शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

नर्सको रित्तो पर्स

शनिबार, ३० पुस २०७९, ०६ : २७
शनिबार, ३० पुस २०७९

“आफ्नो जन्मभूमिलाई नै कर्मभूमि बनाउनेछु । देश र जनताको सेवा गर्नेछु ।” नर्स पढ्दै गर्दा यस्तै सपना मनमा सजाएकी थिएँ । मजस्ता हजारौँ नर्सहरूले पनि त मनमा यस्तै सपना सजाएका थिए होलान् ! 

अहिले एउटा हातमा हरियो पासपोर्ट बोकिरहँदा र अर्को हातले एयरपोर्टको गेटसम्म पुर्‍याउन आएका आफन्तलाई बिदाइको हात हल्लाइरहँदा त्यो सपना सपनासरि नै बिलाइरहेको अनुभूति गरिरहेकी थिएँ । भक्कानिइरहेको थियो मन । 

कस्तो विडम्बना, दुःख गरी गरी नेपालमै केही गर्छु भन्ने उद्देश्यले पढियो, आज सेवा गर्न भने विदेशमा जानुपर्ने ? बिरानो मुलुकलाई कर्मभूमि बनाउनुपर्ने ?

भक्कानिएको मनको वेदना आँखासम्म पुग्यो र आँसुको रूपमा बाहिरिन खोज्यो । आँसुलाई भित्रै दबाउँदाको पीडा कसलाई सुनाऊँ मैले ? कसले बुझिदिन्छ ? 

म आफूलाई सक्दो मनाउने प्रयास गरिरहेकी थिएँ र मनलाई कल्पना लोकमा पुर्‍याएर मजस्तै हजारौँ विदेशिएका नेपालीहरू र मेरा सहकर्मी नर्सहरूलाई सम्झेर चित्त बुझाउने प्रयास गरिरहेकी थिएँ ।

“फेरि यो माटोमा पाइला टेक्न पाइएका कि नपाइएला कुन्नि ! परिवारसँग भेट हुने दिन फेरि कहिले आउला ? आउला कि नआउला ?” प्लेनले जमिन छाड्दा मेरो मनले पनि धैर्यता छाड्न खोजिरहेको थियो ।   

प्लेनले पशुपति परिक्रमा गरिरहँदा मैले भगवान्लाई साक्षी राख्दै आफूलाई दह्रो बनाउन प्रार्थना गरेँ, “हे भगवान् ! मेरा केही थान यादहरूले मलाई धेरै दुःख नदिउन् । मेरा पाइला गन्तव्य नभेटिने बेलासम्म हिँडी नै रहून् । यसलाई लागि मलाई साहस दिनुहोस् ।” 

मैले जति जति प्रार्थना गरिरहेकी थिएँ, त्यति त्यति मलाई यादहरूले झम्टिरहेका थिए । पखेटा फिँजाएर उडिरहेको चरो जसरी प्लेन नीलो आकाशभित्र धुम्म परेको बादलभित्र उडिरहेको थियो । लाग्थ्यो– प्लेन निस्सासिँदै, छटपटिँदै उडिरहेको थियो मेरो मनजस्तै । 

म आफूलाई सक्दो मनाउने प्रयास गरिरहेकी थिएँ र मनलाई कल्पना लोकमा पुर्‍याएर मजस्तै हजारौँ विदेशिएका नेपालीहरू र मेरा सहकर्मी नर्सहरूलाई सम्झेर चित्त बुझाउने प्रयास गरिरहेकी थिएँ । मेरा आमा बाबाको सपनालाई आँखामा सजाइरहेकी थिएँ तर त्यसले बिझाइरहेको थियो ।   

लामो यात्रापछि अस्ट्रेलियाको सिड्नीमा पुगेँ । नयाँ ठाउँ, नयाँ परिवेश, सबै नयाँ । अब मैले त्यहीँ पूरै ध्यान नदिनुको विकल्प थिएन । त्यत्रो नेपालबाट आइसकेपछि अब रोएर र छटपटिएर बस्नुको कुनै तुक पनि थिएन । मैले आफूभित्र साहस भर्नैपथ्र्यो र नयाँ ठाउँ तथा  वातावरणमा घुलमिल हुने तयारी गर्नुपथ्र्यो । 

लाखौँ खर्चको कुरा त एकातर्फ छ, अर्कातिर आफ्नो सपना नै चकनाचुर भयो ।

नेपालबाट एक जना नेपालीसँग सहयोगका लागि भनेकी थिएँ र उनैसँग भेटेँ । म त एक हिसाबले लाटीजस्ती बनेकी थिएँ । बिस्तारै बिस्तारै सहज बन्दै गएँ । 

नेपालमा त्यत्रो वर्ष मेहनत गरेर र खर्च गरेर पढेकोले अस्ट्रेलियामा पुगेन । फेरि पढ्नुपर्ने र लाइसेन्सको परीक्षा दिनुपर्ने ! खर्चको त हिसाब नै नगरौँ । लाखौँ खर्च गरेर नेपालमै पढियो, फेरि लाखौँ नै खर्च गरेर विदेश आइयो र फेरि पनि लाखौँ नै खर्च गरेर यहाँ नि पढ्नुपर्ने ! यो लाखौँको चक्करबाट कहिले उम्किने हो कुन्नि ! यो त कस्तो भुमरीमा अल्झेको जिन्दगी भयो ! 

लाखौँ खर्चको कुरा त एकातर्फ छ, अर्कातिर आफ्नो सपना नै चकनाचुर भयो । पुनः बुबाआमासँग खेल्ने–रमाउने, गाउँलेहरूको सहयोग गर्ने, साथीभाइसँग रमाइलो गर्ने, आफ्नै देशको सेवा गर्ने– यी त अब सपना भयो सायद यो जुनीका लागि नै । 

यस्ता कुराहरू सम्झँदा मन यति धेरै छट्पटिन्छ कि विरक्ति भावको पराकाष्ठा अनुभव हुन्छ । सुनसान ठाउँमा एउटै रुममा एक्लै बसिरहँदा त झन् कुरै नगरौँ । आफ्ना मान्छेहरूले केही सहयोग गरेका छैनन् भने पनि उनीहरूका कारण सुरक्षाको अनुभूति भइरहेको हुँदो रहेछ । आफ्नो मान्छे कोही पनि साथमा नहुँदाको पीडा झेल्न गाह्रो हुँदो रहेछ । 

विदेशमा आएपछि जीवन पूरै अस्तव्यस्त हुने । जसरी हुन्छ, पैसा कमाउनुपर्ने बाध्यता । सायद विदेशमा हरेक नेपालीको एउटै ध्येय पैसा कमाऊ भन्ने मात्रै हुन्छ । 

नेपालबाट आफन्त र परिवारले सोच्छन् पनि, “ओहो, विदेशमा गएर टन्नै पैसा कमायो होला ! यो गरेको छ, त्यो गरेको छ !” 

भित्री कथा सायद कमैले सोच्छन् होला । थाहा छ, यहाँ राम्रोसँग खानसमेत पाइँदैन ? हप्ताको एक दिन पकाएर खान पाइन्छ । एक दिनको खानेकुरा त्यही दिनका लागि मात्रै कहाँ हो र ? पूरै हप्ता दिनका लागि एकै दिन पकाउनुपर्छ र त्यसैले पुर्‍याउनुपर्छ । मीठा र ताजा खानेकुराहरू त अब लगभग सपनाको कुरा भइसक्यो । पैसा पैसा पैसा ! खाली पैसा भनेर दौडेको छ दौडेको छ ! 

स्थानीय सरकारले एकपटक गएर प्राइभेट र सरकारी हस्पिटलहरूमा भिजिट गरिदिए त सबै समस्या घामजस्तै छर्लङ्गै हुने थियो नि ।

हस्पिटलको ड्युटीको रिस्कको झन् कुरै नगरौँ । नयाँ ठाउँमा एक हिसाबले भिज्नै समय लाग्छ । असुरक्षित अनुभव भइरहन्छ । 

नेपालको धेरै नै माया लाग्छ, त्यसैले दुःख भएका बेला त्यति नै गाली पनि गर्न मन लाग्छ । सोच्छु, “यतिको मेहनत नेपालमै गर्न पाएको भए !”

मन त थियो नेपालमै केही गर्ने । धेरै मानिसलाई लाग्दो हो, म रहरले अष्ट्रेलिया आएकी हुँ । हैन, म निश्चयपूर्वक भनिदिन सक्छु, अलिकति सहज अवस्था र सेवा शुल्कमा सुविधा नर्सिङलाई दिएको भए म यहाँ आउँदिनथेँ । 

मेरो मन नेपालमा आफूले नर्सका रूपमा काम गरिरहँदा र अरू नर्सहरूलाई पनि देखिरहँदाको अवस्थामा पुगिरहन्छ । धेरै नर्सहरूले नेपालमा भएका नर्सहरूका बारेमा विविध लेखरचनामार्फत् र अन्य सम्बन्धित ठाउँमा गुनासो नपोखेका होइनन् । तर, कसले र कहिले सुन्न खै ! 

यतिको आवाज उठिरहेको बेलामा र मजस्ता पीडित नर्सहरूले गुनासो गरिरहेका समयमा पनि स्थानीय सरकारले अहिलेसम्म यो समस्यालाई समस्याका रूपमै लिएको छैन कि जस्तो लाग्छ कहिलेकाहीँ । 

स्थानीय सरकारले एकपटक गएर प्राइभेट र सरकारी हस्पिटलहरूमा भिजिट गरिदिए त सबै समस्या घामजस्तै छर्लङ्गै हुने थियो नि । जनप्रतिनिधिहरू दुवै हस्पिटलमा जाऊन्, त्यहाँका नर्सहरूको समस्या बुझिदिउन् र यदि साँच्चैको समस्या रहेछ भने त्यसको समस्याका लागि केही पहल गरिदिउन् न ।  

पत्यारै लाग्दैन, एकजना नर्सलाई आफू एक जनालाई समेत हातमुख जोड्न धौ धौ हुन्छ भनेर ! तर, वास्तविकता यही नै हो । नर्सको पारिश्रमिक न्यूनतम तीनदेखि सत्र हजारसम्म मात्र छ । अहिलेको समयमा यति पैसाले के गर्ने हो ? 

हालसम्म कुनै पनि सरकारले नर्सिङका बारेमा बोलेका छैनन् । नर्सहरूले जति नै आवाज उठाए पनि उनीहरूले नसुनेका हुन् कि नसुनेझैँ गरेका हुन् कि !

यति हुँदा पनि रोजगारीको असुरक्षा झेलिरहनुपर्छ । न सुरक्षित यातायात छ, न आवासको व्यवस्था छ, न घर पायकको नियुक्ति छ, न सीप अभिवृद्धि गर्ने कुनै तालिमको व्यवस्था छ, यस्तो अवस्थामा कुनचाहिँ नर्स र नर्सिङलाई राम्ररी बुझेका मानिसहरूको मन अमिलो नबन्ला ? 

होला, केही नर्सहरूलाई विदेश जाने रहर होला । तर, अधिकांश नर्स नेपालमै आफूहरूको उचित सम्बोधन होस् भन्ने चाहन्छन् । उनीहरूको चाहना चाहनामै सीमित भइरहेको अवस्था छ । स्थानीय सरकारले राम्रोसँग अनुगमन गरोस्, केन्द्रीय सरकारसम्म कुरा पुर्‍याइदेओस् र यस नर्सिङ विषयलाई प्राथमिकतामा राखेर उचित सम्बोधन होस्– यति त हो नर्सहरूको चाहना । सरकारले त यसरी नर्सहरू किन बाहिरिइरहेका छन् भनेर बेलैमा सोचिहाल्नुपर्ने होइन र ? यस्ता एकतमासका कुरा मनमा खेलिरहन्छ ।

नर्सिङ क्षेत्रका दिदीबहिनीहरू सबै विदेशिएपछि नेपालमा चाहिँ कसले सेवा दिन्छ होला ? बेलैमा होश नपुर्‍याएका कारण यहाँ अहिले बिस्तारै नर्सहरूको अभाव देखिन थालिसकेको छ । एक जना नर्सले तीसदेखि पचास जना बिरामी हेर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा बिरामीले कसरी सेवासुविधा पाउँछन् ? खै यसको उचित मूल्याङ्कन ? 

हालसम्म कुनै पनि सरकारले नर्सिङका बारेमा बोलेका छैनन् । नर्सहरूले जति नै आवाज उठाए पनि उनीहरूले नसुनेका हुन् कि नसुनेझैँ गरेका हुन् कि ! अहिले नर्सहरूको विदेशमा माग भएको विज्ञापनहरू जताततै देखिन्छन् । धेरै नर्सहरू विदेशिइरहेको पनि बादल नलाग्दाको घामजस्तै छर्लङ्ग छ, तैपनि किन कसैको यसमा आँखा नगएको होला ? 

स्थानीय र केन्द्र सरकारले यस विषयमा तुरुन्तै आफ्नो समस्या बुझेर आफ्नो उचित कदम चालोस्, अझै पनि समय छ । यति नर्सहरूको समस्या सम्बोधन हुने हो भने म पनि विदेशमा बसिरहने छैन । आफ्नै देशमा सेवा गर्ने र जन्मभूमिलाई नै कर्मभूमि बनाउने मेरो इच्छा छ । सायद मेरोजस्तै अरू नर्सहरूको पनि होला...। 

मैले आफ्ना व्यथा लेखे । तर यी धेरै नर्सका यथार्थ कथा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्जु न्यौपाने
अन्जु न्यौपाने
लेखकबाट थप