आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
समाचार

पञ्चायतकालीन गुरगी पुनर्निर्माणका लागि डीपीआर तयार, ६ हजार किसानमा खुसीयाली

जीर्णोद्धारका लागि बल्ल डीपीआर
मङ्गलबार, २६ पुस २०७९, ०७ : १८
मङ्गलबार, २६ पुस २०७९

धनगढी । २०५० को दशकमा कैलालीको कैलारी गाउँपालिका–२ स्थित गुरगी सिंचाई आयोजनाले किसानको मुहार फेरेको थियो । जिल्लाकै नमुना सो आयोजनाबाट दक्षिणी क्षेत्रका करिब ६ हजारभन्दा बढी किसानको खेतको गरा–गरामा पानी पुग्थ्यो ।

२०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सुरु भयो किसानले पुर्पुरो हात राख्ने दिन । हालसम्म किसानको कन्तबिजोग छ । आकाशे पानीको भरमा त्यहाँका किसानले खेती गर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि स्थानीय किसानमा सिंचाई योजना बन्ने आशा पलाएको छ । झण्डै २९ वर्षपछि आयोजना मर्मतको तयारी थालिएको हो ।

स्थानीयका अनुससार आयोजनाबाट कैलारी गाउँपालिकाको झन्डै ६ हजार किसान लाभान्वित हुँदै आएका थिए । तर भत्केपछि किसानहरुले समस्या भोग्नु परेको हो । तत्कालीन समयमा उक्त सिंचाई आयोजनाबाट १ हजार ४ सयभन्दा बढी हेक्टर जमिनमा सिंचाई उपलब्ध थियो । २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्कायो । त्यतिबेला भत्केको बाँध अहिलेसम्म बन्न नसकेको हो ।

सिंचाईको सुविधा नहुँदा खेतीपाती गर्न निकै समस्या रहेको कैलारी गाउँपालिका–७, भुईयाँफाँटा गाउँका कृषक कुन्तेराम चौधरीले बताए । ‘बोरिङ्गको भरमा खेती गर्दा लगानी धेरै हुने गर्दछ’, उनले भने, ‘चाहेको बेलामा सिंचाई गर्न पनि गाह्रो छ ।’ तर सिंचाई कुलो पुनर्निर्माणको तयारी हुँदा खुसी लागेको उनको भनाइ छ ।

कैलारी गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरीले आयोजना निर्माण भए व्यावसायिक कृषिमा टेवा पुग्ने बताए । जसबाट गाउँपालिकावासीको आर्थिक स्तर सुधारमा योगदान पुग्ने उनको विश्वास छ ।

आयोजना निर्माणका लागि हालै गुरगी बाँध सिंचाई जल उपभोक्ता संस्थाले नयाँ कार्यसमिति समेत पाएको छ । समितिका अध्यक्ष भीष्मराज चौधरीले निर्माणको कार्यलाई गति दिन आफूहरु लागिपरेको बताए । आयोजना निर्माण भए यहाँको कृषि प्रणालीको मुहार फेरिने उनको दाबी छ ।

आयोजनाको विगत

स्थानीय बुढापाकाका भनाइ अनुसार कैलारी गाउँपालिका–२, कुकुरभुक्कास्थित कटैनी नदीमा रहेको गुरगी सिंचाई आयोजना जिल्लाकै पुरानो सिंचाई आयोजनामध्येको एक हो । पञ्चायतकाल ताका उक्त क्षेत्रका जमिन्दार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत सिंचाईका लागि माटो र झारपातले जैविक बाँध बनाएका थिए ।

कच्ची बाँध नटिक्ने भएपछि २०२६ सालमा छटकपुर बसन्ताका तत्कालीन स्थानीय रोइना चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समितिले आयोजनाका लागि ढुङ्गाको बाँध बनाइ किसानका खेतसम्म पानी पु¥याएको थियो ।

त्यसले केही वर्षसम्म खेतमा सिंचाई भए पनि दीर्घकालीन सुविधा हुन सकेन । २०५० को दशकसम्म हालको कैलारी गाउँपालिका वडा नम्बर १, २, ५ र ७ का डेढ दर्जन गाउँसम्म सिंचाई भए पनि बाँध भत्केपछि नहरमा पानी आउन बन्द भएको हो ।

असफल प्रयास

गुरगी आयोजनाको बाँध बनाउने र भत्किने क्रम केही वर्ष अगाडिसम्म पनि जारी रह्यो । आर्थिक वर्ष २०६२/२०६३ मा प्रेमशंकर भट्टको पीएस कन्स्ट्रक्सनले पक्की बाँध बनाएको थियो । तर, डेढ करोडभन्दा बढी रुपैयाँ लगानी गर्दा पनि किसानको खेतसम्म पानी पुग्न सकेन । लगत्तै २०६४ मा आएको बाढीले बाँध भत्कायो ।

आर्थिक वर्ष २०७३/२०७४ मा सो आयोजना पुनर्निर्माण गर्ने कि नयाँ निर्माण गर्ने भन्नेबारे सिंचाई विकास डिभिजन कार्यालय धनगढीले पहल सुरु गरेको थियो । तर पुनर्निर्माण गर्ने वा पुरानै संरचनालाई मर्मत गरेर प्रयोगमा ल्याउने विषयमा प्राविधिकहरुबीच नै कुरा बाझिएपछि निर्माण कार्य रोकिएको थियो । सोही आर्थिक वर्षमा गुरगीको निर्माण कार्य अगाडि नबढ्दा विनियोजित १ करोड २० लाख रुपैयाँ जिल्लाका अन्य योजनामा रकमान्तर गरियो ।

प्राविधिकबीच देखिएको मतभेद र जयपति चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समिति पनि निष्क्रिय भएपछि आयोजनाको डीपीआर बनाउने कार्यले गति लिएन ।

आर्थिक वर्ष २०७५/२०७६ मा पनि सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिकाको कार्यालयले डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर सो बजेट कार्यान्वयनमा गएन ।

५० करोड लागत अनुमान

आयोजना निर्माणको लागि सर्वे भइ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइ थप प्रक्रियाका लागि अगाडि बढाइएको छ । सिंचाई डिभिजन कार्यालय कैलालीका इन्जिनियर हेमराज भण्डारीले डीपीआर तयार गरी सुदूरपश्चिम प्रदेशको भौतिक विकास मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिएको बताए ।

स्वीकृतिपछि लगत्तै बहुवर्षीय ठेक्का प्रक्रियामा गइ कार्यान्वयमा जाने भएको हो । डीपीआर अनुसार आयोजनाको लागत ५० करोड अनुमान गरिएको छ भने साढे २ वर्षदेखि ३ वर्षभित्रै निर्माण गरिसक्ने लक्ष्य राखिएको इन्जिनियर भण्डारीले जानकारी दिए ।

आयोजना सम्पन्न भए १ हजार ९ सय हेक्टर जमिनमा सिंचाई उपलब्ध हुनेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० मा सो आयोजनाका लागि ६ करोड बजेट विनियोजन गरेको छ । आयोजना साविकको स्थानभन्दा माथि निर्माण गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप