रुरुधाममा संक्रान्ति मेलाको तयारी पूरा

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम नेपालकै प्रसिद्ध रुरुधाम रिडीमा यो वर्ष पनि माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । कालिगण्डकी नदीमा स्नान र भगवान् ऋषिकेश लगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेला भर्न आउने दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ ।
तिनमुखे पुलको निर्माण सम्पन्न भएपछिको यो पहिलो मेला भएकाले पनि मेलाको आकर्षण अझै बढ्ने अनुमान गरिएको हो । यो वर्ष माघे संक्रान्ति मेलामा दर्शनार्थीहरूको राम्रै आगमन हुने देखिएको रुरु फ्रेण्ड्स क्लब रिडीका सचिव प्रेम भण्डारी बताउँछन् ।
धार्मिक र सांस्कृतिक रुरुक्षेत्रको रुरुधामलाई धार्मिक पर्यटन सँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघेसंक्रान्ति मेलाको तयारी सुरु समेत भइसकेको छ । रिडीको गुल्मी तर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफ सि क्लब रिडी बजारको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रमसहित बालउधान, कृषि मेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनी सहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताए । मेलाको आम्दानीले रुरुधामलाई धार्मिक पर्यटकीय तथा सामाजिक कार्यले विकास गर्ने उद्देश्य रहेको अध्यक्ष थापाले भने ।