मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
समाचार

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

शनिबार, ३० पुस २०७९, १३ : २९
शनिबार, ३० पुस २०७९

विराटनगर । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन् ।  प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ । मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए । 

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् । सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ । यद्यपि सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित रहे ।  यसैबीच यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो । उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए । 

उपसभामुखमा निर्वाचित दनुवार भने उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२)  मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । 

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । सोही अनुसार सभामुखको निर्वाचन भने यसअघि नै सम्पन्न भइसकेको छ । सभामुखमा ओखलढुंगाका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप