शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ सभामुखको चयन प्रक्रिया सुरु हुँदै

सत्ता गठबन्धनले बाबुराम गौतमलाई उम्मेदवार बनाउने
मङ्गलबार, २६ पुस २०७९, १० : ००
मङ्गलबार, २६ पुस २०७९

विराटनगर  ।  प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्य तालिका आज सार्वजनिक हुँदैन । उक्त कार्य तालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुनेछ । प्रदेश १ प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आव्हान भएको छ । उक्त बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने कार्यक्रम छ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले आज निर्वाचन कार्य तालिका सार्वजनिक हुने र मनोनयन आजै हुने जानकारी दिए । सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ । 

यता, प्रदेश १ को सरकारको नेतृत्व एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोही अनुसार एमाले नेता हिम्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री भएका छन् । सभामुखमा भने माओवादी केन्द्रले दिएको उम्मेदवारीलाई एमालेले समर्थन गर्नेछ । माओवादी स्रोतले दिएको जानकारी अनुसार ओखलढुङ्गा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई माओवादी केन्द्रले सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । ‘अहिलेसम्मको अवस्थामा हाम्रो पार्टी र संसदीय दलमा बाबुराम गौतमको नाममा सहमति भएको हो,’ माओवादीका एक सांसदले भने, ‘परिस्थिति परिवर्तन नभए उहाँ नै हाम्रो उम्मेदवार हो ।’

यसअघि माओवादी केन्द्रबाट सभामुखमा सङ्खुवासभा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र कार्कीको नाम सार्वजनिक भएको थियो । कार्कीले सभामुख भन्दा मन्त्री बन्ने इच्छा देखाएको कारण बाबुराम गौतम नै सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना बढेको हो । माओवादी केन्द्रबाटै सभामुखमा महिला सांसद गीता तिम्सिनाले पनि दाबी गरेकी छिन् । यद्यपि उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाउने सम्भावना कम रहेको बताइएको छ । 

गौतम नै सभामुखको उम्मेदवार बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । 

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले भने सभामुखको उम्मेदवार उठाउने कि संयुक्त भन्ने विषयमा सहमति नभएको बताइएको छ । कांग्रेसले अहिलेसम्म सभामुखको उम्मेदवारको टुङ्गो लगाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप