साझाको पुनर्जीवन कति सम्भव ?
नेपाली साहित्यिक कृति प्रकाशन र बिक्री वितरणका लागि कुनै समय साझा प्रकाशन एउटा ‘ब्रान्ड’ थियो । नेपालका स्थापित लेखकहरू उक्त संस्थाबाट पुस्तक प्रकाशन गर्न मरिहत्ते गर्थे । नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने उक्त संस्था बहुदलीय व्यवस्था पुनर्बहालीपछि ओरोलो लाग्ने क्रम बढ्यो । गणतन्त्रमा आइपुग्दा यसको अस्तित्व नै सङ्कट आउने स्थिति भयो । सरकारले पनि उसले प्रकाशन गर्दै आएका कक्षा ११ र १२ का पुस्तकहरू खोसेर जनक शिक्षा सामग्री केन्द्रलाई दिएर त्यसको हुर्मत लिने काम गर्यो ।
दार्जिलिङसम्म फैलिएका यसका शाखाहरू धेरै बन्द भए तर अहिले यसलाई पुनर्जीवन दिने प्रयास भइरहेको बताउँछन् साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल । “पहिले पहिले साझामा आफ्ना किताब पनि गोदाममा धमिरा लगाउने काम भएछ, निजी प्रकाशनले बिक्रीका लागि दिएका पुस्तक पनि धमिरा लगाउने काम भएछ,” उनी भन्छन्, “साझा प्रकाशनका लागि यी पुस्तक भार भएका छन् ।” यो भार हल्का बनाउन उनले वर्षमा तीन पटक एकल पुस्तक प्रदर्शनी सुरुवात गरेका छन् । गत वैशाखमा, दसैँअघि भदौमा र अहिले पुस १७ गतेदेखि देशका विभिन्न बिक्री केन्द्रहरूमा पुस्तक प्रदर्शनी हुँदैछ । यो क्रम आगामी वर्ष पनि हुने पोखरेल बताउँछन् ।
प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठान र सिनासले प्रकाशन गरेका पुस्तक र अन्य निजी प्रकाशनले प्रकाशन गरेका तर साझालाई बेच्न दिएका पुराना पुस्तकहरू राखिएका छन् ।
केन्द्रीय कार्यालयको प्रदर्शनी स्थलमा साझाको मुखपत्र गरिमाका पुराना अङ्कहरू पनि राखिएका छन् । गरिमा केही वर्षदेखि बन्द थियो तर गत वैशाखदेखि पुनः प्रकाशन सुरु भए पनि नयाँ अङ्कहरू नियमित प्रकाशन हुन सकिरहेको छैन । तर यस्ता पुराना पुस्तक बिक्रीबाट कति नै आम्दानी हुन्छ र ? भन्दा पोखरेल भन्छन्, “वैशाखको प्रदर्शनीमा ४८ लाखको बिक्री भयो, भदौमा २८ लाखको र पुसको १७ देखि सुरु भएकोमा ५ दिनमा ६ लाख पचास हजारको कारोबार भएको छ ।” बिक्रीबाट पोखरेल निकै उत्साहित छन् किनभने प्रदर्शनी नहुँदा धेरै नै कम हुन्थ्यो, एक किसिमले भन्ने हो भने बिक्री नै हुँदैन थियो ।
पुस्तक प्रदर्शनी स्थलमा वरिष्ठ नाट्यकर्मी अशेष मल्लसमेत भेटिए । साझा प्रकाशन पुग्दा आफ्नै घर पुगेको हो कि जस्तो अनुभव हुन्छ उनलाई ।
प्रदर्शनीमा साझाका आफ्नै, नेपाल प्रज्ञा प्रतिष्ठान, सिनास र कतिपय व्यक्तिगत प्रकाशनका पुस्तकहरू छन् । ती पुराना र नयाँ पुस्तकहरू २५ देखि ८० प्रतिशतसम्म छुट दिइएको छ । त्यसैले धेरै लेखक, साहित्यकार र पाठकहरू खरिद गर्न प्रदर्शनी स्थलमा पुगेका देखिन्छन् ।
पुस १७ गतेदेखि ३० गतेसम्मका हुने प्रदर्शनीमा ३ देखि २८ सय रुपैयाँ मूल्यसम्मका पुस्तक राखिएका छन् । त्यसमा सबैभन्दा सस्तो मूल्यको योगेन्द्र तिमल्सिनाको ‘बैँसको निर्वासित सहर’ कथासङ्ग्रह छ । त्यसको मूल्य ३ रुपैयाँ मात्र छ । यस्तै यसै वर्ष मदन पुरस्कारको उत्कृष्ट आठमा परेको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सबैभन्दा महँगो पुस्तक देखिन्छ । यसको मूल्य २८ सय रुपियाँ छ ।
यसैगरी यस वर्ष साझाद्वारा प्रकाशित राष्ट्रकवि माधव घिमिरेको ‘ऋतंभरा’ पनि प्रदर्शनीमा राखिएको छ । दामोदर पुडासैनी ‘किशोर’को ‘डोल्पो ओ डोल्पो’, श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दीलगायत थुप्रै नयाँ कृति प्रदर्शनीमा छन् भने तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित ‘श्रीमद्भागवत महापुराण’को नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न कृति बिक्रीका लागि राखिएका छन् ।
शुक्रबार बिहान ११ बजे साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकस्थित प्रदर्शनी कक्षमा पुस्तक प्रेमीहरूको निकै भीड थियो । ग्राहकहरू आफूलाई मनपरेका कृति छान्दै थिए । बाहिर खुला स्थानमा साझाको मुखपत्र गरिमाका पुराना अङ्कहरू राखिएका थिए भने टहराभित्र पुराना र नयाँ महत्त्वपूर्ण कृतिहरू राखिएका थिए ।
पुस्तक प्रदर्शनी स्थलमा वरिष्ठ नाट्यकर्मी अशेष मल्लसमेत भेटिए । साझा प्रकाशन पुग्दा आफ्नै घर पुगेको हो कि जस्तो अनुभव हुन्छ उनलाई । “साझाबाट मेरा ४, ५ वटा पुस्तक प्रकाशन भएका छन् । मेरो कृतिले २०४१ मा साझा पुरस्कार पनि पाएको थियो,” मल्ल भन्छन्, “एक समय आम लेखकहरूको धरोहरका रूपमा स्थापित भइसकेको थियो साझा, लेखक साहित्यकारको गर्वको विषय थियो ।”
साझामा धेरै महत्त्वपूर्ण कृतिहरू छन् भन्छन् उनी । ती कृति बाहिरका पसलहरूमा पाउन गाह्रो छ । ती कृतिहरू महत्त्व त्यसको जानकारी हुनेहरूलाई मात्र थाहा छ । धेरै अघिका भएकाले ती कृतिको मूल्य एक रुपियाँ, दुई रुपियाँ, पाँच रुपियाँ मात्र छन् । यस्ता कृतिहरू उनीहरूले आफ्ना गोदामबाट प्रदर्शनीमा राखिएको हुनाले मानिसहरू बाहिर नपाएका पुस्तकहरू पाइन्छ भनेर त्यहाँ जाने बताउँछन् मल्ल । मान्छेलाई त्यस्ता कृति पाइन्छ भन्ने आम पाठकको मनोविज्ञान छ ।
तर अहिले आर्थिक हिसाबले साझा धराशायी भएकोमा मल्ल चिन्तित देखिन्छन् । “त्यहाँ अत्यन्तै लापरबाही भएको छ, गोदाममा जानुभयो भने पुराना पुस्तकहरू सबै धमिराले खाएका छन्,” उनी भन्छन्, “साझाको भवन पनि ढल्न लागेको छ, त्यस्तो धरोहरबारे सरकालाई मतलब पनि छैन ।” साझा प्रकाशन आर्थिक रूपमा धराशायी हुनमा सम्पत्तिको व्यवस्थापन पनि राम्रोसँग नभएर हो । किनभने पुल्चोकमा मात्रै साझाको करोडौँको जग्गा छ, अरू शाखाहरूमा पनि उसका जग्गा र भवनहरू छन् । त्यसलाई व्यवस्थित र परिचालन गर्न सके साझा फेरि माथि उठ्न सक्छ भन्छन् मल्ल । पछिल्लो व्यवस्थापनले भत्किएको त्यो साझाको व्यवस्थापनलाई सुधार गर्ने प्रयास गरिरहेको ठान्छन् उनी ।
आफ्ना पुस्तकको रोयल्टी पाउँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्, “रोयल्टी पहिले त नियमित दिन्थ्यो । सरकारबाट पुस्तक छापिनु, साझा पुरस्कार पाउनु गरिमाको कुरा थियो त्यो बेला तर अहिले नाजुक अवस्थामा छ, उसबाट के आशा गर्नु ?” अहिले नयाँ महाप्रबन्धक आएपछि भने उनले पनि अलि अलि रोयल्टी पाएका छन् ।
पहिले बिक्री गर्दै आएका पुस्तकहरू साझाले पुनः बिक्री वितरण गर्न पायो भने आर्थिक रूपमा चल्न मात्र भए पनि सक्षम हुन्छ भन्छन् मल्ल । सरकारले त्यति गरिदियोस् भन्ने उनको चाहना छ ।
सोही प्रदर्शनीमा सानेपा बस्ने अर्का पुस्तक प्रेमी प्रवीण अधिकारी पनि भेटिए । खास गरी उनी लेखक अनि अनुवादक रहेछन् । यस्ता प्रदर्शनीमा प्रायः सम्पूर्ण पुस्तकहरू गोदामबाट निकालिने हुँदा खोजेका पुस्तक भेटिन्छन् भनेर उनी आएका रहेछन् । “प्रारम्भिक चरणका ३, ४ दशक नै साझाजस्ता ठुला प्रकाशक नभएकाले नेपाली साहित्यका धेरै चिज र राज्यले संरक्षण गरेका कृतिहरू साझासँग मात्रै छ, साझा या प्रज्ञा प्रतिष्ठानसँग छ,” उनी भन्छन्, “यी दुवै संस्थाहरू सरकारी–सेमी सरकारी भएकाले बजार व्यवस्थापन र प्रचार प्रसारभन्दा पनि गोदाममा नै थन्क्याएका हुन्छन् ।”
साझाको पहिलो उद्देश्य भनेको नेपाली वाङ्मय र साहित्यको श्रीवृद्धि हो र यसको मूल लक्ष्य पनि यही हो । तर आर्थिक रूपमा उभिनका लागि पाठ्यपुस्तक पनि छाप्नुपरेकाले नियमित काम होस् भनेर सरकारसँग अनुरोध गरेको पोखरेल बताउँछन् ।
साहित्यका विद्यार्थी र लेखकहरूका लागि विभिन्न लेखकका कृतिहरू आवश्यक पर्छन् तर कहीँ नपाइने उनको अनुभव छ । “हाम्रो देशमा न राम्रो खालको सार्वजनिक पुस्तकालय छ, न अहिलेका प्रकाशकहरूले पुराना किताबहरूलाई खोजी खोजी पुनः प्रकाशन गर्छन्,” उनी भन्छन्, “त्यसैले यस्ता प्रदर्शनीमा आफूले खोजेका कृति भेटिन्छ कि भनेर यहाँ आएको ।” उनले प्रदर्शनीबाट देवकोटाकै अनुवादमा अङ्ग्रेजी शकुन्तला महाकाव्य किने । त्यो त अरू ठाउँमा पाइन्न भन्छन् । उनले तमु– अङ्ग्रेजी–नेपाली शब्दकोश, ललितपुरमा ढुङ्गाका मूर्तिहरूको फोटो र शिलालेखमा भएका कुराहरूबारे लेखिएका पुस्तकहरू झोलामा बोकेका थिए ।
मूल्यका हिसाबले एकदमै पहुँचयोग्य र सस्ता हुने बताउँछन् प्रवीण । “डिस्काउन्ट पनि छ, प्रायः २०० रुपियाँ हाराहारीमा धेरैजसो पुस्तको मूल्य छ । अहिलेको बजार मूल्यभन्दा धेरै सस्ता पुस्तकहरू छन्,” प्रवीण भन्छन्, “भित्रको गुदीका हिसाबमा धेरै पुस्तकहरू उत्कृष्ट नै छन् तर छपाइ चाहिँ झुर नै छ ।” साझाको व्यावसायिक पक्ष चाहिँ नबिग्रिए हुन्थ्यो जस्तो लाग्छ उनलाई ।
–अब साझाले पुनर्जीवन पाउँछ त भन्ने प्रश्नमा साझा प्रकाशनका महाप्रबन्धक भन्छन्, “साझाले गरिआएको पहिलेको काम शिक्षा मन्त्रालयले फिर्ता गरिदियो भने पुनर्जीवन मात्र होइन, दौडन्छ ।” वास्तवमा विश्वविद्यालयमा आईए हुँदादेखि नै साझाले कोर्सका साहित्यिक कृति छाप्थ्यो, पछि ११ र १२ हुँदा पनि उसले नै छापेर बिक्री वितरण गथ्र्यो । जनक शिक्षालाई आफ्नै काम सम्पन्न गर्न भ्याइ नभ्याई छ । साझाको काम खोसेर उसैलाई दिइराख्नु आवश्यक थिएन । “शिक्षा मन्त्रालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न दिनुस् भनेको नाफा हुन्छ भनेर होइन,” उनी भन्छन्, पाठ्यपुस्तक किन्न आउँदा साझाका अन्य साहित्यिक पुस्तक पनि बिक्री हुन्छन् भनेर हो ।”
साझाको पहिलो उद्देश्य भनेको नेपाली वाङ्मय र साहित्यको श्रीवृद्धि हो र यसको मूल लक्ष्य पनि यही हो । तर आर्थिक रूपमा उभिनका लागि पाठ्यपुस्तक पनि छाप्नुपरेकाले नियमित काम होस् भनेर सरकारसँग अनुरोध गरेको पोखरेल बताउँछन् ।
साझालाई पुनर्जीवन दिन आन्तरिक खर्च पनि नियन्त्रण गर्नुपर्ने चुनौती छ । एक समय विश्व भाषा क्याम्पस परिसरमा रहेको बिक्री केन्द्रको भाडा रकम बुझाउन नसक्दाको तीतो अनुभव पनि साझासँग छ ।
सरकारले साझालाई कामविहीन बनाए पनि यसको व्यवस्थापन र व्यावसायिक क्षमतामा विस्तार गर्ने प्रयास गरिरहेको छ । सामान्य अवस्थामा साझा प्रकाशनले ३० देखि ३५ वटा पुस्तक प्रकाशन गर्ने गरेको अनुभव पोखरेलसँग छ । “साहित्यिक मूल्यका दृष्टिले महत्त्वपूर्ण पुराना आउट अफ स्टक भएका तर बजारमा माग भइरहने पुस्तक र नयाँ गरेर गत वर्ष ४४ वटा पुस्तक प्रकाशन गरेको थियो,” पोखरेल भन्छन्, “तीमध्ये १५ वटा नयाँ लेखकहरूसँग सम्झौता गरेर छाप्यौँ भने बाँकी पुराना पुस्तक छाप्यौँ ।” साझा प्रकाशनको इतिहासमै सबैभन्दा ठुलो १४२२ पृष्ठको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली’ शब्दकोश छापेकोमा उनी गर्व गर्छन् । यो पुस्तक १७ सयप्रति बिक्री पनि भएको छ । यस्तै ‘डोल्पो ओ डोल्पो’, ‘सन्दिग्ध शताब्दी’ जस्ता ताजा पुस्तकहरू पनि साझाले प्रकाशित गरी बिक्री गरेको छ । अहिले करिब २५, ३० वटा कृतिहरू छापिने पाइप लाइनमा रहेको उनी बताउँछन् ।
साझा आर्थिक हिसाबले धरमराएपछि लेखक साहित्यकारले रोयल्टी पनि गुमाउँदै गएका हुन् भन्ने प्रश्नमा पोखरेल भन्छन्, “म आएपछि धेरै रोयल्टी हुने लेखकलाई मर्का नपरोस् भनेर अलि अलि दिने गरेको छु । माधव घिमिरेको ‘ऋतम्भरा’ प्रकाशन गरी बिक्री गरेर एक लाख रुपियाँ रोयल्टी दियौँ, उहाँको पुरानोसहित ३ लाखभन्दा बढी बाँकी छ । तारानाथ शर्मा बित्नुभयो उहाँकी श्रीमती आउनुभयो, २७ हजार हस्तान्तरण गर्यौँ ।” ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’ करिब दुई लाख जति रोयल्टी दिइएको उनी बताउँछन् । यस वर्ष मात्रै ४, ५ लाखभन्दा बढी रुपियाँ लेखकलाई वितरण गरेको छ ।
साझासँग बिक्री गर्ने प्रयोजनका करिब १६, १७ करोडका पुस्तक छन् तर त्यत्रो दायित्व साझासँग छैन । यसलाई साझाको सकारात्मक पक्ष हो तर किताब थुपारेर मात्र भएन, जसरी पनि बिक्री गरिसक्नुपर्ने लक्ष्य साझासँग रहेको छ । त्यसका लागि विशेष प्रदर्शनी गरेका हौँ भन्छन् उनी । पुराना पुस्तकहरू बौद्धिक र अध्ययनशील पाठकका लागि महत्त्वपूर्ण हुन्छन् । बजारमा ती पुस्तक पाइरहेका हुँदैनन् । त्यसै गरी डिस्काउन्ट र पुरानो मूल्यले पनि ग्राहकलाई फाइदा हुने भएर यस्ता प्रदर्शनीमा आउँछन् । उदाहरण दिँदै एक जना ग्राहकले पाँच हजारमा ३५ वटा पुस्तक किनेर प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेको पनि पोखरेलले बताए ।
साझालाई पुनर्जीवन दिन आन्तरिक खर्च पनि नियन्त्रण गर्नुपर्ने चुनौती छ । एक समय विश्व भाषा क्याम्पस परिसरमा रहेको बिक्री केन्द्रको भाडा रकम बुझाउन नसक्दाको तीतो अनुभव पनि साझासँग छ । तर यो वर्ष मात्रै साझाले करिब १५ लाख रुपियाँ बुझाएको छ भन्छन् उनी । “सो केन्द्रका लागि भाडा मात्रै मासिक ८० हजार छ, बिक्रीका हिसाबले साझाका लागि त्यत्रो रकम तिरेर बस्न सक्ने हालतको संस्था होइन साझा”, पोखरेल भन्छन् “तर स्पेस र स्थानका हिसाबले एकदमै उपयुक्त छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’