बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल निश्चिति
हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा माओवादीले सरकार गठन गर्ने भएको हो ।
उक्त सहमतिअनुसार आगामी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बन्ने निश्चित भएको हो । गत पुस १५ गते बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले जम्मकट्टेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुने संवैधानिक प्रावधान अनुसार माओवादी केन्द्रका जम्मकट्टेल मुख्यमन्त्री नियुक्त हुने निश्चित भएको हो ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका जम्मकट्टेल यसअघि पनि माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेताको जिम्मेवारीमा थिए । धादिङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुँदैछन्।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।
बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक सामान्य बहुमत गठबन्धनका दलहरु माओवादी केन्द्र, एमाले र राप्रपाले सहजै पाउने देखिन्छ । प्रदेशसभामा उक्त गठबन्धनको ६१ सिट छ, जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।
२१ सिट सहित प्रदेशसभामा प्रतिनिधित्व गरेको माओवादी केन्द्र प्रदेशको तेस्रो ठूलो दल हो । प्रदेशसभाको अघिल्लो कार्यकालमा नै मुख्यमन्त्रीमा दाबी गरेपनि तत्कालीन गठबन्धनको भागबण्डाका कारण माओवादी केन्द्र सरकारको नेतृत्वबाट बाहिरिएको थियो ।
प्रदेश सरकार गठनका लागि गत बिहीबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले दिएको समय सीमा भोलि सक्किँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण