राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट स्थानीयवासी मर्कामा
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षती पुर्याउने गरेका छन् ।
आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं ११ मा आफ्नै आँगनमा आगो ताप्दै गरेकी ३७ वर्षीया अनिता बोटे र घाँस काट्दै गरेका कावासोती–१२ का टीकाराम अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अधिकारी सामान्य उपचारपछि घर फर्किएका छ ।
उनीहरूजस्तै आफ्नै घरमा बसेको या आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको घटना पटकपटक दोहोरिने गरे पनि वन्यजन्तु नियन्त्रणमा निकुञ्ज तथा स्थानीय प्रशासन गम्भीर नबनेको स्थानीयले बताउने गरेका छ्न । उपभोक्ता समिति, निकुञ्ज प्रशासन, स्थानीय तह सबैसँग वन्यजन्तु नियन्त्रणको लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको कावासोती–१२ का डुनराज सिग्देलले बताए ।
वन्यजन्तुले मान्छेलाई गर्ने भौतिक आक्रमण मात्रै होइन किसानले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा स्थानीय थप मारमा परेका छ्न । जिल्लाको दक्षिण क्षेत्रका खेतमा एक वर्षमा तीन खेती हुने गरेको भएपनि बालीनालीमा वन्यजन्तुले क्षति पुर्याउँदा कृषकनै चिन्तित भएका हुन् । कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि गैँडालगायतका वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताए ।
विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित गेटबाट गैँडालगायतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले जानकारी दिए । गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतङ्क मच्चाएपछि स्थानीयवासी रातभर गैँडा कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो । “निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौं, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ”, उनले भने ।
गैँडालगायतका वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए । स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसान समस्यामा पर्ने गरेका कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद रानामगर बताउँछन् ।
वन्यजन्तुले बालीनाली नष्ट गरिदिने, मान्छेलाई भौतिक आक्रमण गर्ने घटना दिनहुँजसो बढे पनि जनप्रतिनिधिको चासो यसमा नपरेको स्थानीयको गुनासो छ । निर्वाचनका बेला वन्यजन्तु नियन्त्रण गर्ने जिम्मा लिन्छौं भनेर मत मागे पनि वन्यजन्तु नियन्त्रणको खासै काम जनप्रतिनिधिले नगरेको स्थानीय राजेश लम्सालले बताए । “नगरपालिकाको पहलमा मेस जाली लगाउने कामबाहेक वन्यजन्तु नियन्त्रण गर्ने अन्य कुनै प्रयास नहुँदा स्थानीयवासीको निकुञ्जप्रति हेर्ने दृष्टिकोण फेरिने हो कि भन्ने डर छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद