सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार गठन

आज चार प्रदेशले मुख्यमन्त्री पाउँदै, कुन प्रदेशमा को बन्दैछन् ?

बुधबार, २७ पुस २०७९, १० : १३
बुधबार, २७ पुस २०७९

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी र छलफल चलिरहेको नेताहरुको भनाइ छ । 

मधेस प्रदेशमा मंगलबार नै दाबी पेश गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको छ । मधेस प्रदेशमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादवलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने तयारी छ । 

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । त्यसको एक दिनअघि नै दाबी पेश गर्न लागिएको हो । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।   

यसैगरी लुम्बिनी प्रदेशमा पनि आज नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै छ । प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो । 

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता  लिला गिरी मुख्यमन्त्री बन्दैछन् । 

यसैगरी सुदूरपश्चिममा पनि सरकारमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
तर, सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् । गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्रीको प्रमुख दाबेदार छन् । 

यसैगरी कर्णाली प्रदेशमा पनि बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यतालिका रहेको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने गरि तयारी भइरहेको हो । 

प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेअनुसार शर्माले दाबी पेश गर्न लागेका हुन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन न्यूनतम २० सिट चाहिन्छ । जसमा माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप