बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘खोरका सबै बङ्गुर मरे, पुन: विदेशिनुपर्ने भो’

मङ्गलबार, २६ पुस २०७९, १० : ४१
मङ्गलबार, २६ पुस २०७९

भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्किए । 

घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाले । फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै चकनाचुर बन्न पुगेको छ । करिब २० धार्नी बढी किलोग्रामका बङ्गुर मरेर खोर नै रित्तिएपछि पुनः विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताए ।

जिल्लामा पहिलोपटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखापरेसँगै बङ्गुर मरेपछि बङ्गुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उक्त रोगविरुद्व अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, “नेपालमा  अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ ।” 

अफ्रिकन स्वाइन फिभर सङ्क्रमण हुँदा बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा श्रेष्ठले बताए ।  थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उनले जानकारी दिए ।
 
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।” तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बङ्गुर मरिसकेको सो केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप