के रतन टाटाको नानोको सफलताको अधुरो सपना ‘नयाँ अवतार’ मा पूरा होला ?
यो १० जनवरी २००८ को कुरा हो । दिल्लीमा कठ्याङ्ग्रिदो चिसो थियो, प्रगति मैदानमा चलिरहेको दिल्ली अटो एक्सपोमा टाटा मोटर्सले के प्रदर्शन गर्न गइरहेको छ भनेर धेरैले पर्खिरहेका थिए ।
टाटा मोटर्ससँग सूमो, सियारा, सफारीजस्ता शक्तिशाली एसयूभी, इन्डिका–इन्डिगोजस्ता कार थिए तर १० जनवरी आशाले भरिएको दिन थियो ।
यसको कारण कम्पनीका तत्कालीन अध्यक्ष रतन टाटाको एउटा सपना थियो । त्यो सपना थियो सर्वसाधारणका लागि एक लाख भारु मूल्यमा राम्रो कार पेश गर्नु । यस्तोमा हरेकको उत्सुकता थियो कि के सपना साँच्चै पूरा होला ?
भारी उत्सुकताबीच रतन टाटाको एउटा निकै सानो ट्युबलर कार मञ्चमा देखियो । शंखेकिरा आकारको कारलाई मानिसहरूले मन पराए । नाम नानो थियो र कारको मूल्य रतन टाटाले वाचा गरे अनुसार एक लाख भारु थियो । मूल्यका कारण कार चर्चामा आयो ।
कति मानिसले आफ्नो पहिलो कारको सपना पूरा गर्नका लागि नानो बुक गरे र केहीले नानोलाई परिवारको दोस्रो कारको रुपमा बुक गरे तर बुकिङदेखि कारको डेलिभरीसम्मको अवस्था परिवर्तन हुँदै गयो र नानो पनि परिवर्तन गर्नुपर्यो ।
आखिर कसरी बनेको थियो नानो ?
वास्तवमा १ लाख भारुको कार ल्याउने आइडिया जति रोचक थियो त्यति नै चुनौतीपूर्ण पनि थियो । यो पूरा गर्न सजिलो थिएन । तर टाटा मोटर्सले केही वर्षअघि टाटा ‘एस’ नामको मिनी ट्रक सार्वजनिक गरेको थियो । यो मिनी ट्रक ‘छोटा हाथी’को नामले बजारमा धेरै बिक्री हुन थालेको थियो ।
सोही सफलतालाई दोहोर्याउन टाटा मोटर्सले टाटा ‘एस’का निर्माता गिरीश वाघको नेतृत्वमा एउटा युवा टोली गठन गर्यो । गिरीश वाघको टोलीसँग रतन टाटाको नानोको सपना साकार पार्ने लक्ष्य थियो ।
२०१८ को दिल्ली अटो एक्स्पोमा गिरीश वाघले बीबीसी मराठीलाई भनेका थिए, ‘जब नानो परियोजनामा काम सुरु भयो, हाम्रा तत्कालीन अध्यक्ष रतन टाटा र कार्यकारी निर्देशक रविकान्तले मलाई यो परियोजना तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यसपछि करिब पाँच वर्षसम्म नानोमाथि काम चल्यो । कागजमा पूरा कारको डिजाइन गर्नेदेखि नयाँ कारखाना बनाउन धेरै समय लाग्यो ।’
नानोको प्रारम्भिक रुप चार पाङ्ग्रे रिक्साजस्तै थियो । यस्तो पनि अनुमान गरिएको थियो कि यसको बडी प्लास्टिकको हुनेछ वा मोटो कागजको । अन्त्यमा, हल्का एल्युमिनियमबाट न्यानोको बडी र तीन सिलिन्डरयुक्त इन्जिन तयार गरियो ।
सिंगुरदेखि सानन्द
सन् २००६ मा, पश्चिम बंगालको सिंगुरमा टाटा नानोको प्लान्ट तयार भयो । यो प्लान्टका लागि स्थानीय किसानबाट जमिन लिइयो । एउटा पूरा कारखाना स्थापना गरी नानो नानो उत्पादन सुरु भयो । तर यो लामो समय टिक्न सकेन ।
तत्कालीन विपक्षमा रहेकी ममता बनर्जीको नेतृत्वमा किसानहरुको चर्को आन्दोलनका कारण काम रोकियो ।
अन्ततः टाटा मोटर्सले सेप्टेम्बर २००८ मा सिंगुर प्लान्ट बन्द गर्यो र एक नयाँ स्थानको खोजी सुरु गर्यो ।
त्यतिबेला नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । उनले टाटासँग नानोको कारखानालाई गुजरातको सानन्द ल्याउन प्रस्ताव दिए ।
सिंगुरदेखि सानन्दको दूरी करिब दुई हजार किलोमिटर छ । अर्थात् सम्पूर्ण प्लान्टलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो थिएन ।
त्यसपछि टाटाले यो चुनौतीको अगाडि तीन प्रकारका प्रस्तावमा काम गर्यो ।
एक त यो कि पूरै कारखाना अर्थात् सबै मेसिन, कच्चा पदार्थ र अन्य सामग्री सिंगुरदेखि सानन्दसम्म सडकबाट ढुवानी गरियोस् ।
दोस्रो प्रस्ताव थियो कि उत्तराखण्डको पन्तनगर र महाराष्ट्रको पुणेमा टाटाका अन्य कारखानाहरूमा अस्थायी उत्पादनको व्यवस्था गरियोस् ताकि नानो उत्पादन जारी र बुकिङ अनुसार कारहरू जनतासम्म पुगोस् ।
र तेस्रो प्रस्ताव पूरै कारखाना सानन्दमा सार्ने र उत्पादन सुरु गर्ने थियो ।
सिंगुरबाट सानन्दसम्म कम्पनी पुर्याउन कुल ३ हजार ३ सय ४० ट्रक, ४ सय ९५ कन्टेनर र सात महिना लाग्यो । १८०० करोड भारुको कारखाना अन्ततः सानन्द पुग्यो । सिंगुरमा उत्पादन बन्द भएको १४ महिनापछि नोभेम्बर २००९ मा गुजरातमा कारको उत्पादन सुरु भयो ।
नानोलाई सन् २००९ को इन्डियन कार अफ द इयर अवार्ड पनि दिइएको थियो ।
यसको लन्चको समयमा, नानोले विश्वको सबैभन्दा सस्तो कारको रूपमा अन्तर्राष्ट्रिय हेडलाइन बनायो । अन्तर्राष्ट्रिय कार बजारमा नानोले सन् १९३० को दशकमा फक्सवागन बीटल र १९५० को दशकमा फियाट ५०० जत्तिकै चर्चा पाएको थियो ।
सबैजना मात्र एक लाख रुपैयाँको कारको लागि बुकिङ खोजिरहेका थिए । जनताको आवेदनपछि लक्की ड्र मार्फत गाडी सर्वसाधारणसम्म पुग्न थाल्यो । तर प्रारम्भिक केही मोडलहरू बाहेक नानोको मूल्य लामो समयसम्म १ लाख भारुभन्दा कम राख्न सम्भव थिएन ।
किन नानो असफल भयो ?
रतन टाटाको वाचापछि र कार लन्च भएको चार–पाँच वर्षको अवधिमा कच्चा पदार्थको मूल्य पनि बढ्यो त्यसैले टाटा मोटर्सले कारको मूल्य बढाइदियो ।
यो वृद्धिका कारण नानो, मारुती ८०० र मारुती अल्टो भन्दा खासै सस्तो परेन । जसका कारण जनताको झुकाव पुनः मारुतिको कारतर्फ गयो ।
यसको एउटा प्रमुख कारण नानोको गुणस्तरसँग सम्बन्धित त्रुटिहरू पनि थिए, जुन प्रारम्भिक डेलिभरीमा ढिलाइ भएपछि मानिसहरूले देखेका थिए ।
पहिलो मोडेलमा ट्रङ्कको अभाव थियो, इन्जिन बेस्सरी कराउँथ्यो र भित्रका प्लास्टिकहरू कमजोर थिए ।
टाटा नानोको विश्वसनीयतामा सबैभन्दा ठूलो प्रश्न २०१४ मा थियो जब कारको सुरक्षा रेटिङ दिने ग्लोबल एनसीएपीले यसलाई जिरो स्टार दिएको थियो । कतिपय गाडीमा आगलागी हुँदा पनि यसको विश्वसनीयता नष्ट भयसकेको थियो । तर जिरो रेटिङपछि सयौँ मानिसले आफ्नो बुकिङ रद्द गरिदिए ।
अर्कोतर्फ टाटा मोटर्सले बजारमा यो ब्रान्डलाई बचाउनका लागि नानो ट्विस्ट र जेन–एक्स नानोजस्ता नयाँ मोडलपनि पेश गरे जसमा ट्रङ्कका साथै नयाँ एएमटी गियरबक्स प्रविधि थियो । साथै यसमा सिएनजीको अप्सन पनि दिइएको थियो । तर यी यति हुँदाहुँदै पनि नानोको बिक्री बढेन ।
पछि रतन टाटाले नै नानोको मार्केटिङ असफल भएको स्वीकार गरे ।
सन् २०१२ मा आफ्नो एक अन्तरवार्तामा रतन टाटाले भने, ‘नानोको उद्देश्य संसारको सबैभन्दा सस्तो कार बनाउनु थिएन । हामी एउटा यस्तो कार बनाउन चाहन्थ्यौँ जुन किफायती होस् र मानिसहरुले त्यसको प्रशंसा पनि गरुन् ।’
उनले भनेका थिए, ‘विश्वको सबैभन्दा सस्तो कार हुनुको साटो यसलाई सबैभन्दा किफायती कार भन्नुपर्ने थियो । मलाई लाग्दैन कि यो कार फ्लप भएको छ । हामीले सुरुमा नै एउटा राम्रो मौका गुमाइदिएका थियौँ । हामी एउटा यस्तो कार बनाउन चाहन्थ्यौँ जुन किफायती होस् र मानिसहरुले यसको प्रशंसा पनि गरुन् ।’
टाटा नानोको अन्त्य र पुनर्जन्म ?
टाटा मोटर्सले सुरुवातमा प्रति वर्ष तीन लाख नानोको बिक्री हुने लक्ष्य राखेको थियो । तर कम्पनीले यो लक्ष्य कहिल्यै हासिल गरेन । टाटा समूहको कमान जब साइरस मिस्त्रीले पायो तब उनले सबैभन्दा पहिला टाटा समूहलाई घाटामा चलिरहेको परियोजनालाई बन्द गर्ने सल्लाह दिए । र यो सल्लाहको केन्द्रमा थियो टाटा नानो प्रोजेक्ट, जुन रतन टाटाको प्रिय प्रोजेक्ट थियो ।
यसबाहेक मिस्त्री र टाटाबीचको विवाद अन्य धेरै विषयमा पनि चर्चामा आएको थियो, त्यसपछि मिस्त्रीलाई सीईओको पदबाट पनि हटाइयो । कम्पनीमा नेतृत्व परिवर्तन भएपछि पनि नानोको अन्तिम ब्याच डिसेम्बर २०१९ मा उत्पादन भएको थियो । १० वर्षमा तीन लाखमा मात्रै बिक्री भयो यो कार ।
तर अब केही मिडिया रिपोर्टका अनुसार कम्पनी नानोको इलेक्ट्रिक भेरियन्ट ल्याउने सोचमा छ । तर, टाटा मोटर्सले यो खबरको न त पुष्टि गरेको छ न खण्डन नै ।
टाटा मोटर्सले सन् २०१० को जेनेभा मोटर शोमा नानोको इलेक्ट्रिक भेरियन्ट प्रदर्शन गरेको थियो । टाटा मोटर्सको तत्कालीन प्रेस विज्ञप्ति अनुसार विद्युतीय नानोको रेन्ज १६० किलोमिटर हुनेछ र १० सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति समात्न क्षमता राख्नेछ । तर त्यसयता झण्डै १३ वर्ष बितिसक्यो ।
तर गत वर्ष मे महिनामा रतन टाटा आफैं नानो इलेक्ट्रिकमा ताज होटलमा प्रवेश गरेको देखिएका थिए । त्यसैले आज पनि नानो इलेक्ट्रिक भेरियन्ट बजारमा आउने सम्भावना छ ।
हाल टाटा मोटर्स भारतमा विद्युतीय चार पाङ्ग्रे सवारी साधनहरूको अग्रणी निर्माता हो । टाटा मोटर्सले हालसम्म नेक्सन, टिगोर र टियागोका ५० हजारभन्दा बढी इलेक्ट्रिक भेरियन्ट बिक्री गरिसकेको छ । यस्तो अवस्थामा यदि नानोको इलेक्ट्रिक भेरियन्ट आयो भने यसले बजारमा राम्रो प्रतिक्रिया पाउन सक्छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
-
सूर्यदर्शन सहकारी प्रकरण : रविपत्नी निकिता पौडेल पनि प्रतिवादी
-
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति
-
अफ्रिकामा एमपक्सको कहर, संक्रमित ७० हजार नजिक
-
कस्तो छ ललितपुरको सावर स्टेसन ? (तस्बिरहरू)
-
जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेमाथि कारबाही गर्न आयोगको पत्राचार