको छ भने मलाई यस प्रविधिबाट बुद्ध, महावीर, कृष्ण जन्मिन सक्ने सुखद अनुभूति भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै