मोदनाथ प्रश्रितको देशभक्ति र पृथ्वीनारायण शाह
मोदनाथ प्रश्रितको नेपाली भाषासाहित्य, कला, संस्कृति, विज्ञान आदि क्षेत्रमा महत्त्वपूर्ण भूमिका रह्यो । राजनैतिक दृष्टिकोणबाट उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले या एकीकृत समाजवादी)ले मानेका शीर्षस्थ व्यक्ति भए पनि उनको नेपाली समाजमा सम्पन्न योगदानको गैरवामपन्थी या विपक्ष तथा विभिन्न खेमाका राजनीतिज्ञहरूले पनि उनको मुग्ध कण्ठले प्रशंसा गरेको पाइन्छ । कम्युनिस्टको सिद्धान्तमा उनी फलाम भए तापनि राष्ट्र, राष्ट्रियता र राष्ट्रको धरोहरका निम्ति उनी जसजससँग पनि सम्झौता गर्दै अघि बढे । नेपाल र नेपालीको अक्षुण्ण अस्तित्व कायम गर्नुपर्छ भन्ने उनको जीवनको मौलिक विशेषता भएकाले उनी धेरैका प्रिय, आदरणीय र श्रद्धेय पनि भए ।
मोदनाथ प्रश्रित सानैदेखि आफ्नो नेपाली राष्ट्रियताका प्रेमी थिए । उनी देशमा चलेको शासन व्यवस्थाका कारणले प्रशासनसमेत तानाशाही भएको बेहोराले विद्रोही थिए । तर उनी त्यस्ता राष्ट्रवादी जरा थिए, जुन बेला देशको अस्तित्व धराशायी हुने सम्भावना हुन्छ त्यतिखेर दायाँबायाँ केही नहेरी देश जोगाउनुपर्छ भन्ने मान्यतामा उनी केन्द्रित हुने गर्छन् । उनको त्यही राष्ट्रवादी सोचको बिम्ब हो— ‘पृथ्वीनारायण शाह । पृथ्वीनारायण शाह भनेका नेपाल र नेपालीको अस्तित्व हुन्’ भन्ने प्रश्रितको मान्यता हो । अन्ततः नेपालमा गणतन्त्र भित्रिएपछि उनी पृथ्वीदर्शनका अगुवामा नै स्थापित भए ।
नेपालमा गणतान्त्रिक व्यवस्था भित्रिनुपूर्वदेखि नै राष्ट्रियताका सम्बन्धमा नराम्रो आँच पुग्ने खेलको प्रादुर्भाव हुन थालेको थियो । त्यही प्रसङ्गमा देशभक्त हुनका कारण मोदनाथ प्रश्रित झन्नै एक्लाजस्ता भएका थिए । कुरा के हो भने राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहका विषयमा प्रश्रित समाहित नेपाल कम्युनिस्ट पार्टीमा पनि ठूलै कचिङ्गल मच्चिएको थियो । त्यसै परिवेशमा उनीभित्र आफू नेपाल कम्युनिस्ट पार्टीका सक्रिय सदस्य भएको सन्दर्भप्रति नै पनि वितृष्णा उब्जिएको थियो । तर पृथ्वीनारायण शाहउपर नेपाल कम्युनिस्ट पार्टीले जेजस्तो धारणा राखे पनि र पृथ्वीनारायण शाहलाई आत्मसात् गरेबापत प्रश्रितलाई जेजस्तो कार्यवाही गरे तापनि उनले नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई शिरमा बोक्न छाडेनन् । जब पृथ्वीनारायण शाहमाथि वादविवादको सुरुवात भयो तबदेखि नै उनीचाहिँ पृथ्वीनारायण शाहको योगदानका बारेको प्रचारप्रसारमा अति सक्रिय भएर लागे । नेपालमा गणतन्त्र भित्रन आँटेको सुरुका दिनमा पृथ्वीनारायण शाहको जयजयकारमा लाग्ने उनी एक जना मात्र कम्युनिस्ट नेता थिए । तर क्रमशः उनका सहकर्मीहरूले पनि पृथ्वीनारायण शाहको योगदानको महत्त्व बुझ्दै जान थाले । अनि उनीहरूमध्ये केही जना पनि प्रश्रितका कित्तामा उभिन गौरव मान्न थाले । उनी पृथ्वीनारायण शाहको अभियानमा लाग्दा नै उनले त्यसबारे एउटा कृति नै पनि निर्माण गरेका थिए । राजनीतिको कालो बादल मडारिरहेकै बेला नै उनले हिम्मतका साथ ‘नेपालको एकीकरण र पृथ्वीनारायण शाह’नामक कृति २०६३ सालमा छपाएर जनमाझ ल्याइदिए ।
२०६३ सालको आरम्भदेखि नेपालको राष्ट्रियतामाथि समर्थन र विरोधमा चर्को आवाज उठिरहेको थियो । त्यतिखेर पृथ्वीनारायण शाहलाई समाउनु भनेको निकै ठूलो खतरा पनि मानिन्थ्यो । त्यसपछिका दिनमा त नेपालको नाउँ र झन्डा नै फेर्नुपर्छ भन्ने संसद् सचिवालयमा नै पनि नारा लगाउनेहरू देखा परेका थिए ।
राजनीतिमा जति चम्के पनि मोदनाथ प्रश्रितचाहिँ नेपाली भाषासाहित्यका महारथीको नाउँ हो । उनले भानुभक्तकालीन नेपालदेखि हृदयचन्द्रसिंह प्रधानकालीन नेपालसम्मको व्यापक अध्ययन पनि गरे । त्यसैले उनले आफ्ना अर्का एक जना आदर्श स्रष्टा हृदयचन्द्रसिंह प्रधानबारे पनि गहिरो चासो लिएकै थिए । अनि प्रधानको राजनैतिक र साहित्यिक धारा नै पनि प्रश्रितले समाए । त्यसैले उनले प्रधानको पृथ्वीविचार पनि शिरमा राख्न छाडेनन् । वास्तवमा प्रधानले त्यतिखेरै नेपालको राष्ट्रिय एकताको निर्माणमा पृथ्वीनारायण शाह र भानुभक्तको भूमिकाबारे महिमा गाएका थिए— ‘पृथ्वीनारायण शाह नेपाललाई बनाउने र नेपाली राष्ट्रमा एकता स्थापना गर्न खोज्ने एउटा महान् सपूत हुन् । उनीबाट नेपालमा केही रगत बगे पनि उनको हिंसाबाट भौगोलिक राष्ट्रियता जाग्रत भई नेपालको गौरव बढेको हुनाले नेपालका निम्ति उनी प्रातःस्मरणीय महात्मा हुन् । तर उनको सपना पूरा हुनुमा भानुभक्तको कलम सबभन्दा बढ्ता सहायक हुन आएको छ । त्यसैले पृथ्वीनारायण शाहको तरबारभन्दा पनि भानुभक्तको कलम अहिले नेपालमा बढ्ता गौरवपूर्ण र प्रभावशाली छ । भानुभक्तको कलम प्रचारमा खूब आइदिएकाले पृथ्वीनारायण शाहको खुकुरीलाई आज संसारमा मानिसहरूले गोरखाली दापबाट झिकी नेपाली दापमा राख्तै छन् ।’
२०६३ सालको आरम्भदेखि नेपालको राष्ट्रियतामाथि समर्थन र विरोधमा चर्को आवाज उठिरहेको थियो । त्यतिखेर पृथ्वीनारायण शाहलाई समाउनु भनेको निकै ठूलो खतरा पनि मानिन्थ्यो । त्यसपछिका दिनमा त नेपालको नाउँ र झन्डा नै फेर्नुपर्छ भन्ने संसद् सचिवालयमा नै पनि नारा लगाउनेहरू देखा परेका थिए । दूरदर्शी सोचका देशभक्त मोदनाथ प्रश्रितले भोलिका दिनमा यो अवस्था आउँछ भनेर नै सोचेका थिए । त्यसैले उनी आफ्नो देशका लागि जे भोग्न पनि तयार भए र यसैमा नै एक्लै लडीबुडी खेल्दै आए । त्यतिखेर देशभक्तहरूमाथि ढुङ्गामुडा बर्सिरहेका बेला पनि उनले राष्ट्रियताप्रतिको आफ्नो धर्म निर्वाह गरिरहे । अनि त्यसै वर्ष अर्थात् २०६३ सालको पुस २७ गते गणतान्त्रिकहरूमध्ये उनी एक्लैले राष्ट्रिय एकता दिवस मनाउने हिम्मत गरे । त्योभन्दा अघिल्ला वर्षहरूमा बिहान छ बजेदेखि नै सिंहदरबारस्थित पृथ्वीनारायण शाहका सालिकको ओतमा सयौँ बहुदलवादीहरू जम्मा हुन्थे । तर गणतन्त्र भित्रिने सम्भावना देखिएकाले त्यस वर्ष त्यहाँ मानिसहरूको उपस्थिति शून्य थियो । त्यतिखेर बिहान सात बजेको कुरा हो; त्यस ठाउँमा जनराष्ट्रकवि ईश्वरवल्लभ, मोदनाथ प्रश्रित र नइदम्पतीको मात्र उपस्थिति थियो । त्यति बेला प्रश्रित र वल्लभले कविता नै वाचन गरेर पृथ्वी जयन्ती मनाएका थिए । त्यतिखेर पृथ्वीनारायण शाहप्रति प्रश्रितले वाचन गरेको कविता यस्तो थियो—
‘तिमीलाई बिर्से सबै बिर्सिनेछौँ
यसै देशभित्रै बिराना हुनेछौँ ।’
मोदनाथ प्रश्रितले वाचन गरेपछि आफ्नो त्यो कवितांशको एउटा प्रति ठूलो अक्षरमा लेखी पृथ्वीनारायणको सालिकमा राखेका थिए । उनी चित्रकार पनि भएकाले पृथ्वीनारायण शाहको चित्र बनाई सालिकमा नै कविता राख्नका निम्ति उनले घरैबाट साजसज्जा गरी एउटा पृष्ठ ल्याएका थिए । तर त्यो चित्र हेर्ने त्यहाँ केवल ईश्वरवल्लभ, इन्दिरा प्रसाई र नरेन्द्रराज प्रसाई मात्र थिए । त्यस दिन कुनै पनि सञ्चारमाध्यम त्यस घडी त्यहाँ उपस्थित भएको पनि देखिएन ।
मोदनाथ प्रश्रितले पृथ्वी जयन्ती मनाउनेहेतु औपचारिकता मात्र निभाएका थिएनन् । नेपालैभरि नै पुगेर उनले यस सिद्धान्तको व्याख्या र विश्लेषण गरेका थिए । त्यस कालखण्डमा जताजता पृथ्वीनारायण शाहको सालिक हुन्थ्यो त्यतात्यता ती सालिक भत्काएका सूचना सुनिरहनुपरेको हुन्थ्यो ।
मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहको दर्शन सानै वयमा अध्ययन गरिसकेका थिए । उनीभित्र परेको त्यही भावना उनले पछिल्ला दिनमा पनि व्यक्त गरे— ‘पटकपटक हुने विस्तार र विखण्डनपछि करिब पचासओटा राजारजौटा र नौदसओटा जनजातीय क्षेत्रहरूमा टुक्रिएर लडिरहेको नेपाललाई पृथ्वीनारायण शाहदेखि थालिएको अभियानले पछिल्लो पालि स्थायी रूपले एकीकृत हुनका निम्ति सफलता पायो ।’ यदि त्यस बेला पृथ्वीनारायण शाहले यो कदम नचालेको भए नेपाल यसरी यस्तो बृहत् आकारमा रहन सक्तैनथ्यो भन्ने प्रश्रितको मान्यता थियो । त्यसैले प्रश्रित एकोहोरो भएर पृथ्वीदर्शनमा केन्द्रित भइ नै रहे । यसबारे उनको दृष्टिकोण पनि उनले आफ्ना लेखनमा अग्रसर गराइरहे— ‘अहिले हामी जुन मुलुकमा बसेका छाð, त्यो पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मको नेतृत्वमा बीसाð हजार देशभक्त नेपालीको अथक प्रयत्न र हजारौँको वीरतापूर्ण बलिदानले अङ्ग्रेजी उनिवेशवादविरुद्ध जुधेर एकीकरण गरिएको गौरवशाली देश नेपाल हो ।’ यस्तो पवित्र मुलुकलाई विखण्डन गरेर हामीले फेरि दुई सय वर्ष पछाडि फर्कन हुँदैन भन्ने प्रश्रितको तर्क भइरह्यो ।
मोदनाथ प्रश्रितले जुन बेला पृथ्वीनारायण शाहको दर्शन बोकेर पृथ्वी विचारको अभियान सञ्चालन गरे त्यस बेला कुनै पनि राजनेता यसबारे अघि सर्न सकेका थिएनन् । तर प्रश्रित युद्धस्तर, आक्रामक शैली र एक प्रकारको हमलाकै ढाँचामा आफ्नो सुरक्षाको समेत ख्याल नराखी पृथ्वीनारायण शाहको महिमा गाउँदै हिँडेका थिए । उनको त्यो विशिष्ट कृत्यउपर देशभक्त राजनेता कीर्तिनिधि विष्टले भनेका थिए— ‘नेपालको इतिहासमा पृथ्वीनारायण शाहको राष्ट्रिय एकता बुझ्ने बुद्धिजीवी केहीकेही मात्र रहेछन् । दुक्खका बेला मात्र यस्ता मान्छेको अनुहार हेर्न सकिने रहेछ । यति बेला मोदनाथ प्रश्रितको भूमिका अत्यन्तै प्रेरक र हौसलाको भयो ।’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको खासै मूल्याङ्कन नभएको बेहोरामा राष्ट्रवादी नेपालीहरूसँगसँगै मोदनाथ प्रश्रित पनि दुःखित थिए । त्यसैले उनले आफ्नो विचार पनि जनसमक्ष प्रस्तुत गरिरहे ।
मोदनाथ प्रश्रितले पृथ्वी जयन्ती मनाउनेहेतु औपचारिकता मात्र निभाएका थिएनन् । नेपालैभरि नै पुगेर उनले यस सिद्धान्तको व्याख्या र विश्लेषण गरेका थिए । त्यस कालखण्डमा जताजता पृथ्वीनारायण शाहको सालिक हुन्थ्यो त्यतात्यता ती सालिक भत्काएका सूचना सुनिरहनुपरेको हुन्थ्यो । वास्तवमा २०६३ सालपछाडिका केही वर्षसम्म पृथ्वीनारायण शाहको नाउँ लिनु भनेको पनि जीवन समाप्तै पार्ने अवस्था पनि थियो । तर उनले आफ्नो भौतिक जीवनको कुनै पर्बाह गरेका थिएनन् । उनी एकोहोरा यसैमा केन्द्रित थिए । कतिसम्म भने कालो बादल साम्य नभइन्जेल उनी पृथ्वीनारायण शाह, पृथ्वीनारायण शाह र पृथ्वीनारायण शाहमा नै मात्र एकोहोरिएका थिए ।
मोदनाथ प्रश्रित एक जना विशिष्ट राजनीतिज्ञको नाउँ हो । खास गरेर नेपालमा गणतान्त्रिक व्यवस्था भित्रिएपछि राजनीतिमा राष्ट्रवादको अर्को एउटा सुरिलो आवाज आउन थाल्यो । किनभने त्यस बेला नेपालको राजनीतिमा भारतको प्रत्यक्ष आक्रमणको सङ्केत आएको थियो । त्यस कालखण्डमा राष्ट्रियता जोगाउनका लागि प्रश्रितको नेतृत्वमा सारा नेपाली पृथ्वीनाराण शाहलाई प्रतीक बनाएर हिँड्न थाले । वास्तवमा नेपालको राष्ट्रियतालाई धराशयी पार्नेहेतुले पृथ्वीनाराण शाहकै सालिक भत्काउनेदेखि फोटोमा आगो लगाउनेसम्मका काम हुन थालेका थिए । अनि त्यस बेला प्रश्रित बोलेका थिए— ‘सम्पूर्ण नेपालीहरूले गम्भीर रूपले सोच्नुपर्ने बेला आएको छ । एकताबद्ध, गतिशील, स्वाधीन राष्ट्र भएर बाँच्ने कि विखण्डित र गतिहीन कबिलातन्त्रका रूपमा प्रतिक्रियावाद र उपनिवेशवादको सिकार भएर विनाशतिर जाने ? त्यसैले हामीले यस घडी राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका सहयोगी सयौँ, हजारौँ वीरहरूलाई भुल्नु नै हुँदैन । हामीले पृथ्वीनारायण शाहलाई भुल्नु भनेको आफ्नै टेक्ने धरातल भुल्नुसरह हो । पृथ्वीनारायण शाह भन्नु नेपाल र नेपालीको सिङ्गो अस्तित्व हो ।’ देशको राष्ट्रियतामाथि नै आइपरेको घना सङ्कट मास्नका निम्ति पृथ्वीविचारउपर प्रश्रितले झनै सशक्त आवाज दिन थाले । अनि उनले त्यसबारेको परिभाषा पनि दिइ नै रहे— ‘पृथ्वीनारायण शाहभन्दा अघिका राज्यविस्तारकहरूले ठूलठूला क्षेत्रहरू कब्जा गरेर शताब्दीयौँ शासन गरे तापनि किन ती राज्यहरूले स्थायित्व हासिल गर्न सकेनन् र पछिल्लो एकीकरण किन स्थायी हुन सक्यो, यसका पछाडि अनेकौँ कारण रहेका छन् ।’
मोदनाथ प्रश्रित सिद्धान्तका कुबेर भएका कारण उनको राजनैतिक आवरण खुर्कनेको पनि अनिकाल लागेन । खास गरेर उनले पृथ्वीनारायण शाहको सिद्धान्तलाई शिरमा बोकेर हिँड्न थालेपछि उनको व्यक्तित्वलाई तहसनहस पार्ने खेल पनि खेलिएकै थियो ।
गणतान्त्रिक व्यवस्था भित्रिएपछि अप्रत्यक्ष रूपमा नै भए पनि नेपाली राष्ट्रियतामाथि झम्टने प्रक्रियाको सुरुवात भएको थियो । पृथ्वीनारायण शाहका नाउँमा विरोध गर्ने र राष्ट्रियतालाई नै तिलाञ्जलि दिने अभिप्रायका शक्तिहरू पनि देखा परेका थिए । साथै त्यति बेला पृथ्वीनारायण शाहलाई नै अगाडि सारेर राष्ट्रियता जोगाउने नेतृत्व लिने राजनेता पनि थिए । त्यस बेला त्यो बिँडो समाएर एकोहोरो हिँड्ने देशभक्त मोदनाथ प्रश्रित नै एक जना थिए । त्यसै बेला उनले पृथ्वीनारायण शाहबारे आफ्नो पार्टीमा समेत अनेकौँ स्पष्टीकरण पेस गर्नुपरेको थियो । अनि त्यतिखेर उनले बोलेका थिए— ‘नेपालको एकीकरणका सन्दर्भमा प्राचीन र मध्यकालीन इतिहासको ज्ञान नभएका कारणले या जातीय पूर्वाग्रहका कारणले केही मानिसहरू पृथ्वीनारायण शाहलाई विस्तारवादी र एकीकृत नेपाललाई ‘खस साम्राज्यवादी’ भन्ने गर्दछन् । तर हाम्रो देशको इतिहासले प्रस्ट रूपले के देखाउँछ भने पृथ्वीनारायण शाहद्वारा सुरु भएको अभियान विस्तारवाद वा साम्राज्यवाद नभई पहिले पटकपटक एकीकृत भएपछि विशृङ्खलित भएको नेपाललाई जनआकाङ्क्षाअनुरूप एकीकृत गर्ने महान् ऐतिहासिक अभियान थियो । स्पष्ट छ, पृथ्वीनारायण शाहको अभियान अङ्ग्रेजको जस्तो साम्राज्यविस्तार या ‘खस साम्राज्यवाद’ नभई नेपालको पुनः एकीकरण अभियान हो ।’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको खासै मूल्याङ्कन नभएको बेहोरामा राष्ट्रवादी नेपालीहरूसँगसँगै मोदनाथ प्रश्रित पनि दुःखित थिए । त्यसैले उनले आफ्नो विचार पनि जनसमक्ष प्रस्तुत गरिरहे । त्यति बेला उनले भनेका थिए— ‘पृथ्वीनारायण शाहभन्दा थोरै पछि अमेरिकाको एकीकरण गर्ने जर्ज वासिङटनको त्यहाँ कत्रो सम्मान छ । पृथ्वीनारायण शाहभन्दा पचासी वर्षपछि जर्मनीका अनेकौँ रजौटाहरूको एकीकरण गर्ने विस्मार्क कति सम्मानित छन् । इटलीको एकीकरण गर्ने मेजिनी, काबुर र गैरीवाल्डीको उस्तै महत्त्व छ ।’
मोदनाथ प्रश्रित सिद्धान्तका कुबेर भएका कारण उनको राजनैतिक आवरण खुर्कनेको पनि अनिकाल लागेन । खास गरेर उनले पृथ्वीनारायण शाहको सिद्धान्तलाई शिरमा बोकेर हिँड्न थालेपछि उनको व्यक्तित्वलाई तहसनहस पार्ने खेल पनि खेलिएकै थियो । त्यसैको परिणतिका कारण उनी आफ्नो दलको शीर्षस्थ नेता हुँदाहुँदै पनि क्रमशः उनको बोक्रा ताछ्न थालिएको थियो । अन्ततः उनको हैसियत, भूमिका र कृत्य नेपाल कम्युनिस्ट पार्टीभित्र ओझेलमा नै पारियो । क्रमशः नेपाल कम्युनिस्ट पार्टीभित्र प्रश्रितको भूमिका निष्क्रिय नै बनाइयो । यति हुँदाहुँदै पनि त्यति बेलासम्ममा उनको व्यक्तित्व निकै, निकै र निकै माथि पुगिसकेको थियो । उनले पृथ्वीनारायण शाहमार्फत राष्ट्रियताको नरसिङ्गा फुक्न थाल्दा उनका पछि समस्त देशभक्त नेपालीको भावना गाँसिएको थियो । उनी नेपालीत्व ग्रहण गर्ने नेपालीका नैतिक समर्थनबाट चुलिएका थिए । पछिल्ला दिनमा उनैको नेपाल कम्युनिस्ट पार्टीसमेतले नै पृथ्वीनारायण शाह भनेका त नेपालका राष्ट्रनिर्माता हुन् भन्न थालिसकेको छ ।
स्रोत: नरेन्द्रराज प्रसाईकृत ‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’– २०७९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन