बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

सोमबार, २५ पुस २०७९, १९ : ५१
सोमबार, २५ पुस २०७९

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साबिक विजेता न्यु डायमण्डले नयाँ बजार समाजिय युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आइतबारबाट शुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो । न्यु डायमण्डले जितबाट प्रतियोगिताको सुरुवात गर्दा नयाँ बजारले भने लगातार दोस्रो हार भोगेको छ । न्यु डायमण्डले नयाँ बजारलाई २५–२, २५–८ र २५–६ को सेटमा हराएको हो । यस जितसँगै डायमण्डले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

सोमवारै सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै पुलिसले दुई खेलबाट तालिकामा स्पष्ट ६ अंक जोड्न सफल भएको छ । एकतर्फी जित निकालेको पुलिसले एभरेष्टमाथि पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ को सहज जित निकालेको हो । यस समूहमा नयाँ बजार र एभरेष्ट रहेका छन् भने उनीहरुले अंक जोड्नसकेका छैनन् ।

प्रतियोगिता अन्तर्गत सोमवार नै पुरुष तर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानिलकण्ठ क्लबलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले बुढानिलकण्ठमाथि पहिलो सेटमा २५–१६, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१६ को सहज जित निकालेको हो । यससँगै हेल्प नेपालले पनि जारी प्रतियोगितामा सुखद् सुरुवात गर्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ । यस्तै दिनको दोस्रो खेलमा केशवलाल मेमोरियल भलिबल क्लबले मधेस प्रदेशलाई ३–१ सेटमा हरायो । केशवलालले २५–२१, २५–२३, २७–२९ र २५–१७ को सेटमा जित निकालेको हो ।

प्रतियोगिता अन्तर्गत सोमवार नै भएको पुरुष विधाको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो खेलमा पनि स्पष्ट जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा बलियो टोली दावाली क्लबलाई हराउँदै विजयी सुरुवात गरेको आर्मीले सोमवार मणिमुकुन्दलाई २५–११, २५–२० र २५–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । पुरुषतर्फको सोमवारकै अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–९, २५–१४ र २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगिता अन्तर्गत मंगलवार महिलातर्फ एपिएफ र गण्डकीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल न्यु डायमण्ड र एभरेष्टबीच प्रतिष्पर्धा हुनेछ । यस्तै पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस र ढोरपाटन, न्युटन र गण्डकी, मणिमुकुन्द र दावाली तथा बुढानिलकण्ठ र मधेस प्रदेशबीच खेल हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप