बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनको तयारीमा जुटिसकेका छौँ : पञ्चा सिंह

बिहीबार, २८ पुस २०७९, १० : ४८
बिहीबार, २८ पुस २०७९

काठमाडौं । स्ववियु निर्वाचनको मिति घोषणा भएसँगै अखिल क्रान्तिकारीले तयारी आवश्यक थालेको छ । पुस २१ गते नै पदाधिकारी बैठक बसेर स्ववियु निर्वाचनको लागि कार्यविभाजन समेत गरिसकेको छ ।

संगठनभित्र देखिएको आन्तरिक विवादलाई समाधान गर्दै अगाडि बढ्ने तयारीमा अखिल क्रान्तिकारी छ । अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा विगतमा हुने गरेका विकृति विसंगतिलाई निरुत्साहित गर्दै अगाडि बढ्ने जनाएको छ । सत्तारूढ माओवादी केन्द्रको विद्यार्थी संगठन रहेको अखिल क्रान्तिकारीले विगतको जस्तो समस्या नदोहोरिने गरी यो पटकको निर्वाचन सफल पार्न अग्रणी भूमिका निर्वाह गर्ने बताएको छ ।

स्ववियु निर्वाचन र यसको तयारीका विषयमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको तयारी थालिसकेको हो ?

पुस २१ गते पदाधिकारीको बैठक बसेर स्ववियु चुनावको लागि कार्यविभाजन गरिसकेका छौंं । अब परिपत्र गरेर १/२ दिनमा टुंग्याउँछौं । आन्तरिक तयारी अगाडि बढाइसकेका छौँ ।

नयाँ जेनेरेशन आज स्वतन्त्रको नाममा पार्टीभन्दा बाहिरबाट विकल्प खोज्न थाल्यो । नयाँ पुस्तालाई त्यही ढंगले प्रशिक्षित गर्न सकेनौँ । त्यो अवसर प्रदान गर्न सकेनौँ ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनबारे अझै पनि विभिन्न्न खालका आशङ्का पैदा भइरहेको छ । तपाईहरूको धारणा के हो ?

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा आफू जित्ने कन्फर्म भएको खण्डमा चुनाव गर्ने र नभएको खण्डमा तालाबन्दीमा जाने विद्यार्थी संगठनहरूको जुन खालको अलोकतान्त्रिक प्रवृत्ति देखा पर्‍यो । त्यो तरिका २०७३ को निर्वाचनमा पनि दोहोरियो । त्यसो हुँदा त्यो कुरा समाजले, अहिलेको नयाँ विद्यार्थीले एउटा परम्पराको रूपमा बुझिरहेको छ । हार्नेहरू स्ववियुमा नजाने, जित्नेहरूले गर्न चाहेन जस्तो जे बन्न खोजिरहेको छ, यो चुनावमा हाम्रो संगठनको तर्फबाट त्यो भत्काउन खोजिरहेका छौँ । हामीले यसैमा मेहनत गर्न खोजिरहेका छौँ ।

स्ववियु निर्वाचनमा तपाईहरूको सम्भावना कस्तो छ ?  

चुनावमा हार जित प्रधान कुरा होइन । पञ्चायती दबदबाका बेला पनि स्ववियु निर्वाचन भएको, मिनी इलेक्सनको रूपमा परिभाषित गरिएको नेतृत्व निर्माणको नर्सरीको रूपमा स्थापित भएको स्ववियु निर्वाचन लामो समयसम्म जे ढंगले कोल्याप्स जस्तै बन्न पुग्यो, त्यो कारण नयाँ नेतृत्व सङ्कट पनि बिस्तारै देखिरहेका छौँ ।

नयाँ जेनेरेशन आज स्वतन्त्रको नाममा पार्टीभन्दा बाहिरबाट विकल्प खोज्न थाल्यो । नयाँ पुस्तालाई त्यही ढंगले प्रशिक्षित गर्न सकेनौँ । त्यो अवसर प्रदान गर्न सकेनौँ । आफ्नो क्षेत्रमा जाँदा नयाँ पंक्तिले त्यो एक्सरसाइज गर्न पाएन । हिजो हार्ने सम्भावना देख्दा ताला बोकेर जाने प्रवृत्ति आज पनि बन्न खोजेको छ । यसलाई भत्काउन जरुरी छ । आज हार्ने जित्ने कुरा प्रधान होइन । आज सबैभन्दा प्रधान संकटको कुरा गर्दा अखिल क्रान्तिकारी छ । माओवादी केन्द्र तेस्रो पोजिसनमा हुँदा पनि हामीले चुनावमा हार जित प्रधान कुरा होइन, स्ववियु जस्तो गरिमामय संस्था बचाउनुपर्छ भन्ने साझा निष्कर्ष निकालेका छौँ ।

स्ववियु चुनाव गराउन सुरक्षा संयन्त्र परिचालन गर्ने कुरा त हामीले भन्नै पर्दैन । त्यो सरकारको दायित्व हो ।

त्रिविका शैक्षिक विकृतिहरू छन् । अरू विश्वविद्यालयमा पनि त्यस्तै खालको समस्या छन् । प्राज्ञिक क्षेत्र अरू ढंगबाट परिभाषित हुन खोजिरहेको छ । त्यो विषयमा पनि जानकार छौँ । आज विभिन्न सर्त तेस्र्याएर स्ववियु निर्वाचन गर्ने अथवा नगर्ने कसैले बहस गर्छ भने यो विषय हाम्रो लागि मान्य हुने छैन । अखिल क्रान्तिकारी निःशर्त सहभागी हुन्छ । र तालाबन्दी गर्ने संघ संगठनहरूको व्यापक भण्डाफोर गरेर जाने हो हामी ।

 

तपाईहरूकै पार्टी सरकारमा छ । निर्वाचनको बेला हुनसक्ने सम्भावित घटनाबारे सरकारलाई अवगत गराउनुभएको छ होला नि ?

हाम्रो पार्टी सरकारमा छ । हाम्रो पार्टीका अध्यक्षको नेतृत्वमा सरकार गठन हुनु र स्ववियु निर्वाचनको घोषणा हुनु एउटा संयोगमात्र  हो । हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रधानमन्त्री हुने र नहुने सम्भावना उत्तिकै रहेको बेला त्रिविले स्ववियु चुनावको विषयमा छलफल गरेको थियो । हामीले निर्धक्कका साथ स्ववियु चुनावको तयारी गर्नुहोस् भनेका थियौँ ।

स्ववियु चुनाव गराउन सुरक्षा संयन्त्र परिचालन गर्ने कुरा त हामीले भन्नै पर्दैन । त्यो सरकारको दायित्व हो । त्रिविका पदाधिकारीले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेरै सुरक्षा व्यवस्थाका लागि औपचारिक छलफल गरिसक्नुभएको छ । मलाई विश्वास छ, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन जसरी निर्वाध रूपमा सरकारले सम्पन्न गर्‍यो, त्यसरी नै स्ववियु निर्वाचन गराउन कुनै समस्या हुँदैन ।

चुनावमा जाँदा तपाईहरूको के कस्ता खालका एजेण्डा हुन्छन् ?

त्रिविको समग्र रूपान्तरणको लागि र त्रिविमा जे जस्ता खालका समस्या देखिएका छन्, ती समस्या समाधान गर्नका लागि मागपत्र बुझाएका छौँ । खासगरी ट्रान्सक्रिप्ट, माइग्रेशन लगायतका प्रमाणपत्र आ–आफ्नो कलेजबाट विद्यार्थीलाई वितरण गर्नुपर्छ भनिरहेका छौँ । आज स्ववियु निर्वाचन पनि यही आधारमा आवश्यक हो भन्ने ठानेका छौँ ।

आज लालपुर्जा जिल्लाबाट वितरण हुन्छ । नागरिकता इलाकाबाट वितरण हुन्छ । ट्रान्सक्रिप्ट लिन इलामको विद्यार्थी काठमाडौं आउनुपर्ने बाध्यता छ । माइग्रेशन लिन आज त्रिभुवन विश्वविद्यालयमा आउनुपर्छ । प्रोभिजनल लिन आज त्रिविमा आउनुपर्छ । यति धेरै सास्ती छ विद्यार्थीहरूलाई । आज अखिल क्रान्तिकारी यही मुद्दाहरूलाई लिएर स्ववियु निर्वाचनमा जान्छ र जितेको खण्डमा यी मुद्दाहरू स्थापित गराउँछौँ । यसलाई नीतिगत निर्णय गरेर काम गर्न अखिल क्रान्तिकारी आतुर छ ।

त्रिविका पछिल्लो चरणमा रिजल्ट निकाल्ने कुरामा कति धेरै कमजोरी छ । हामीले गत भदौमै त्रिविका उपकुलपतिलाई भेटेर लिखित ज्ञापनपत्र बुझाएका थियौँ । त्रिवि सेमिस्ट सिस्टममा गएको छ । रिजल्ट ३ महिनाभित्रमा निकाल्नुपर्छ भनेका छौँ । यिनै विषयहरू हाम्रा एजेण्डा हुनेछन् । अखिल क्रान्तिकारीले जितेको खण्डमा सिनेटमा हामी यी कुराहरू उठान गर्छौं, सुनिश्चित गर्न चाहन्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप