बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

आफैँ हिरो भएर अभिनय गर्ने मन छ : सन्दीप क्षेत्री

शुक्रबार, २९ पुस २०७९, १० : २६
शुक्रबार, २९ पुस २०७९

अभिनेता सन्दीप क्षेत्री कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट् द फ्लप’ बाट चर्चित बनेका उनले ‘छ एकान छ’ बाट फिल्म डेब्यु गरेका थिए । पछिल्लो समय स्टेज शो, नाटकदेखि फिल्मसम्म छाउन सफल उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । हरेक फिल्ममा कमेडियनको रुपमा देखिँदै आएका उनलाई यो फिल्ममा कस्तो रुपमा देख्न सकिनेछ ? प्रस्तुत छ, सन्दीप क्षेत्रीसँग फिल्म र अभिनयको विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

 पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?

– टेलिभिजन कार्यक्रम त नियमित छँदैछ । त्यसबाहेक स्टेज शो र फिल्म अभिनय पनि निरन्तर जारी छ । मेरो अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अहिले त्यसको प्रचार प्रसारमा समेत ब्यस्त छु ।

भनेपछि टेलिभिजन कार्यक्रमदेखि फिल्मसम्म सबैतिर छाउने रहर हो ?

– खासमा मलाई फिल्मको क्यानभास एकदमै मनपर्छ । टेलिभिजनमा एउटा कलाकारिताको पाटोलाई सन्तुष्टि दिइरहदा अभिनयको मोह भईरहन्छ । आफूलाई सुहाउँदो रोल, मनपर्ने कथाबस्तु पाउँदा भ्याएसम्म अभिनय गर्न मन लाग्छ ।

‘६ एकान ६’देखि अहिले ‘तिम्रो मेरो साथ’सम्म आउँदा तपाईंका आधा दर्जन बढी फिल्म रिलिज भैसके । तपाईं दर्शकको नोटिसमा परेजस्तो लाग्छ त ?

– मेरो अभिनय रहेको फिल्म लगातार आएका छन् । फिल्मबाट नोटिसमा परे, परिनँ भन्ने कुरो अलग हो । मैले अभिनय गरेको ‘श्री’ फिल्म लकडाउनमा रिलिज भयो । त्यो अहिले युट्युवमा पनि छ । त्यो फिल्मबाट कलाकारको हिसावले सन्तुष्टि मिलेको थियो । मैले अभिनय गरेको मध्ये मलाई चिनाउने फिल्म ‘श्री’ नै हो । अहिले आउन लागेको ‘तिम्रो मेरा साथ’ ले पनि मलाई राम्रोसँग चिनाउला भन्नेमा आशावादी छु ।

फिल्मको ट्रेलर हेर्दा ‘तिम्रो मेरो साथ’मा तपाईंको भूमिका नेगेटिभ भएको अनुमान गर्न सकिन्छ । त्यस्तै हो र ?

– कहिलेकाहीँ एउटै फिल्मले कलाकारको सबै भाग्य लेखेर आएको हुन्छ । यो फिल्ममा मेरो इन्टे«स्टिङ भूमिका छ । यो सस्पेन्स, थ्रिलर फिल्म भएको कारणले अहिले मेरो भूमिका नेगेटिभ, पोजेटिभ वा कमेडी भनेर भन्दा पनि फिल्मप्रति हामीले एउटा जुन वातावरण क्रियट गर्न खोजेका छौ, त्यसलाई असर गर्छ ।

समग्रमा फिल्ममा जति समय म प्रस्तुत हुन्छु, त्यसले दर्शकलाई बाँधेर राख्छ । मेरो भूमिका यो भनेर म भन्न सक्थे । फिल्म रिलिजका निर्माण युनिटले आफ्नो किसिमको वातावरण बनाइरहेको हुन्छ । यो समय मैले चरित्रबारे खुलासा गर्दा फिल्मलाई असर गर्न सक्छ । त्यो कुरोमा म अलिकति सचेत भएको कारणले फिल्मको चरित्र भन्न सकिन । अहिलेलाई यत्ति भनें– फिल्मले हसाउँछ, रुवाउँछ र दुःख महसुस सबैथोक गराउँछ ।

कलाकारका हिसावले नयाँ फिल्म रिलिज हुँदै गर्दा कस्तो अपेक्षा हुँदोरहेछ ?

– साँच्चिकै भन्नुपर्दा फिल्ममा अभिनय गर्ने समय म धेरै एक्साइटेट भएर गर्छु । फिल्म रिलिज हुँदै गर्दा भने त्यसको बारेमा खासै चिन्तित हुँदिन । फिल्म तयार हुनु भनेको खानेकुरो पाकेजस्तो हो । हामीले दर्शकको स्वादअनुसार फिल्म तयार गरेका छौ । त्यो दिदा उहाँहरुले राम्रो मान्नुहुन्छ भन्ने अपेक्षा गर्ने बाहेकको बिकल्प रहँदैन । नयाँ फिल्म रिलिज हुँदै गर्दा एक्साइटेट त छु । तर त्यसैलाई लिएर के होला, कसो होला भनेर धेरै कौतुहलता राखेको छैन ।

फिल्म खेल्न केले आकर्षित गर्छ ?

– म कलाकार नै हुन जन्मिएको हो । म टेलिभिजनको प्रोडक्ट हो । टेलिभिजनको कलाकार बनें, फिल्मको कलाकार बनें, स्टेजमा, सडक नाटकमा सबैमा कलाकार भएको छु ।  सबैतिर रमाइलो लाग्छ ।

कलेज पढाउँदा पनि म आफूलाई कलाकार महसुस गर्थे । मेरा विद्यार्थी अडियन्स जस्तो लाग्थ्यो । कलाकार कहाँ बन्न पाइन्छ, म त्यो अवसर छोड्दिन । चाहे त्यो स्टेज होस् या फिल्म ।

अभिनयका लागि फिल्म छान्ने तपाईंको आधार ?

– नीर शाह सरले फिल्म छान्ने तरिका सिकाउनु भएको थियो । तपाईंको पात्रले मुख्य कथामा असर गर्छ कि गर्दैन ? तपाईंको उपस्थितिले पुरै कथालाई समेट्छ कि समेट्दैन ? यदि तपाईंको चरित्रले पुरै कथामा प्रभाव पार्छ भने त्यो चरित्र गर्दा फरक पर्दैन भनेर सिकाउनु भएको थियो ।  कथासँग जुटेको पात्र हो भने म त्यस्तो किसिमको रोल गर्न उत्साहित हुन्छु ।

सन्दीप कमेडियन त भयो, कलाकार भएन भन्छन् नि ?

– त्यो आरोप मिथ्या हो । मलाई राम्रोसँग नबुझेकाले यसो भन्छन् । आरोप लगाउनेलाई म एकपटक फिल्म ‘श्री’ हेर्न सुझाएँ । कलाकारिताको विधाभित्र कमेडी भन्ने हुन्छ । कमेडी भन्ने जनरामा आफूलाई प्रभाव पार्ने किसिमको अवसर र मौका पाएको कारणले त्यसमा म प्रतिभा देखाउन सक्छु । कमेडी बाहेकको को अवसर नपाएको कारणले गर्दा मानिसले मेरो प्रतिभा देख्न नपाएका हुन् । मलाई कमेडी बाहेकको अन्य चरित्रमा पनि हेर्न रुचाउने हो भने ‘श्री’ फिल्म हेरे हुन्छ । म यदि नन्कमेडियन अभिनेता भएको भए अभिनयमा कहाँ कति सफल भन्न मिल्छ ।

मैले ती रोल गरेको र त्यो चरित्रमा पनि उतिकै मनपराइएको हिसावले त्यसो भन्न मिल्दैन । सफलता असफलता पाउनु भनेको फिल्मको भाग्य हो । हामीले लकडाउनमा प्रदर्शनमा ल्याएको ‘श्री’ अन्य समय रिलिज भएको भए त्यसले अर्काे प्रभाव पाथ्र्याे । मैले कमेडियनको रुपमा धेरै ठाउँमा मौका पाएको र नन्कमेडियनको रुपमा मौका नपाएको हिसावले गर्दा अभिनेताको रुपमा मेरो प्रतिभा त्यति नदेखिएको हो ।

टेलिभिजनमा फ्रिमा हेर्न पाउने तपाईंलाई हेर्न पैसा तिरेर दर्शक हलमा किन जाने ?

– टिकट काटेर मानिसहरु मेरो लाइभ प्रस्तुति हेर्न आउँछन् भने टिकट काटेर फिल्म पनि हेर्छन् । त्यो मेरो विश्वास हो ।

टेलिभिजनमा नेता तथा कलाकारलाई उडाउँदै अर्थात् ब्यङ्ग्य गर्दै आउनु भएको छ । तपाईंको अभिनय हेरेर अरुले पनि त उडाउँदा होलान् नि ?

– हामी ब्यङ्ग्यकार सबैभन्दा पहिले सिक्नुपर्ने कुरो आफैमाथि हाँस्न हो । म कसैमाथि ब्यङ्ग्य गर्छु भने म माथि पनि ब्यङ्ग्य हुन्छ । त्यसरी म माथि गरिएको ब्यङ्ग्य मैले सहर्ष स्वीकार गर्नुपर्छ । त्यो ब्यङ्ग्य क्रियटिभ होस्, मलाई सच्याओस्, सजग बनाओस् । त्यतातिर भने म सजग हुन्छु । 

म एकदमै ओपन माइन्डेट छु । म सबैभन्दा पहिले स्ट्याण्डअप गर्दा आफ्नै बारेमा भनेर हँसाउने हो । मलाई मेरो कमीकमजोरी सबै स्पष्ट थाहा छ । म आफ्नो कमजोरीप्रति आफै उदाङ्ग भएर प्रस्तुत हुन्छु । त्यो हिसावले पनि मलाई खासै असहज हुँदैन । उ ब्यङ्ग्यकार हो भने सबैभन्दा पहिले उसले आफूमाथि ब्यङ्ग्य गरेको कुरा सहर्ष स्वीकार्नुपर्छ ।

आफूलाई मधेसी कलाकार भन्ने तर मधेस र मधेसका नेतालाई ब्यङ्ग्य गरेको कारण बेला बेलामा विवादमा पनि पर्नु हुन्छ नि ?

– म एकदमै प्योर मधेसी कलाकार हो । मैले अझ झन् मधेसी बन्ने कोसिस गर्दा खेरी कहिलेकाहीँ गरेको प्रयास चाँहिदो भन्दा बढी हुन सक्छ । मेरो नियत भनेको मधेसको प्रतिनिधित्व गर्नु हो । त्यहाँको भाषा, संस्कृतिको प्रतिनिधित्व गर्नु हो ।

‘बक्रोल’ भन्ने शब्द जुन मैले कार्यक्रममा प्रयोग गर्छु । त्यो शब्द लेखेको टिसर्ट लगाएर अमेरिकामा ५० जना केटाहरु हिँडेको भेटे । उहाँहरुले मलाई बक्रोल लेखेको १०० वटा टोपी दिनुभयो । त्यो देख्दा निकै रमाइलो लाग्यो । मधेस मेरो आमा हो । आमासँग कहिलेकाहीँ ठट्टा गरिन्छ । तर उनको मजाक त उडाइदैन नि । त्यो कुरोमा म एकदमै सजग छु । कहिलेकाहीँ अनायसै विवाद आउँछ, त्यसलाई सच्याउँदै अगाडि बढ्छु ।

तपाईंको क्रेज युवतीहरुमा बढी हो ?

