बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
थारू भाषाको कथा

पर्सिहवाको माघी

शनिबार, ३० पुस २०७९, १२ : ००
शनिबार, ३० पुस २०७९

नजिकैको बाँसको घारीमा बस्ने चराहरुको चिर्विराहट शान्त भैसकेको थियो । गाउँका गोठमा बाँधिएका गाई, भैसी घाँस, पराल खाएर उग्राइरहेका थिए । जाँडरक्सीको रमझममा रमाउनेहरु बाहेक बेलुकीको खाना सबैले खाइसकेको थिए । केही घरबाट मादल र डफको सुमधुर आवाज आइरहेको थियो । यसको साथै सामूहिक धमार गीतको आवाज पनि गुन्जिन सुरु भैसकेको थियो– 

डफला रे टै मन बहलैबे ढनिया ...ऽ  
खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे  
पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।    
(डफको आवाजले तँ मन भुलाउदैछस्

अर्थात् मेरो अगि कचौराको रक्सी, वरिपरि छ तरकारी पिउँदा पिउँदै कहाँसम्म पिऊँ ?

... 

माइलो पर्सिहवा भरखर गाई गोरु बाँधी, कोन्टी (कोठा) मा आएर केही नखाइ खाटमा पल्टिरहेको थियो । तर थाहा छैन खै कुन्नी किन डफको आवाज पनि आज उसलाई मन परिरहेको थिएन । नाच गर्न, गीत गाउनमा सौखिन थियो उ ।  डाँई सकाएर रातभरी धमार गाएर विताउने मान्छे । उसको सुरिलो स्वरले भरिएको धमारलगायत गीत सुन्न सबै लालयित हुन्थे र मन्त्रमुग्ध भएर सुन्ने गर्थे  । 

तर आज उ साँच्चिकै केही गम्भीर र उदास देखिन्छ । उसलाई थाहा छ, आज अहिले उसको मालिक बोलाउन आउँछ । अघिपछि उसको झुपडीतिर अनुहार पनि नदेखाउने, सधंैभरी मुन्टो बटारी हिंड्ने मालिक पक्कै पनि नक्कली चिनी हाली गुलियो कुरा लिई खोज्नी–बोज्नी (माघीको सरसल्लाह) गर्न बोलाउँछ । 

पर्सिहवा साँच्चिकै कति चिन्तित छ आज । यसपाली त उ जसरी पनि काम गर्न छाडेर अन्तै कतै मजदुरी भए पनि गर्ने अठोट लिएको छ ।

माइलो पर्सिहवा तीन चार दिनदेखि विचार गर्दैछ, आफ्नो मालिकको व्यवहार । सुर्ती खाँदा समेत हर्जा भयो भनेर गाली गर्ने उसको मालिक । कहिलेकाहीँ त थकाइ लाग्यो होला एकछिन बिसाउनुपर्छ भन्दैछ । आखिर पशु त होइनौं, तिमीहरु भन्दै तेल लाउन सुरु गरिसकेको थियो । 

हुन त पर्सिहवालाई पनि थाहा थियो, विगत वर्षजस्तै यसपालि माघीमा पनि कमाउन छाड्ने हो कि भन्ने डरले मालिक कालो नागको रुपमा देखा पर्दैछ । तर उ चाहेर पनि त केही हुनेवाला छैन । सांैकी (ऋण) र अघिपछि चाडपर्वमा लिएको अन्न, कपडा र पहिले उसको बुबाले गरेको ऋण उसलाई जेलमा बन्दीजस्तो बनाई सकेको थियो मालिकले । 

पर्सिहवाको ऋण भएकोले कमाउन छाड्दैन भन्नेमा ढुक्क थियो उसको मालिक । उसलाई थोरै डर थियो कि अरु कसैले ऋण तिरेर छुटाउन पनि सक्छ भन्ने । कमैया बनाउनको लागि आखिर यो समाजमा पशुजस्तै खरिद विक्री पनि त भएकै छ यो समाजमा । 

पर्सिहवा साँच्चिकै कति चिन्तित छ आज । यसपाली त उ जसरी पनि काम गर्न छाडेर अन्तै कतै मजदुरी भए पनि गर्ने अठोट लिएको छ । एकै छाक खाएर भए पनि स्वतन्त्र ढंगले काम गर्न पाइन्छ, मनमा लागेको कुरा बोल्न पाइन्छ भनेर सोच्दै छ उ । 

छोराहरु पनि ठूला भैसकेकोले उनीहरु पनि हेर्दाहेर्दै कमैया बनिसकेछन् । कान्छोलाई त आफ्ना हाडमासु घोटेर, छाक काटेर भएपनि पढाउनुपर्छ । केटा पनि तिखो दिमागको देखिन्छ । दश कक्षासम्म त चाँडो पढ्छ होला । ठूलो भयो भने त मालिकको छोराजस्तै हाकिम बन्ला र कम्तीमा बुढ्यौलीमा सहारा त देला । त्योभन्दा अझ ठूलो कुरा हाम्रो पुख्र्यौली पेशाजस्तै बनेको कमैयाबाट त छुटकारा त पाउला । 

बिहेपछि केटाकेटी पनि मकैको फुलौरा उठेसरी एकपछि अर्को हुँदै घर भरिए । आज चुरा छैन, ब्लाउज छैन, कैले टीका छैन, केटाकेटीको च्यातिएको, टालो लागेको कमीज, कमाई केही छैन ।

यदि त्यसो भयो भने तिउरे बाहुनको घरमा भाँडा माझ्ने कमलरी छोरीको राम्रो घर खोजेर धुमधामसित विहे गर्दिनुपर्ला । सौंकी तिरियो भने अन्य भाईहरु पनि त छुटकारा पाउलान् । कमैया जीवनबाट मुक्ति दिएर उसको छोरा पुर्खाको इतिहास बदलेर जरुर नयाँ इतिहास रच्नेछ ।  

पर्सिहवा आफ्नो कल्पनाको चिलगाडी (जहाज) उडाउँदै थियो । त्यही चिलगाडीमा बसेर उ आफ्ना अतीत र पुर्खाको इतिहासको वरपर सयर गर्न थाल्छ । 

त्यतिबेला बेला उ आफ्नो कान्छो छोरा जत्तिकै थियो होला । जबदेखि उ जानकार भयो, उ मालिकको बाख्रा चराउन थाल्यो । समयको वेगमा उ छेगरहवाबाट बढुवा हुदै बर्डहुवा र हलो जोत्ने कमैया बनेको थाहै पाएन । अब उसको होस खुलेको छ, मालिकको एउटा होशियार कमैया भैसकेको छ । दाई भाउजु दिनापुर गाउँ कमाउँथे भने काका उत्तर पूर्वको सिम्तालीको घरमा । 

जबसम्म उ जवान थियो । कमायो, खायो, मनमा कुनै सोंच फिकिर थिएन । जवानीसँगै विहे पनि भयो, पर्सिहान चिनरुप्नीसँग । माइला छोरा भएकोले विहेपछि उसको वास्तविक नाम हराएर माइला पर्सिहवा भएको थियो । 

बिहेपछि केटाकेटी पनि मकैको फुलौरा उठेसरी एकपछि अर्को हुँदै घर भरिए । आज चुरा छैन, ब्लाउज छैन, कैले टीका छैन, केटाकेटीको च्यातिएको, टालो लागेको कमीज, कमाई केही छैन । अब बल्ल उसलाई कमैया जीवनको वास्तविकता थाहा भएजस्तो लाग्यो । 

पर्सिहवाको विचार आफ्नो श्रम र आयमा गएर अड्किएको हुन्छ । काम त दिन रात गर्छ, अझ श्रीमती पनि मालिककै घर ओरगिन्या भएकी छे । तर कमाई आफ्नो खाने र लत्ता कपडामा पनि नपुग्ने । अब त कमाउदिनँ, यसपालि माघमा त जसरी भए पनि कमैया छाड्छु र अरु कामको खोजी गर्छु । गत साल पनि उ खोज्नी–बोज्नी गर्दा कमैया नगर्ने भनेर प्रस्ताव गरिसकेको थियो । 

तर अहँ आठ हजार रुपैयाँको सौकीले उसलाई छुटकारा दिएन । के गर्ने मन मारेर फेरि उही मालिककहाँ नै कमैया बस्न बाध्य हुन्छ । आफ्नो ऋणको बारेमा उ कहिल्यै चासो राखेको थिएन । मानौ यति धेरै ऋण कहाँबाट आयो । उ अचम्म मान्थ्यो । किनकि यति धेरै ऋण त उसले कहिल्यै लिएको थिएन । बूढो भएर लौरो समातिसकेको आफ्ना आमा बुबासंग सोधेपछि पो नयाँ रहस्य थाहा पायो । 

अब माइला पर्सिहवाको मनमा केही साेंच र छटपटी परेजस्तो हुन्छ । उसको त खानदान नै कमैया थिए । पुर्खाको इतिहास कमैयाबाट सुरु भएको थियो ।

मालिककहाँ भएको यो ऋण त उसको बुबाको पालादेखि नभएर हजुरबा, जिजुबाजेको पालादेखिकै रहेछ । पर्सिहवाको बुवा दुखवा पनि त थाहा पाउने बेलादेखि मालिकको बाख्रा चराउने काम गथ्र्यो । उसको बुबा, बाजे पनि कमैया नै थिए । दुखवा आफ्नो बाबुको जेठो छोरा थियो । त्यतिबेला जम्मा तीन सय मात्र ऋण थियो ।

 एकपटक मालिकले खेतमा उखु लगाउने जिम्मा कमैयाहरुलाई दिएको थियो । तर अपसोच उखु उम्रिएन । मालिकले कमैयाउपर दोष थुपार्‍यो । उखु नरोपेर उनीहरुले खाए या आफ्ना नातागोतालाई बाँडे भनेर । त्यही उखुको मोल र जोताउने खर्च कुल मिलाएर बीस हजार रुपैया अब दुई कमैयाहरु मिलेर तिर्नुपर्ने भयो । यसरी दुखवाको तीन सयबाट दश हजार तीन सय रुपैया मालिकलाई तिर्नुपर्ने भयो । 

दुनियालाई थाहा थियो कि यो त सरासर अन्याय नै हो, अत्याचार हो, शोषण हो र गरिबको खुन पसिनाउपर गरिएको खेलवाड हो । तर सबै चुप रहे, दुखवालाई पनि मुखमा ताला लाउनुपर्‍यो । उसलाई थाहा थियो गाउँका अन्य मान्छे उसको पक्षमा बोल्ने कोही पनि छैन । किनभने सबैको मालिकदेखि डर छ । उसले मात्रै भनेर त मालिकको रौं पनि हल्लिदैन । 

त्यसबीचमा दुखवाको अर्को भाइ पनि कमाउने भैसकेको थियो । भाईलाई दश हजार रुपैया ऋणबाट आधा पाँच हजार रुपैया दुखवाको मालिकलाई तिरेर कमैया बनाउन लगेको थियो अर्को जिम्दारले ।                                                         

अब माइला पर्सिहवाको मनमा केही साेंच र छटपटी परेजस्तो हुन्छ । उसको त खानदान नै कमैया थिए । पुर्खाको इतिहास कमैयाबाट सुरु भएको थियो । अब उ आफ्नो मात्र नभएर आफ्नो सन्तान र उनीहरुको भविष्य पनि अन्धकार देख्न थाल्छ । आफ्ना बुवा, हजुरबा, ऋणले गर्दा उसलाई रात दिन मालिकको खेतमा हाड छाला घोट्नुपर्छ । ऋणले उसको छोरा छोरी पनि त यस्तै कमैया बन्नुपर्ने हुन्छ । 

मालिकको अगेना वरिपरि सबै कमैया बसिराखेका छन् । माइला पर्सिहवा पनि एकातिर पिर्कामा बस्छ ।

तर म कदापी अब यस्तो हुन दिने छैन । मेरा बाउ बाजेले जानेनन् । तर म पनि त्यस्तै गरुला र ? अहँ, म आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउँछु । यसपाली त कमैया छोड्छु  र अरु केही काम गर्छु । जब–जब माघी आउँछ उ यस्तै बर्बाराउँछ तर ऋण तिर्न असमर्थ हुन्छ । 

यस्तो भन्दै आएको कति वर्ष भैसक्यो । उसको कपाल पनि फुलेर सेतै भैसके र उसको जेठो र माइला छोरा जसलाई उसले कमैया नबनाई पढाउने सोच बनाएको थियो, उनीहरु पनि कमैया भैसकेका छन् । अब माइला पर्सिहवाको आशाको केन्द्रविन्दु कान्छो छोरा मात्र बाँकी छ । त्यसैले त उसलाई जसरी भएपनि पढाउन कस्सिएको छ र उसलाई ठूलो मान्छे बनाउने सपना बुनेको छ । अनि कमैयाको इतिहास मेटाउन चाहेको छ । 

ऽऽऽऽ     ऽऽऽऽ 

‘ए मझला पर्सिहवा..।’ 

पर्सिहवा आफ्नो मालिकले बोलाएको सुनेर उ विगतको कल्पनाबाट वर्तमानमा आइपुग्छ । 

के गर्दैछस्, कि सन्चो छैन ? 

मालिकले खोज्नी–बोज्नी गर्न बोलाउन आइसकेको थियो । 

‘हजुर केही पनि भको छैन । एकछिन पल्टेको, निदाएछु’ भन्दै आफ्ना च्यातिएका लुंगी आढेर मालिकको पछिपछि लाग्छ ।  

मालिकको अगेना वरिपरि सबै कमैया बसिराखेका छन् । माइला पर्सिहवा पनि एकातिर पिर्कामा बस्छ । ‘हेर माइला, सबै यस वर्ष पनि यही नै कमाउने भएका छन् । तिम्रो के विचार छ ?’ विस्तारै मालिकले कुरा सुरु गर्छ । 

‘हजुर, इ बरस टे कमैना बिचार नै हो’ (यस वर्ष त मेरो कमाउने विचार छैन) । 

तल मुन्टो गरीकन डराइ–डराइ बोल्छ पर्सिहवा । मालिकको अनुहारमो कुनै चिन्ता र हैरानी देखिन्न, बरु एउटा कुटिल मुस्कान फैलिन्छ । किनभने उसलाई थाहा छ, पर्सिहवा कति वर्षदेखि खोज्नी–बोज्नीमा यही जवाफ दिन्छ । मालिकले पर्सिहवाको कमजोर नसा–नसा थाहा पाइसकेको हुन्छ । 

निरास भएर पर्सिहवा चार/पाँच कचौरा रक्सी एक्कैचोटी स्वाट्ट पार्छ । एकछिन आफ्नो पारिवारिक दुःख चिन्ताबाट टाढिन्छ र क्षणिक रुपमा भए पनि रमाउन थाल्छ ।

‘कमाएनौ भने ठिकै छ, तिम्रो पहिलेको र यस वर्षको कुल मिलाएर बीस हजार ऋण भैसकेको छ । यति पैसा तिर र छोड कमाउन ।’ 

अब पर्सिहवाको मुन्टो माथि उठेन । के गरोस् विचारा, कमाउँदिन भनेर मात्र त भएन । वाध्यतावश उसलाई पनि कमाउछुँ भन्न कर लाग्छ । फेरि मालिकको उही मुस्कान देखिन्छ– ‘तिम्रो ऋण धेरै भैसकेको छ पर्सिहवा । यसपाली कान्छो छोरालाई पनि बाख्रा चराउन पठाइदेउ ।’ मालिकको त्यस्तो प्रस्तावले पर्सिहवा ‘हवस् हजुर’ भन्न ुसिवाय अरु केही विकल्प फेला पार्दैन । 

विचारा पर्सिहवा, कमैया जीवनबाट मुक्तिको लागि र आफ्नो छोरा छोरीलाई पढाउन यसपालि त ...भन्दाभन्दै आफ्ना कान्छो छोरालाई पनि कमैया बनाउने स्थितिमा आइपुग्छ । त्यसैले त उसलाई आफ्नो जिन्दगीबाट निरासा लाग्न थाल्छ । 

ऊ मनमनै सोच्छ– यस वर्ष पनि म हारेँ । के अब मेरो सन्ततिको जिन्दगी सधँै यसरी नै कमैया भएर वित्छ ? उ आफै प्रश्न गर्छ तर त्यसको जवाफ पाउन सक्दैन, न त कुनै उपाय नै । 

निरास भएर पर्सिहवा चार/पाँच कचौरा रक्सी एक्कैचोटी स्वाट्ट पार्छ । एकछिन आफ्नो पारिवारिक दुःख चिन्ताबाट टाढिन्छ र क्षणिक रुपमा भए पनि रमाउन थाल्छ । त्यही रक्सीको नशामा आफ्ना पुरानो डफ बजाउँदै गुन्गुनाउन थाल्छ–

डफला रे टै मन बहलैबे ढनिया ...ऽ  

खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे  

पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।

 खोनपुर, कैलाली

हालः तुलसीपुर, दाङ

अनुवादः कृष्णराज सर्वहारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र चौधरी
सुरेन्द्र चौधरी
लेखकबाट थप