पृथ्वीनारायण शाहको जन्मजयन्ती यसरी मनाउँदैछ सेना, गोरखामा विगुल बजाइने
काठमाडौँ । नेपाली सेनाले पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ ।
सेनाले बुधबारदेखि नै त्यहाँ हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ । यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको मार्गमा विसं २०७६ देखि सेनाले पृथ्वीजयन्तीका अवसर पारी हरेक वर्ष ‘एकीकरण पदयात्रा’ गर्दैआएको छ । यस वर्ष पनि गोरखाबाट पुस २१ गतेदेखि सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका दरबारमा आइपुगेको छ ।
उक्त पदयात्रामा सेनाका पृथ्वीनारायण कालिन पाँचवटा पल्टनका झण्डा, राष्ट्रिय झण्डा र दीपज्योति बोकेर सैनिक टोलीले मार्चमा निस्केकोमा निर्धारित यात्रा पूरा गरी आज हनुमान ढोका आइपुगेको छ ।
उक्त पदयात्रा टोली बुधबार बाजागाजासहित हनुमान ढोकाबाट निस्केर नगर परिक्रमा पछि जङ्गीअड्डास्थित राष्ट्रनिर्माताको पूर्णकदको शालिक नजिक आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछ । त्यहाँ सेनाले संस्थापकप्रति सलामीसहित श्रद्धाञ्जलि अर्पण गर्नेछ ।
पृथ्वीजयन्तीकै अवसरमा सैनिक मुख्यालयमै नेपाली सेनाव्यापी कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ । सेनाले बुधबार नै त्यहाँ इतिहासविद् र प्राज्ञबाट दिव्यपदेश सम्बन्धमा प्रवचन कार्यक्रमको आयोजना गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलद्वारा अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलिका साथ सम्मान व्यक्त गर्ने कार्यक्रम छ ।
सरकारले धेरै वर्षपछि पृथ्वीजयन्तीका अवसरमा मुलुकभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियागमा समेत बुधबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हरेक वर्ष जलपान समारोहको आयोजना गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी