स्वस्थानीबारे केही सवाल
स्वस्थानीको अर्थ नजिकको देवी वा आफ्नै स्थानको महिला भनेर बुझ्नु ठिक हुन्छ । तर यसलाई आज शक्तिको पूजा गर्ने परम्परामा ढालियो । पुस महिनाको पूर्णिमादेखि एक महिनासम्म पढिने र सुनिने स्वस्थानी कथा संस्कृत साहित्यमा छैन । यसको लेखोट नै पहिला नेवारी र पछि नेपालीमा भयो । यसर्थ नेवा सभ्यताले विकास गरेको हनुमान ढोकानजिक स्वस्थानीको मन्दिर र शाली नदी काठमाडौँमा नै रहेका छन् ।
नेपालका धार्मिक स्थललाई पीठको रूपमा वर्णन गरिएको यो कथाले नारीलाई भने पुरुषको दाँजोमा दोस्रो दर्जाको रैतीको रूपमा लिएको छ । स्वस्थानी कथाको केन्द्र भागमा पौराणिक पात्रहरू शिव र पार्वतीका मिथकीय कथाहरू छन् । कथा उनकै छोरा कुमारद्वारा अगस्त्य ऋषिलाई सुनाएको भनेर वर्णन गरिएको छ । हिन्दूहरूबीच लोकप्रिय स्वस्थानी व्रत कथाको पुनरावृत्ति स्वस्थानी देवीलाई समर्पित गरिएको छ । एक महिना लामो उत्सवहरू दैनिक उपवास र पौराणिक कथाहरूको पुनरावृत्तिद्वारा चिह्नित छन् ।
स्वस्थानी कथामा लेखिएका कथ्यहरूमा सत्यदेवी, पार्वती, गोमा, चन्द्रावती र वृन्दाका कथा र उपकथाहरू छन् । पुरुष पात्रहरूमा महादेव, विष्णु, जालन्धर, शिव शर्मा र नवराजका कथाहरू छन् । कथाको शक्तिका कारण पार्वतीको महादेवसँग वैवाहिक मिलन भएको, गोमाको उपवासको परिणामस्वरूप उनको छोरा नवराजसँग पुनर्मिलन भएको कथाले नेपाली समाजलाई फनफनी बेरेको छ ।
कथामा भएका घटनाहरू बढी मिथकीय, शिव लीला, शक्तिको खोजीपछि लाग्नुपर्ने सन्देशले जकडिएका छन् । यसैको प्रभावका कारण हिन्दु नारीहरू जति ठुला समस्यामा परे पनि सहेर बस्ने र आफ्नो अधिकार प्रयोग गर्न खोज्ने देखिँदैनन् ।
स्वस्थानीको कथाले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्छ । कथाले महिलालाई कमजोर र पुरुषलाई शक्तिशाली बनाएको छ । पत्नीले पतिलाई रिस गर्न नहुने, गाली गर्न नहुने, मुखमुखै लाग्न नपाइने र पतिलाई नखुवाई लुकेर खान नहुने कुरा कथामा उल्लेख छन् ।
ती बन्देजपूर्ण काम श्रीमतीले गरेमा क्रमशः उनी डेडी हुने, भकभके हुने, लाटी बन्ने र कुकुर्नी हुने कुराको वर्णन कथामा गरिएको छ । समानताको दृष्टिकोणबाट यी कुरालाई सहज मान्न सकिन्न ।
पुरातन कथाले हाम्रो सभ्यतालाई कहिल्यै सभ्य बनाउँदैन । त्यहाँ भएका केही राम्रा पक्षहरूलाई मात्र अनुशरण गरी स्वस्थानीको पुनर्लेखन गरौं । १६ औं शताब्दीमा लेखिएको स्वस्थानीलाई पुनः लेखेर सर्वस्वीकार्य बनाउनुको विकल्प छैन ।
स्वस्थानीका कथाहरू मुख्यतया भक्तहरूका बारेमा हुने हुँदा यसले नारीहरू अज्ञानताबाट पाप गर्छन् र स्वस्थानीको अनुग्रहले सबै पापबाट छुटकारा पाउँछन् भन्ने कथ्यलाई कथामा स्थापित गरिएको छ । त्यहाँ देवी पार्वतीले शिवलाई पतिको रूपमा पाउने आशामा स्वस्थानी रितपूर्वक पूजा गरेर उद्देश्य पुरा गरेको काल्पनिक कथाले महिलालाई पछि पारेको छ ।
कथाका अध्यायहरूमा शिवका प्रथम पत्नी सतीदेवीले भोगेका कष्टहरू छन् । श्री स्वस्थानीले पार्वतीलाई उनको समस्याबाट मुक्त गर्छिन् भन्ने बारेमा भनिएका छन् । विश्वासमा बुनिएको सारा कथाले महिलालाई भाग्यको खेलमा लाग्नका साथै शिवलाई प्रार्थना गर्न उत्प्रेरित गराउँछ ।
नेपाली समाजमा नेवा सभ्यताको विकास भएको काठमाडौँमा यो कथाको विकास भएको पाइन्छ । स्वस्थानीको मन्दिर हनुमान ढोका नजिक हुनु र शाली नदीको वर्णनले यहाँको स्थानसँग जोडिनुले यसको लेखोट पनि नेवारी भाषामा भएको पाइन्छ । पहिला विसं १५०० तिर नेवारीमा (देवानगरी भाषामा तयार गरिएको) यो कथा पछिमात्र नेपाली भाषामा लेखिएको पाइन्छ ।
स्वस्थानीको लेखोट तयार भएको समयमा धर्म र संस्कृति नै समाजको कानुन सरह भएका कारण पितृसत्तात्मक सोचले समाजमा पुरुषत्वको खोजी गर्दा यसको रचना नेपाली समाजमा भएको हो । पुरुषलाई राम्रो साथी र अभिभावक भन्दा पनि राम्रो र शक्तिशाली पतिको रूपमा लिने प्रचलन त्यो बेलादेखि चलेको पाइन्छ । यसले महिलालाई दासी र अर्धाङ्गिनीको रूपमा स्वीकार गरेको छ ।
कथामा भएका नारी पात्रहरू सतिदेवी, पार्वती, गोमा, चन्द्रावती, र वृन्दाका तीता बेदनाहरू कथाले सुनाउँछ । महादेव, विष्णु, शिव शर्मा, नवराज, जालन्धर कथाका पुरुष पात्र हुन् र दक्ष प्रजापतिलाई शकुनीकरण गरेर कथा र उपकथाहरू बुनिएका छन् ।
पतिको विरुद्धमा बाबु दक्ष प्रजापतिले बोलेको सहन नसकेर सतिदेवी आगोमा हाम फालेर मर्नुलाई आफ्नो दायित्व ठान्छिन् । श्लेषमान्तक वनमा किराँतेश्वरको रूपमा हिँडेका महादेव खोज्न भौतारिएकी पार्वतीलाई श्रीमती बनाएपछि पनि महादेवले रावणलाई दिएर पठाउनुलाई के भन्ने ? बृद्ध शिव शर्माले गोमालाई विवाह गरेको कथा समानताको हो कि असमानताको ? नेपाली समाजले बुझेर विवेकी बन्नुपर्ने हैन र ?
आज पनि धेरै हिन्दु महिलाहरू स्वस्थानीको समयमा पूजा गर्छन्, शाली नदी जान्छन्, कठोर व्रत बस्छन् । विवाहित महिलाहरू पतिको हितको लागि र अविवाहित नारीहरू शिवजस्तै पति पाउनका लागि भनेर व्रत बस्ने कथ्यहरू कथामा छन् । पूजाको समयमा महिलाहरू रातो रंगको वस्त्र लगाएमा भाग्य ल्याउने कुराको विश्वासमा सजिन्छन् । उनीहरूले सफा लुगा लगाएर पुस्तकको खण्डहरू पढिसकेपछि दिनमा एक पटक मात्र खाना खान्छन् ।
एकातिर समाजले यस्तो कथा भन्छ । अर्कोतर हामी नै विडम्वनापूर्ण तरिकाले निर्मला पन्त र निर्मला कुर्मीरूले न्याय पाउनुपर्ने आशामा बस्छौं । कथामा महादेवले जालन्धरलाई युद्धमा जित्न नसकेको समयमा विष्णुले बृन्दालाई छलमा पारेर यौन आनन्द लिएको घटनामा प्रश्न उठाउन किन सक्दैनौं ? निर्मलाको बलात्कारपछि हत्या र वृन्दाको सतित्वमा प्रश्न उठाएर जालन्धरलाई मार्नु फरक भए पनि एकै प्रवृत्तिका घटना हुन् ।
कथामा देखिएका यस्ता घटनालाई अहिले पनि नेपाली समाजले आलोचनात्मक आँखाले पढ्न चाहन्न । हामीले महादेव जस्ता पुरुष र पार्वती, गोमा, र वृन्दा जस्ती नारीको खोजीमा हिँडेमा नेपाली समाजको विकास कसरी होला ? यसले पुरुष र महिला बिच असमान शक्ति सम्बन्ध रहेको प्रस्ट पार्छ । १६ औँ शताब्दीको नेपालको राजनीति, संस्कृति, सामाजिक सम्बन्ध र उत्पादन प्रणालीमा आएको परिवर्तनअनुसार कथ्यहरू परिवर्तन हुनु पर्ने हैन र ?
अन्यायको प्रश्न गर्नुको मतलब समाजलाई अघि बढाउन खोज्नु हो । यसको अर्थ हामी हाम्रो धर्म र संस्कृतिको विरूद्ध छौं भन्ने हैन । हाम्रो समाजले अझै पनि छलकपटमा पारेर आफूलाई विवाहको लागि दिएकी सतीदेवीलाई विष्णुको जालमा महादेवलाई सतीदेवी दिएकोमा विष्णुको कार्यको कदर गर्दछ । यस्तै घटना हाम्रै चेलीबेटीको जीवनमा भएमा हामी के सोच्छौं ? त्यो बेला हाम्रो सोच कस्तो हुन्थ्यो होला ? यस बारेमा हामीहरूले सायदै सोचेके छौं ।
कथाले छोरी बुहारीलाई समाजमा स्थान दिएको छैन । आमाको हैसियत पनि कथामा राम्रो छैन । गोमा र चन्द्रावतीले दुःख पाएकै छन् । कथाको उद्देश्य पुरा गर्न पूजाको प्रसाद श्रीमान, छोरा, मीत छोरालाई दिनुपर्ने उल्लेख पटक पटक पाइन्छ । तिनीहरू नभएमा छोरी, बुहारीलाई फुल प्रसाद दिन निषेध गरेको छ । यसको विकल्पमा रोटी र फूल नदीमा बगाउने कथ्य स्वस्थानीमा बुनिएका छन् ।
गोमाको छोरा नवराज राजा बन्दा श्रीमती चन्द्रावतीको खोजी नहुनुले समाजमा महिलाको स्थान कमजोर रहेको बुझ्न सकिन्छ । यस्ता घटनाले समाजमा पुरुषत्वको कथा भनेर महिलालाई कमजोर बनाइएको छ । उनीहरुकै प्रभुत्वमा बाँच्नुपर्ने प्रेरणा नारीलाई दिएको छ ।
अन्यायको प्रश्न गर्नुको मतलब समाजलाई अघि बढाउन खोज्नु हो । यसको अर्थ हामी हाम्रो धर्म र संस्कृतिको विरूद्ध छौं भन्ने हैन । हाम्रो समाजले अझै पनि छलकपटमा पारेर आफूलाई विवाहको लागि दिएकी सतीदेवीलाई विष्णुको जालमा महादेवलाई सतीदेवी दिएकोमा विष्णुको कार्यको कदर गर्दछ । यस्तै घटना हाम्रै चेलीबेटीको जीवनमा भएमा हामी के सोच्छौं ? त्यो बेला हाम्रो सोच कस्तो हुन्थ्यो होला ? यस बारेमा हामीहरूले सायदै सोचेके छौं ।
कथा नेपाली समाजमा प्रचलित भए पनि मूल ग्रन्थ वेदमा भएका कुरालाई स्वस्थानीको कथाले कमजोर बनाएको छ । अबको नेपाली पुस्ताले यसलाई आलोचनात्मक रुपले हेरोस् ।
१५ औँ शताब्दीमा युरोपमा फैलिएको पुनर्जागरणले त्यहाँको समाजलाई प्रभाव पारेको थियो । नेपाली समाजलाई पनि नेपाली शैलीको पुनर्जागरणले छिट्टै प्रभाव पारेमा यस्तो विभेदकारी स्वस्थानीको पुस्तक अबका छोरीहरूले फरक रुपले पढ्न पर्दैनथ्यो होला ।
पुरातन कथाले हाम्रो सभ्यतालाई कहिल्यै सभ्य बनाउँदैन । त्यहाँ भएका केही राम्रा पक्षहरूलाई मात्र अनुशरण गरी स्वस्थानीको पुनर्लेखन गरौं । १६ औँ शताब्दीमा लेखिएको स्वस्थानीलाई पुनः लेखेर सर्वस्वीकार्य बनाउनुको विकल्प छैन । यो समयको मागलाई हामीले सम्बोधन गर्नैपर्छ ।
लेखक भण्डारी जनप्रशासन क्याम्पस, त्रिविमा प्राध्यापनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुमलटारमा संकास्पद बस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...