पृथ्वीजयन्ती : राज्यले उत्पीडित समुदायसँग माफी माग्ने उपयुक्त दिन
आज (२७ पुसलाई) सरकारले ‘पृथ्वी जयन्ती’ मनाउन सार्वजनिक बिदा दिएको छ । यससम्बन्धी गृह मन्त्रालयको सूचनामा ‘पृथ्वी जयन्तीको अवसर’ वाक्यांश उल्लेख छ । पृथ्वीनारायण शाह जन्मेको दिनलाई ‘पृथ्वी जयन्ती’ वा ‘एकता दिवस’का रूपमा मान्नुपर्छ भन्नेआवाज पछिल्लो समय जति चर्कोसँग उठिरहेको छ, यस जयन्ती वा दिवस दुवै मनाउन असहमत हुनेहरूको आवाज पनि उति नै चर्को देखिन्छ । यसो हुनुको खास कारण छ ।
पृथ्वीनारायणले नेपालको एकीकरण गरेका हुन् वा आफ्नो गोर्खा राज्यको विस्तार गरेका हुन्— यसमा पनि पक्ष र विपक्ष मतहरू दर्ज छन् । यसमा बहस गर्न आवश्यक छैन । स्पष्ट छ, पृथ्वीनारायणले युद्ध गरी आफ्नो गोर्खा राज्य विस्तार गरेकै हुन् । युद्धमा हिंसा, अपमान, जालझेल, छल सबै हुन्छन् । प्राकृतिक फूलले हानेर युद्ध हुँदैन, भोलिका दिनमा फूलले हान्ने खेल वा संस्कृति बन्न भने सक्ला ।
सबैले स्विकार्नैपर्छ— अहिलेको नेपालको भूगोल र इतिहासमा पृथ्वीनारायणको भूमिका अहं छ । खराब होस् वा असल, इतिहास इतिहास नै हुन्छ । र, सही इतिहास पढ्न पाउने हकबाट भावी पुस्ता वञ्चित हुनु हुँदैन । यद्यपि, इतिहासमा विजेताकै गाथा गाइन्छ । पृथ्वीनारायणको गाथा गाउँदा उनको राज्य विस्तारका कारण व्यथामा पर्नेहरूलाई भुल्नु कदाचित न्यायोचित हुँदैन ।
२००८ सालमा प्रकाशित बालचन्द्र शर्माको पुस्तक ‘नेपालको ऐतिहासिक रूप–रेखा’मा उल्लेख छ— ‘पृथ्वीनारायण शाह अतिशय महत्त्वाकांक्षी थिए । उनको जीवनको प्रत्येक घटनाको कडी उनको चरित्रको यसै प्रधान विशेषतासित जोर्न सकिन्छ । नुवाकोटउपर प्रथम आक्रमण गर्ने उनको हतारो, उनको काशी–यात्रा, तनहुँसितको छल, कीर्तिपुरेहरूको अपमान आदि प्रत्येक कुराको तहमा उनको महत्त्वाकांक्षा नै देखिन्छ । आफ्नो महत्त्वाकांक्षाको अगाडि कर्तव्याकर्तव्य र नैतिकताको उनको सम्मुख कुनै मूल्य थिएन । किन्तु, समाजको एक सामान्य व्यक्तिझैँ पृथ्वीनारायण शाहको कार्य–राशिको मूल्यांकन गर्नु उनको प्रति अन्याय हुनेछ । पृथ्वीनारायणले नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको जग बसाले ।’
जहाँ कीर्तिपुरेको नाक–ओठ काटियो, अचेल त्यहाँ पृथ्वी जयन्तीकै अवसरमा थुक्ने प्रथा पनि चलेको देखिन्छ । कतिले भन्छन्— कीर्तिपुरेको नाकओठ काटेको कुनै प्रमाण छैन । छैन भने पुनः अनुसन्धान गर्न सकिन्छ, तर यो घाउ राख्न सकिँदैन ।
गोर्खाको शत्रु लमजुङसँग तनहुँका राजा त्रिविक्रमसेन मिलेका थिए । यही कुरामा तनहुँसँग बदला लिन पृथ्वीनारायणले त्रिविक्रमसेनका गुरु गौरेश्वर पन्तलाई हतियार बनाए । पन्तलाई भेटेर आफ्नो र त्रिविक्रमको मेल गराइदिन प्रार्थना उनले गरे । शर्मा लेख्छन्, ‘आफ्ना दुई चेला खान्दानको मेल हुनेमा पन्त सकारात्मक थिए । त्रिशूलीको किनारमा ज्यामीरघाटमा दुवै राजाहरूको भेटको निश्चय भयो । प्रचलित प्रथाअनुसार दुवै राजा निरस्त्र भई भेट गर्ने भएका थिए । किन्तु, पृथ्वीनारायण शाहका मानिसले पूर्वयोजनाअनुसार आफ्ना हातहतियार पहिलेदेखि नै नदी–किनारको बालुवामा लुकाइराखेका थिए ।’
यसरी त्रिविक्रमलाई पृथ्वीनारायणले त्रिविक्रमलाई पछिसम्म कैदमा राखे भने बुढा गुरु गौरेश्वरलाई देशनिकालाको दण्ड दिई लघारे । तत्कालीन समय चेत अनुसार, यत्तिको छललाई स्वाभाविक मान्न पनि सकिएला । तर, आत्मसमर्पण गरिसकेका कीर्तिपुरेमाथि उनले जस्तो अपमान र अत्याचार गरे, त्यो घाउ इतिहासमा कहिल्यै पुरिने छैन ।
शर्मा लेख्छन्, ‘त्यसले उनको उज्ज्वल कीर्तिमा साह्रै ठूलो दाग लाएको छ । कीर्तिपुरमा दुई–दुईपटक पराजय, आफ्ना पितातुल्य काजी कालु पाँडेको मृत्यु, आफ्नो ठूलो सैनिक क्षति र त्यसउपर पनि भाइ सुरप्रतापको एक आँखा घाइते भएकाले पृथ्वीनारायणको क्रोधको सीमा रहेको थिएन । लाचार भई दुश्मनलाई यसरी आफ्नो कब्जामा पाउनासाथ पृथ्वीनारायणले कीर्तिपुरेको नाक र ओठ काट्ने आज्ञा दिए । पादरी जिसेपको भनाइ अनुसार, त्यस समय पृथ्वीनारायण शाह नुवाकोटमा थिए । कीर्तिपुरको आत्मसमर्पणको दुई दिनपछि उनले नुवाकोटबाटै यो निंद्य आज्ञा दिइपठाए । उनको आज्ञा अक्षरशः पालन गरियो– यहाँसम्म कि काख छोडेका समस्त कीर्तिपुरेको नाक र ओठ काटियो । वंशावली अनुसार यस प्रकार काटिएका नाक र ओठको परिमाण सत्र धार्नी पुगेको थियो । पृथ्वीनारायणले अब उपरान्त कीर्तिपुरको नाम ‘नककटाको देश’ राख्ने आदेश दिए । यसको अतिरिक्त कीर्तिपुरका प्रसिद्ध व्यक्तिहरूलाई प्राणदण्ड पनि दिइयो ।’
सूर्यविक्रम ज्ञवालीको पुस्तक ‘पृथ्वीनारायण शाह’मा अप्रकाशित ‘पृथ्वीन्द्रवर्णनोदय–काव्य’को सन्दर्भ लिएर पृथ्वीनारायणले कीर्तिपुरेको नाकओठ काट्न लगाएको अनुमान गरिएको छ ।
पृथ्वीनारायण र उनका पुर्खाले रोपेको जात अनुरुपको घटीबढी सजायले देशमा निरन्तरता पाउँदै आयो । हिन्दु धर्म र हिन्दु समाजमा आधारित जात व्यवस्था, त्यसमा आधारित कानुनका कारण कैयौँ जातजाति उत्पीडनमा परे ।
जहाँ कीर्तिपुरेको नाक–ओठ काटियो, अचेल त्यहाँ पृथ्वी जयन्तीकै अवसरमा थुक्ने प्रथा पनि चलेको देखिन्छ । कतिले भन्छन्— कीर्तिपुरेको नाकओठ काटेको कुनै प्रमाण छैन । छैन भने पुनः अनुसन्धान गर्न सकिन्छ, तर यो घाउ राख्न सकिँदैन ।
https://www.kirtipursandesh.com.np/
पृथ्वीनारायणले आफ्नो राजखान्दानी अहंमा लागेको चोट सहनै सक्दैनथे । इतिहासकार बाबुराम आचार्यले लेखेको पृथ्वीनारायणको जीवनी अनुसार, पृथ्वीनारायण आफ्नी पत्नी इन्द्रकुमारीलाई लिन केही सहयोगीसहित मकवानपुर गएका थिए । गोर्खाली हट्टाकट्टा त थिए, तर वेशभूषा आकर्षक थिएन । पहाडमा बनेको मोटा कपडा उनीहरूले लगाएका थिए । तर मकवानपुरे राजकुमार र भारदारको रहनसहन मुगल राजाहरूबाट प्रभावित थियो । माघे संक्रान्तिको मेलामा जाँदा मामुली पहिरनलाई लिएर मकवानपुरे भारदारले गोर्खालीप्रति अभद्र व्यवहार गरे । झगडा बढ्दै गयो, पृथ्वीनारायण पत्नी नलिई फर्के । काशी पुगेर दोस्रो विवाह गरे ।
मान्छेहरू भन्छन्, पृथ्वीनारायणले भौगोलिक मात्रै होइन, सांस्कृतिक एकीकरण पनि गरेका हुन् । पृथ्वीनारायणकालीन राज्यहरू, समुदाय र संस्कृतिहरूप्रति पृथ्वीनारायणले गरेका व्यवहार नबुझी झुटो कुरा बोल्नुहुन्न । पृथ्वीनारायणले मधेसको प्रभाव रहेको मकवानपुरकै संस्कृतिलाई स्विकार्न हिच्किचाएका थिए ।
बालचन्द्र शर्माका अनुसार, मधेसमा पहाडमा झैँ विवाह हुनासाथै छोरी बिदा गर्ने चलन थिएन । यसै अनुसार हेमकर्णले विवाह हुनासाथै इन्द्रकुमारीलाई गोर्खा पठाउन चाहेनन् । उता गार्खालीलाई वधु साथमा नलगी रित्तै फर्कन अपमानजस्तो लाग्यो । यस अपमानको बदला लिन पृथ्वीनारायणले बनारस जिल्लाका बैंस राजपूत अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसित विवाह गरे ।
हिन्दुवादी राजाहरूले यो भूगोलमा जातीय विभेदलाई हुर्काए— तागाधारी, रजपुत, मतवाली, पानी चल्ने वा नचल्ने आदि नाममा । यही विभेदका नाममा देशमा १० वर्ष जनयुद्ध चल्यो ।
पछि जंगबहादुरले तागाधारी, मासिन्या मतुवाली, नमासिन्या मतुवाली, छोइछिटो गर्नुपर्ने वा नपर्ने आदि जात व्यवस्थामा आधारित कानुन बनाए । वास्तवमा यस भूगोलमा जातको बिउ रोप्ने काम पृथ्वीनारायणका पालादेखि पनि भयो । देशलाई चार जात (वर्ण) र छत्तीस वर्ण (जात)को फूलबारी भनेर उद्घोष उनीबाटै भयो । फूलबारीमा फूल मात्रै हुँदैनन्, काँडा र कीरा पनि हुन्छन् ।
हुन त लिच्छविहरू युद्ध हारेर नेपाल पसेसँगै यस भूगोलमा हिन्दू धर्म र जात भित्रिएको देखिन्छ । यसपछि पनि पटकपटक भारततिरबाट नेपाल छिरेका हिन्दुहरूले यहाँका आदिवासी जनजातिलाई जातीय विभेद र धार्मिक अनुष्ठान सिकाउँदै आए । किंवदन्ती भन्छ— पृथ्वीनारायणका पुर्खा पनि भारतबाट कुलदेवी लिएर नेपाल पसेका थिए । उनीहरूको कुलदेवी अलप भएको ठाउँलाई आज आलमदेवी भनिएको पाइन्छ ।
बाबुराम आचार्य पृथ्वीनारायणको न्यायव्यवस्था सम्बन्धमा लेख्छन्, ‘तागो (जनै) लगाउनेलाई तागाधारी र तागो नलाउने जातिमा संन्यासी, जोगी आदि भेषधारीबाहेक मतवाली कहिन्थे ।’
पृथ्वीनारायणले जीवनको अन्त्यतिर दिएको भनिएको उपदेशमा उल्लेख छ, ‘आफ्ना आफ्ना जात विशेषको कर्म गर्नु (भन्न्या) वन्देज गरी जाला ।’
यो परिस्थितिमा, हिजो पृथ्वीनारायणका पाला नाकओठ काटिएका कीर्तिपुरेप्रति र जातजातिवादी सोच र चिन्तनका कारण उत्पीडनमा परेका समग्र समुदाय, वर्ग, लिंग, क्षेत्र आदिसँग आज राज्यले माफी माग्नैपर्छ । राज्यले माफी माग्ने उपयुक्त दिन पृथ्वीजयन्ती नै हो ।
पृथ्वीनारायण र उनका पुर्खाले रोपेको जात अनुरुपको घटीबढी सजायले देशमा निरन्तरता पाउँदै आयो । हिन्दु धर्म र हिन्दु समाजमा आधारित जात व्यवस्था, त्यसमा आधारित कानुनका कारण कैयौँ जातजाति उत्पीडनमा परे । हिन्दूहरूको भाषिक र सांस्कृतिक प्रभुत्वका कारण आदिवासी जनजातिको पहिचान मेटिँदै जाने, धर्म र सत्ता अभिजातहरूको अंश बन्दै जाने आदि प्रक्रिया देशमा चल्दै आयो । आज मानिसहरू लाजै नमानी, देशको अवस्था र इतिहास नबुझी भन्छन्— पृथ्वीनारायणले सांस्कृतिक एकीकरण पनि गरे ।
एउटा सत्य यही हो— आज जति भूगोल समेटिएको नेपाल देश छ, यसो हुनुको इतिहासमा पृथ्वीनारायणको नाम सबैभन्दा पहिले आउँछ । युद्ध, छलकपट, अपमान गरेरै भए पनि उनले विस्तार गरेको राज्यभित्र हामी छौँ । पृथ्वीनारायणले राज्यविस्तार नगरेको भए यो हुन्थ्यो, त्यो हुन्थ्यो भन्ने बेकारको कुरा हो । यसो भन्ने हो भने त, अजातशत्रुसँग हारेर लिच्छविहरू नेपाल नपसेको भए के के हुन्थ्यो हुन्थ्यो ।
अर्को सत्य यही हो— हिन्दुवादी राजाहरूले यो भूगोलमा जातीय विभेदलाई हुर्काए— तागाधारी, रजपुत, मतवाली, पानी चल्ने वा नचल्ने आदि नाममा । यही विभेदका नाममा देशमा १० वर्ष जनयुद्ध चल्यो । त्यही जनयुद्धको जगमा आज देशमा समानुपातिक सहभागिता र प्रतिनिधित्वको संवैधानिक व्यवस्था बनेको छ । यद्यपि आज उच्च वर्ग र जातको वर्चस्वले सामाजिक न्यायको मुद्दा बिथोलिएको निराशाजनक अवस्था छँदैछ । अझै पनि संविधानले तल्लो वर्गको हकअधिकार सम्बोधन गरेन भन्ने आवाज एकातिर छ, अर्कोतिर ठूलो बलिदानीले बनेको संविधान सिध्याउन आज प्रतिक्रियावादी र पश्चगमनवादी शक्तिहरू राजनीतिमा उदाएका छन् ।
आजका कतिपय कम्युनिस्टहरू पृथ्वीनारायणलाई पूर्ण रूपमा दुत्कार्ने पक्षमा देखिन्छन् । राज्य निर्माणको अवधारणा र देशलाई मान्ने हो भने, पृथ्वीनारायणलाई मान्नैपर्छ ।
यो परिस्थितिमा, हिजो पृथ्वीनारायणका पाला नाकओठ काटिएका कीर्तिपुरेप्रति र जातजातिवादी सोच र चिन्तनका कारण उत्पीडनमा परेका समग्र समुदाय, वर्ग, लिंग, क्षेत्र आदिसँग आज राज्यले माफी माग्नैपर्छ । राज्यले माफी माग्ने उपयुक्त दिन पृथ्वीजयन्ती नै हो ।
अनि मात्र पृथ्वीको जयन्तीको अर्थ र महत्त्व रहनेछ, विविध पक्षबीचको भावनात्मक एकता सुदृढ हुने वातावरण बन्नेछ । अन्यथा यो देशमा राजावादीहरू बढ्दै जाने, जात र धर्ममा आधारित कानुनी व्यवस्थाको वकालत गर्ने, साम्प्रदायिक दंगा भड्कने खतरा रहिरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?