राष्ट्र निर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् । तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।
प्रधानसेनापति शर्माले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।”
सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पुर्याउँदै आएको छ । सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिनुभएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो । यसअघि आजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरे ।
त्यहाँ प्राडा जगमान गुरुङ र प्राडा घनश्याम भट्टराईबाट दिव्योपदेशसम्बन्धी प्रवचन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो