सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै सुदूरपश्चिमका कानुन मन्त्री रावलले दिए आफैलाई ग्रेस मार्कस् !

सोमबार, २५ पुस २०७९, १९ : ५८
सोमबार, २५ पुस २०७९

धनगढी । आफ्नो कार्यकालको उत्तरार्द्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री रावलले चाहे अनुसार काम गर्न नसकेको बताएका हुन् । तर धेरै निराशाजनक पनि नभएको उनको भनाई छ ।

आफ्नो पाँच वर्षे कार्यावधिमा नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका मन्त्री रावल २०७८ चैत्र २५ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भए । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल रहेको थियो । प्रमुख प्रतिपक्षमा रहँदाखेरि उनी प्रदेश सरकारका कटुआलोचकका रूपमा चिनिन्थे । 

‘त्यसताका तपाईंले प्रदेश सरकारको वार्षिक मूल्याङ्कनको क्रममा १० पूर्णाङ्कमा २ नम्बर दिनुहुन्थ्यो, अब आफ्नो कार्यावधिको कार्यसम्पादनलाई कति नम्बर दिनुहुन्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा एकछिन अलमलमा रहेका उनले भने, ‘मेरो पाँच वर्षे कार्यकालमा सत्तापक्ष र प्रतिपक्षको सशक्त भूमिका र अनुभूति रह्यो । वास्तवमा मेरो कार्यसम्पादन १० पूर्णाङ्कमा २ नम्बर त होइन, ३ नम्बर दिन्छु ।’ 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं. १ (२) बाट चुनाव लडेका रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप