जनयुद्धका ‘पारसमणि’ अब संसदमा चम्किने तयारीमा
सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्य महेन्द्र केसी व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएका कारण अब संसदीय भूमिकाबाट जनताको अवस्था परिवर्तनका लागि आवश्यक नीति निर्माणमा सक्रियता बढाउनुपर्ने तर्क गर्दछन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य उनी रुकुम पश्चिम (क) बाट निर्वाचित भएका हुन् ।
जनयुद्ध, जनआन्दोलनको बलमा व्यवस्था परिवर्तन भए पनि मास लेवलमा जनताको अवस्थामा परिवर्तन आउन नसकेको उनी बताउँछन् । पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका उनी अब ‘जनताको जीवनस्तर बदल्ने गरी आर्थिक समृद्धि र सांस्कृतिक सभ्यता’को बाटो अँगाल्नु बाहेक विकल्प नरहेको बताउँछन् ।
‘यी दुईवटा कुरा अहिले चाहिएको छ, हाम्रो समाज सांस्कृतिक रुपमा विकराल र नकारात्मक दिशातर्फ गइरहेको अवस्था छ,’ उनले भने, ‘आर्थिक समृद्धि पनि स्वरोजगारका माध्यमबाट हुनुपर्छ, एउटा मान्छे उद्योगपति बनेपछि सयौँ मान्छेलाई रोजगारी दिन सकोस् ।’
उनले पुराना व्यवस्था खारेज गरिए पनि घरघरमा भएको गरिबी खारेज गर्न नसकिएको बताए । आर्थिक र सांस्कृतिक रुपमा देखिने गरिबीलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । यद्यपि उनी समाज विकासको चरणका हिसाबले राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापनाको प्रगतिशील चरणमा रहेको टिप्पणी गर्छन् । उनी संघीयतालाई बलियो बनाउनुपर्ने तर्क गर्दै जनताका पक्षमा कानुन निर्माण गरिनुपर्ने बताउँछन् ।
क्रान्तिमा होमिँदाको क्षण सम्झदै उनी भन्छन्, ‘समाज नयाँ तरिकाले बदल्नुपर्छ, हामीले चाहेको शासन व्यवस्था ल्याउनुपर्छ भनेर क्रान्तिमा होमियौं ।’ उसो त केसी ०४३/०४४ सालदेखि नै अनेरास्ववियूको राजनीतिमा लागेका थिए । जतिबेला उनी दाङमा बसेर पढाई गर्थे ।
त्यो बेला पञ्चायती शासन विरुद्धमा व्यापक रुपमा संघर्ष भइरहेको थियो । पढाईसँगै पञ्चायत विरोधी गतिविधिमा संलग्न उनीसहित विद्यार्थीहरु नारा लेख्ने, हस्तलिखित पम्प्लेटका माध्यमबाट पञ्चायतको विरुद्धमा जनचेतना जगाउने काम गर्थे रे । पछि रुकुममै बसेर काठमाडौंका पत्रिकाको ग्राहक बन्ने र राजनीतिक चेतना फैलाउने काम गरिएको उनले बताए ।
त्यतिबेला उनी नेकपा (मशाल)मा आवद्ध थिए । गोप्य रुपमै भए पनि उनीहरु रातको समयमा पञ्चायत विरोधी गतिविधिमा सरिक हुन्थे । पछि ०४६ सालको आन्दोलन र पञ्चायतको अन्त्यसँगै उनलाई खुला राजनीतिमा संगठित हुने अवसर प्राप्त भयो । विद्यार्थी संगठनको जिल्लाको पदाधिकारीसँगै पार्टीमा पनि संलग्न हुँदै जनयुद्धको तयारीमा लागेको स्मरण उनले गरे । ०४६ पछि संगठनात्मक रुपमा बढी सक्रिय भएको र पार्टी निर्माण पनि मास लेवलमा त्यसपछि नै गएको उनी बताउँछन् ।
ब्याचलर पढ्न छाडेर क्रान्तिको बाटो
केसीको जन्म रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, स्यार्पु ताल नजिकैको एउटा सामान्य परिवारमा भएको हो । विद्यार्थी राजनीतिबाटै उनी यो व्यवस्था ठिक होइन भन्ने पक्षमा उभिएका थिए । हुन् त ०४६ सालको आन्दोलनभन्दा पहिला नै जनयुद्ध गर्ने भन्ने कुरा नउठेको होइन, तर तयारी नपुगेका कारण रोकिएको थियो ।
०४६ पछि जसरी पनि युद्धमा होमिनुपर्छ भन्ने तरिकाले नेताहरुले तयारी थाले । तर त्यतिबेला भर्खरै व्यवस्था परिवर्तन भएका कारण जनयुद्धमा जाने पक्षमा कार्यकर्ता खासै उत्साहित भएनन् । १ फागुन, ०५२ मा जनयुद्ध घोषणा भयो । ‘त्यो दिन निकै खुसी भइएको थियो,’ उनले भने ।
२२ वर्षकै उमेरमा केसी जनयुद्धमा आबद्ध भए । ‘फेरि यो निजी जीवनमा फर्किएला, घरको अंश लिइएला भन्ने दिमागमै सोच आउँदैनथ्यो,’ रातोपाटीसँग उनले भने, ‘राष्ट्रको परिवर्तन, सामुहिक जीवन, सबैले श्रम गर्ने समाज, त्यसको सामुहिक वितरण प्रणालीको समाजको मात्रै कल्पना हुन्थ्यो ।’
युद्धकै बेला उनको नाम ‘पारसमणि’ रहन गयो । उनी युद्धको समयमा सोही नामबाट चिनिन्थे । केसीले ०५८ सालसम्म माओवादीको रुकुम जिल्ला कमिटीमै रहेर काम गरे भने ०५९ बाट गुल्मी जिल्लाको इञ्चार्ज भएर काम गरे ।
०६२/६३ को आन्दोदलन सुरु हुनुभन्दा ठिक अघिसम्म उनी बाग्लुङ जिल्लाको इञ्चार्जको भूमिकामा रहेर जनयुद्धको नेतृत्व गरे । युद्धबारे उनी सम्झिन्छन्, ‘मोर्चाहरुमा सहभागी हुँदा खासै डर लाग्दैनथ्यो, साथीहरु सहिद भएपछि खबर लिएर उनीहरुको घरमा जान्थेँ र भन्थेँ–उहाँहरु सहिद हुनुभयो, भोलि हामी पनि सहिद हुन्छौँ तर यो देशमा परिवर्तन आउनुपर्छ ।’
शान्ति प्रक्रियापछि पनि उनी १२ वर्षसम्म बाग्लुङमै बसेर काम गरे । माओवादी विभाजनपछि मोहन वैद्य ‘किरण’तर्फ लागेका उनी ०७३ सालमा मात्रै गृह जिल्ला रुकुम फर्किएको बताउँछन् । ‘पछिल्लो समयको राजनीतिले आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्कने अवस्था बनायो,’ उनले भने, ‘०७३ मा मात्रै रुकुम आएको हुँ, पछिल्लो समय उनीहरु (किरण)को राजनीति इगोजस्तो देखियो, त्यसपछि म पुरानै घरमा फर्किएको हो ।’
केसी अहिले माओवादी पार्टीको केन्द्रीय सदस्य छन् ।
‘शिक्षिका श्रीमतीलाई राजीनामा गराएर युद्धमै’
०५५/५६ सालतिर माओवादी युद्ध चरम उत्कर्षमा थियो । आम जनतालाई समेत युद्धमा सामेल हुन आह्वान गरिएको थियो । माओवादीले पञ्चायत र त्यसअघिको शासन व्यवस्थाले अवलम्बन गरेको शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षाको संज्ञा दिएको थियो ।
तर उनकी श्रीमती निर्मला संगठनात्मक रुपमा पार्टीमा भए पनि शिक्षिका थिइन् । उनले निर्मलासँग जनयुद्धकै बेलामा जनवादी बिहे गरेका थिए । ‘दुनियाँका छोराछोरीलाई युद्धमा आह्वान गर्ने, आफ्नी श्रीमतीलाई शिक्षिका बनाउने भन्दै आलोचना हुन थाल्यो,’ उनले भने, ‘त्यसपछि श्रीमतीलाई समेत टिचिङ पेसाबाट राजीनामा गर्न लगाएर युद्धमै समावेश गराएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन
-
दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्
-
सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त