सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपालमा उत्पादित हस्तकला विदेशमा निर्यात गर्नेबारे छलफल

सोमबार, २५ पुस २०७९, ०९ : ३४
सोमबार, २५ पुस २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवर्द्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासंघका प्रतिनिधिहरुबीच छलफल भएको हो । 

काठमाडौँको सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा तोया नारायण ज्ञवालीले नेपालमा उत्पादन गरिने सामाग्रीको प्रवर्द्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदशिक बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा जोड दिए । त्यसका लागि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालका सामाग्रीको प्रवर्द्धनमा सहजीकरण गरिदिन सक्ने सचिव ज्ञवालीको भनाई थियो । उनले भने, ‘नेपालका मौलिक हस्तकलाका सामाग्री एनआरएनले आफू बसेको सम्बन्धित देशमा प्रवर्द्धन गर्न मद्दत गर्न सक्नेछन् ।‘ ‘तर, ती सामाग्रीको गुणस्तरीयता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको  मूल्य तथा बजार मागको मूल्याङ्कन लगायतमा महासंघमा आबद्ध सबैले ध्यान दिनुपर्छ ।’   

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गुणस्तरलाई ध्यान दिने हो भने विश्वका कुनै पनि देशमा नेपाली मौलिक सामाग्रीको प्रवर्द्धन गर्न सकिने बताए । एनआरएनएमा सन् २००९ देखि नै गैरआवासीय नेपाली संघले नेपाल प्रवर्द्धन समितिको स्थापना गरेर नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान पहल गरिरहेको बताए ।   

अध्यक्ष केसीले विश्वभर ६० लाख बढी नेपाली भएको र एनआरएनएकै सञ्जाल ८५ देशमा पुगिसकेकोले पनि नेपालको मौलिक उत्पादनलाई विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताए । नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरू पनि इच्छुक भएको भन्दै अध्यक्ष डा केसीले सरकारलाई लगानीका लागि सहजीकरण गरिदिन समेत आग्रह गरे । 

गैरआवासीय नेपाल संघ अन्तर्गतको नेपाल प्रवर्द्धन समितिका उपसंयोजक तथा एनसीसी हङकङका अध्यक्ष गोकर्ण ढकालले  नेपालमा  उत्पादनको विदेशमा माग भए पनि सो मागअनुसारको गुणस्तर र मापदण्ड अनुसार सामाग्री सप्लाई गर्न नसक्दा समस्या हुने गरेको बताए ।  आगामी दिनमा त्यस्ता सामाग्री उत्पादनपछि सङ्कलन र निर्यात तथा प्रवर्द्धनका लागि संयुक्त सङ्कलन केन्द्र बनाएर भए पनि विदेशी बजारको माग अनुरूपको बनाउनुपर्नेमा उनले जोड दिए ।  

यस्तै, संघका युवा संयोजक अब्दूल वासिद्ले नेपाली हस्तकलाका सामाग्रीको प्रवर्द्धनका लागि नेपाल सरकारले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले विदेशमा रहेका नेपालीहरूकै उत्पादनसँगै सहकार्य गरेर नेपालका हस्तकलाका सामाग्रीहरूलाई पनि समेटेर सँगसँगै प्रवर्द्धन गर्न आग्रह गर्नुभयो ।   

 महासंघका सदस्य स्वयम्भूरत्न तुलाधरले विदेशमा नेपाली मौलिक सामाग्रीको प्रवर्द्धनका लागि एनआरएनले अहम भूमिका निर्वाह गर्न सक्ने भन्दै सहयोग र सहकार्यका लागि आग्रह गरे । महासंघका प्रतिनिधिहरू, सुनिता श्रेष्ठ डा, सुनिल चित्रकार, रेशम पोखरेल लगायतका प्रतिनिधिले नेपाली हाउस स्थापनाका लागि जोड दिँदै नेपाली हस्तकलाका सामाग्री प्रवर्द्धनका लागि आग्रह गरे ।   

कार्यक्रममा मन्त्रालयका सचिवसहित प्रतिनिधिहरू, हस्तकला महासंघका प्रतिनिधि र गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष केसीसहितको प्रतिनिधि टोलीको उपस्थिति थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप