गोरखा दरबार र बजारमा आजभोलि पृथ्वीनारायण शाह हिँडिरहेका हुन्छन् । श्रीपेच, राजाले लगाउने प्राचीन पोसाक, ढाल–तरबार र खुकुरी भिरेका र बेला–बेलामा चोरी औला अकासतिर फर्काइरहेको अवस्थामा भेटिने यी व्यक्ति साँच्चैका पृथ्वीनारायण भने होइनन् । यद्यपि उनी आफूलाई पृथ्वीनारायण शाहको जीवित प्रतिमूर्ति भन्न रुचाउँछन् ।
नेपालको एकीकरणकर्ता वीर राजा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरबारभन्दा ठिक मुनी रहेको गोरखा बजार र त्यहीँ रहेको दरबार संग्राहालयमा हरेक दिन पृथ्वीनारायणको भेषभूषामा भेटिने व्यक्ति हुन ओमबहादुर श्रेष्ठ । ६४ वर्षका श्रेष्ठ गोरखा नगरपालिका वडा नम्बर ६ रानीपोखरीका स्थानीयवासी हुन् । उनी गत भदौदेखि नियमित रूपमा पृथ्वीनारायण शाहको प्रतिमूर्ति बनेर गोरखा दरबार संग्राहालय परिसरमा घुमिरहेका हुन्छन् ।
हरेक दिन उनी दरबार घुम्न आएका आगन्तुक पर्यटकसँग फोटो खिचाउने र देशभक्तिको उपदेश सुनाउने गर्छन् । पृथ्वीनारायण शाहको श्रद्धाका लागि आफूले बुढेसकालको समय सदुपयोग गरेको उनी बताउँछन् ।
उनी यो पोसाक लगाएर घरबाहिर निस्किएपछि गोरखा संग्राहालय परिसरमा साँझसम्म पर्यटकहरू उनीसँग फोटो खिचाउन झुम्मिइरहेका हुन्छन् ।
पृथ्वीनारायण शाहको पहिरन आफैँले तयार पारेको उनले सुनाए । काठको तरबार, साँच्चैको खुकुरी भिरेका उनले नाङ्लोलाई रंगरोगन गरेर ढाल बनाएका छन् । प्राचीन समयमा गैँडाको छालाको ढाल हुने गरे पनि आफूले नाङ्लोमा रंग–रोगन गरेर बनाएको बताए । यस्तै श्रीपेच तयार पार्न पनि उनले ‘आइडिया’ लगाएका छन् । फुटबल काटेर आधा भाग, प्लास्टिकको मसिनो डोरी, नक्कली मोती लगायत जोडजाड पारेर रंग लगाएर उनले श्रीपेच तयार पारेका छन् ।
श्रीपेचको चमरका लागि सुरुमा बाबियोलाई रंग लगाएर बनाएको तर त्यो भाँचिएर सकिने भएपछि प्लास्टिकको मसिनो डोरीमा रंग लगाएर श्रीपेचको चमर बनाएको श्रेष्ठले सुनाए । यस्तै काठबाट दाप बनाएर रंग लगाएर बाहिरबाट हेर्दा साँच्चैको हो कि जस्तो तरबार पनि बनाएका छन् ।
उनी यो पोसाक लगाएर घरबाहिर निस्किएपछि गोरखा संग्राहालय परिसरमा साँझसम्म पर्यटकहरू उनीसँग फोटो खिचाउन झुम्मिइरहेका हुन्छन् ।
कसरी बने ओमबहादुर पृथ्वीनारायणको प्रतिमूर्ति ?
विगतमा नेपाली सेनामा काम गरेका श्रेष्ठले अवकाश पाएपछि १४ वर्ष नगर प्रहरीमा जागिर खाए । त्यसपछि गोरखा नगरपालिका वडा नम्बर ६ को वडा सदस्य भएर ५ वर्ष काम पनि गरे ।
नेपाल र नेपालीलाई चिनाउन र गोर्खालीबारे सवैतिर सन्देश जाओस् भनेर आत्मादेखि नै पृथ्वीनारायणको सन्देश फैलाउनका लागि उनकै भेषभूषामा बस्न इच्छा लागेको श्रेष्ठले बताए ।
विगतदेखि नै गोरखामा पृथ्वी जयन्तीको कार्यक्रम गर्ने गरिन्थ्यो । २०६० सालमा भएको पुथ्वी जयन्ती तथा विभिन्न महोत्सव कार्यक्रमहरूमा उनी पृथ्वीनारायण शाह बनेर हिँड्न थालेका थिए ।
गत भदौदेखि भने उनी हरेक दिन गोरखाको पुरानो बजार तथा गोरखा संग्राहालयमा पृथ्वीनारायणको भेषभूषामा देखिँदै आएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘म हरेक दिन यसै गोरखा बजार र संग्राहालयमा यो भेषभूषामा बसिरहेको हुन्छु । मेरो आजभोलिको नियमित दैनिकी नै यही हो ।’
सेनामा रहँदा पनि उनी कलाकारको रूपमा पनि रहेका थिए । बेला बेला क्याम्पमा हुने नाटकमा उनले आफ्नो कला प्रदर्शन गर्ने गरेको बताए । सानैदेखि कलाकार बन्ने रहरपनि रहेको उनले सुनाए ।
गोरखा बजारमा ऐतिहासिक सम्पदा विकास समिति भन्ने एउटा संस्था छ । सो संस्थासँग सम्झौता गरेर उनी मासिक तलब लिएर अहिले यो काम गरिरहेका छन् । उनले यसबापत मासिक १५ हजार तलब र ३ हजार खाजा भत्ता गरेर मासिक १८ हजार तलब पाउने गरेको सुनाए ।
पृथ्वीनारायणको भेषभूषामा बसेको देखेर पर्यटकहरूले पनि खुसी मान्ने गरेको उनले सुनाए । उनले भने–‘तपाईंलाई कस्तो राम्रो सुहाएको भन्ने गरेका छन् । गोरखामा आएर अनौठो चिज देख्न पाइयो भन्ने गरेका छन् । जर्मनको मेयर यहाँ घुम्न आउनुभएको थियो । उहाँले मलाई पृथ्वीनारायण शाहको शालिक छेउ उभ्याएर फोटो खिच्नुभयो । उहाँले शालिक र म उस्तै देखिएको भन्नुभयो । यस्तै इटालीको राजदूत पनि यहाँ घुम्न आउनुभएको थियो । उहाँले पनि ‘सेम टु यू’ भनेर जानुभयो । म विदेश नपुगे पनि मेरो फोटो विभिन्न देशमा पुगेको छ त्यही गौरव लागेको छ । यही कुराले पनि म धेरै खुसी छु ।’
उनले आफूसँग फोटो खिचाउन आउनेहरूलाई उपदेश पनि दिने गरेका छन् ।
उनले भने–‘मेरो सोचाई र बिचार के छ भने हामी नेपाली हौँ, हामी वीर गोर्खाली हौँ भनेर देशभरि रहेका गाउँ, जिल्लामा सन्देश पुगोस् । अहिले हाम्रो देशमा रोजगारी भएन भनेर धेरै नेपाली दाजुभाइहरू विदेशमा रोजगारीमा जानुभएको छ । उहाँहरूलाई नेपाल र नेपालीलाई नबिर्सन र हाम्रो देश बनाउन फर्किएर आउनुहोस् भन्ने मेरो अनुरोध छ ।’
सेनामा रहँदा पनि उनी कलाकारको रूपमा पनि रहेका थिए । बेला बेला क्याम्पमा हुने नाटकमा उनले आफ्नो कला प्रदर्शन गर्ने गरेको बताए । सानैदेखि कलाकार बन्ने रहरपनि रहेको उनले सुनाए । गोर्खाली र नेपालीको नाम राख्ने राजा पृथ्वीनारायण शाह भएको हुनाले अरू कसैले नभने पनि आफ्नै आत्मादेखि उनको स्वरूप धारण गर्ने इच्छा भएर सो काम गरेको श्रेष्ठले सुनाए ।
साँच्चैको नभए पनि धातुहरू जोडेर उस्तै खाले श्रीपेच बनाएर लगाउने रहर भने अझै पूरा नभएको श्रेष्ठले सुनाए ।
उनले पृथ्वीनारायण शाहको पहिरन तयार पार्न निकै गाह्रो परेको सुनाए । पृथ्वीनारायण शाहको चित्र हेरेर काठको तरबार, ढाल, पोसाक बनाएको र खुकुरी चाहिँ वास्तविक नै बोकेको सुनाए । यस्तै श्रीपेचमा हुने चमरका लागि सुरुमा बाबियोलाई रंग लगाएर बनाए पनि पछि पछि बजारमा आएको प्लास्टिकको कुचोको डोरी निकालेर त्यसमा रंग लगाएर श्रीपेचको चमर बनाएको श्रेष्ठले सुनाए ।
२०६० सालबाट विभिन्न जात्रा महोत्सवमा पृथ्वीनारायण शाह बन्दै आएका उनले त्यति बेला नै तीस–चालिस हजार खर्च गरेर पोसाक तयार गरेको बताए । उनले नुवाकोट महोत्सवका बेला सोही पोसाक लगाएर ७ दिन नुवाकोटमा बसेका थिए ।
यसरी पृथ्वीनारायणको स्वरूपमा बस्न थाले पनि उनलाई विभिन्न खाले प्रतिक्रिया आउन थालेको छ । उनको स्कुल पढ्दाका साथीहरू, सेनाका काम गर्दाका साथीहरू अहिले विभिन्न देशमा पुगेका छन् । साथीहरूले तिमीले त उधुम मच्चाएछौँ नि भनेर प्रतिक्रिया दिने गरेको उनले सुनाए । उनले भने–‘मैले देशको नाम राख्न उधुम मच्चाएको छु, तिमीहरूले देशको लागि केही सहयोग त गर्दैनौ भन्ने गरेको छु ।’
अस्ट्रेलियामा रहेका उनका साथी विनोद श्रेष्ठले त्यहाँ गोर्खा समाज संस्था रहेको र एनआरएनले पनि सोधेको भन्दै ड्रेस पठाउन आग्रह गरेकोले आफूले पृथ्वीनारायण शाहको ड्रेस बनाएर पठाइदिएको उनले सुनाए ।
उनले यो काम पैसा कमाउन गरेको नभई देशको इतिहास बचाउनका लागि गरेको दाबी गरे । भोलि आफ्नो निधनपछि पनि मान्छेहरूले चिन्ने भएका कारण यो काम गर्दा आत्मसन्तुष्टि मिलेको उनको भनाई छ ।
श्रेष्ठसँग फोटो खिच्न शुल्क पनि तोकिएको रहेछ । उनीसँग फोटो खिच्न स्थानीयका साथै विद्यार्थीका लागि २० रुपैयाँ तोकिएको रहेछ । यस्तै गोरखा बाहेक अन्य जिल्लाका पर्यटकका लागि उनीसँग फोटो खिच्न ५० रुपैयाँ शुल्क तोकिएको रहेछ भने विदेशी पर्यटकका लागि एक सय रुपैयाँ तोकिएको रहेछ । तर यो अनिवार्य भने नभएको उनले बताए । सो पैसा ऐतिहासिक सम्पदा विकास समितिले लिने र उनको तलबका साथै सम्पदा संरक्षणका लागि काम गर्ने उनले बताए ।
साँच्चैको नभए पनि धातुहरू जोडेर उस्तै खाले श्रीपेच बनाएर लगाउने रहर भने अझै पूरा नभएको श्रेष्ठले सुनाए ।
प्रतिक्रिया