– हो, पक्कै पनि । तर मलाई युवतीसँगै युवाले पनि बढी पछ्याउनु हुन्छ ।

कलाकारितामा जति लाग्दै गयो, त्यति अभिनय मोह बढ्दै जान्छ रे हो ?

– त्यो सत्य हो । अभिनय जति गर्यो, त्यति लत लाग्दो रहेछ । यस्तो लत लाग्छ कि, त्योबाट उन्मुक्ति पाइँदैन ।  कलाकारितामा कहिलेकाहीँ अभाव हुन्छ, भनेको कुरो पुग्दैन, वितृष्णा पनि जाग्छ । तर जे भएपनि कलाकारिताबाट अलग हुन सकिदैन ।

म रामै्र पढेलेखेको मानिस पनि हुँ । कुनै कर्पाेरेट हाउसमा माथिल्लो तहमा बसेर आफ्नो जीवन चलाउन सक्थे । मलाई महिनाको पचास लाख रुपैया तलव दिन्छु, दशदेखि पाँचसम्म काम गर भन्यो भने दुई महिना पैसा सम्झदा रमाइलो लाग्छ । तर, तेस्रो महिनादेखि म निस्सासिन थाल्छु । कलाकारिताको लत भनेको बढ्दै बढ्दै जान्छ । किनभने उमेर बढेसँगै कलाकारिता छुट्नुपर्ने हो नि । तर जति उमेर भयो, त्यति कलाकारिता गर्न मन लाग्ने ।

सपोर्टिङ भूमिकामा धेरै फिल्म अभिनय गर्नुभयो । हिरो भएर अभिनय गर्न मन छैन ?

– अब आउने सबै फिल्म आफै हिरो भएर अभिनय गर्ने मन छ । कलाकारको रुपमा सन्तुष्ट हुने काम त मैले धेरै गरे । सन्दीप क्षेत्री भन्ने एउटा पात्र दर्शकको माझमा त्यो हिरो हो भन्ने खालको भूमिका पनि गर्छ मन छ । मन खोलेर भन्दा रुखमुनि नाच्न, स्लो मोसनमा हिँड्न, ज्यान देखाएर फुर्तीफार्ती गर्न र ड्याम्म हिर्काएर दुईचार जना ढाल्न र हिरोइन उडाउन मन छ ।

नायिकासँग पर्दामा रोमान्स गर्न पनि मन होला ?

– फिल्म ‘६ एकान ६’ सुटिङ गर्दा अभिनेत्री नीता ढुङ्गानासँग मेरो रोमाञ्चक सिन थियो । म एकदमै एक्टिभ हुनुपर्ने थियो । तर मलाई लाज लागेकोले मैले नीतालाई रिक्वेस्ट गरे । ‘मैले गर्ने भन्दा पनि म चुप लागेर बस्छु । म माथि गरियो भन्ने सजिलो होला’ भने ।

रोमान्स भन्ने बितिक्किै आम मानिसको मानसपटलमा जे कुरो आउँछ नि, त्यो गर्न असजिलो लाग्छ । मलाई फाइट गर भने सक्छु । हाम फाल भने सक्छु । प्रेम दृष्य भने अलिकति असजिलो लाग्छ ।

‘तिम्रो मेरो साथ’को बिषयमा दर्शकलाई केही भन्नु छ कि ?

–कलाकारको रुपमा जे जे गर्दै आएको छु । त्यसको अर्काे स्वरुप ‘तिम्रो मेरो साथ’ हो । टेलिभिजन, स्टेजमा जसरी माया गर्दिनु भएको छ । फिल्ममा पनि केटाले गरेको छ, हेर्दिऊँ न एकपटक भन्ने मष्तिस्कमा राखिदिनु होला, दर्शकलाई यही भन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप