मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रिपिङले बारा–पर्साका उद्योग प्रभावित

बिहीबार, २८ पुस २०७९, ०६ : १७
बिहीबार, २८ पुस २०७९

बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग प्रभावित भएका छन् । विगत १ सातादेखि कोरिडोरका उद्योगमा बारम्बार ट्रिपिङ भइरहेको उद्योगीले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा यस्तो समस्या बढी देखिएको एक उद्योगीले बताए । ‘विनासूचना दैनिक ६/७ घण्टा लाइन गइरहेको छ । बारम्बार हुने ट्रिपिङले उत्पादनमा अवरोध भइरहेको छ,’ ती उद्योगीले भने ।

प्राधिकरणको ११ केभीबाट आपूर्ति लिएका उद्योगमा पनि ट्रिपिङको समस्या बढेको गुनासो उनीहरूको छ । यस्तोमा पनि दैनिक ७/८ पटक लाइन कट्दा उत्पादनमा अनेक समस्या देखिएको उद्यमी बताउँछन् । उद्योगमा विद्युत्को गुणस्तरीय र नियमित आपूर्तिको माग गर्दै आए पनि सुधार नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं उद्योग समिति संयोजक हरि गौतम बताउँछन् ।

उद्योगमा बारम्बार विद्युत् काटौती हुँदा कच्चा पदार्थ खेर जाने, उत्पादनमा कमी, उपकरण जल्ने र बिग्रिने, उत्पादनको गुणस्तरमा ह्रासजस्ता समस्या झेल्नुपरेको गौतमको भनाइ छ ।प्राधिकरण भने बारा पर्सामा खासै ट्रिपिङ नभएको दाबी गर्छ ।

कहिलेकहीँ प्रसारण लाइनमा समस्या हुँदा मर्मतका कारण आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । ६६ केभी प्रसारण लाइन होचो हुनु र अधिकांश लाइन जंगलको बीचबाट गएकाले रूख ढल्ने, हावाहुरी, ओभरलोडजस्ता समस्याले अवरोध हुने उनले बताए ।

अहिले सुक्खा मौसम भएकाले भारतबाट हुने आपूर्तिमा समस्या हुँदा औद्योगिक कोरिडोरको आपूर्तिमा समस्या आउन सक्ने प्राधिकरणको भनाइ छ । भारतको विहार राज्यमा १४ सय मेगावाट क्षमताका दुईओटा थर्मल प्लान्ट बन्द अवस्थामा छन् । नेपालले सुक्खा मौसममा विहारबाटै विद्युत् आयात गर्छ । बारा पर्सा औद्योगिक कोरिडोरमा विहारबाट आएको विद्युत् आपूर्ति हुँदै आएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप