कलाकारलाई लाग्यो चुनाव : अध्यक्षमा ५ जनाको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी सुरु भएको छ । रविन्द्र खड्का अध्यक्ष रहेको वर्तमान कार्यसमितिले आगामी ४ चैत्रमा संघको १९औं महाधिवेशनको मिति तय गरेपछि संघको नेतृत्व हत्याउन कलाकर्मीले कसरत सुरु गरेका हुन् ।
कतिपय उम्मेदवार सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्दैछन् भने केही आफ्ना नजिकका साथीभाइसँग आफू केमा उठ्दा उपयुक्त हुन्छ भनेर सल्लाहसहित साथ र समर्थन माग्नमा ब्यस्त देखिन्छन् । म फलानो पदमा उठ्ने भन्दै नजिकका साथीभाइ डाकेर चियापान गराउँदै सल्लाह र समर्थन जुटाउन लागिरहेका छन् ।
केही दिनयता बागबजार, अनामनगरलगायत आसपासका चिया पसलमा कलाकारका स–साना झुण्ड भेट्न सकिन्छ, जसले चियाको चुस्कीसँगै संघको चुनावको चर्चा गरेको सुन्न पाइन्छ । चुनावी चहलपहल हेर्दा नेतृत्वको कसरतमा रहेका युवापुस्ता संघमा अव युवाको पालो भनिरहेका छन् भने पुराना पुस्ताहरुले भने अनुभवीलाई ग्राह्यता दिनुपर्ने आवाज उठाइरहेका छन् । यी गतिविधि नियाल्दा संघको महाधिवेशन विगतको भन्दा घम्साघम्सी हुने अनुमान गर्न सकिन्छ ।
को–को छन् अध्यक्ष आकांक्षी ?
आजको मितिसम्म हेर्दा कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का, सविन श्रेष्ठ, रेजिना उप्रेती, सुशान्तकुमार श्रेष्ठ र मोहन निरौला गरी ५ जना आकांक्षी देखिएका छन् । रविन्द्र खड्का पुनः अध्यक्षको लाइनमा छन् भने अध्यक्षको आकांक्षीहरु अरु पनि बढ्ने देखिन्छ ।
कोरोनाले आफूले सोचेअनुसार काम गर्न नपाएकाले अधुरो काम पुरा गर्ने भन्दै रविन्द्र खड्काले पुनः अध्यक्षमा लबिङ गरिरहेका छन् । त्यस्तै, अहिले उपाध्यक्ष तथा संघका प्रवक्तासमेत रहेका मोहन निरौला संघमा आफ्नो नेतृत्वको खाँचो रहेको बताउँछन् । संघको विभिन्न पदमा बसेर आफूले हासिल गरेको अनुभवले संघलाई नयाँ दिशा दिने उनको जिकिर छ ।
त्यस्तै हाल संघको उपाध्यक्ष रहेकी अभिनेत्री रेजिना उप्रेतीले पनि उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् । संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेन्डासहित उनी आफू आएको बताएकी छन् । २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको धारणा छ ।
यस्तै, अभिनेता सविन श्रेष्ठले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा अगाडि सारेका छन् ।
कलाकार निर्माता सुशान्त कुमार श्रेष्ठले समेत संघको अध्यक्ष उठ्ने घोषणा गरिसकेका छन् । विकास बोर्डलगायत चलचित्रसम्बन्धि विभिन्न संघ संस्थामा रहेर अनुभव हासिल गरेका उनले संघमा कलाकारको हकहित र सामाजिक सुरक्षा लगायतको एजेन्डा लिएर अघि बढ्ने बताएका छन् ।
अध्यक्षको अलावा उपाध्यक्षलगायत विभिन्न पदका लागि समेत कलाकारले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । रविन्द्र खड्का र मोहन निरौलामध्ये बहुमत केन्द्रीय सदस्यको चाहना जो प्रति हुन्छ, त्यही अध्यक्षमा आउने र अर्काेले सघाउने भद्र सहमतिसमेत भएको बताइन्छ ।
कस्तो छ महाधिवेशनको तयारी ?
४ चैत्रको महाधिवेशन भब्य बनाउन कलाकार संघले तयारी थालिसकेको छ । जसका लागि संघले वर्तमान कार्यसमितीका सदस्यहरुलाई जिम्मेवारी समेत बाँडफाँट गरेको छ । महाधिवेशनका लागि साधारण सदस्यको सदस्यता नविकरण सुरु भएको छ । सदस्यता नविकरणमा पैसाको चलखेल नहोस् भनेर पहिले जस्तो एक ब्यक्तिले धेरैको सदस्यता नविकरण गर्न नमिल्ने र सदस्य आफै आएर नविकरण गर्ने ब्यवस्था गरिएको छ । सदस्यता नविकरणको म्याद ४ फागुनसम्म रहेको छ ।
महाधिवेशनका लागि स्काई दरबार पार्टी प्यालेस बुकिङ भएको छ । मञ्च ब्यवस्थापनमा लागि संघका सानु ताम्राकारलाई जिम्मेवारी दिइएको छ । निर्वाचन कमिटी बनाउन भने बाँकी रहेको संघका अध्यक्ष खड्काले बताए ।
के गर्दैछ नेफ्टा र निर्देशक समाज ?
नेपाली कला क्षेत्रका दुई संस्था चलचित्र निर्माता संघ र चलचित्र संघले केही अगाडि नयाँ नेतृत्व चयन गरिसकेका छन् । चलचित्र कलाकार संघ ४ चैत्रमा महाधिवेशन गर्दै गर्दा चलचित्र प्राविधिक संघ (नेफ्टा) र निर्देशक समाजले के गर्दैछन् ? भन्ने प्रश्न उठ्न सक्छ ।
हालै चलचित्र प्राविधिक संघ (नेफ्टा) ले चलचित्र कलाकार संघ भन्दा अगावै ११ फागुनमा महाधिवेशन मिति तोकेको छ । महाधिवेशन मिति तोकिएसँगै नेफ्टाको नेतृत्वका लागि ४ ब्यक्ति भिड्ने चर्चा छ । जसमा पुष्कर लामासहित अनन्त घिमिरे, शंकर पाण्डे र प्रकाश महरा रहेका छन् ।
वर्तमान अध्यक्ष पुष्कर लामा पुनः नेफ्टामा दोहोरिने कसरतमा छन् । त्यस्तै अनन्त घिमिरे, प्रकाश महरा वर्तमान अध्यक्ष लामाले संघमा राम्रो नेतृत्व गर्न नसकेको भन्दै आफूले संघलाई अव राम्रो तवरबाट अगाडि लैजाने भन्दै अगाडि बढिरहेका छन् । शंकर पाण्डे भने लामा पुनः अध्यक्ष उठे आफू पनि अध्यक्षमै उठ्ने तर उनीबाहेक अरु अध्यक्ष उठे महासचिवमा चित्त बुझाउने बताउँदै आएका छन् ।
त्यस्तै निर्देशक समाजले पनि फागुनको अन्त्यमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । महाधिवेशन मिति भने अर्काे साता तोकिने निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले रातोपाटीलाई बताए ।