मेनपावर कम्पनीमा विभागको छापा : अवैध रूपमा राखिएका ९९७ थान पासपोर्ट नियन्त्रणमा, सञ्चालक फरार
काठमाडौं । काठमाडौं महानगरपालिका–३, बाँसबारीमा रहेको एक संस्थामा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र लाखौं रूपैयाँ असुल गर्ने ‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो ।
छापा मारेर ९९७ थान पासपोर्ट बरामद गरिएको विभागले जनाएको छ । मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै उक्त संस्थाले १ लाखदेखि ५ लाख रूपैयाँसम्म पैसा असुल्ने गरेको पाइएको विभागले जनाएको छ ।
आफ्नो पासपोर्ट र १ लाख रूपैयाँ बुझाएका एक पीडितले आफुलाई लिथोनिया पठाइदिने भन्दै ५ लाख रूपैयाँ माग गरेको बताए । मलेसियाको समुन्द्रमा पानीजहाज कम्पनीमा काम गर्न पाउने र त्यसका लागि ५ लाख रूपैयाँ लाग्ने बताएपछि सोही आधारमा उनीसँग १ लाख रूपैयाँ अग्रिम रूपमा माग गरिएको थियो भने ४ लाख रूपैयाँ काम थालेपछि उतै दिने भनिएको थियो ।
‘लिथोनिया २ महिनाभित्रमा उडाउँछौं भनेको थियो । अहिले १ लाख रूपैयाँ दिनु, एग्रिमेन्ट अनुसार उता गएर तलब खान थालिसकेपछि थप ४ लाख रूपैयाँ दिनुपर्छ भनेको थियो,’ ती पीडितले भने ।
उनले कात्तिकको अन्तिमतिर कुमारी बैंकमा १ लाख रूपैयाँ जम्मासमेत गरेका थिए । तर, अहिलेसम्म पठाउने सुरसार नदेखिएपछि उनलाई आफू ठगिएको भन्ने लागेको थियो ।
‘कार्यालयमा आउनेहरूलाई सिग्नेचर गरेर पठाउने र नआउनेलाई फोन पनि नगर्ने । त्यसपछि हामीलाई उनीहरू ठगजस्तो लाग्यो । पछि सञ्चालक कहिले पनि सम्पर्कमा नआउने, कर्मचारीहरू अनेकन बाहना बनाएर बस्न थाले,’ ती पीडितले भने ।
यतिसम्म कि संकलन गरिएका पासपोर्ट समेत कार्यालयमा नराखेर अन्त कतै लुकाइएको थियो । विभागको टोली अनुगमन गर्न जाँदा ४ झोलामा प्याक गरेर राखेको अवस्थामा पासपोर्ट भेटियो । त्यतिमात्र नभएर स्कुटरको डिकीबाट समेत पोसपोर्ट बरामद गरिएको थियो ।
संस्थाका सञ्चालक भनिएका ४४ वर्षीय लालबहादुर लामा र सीईओ रोशन न्यौपाने विगत १५ दिनदेखि सम्पर्क बिहीन छन् । लामा काठमाडौंको गोकर्णेश्वर–६ मा बस्दै आएका थिए ।
मलेसियाको पानी जहाज कम्पनीमा काम गर्न पाउने भनेर एक अर्का पीडितले ४ लाख ४० हजार रूपैयाँ बुझाइसकेका छन् । ‘तुरुन्तै पैसा चाहियो, तपाईको भिसा आइसक्यो भनेपछि जग्गा धितो राखेर पैसा निकालेर दिएको थिएँ,’ ती पीडितले भने ।
उनलाई सुरूमा २० दिनभित्रमा भिसा आइसक्ने बताएका थिए । तर, मलेसियामा कुनै पनि कम्पनीबाट २० दिनमा भिसा आउन नसक्ने बताएपछि सञ्चालक लामाले आफूले जसरी पनि २० दिनमा भिसा उपलब्ध गराउने र ढुक्क हुन आग्रह गरेका थिए । लामाको कुरामा विश्वस्त रहेका ती पीडितलाई २० दिन पुगेपछि पुनः १५ दिन पर्खिन भनियो । १५ दिनपछि डुब्लिकेट भिसाको फोटो खिचेर भिसा आइसकेको भनेर उनलाई पठाइयो ।
१५ दिनपछि अब १÷२ दिनभित्रमा उड्नुपर्ने भन्दै आफ्नो कोठाको सामान बेच्न भनियो । आफ्नो कोठाका सबै सामान बेचेर उड्ने दिनको प्रतीक्षामा रहेका उनी अन्ततः ठगिएपछि अहिले विचल्लीमा परेका छन् ।
वैदेशिक रोजगार विभागमा दर्ता समेत नरहेको उक्त संस्थाले समुन्द्री क्षेत्रमा काम लगाइदिने भन्दै प्रत्येक व्यक्तिबाट लाखौं रूपैयाँ असुल गर्दै आएको थियो ।
अञ्जना केसीको घर भाडामा लिएर उक्त संस्थाले मर्चेन्ट नेभी सम्बन्धी तालिम दिने गरेको थियो । त्यही आधारमा विभिन्न देशमा काममा लगाइदिने भन्दै लाखौं रूपैयाँ असुल गर्दै आएको पाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।
विभागले छापा मारेपछि सञ्चालक लामा र सीईओ न्यौपाने फरार छन् । उक्त संस्थामा कार्यरत ४ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चारै जनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । उनीहरूले उक्त संस्थाले के कस्तो काम गर्नेबारे आफूहरूलाई केही जानकारी नरहेको बयान दिएका छन् । जे काम गर्न लगायो, त्यही अनुसारको काम गर्दै आएको तर, थप केही जानकारी नभएको उनीहरुले बयान दिएका छन् ।
उक्त संस्थाले विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई लाखौं रकम समेत असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा विभागको अनुगमन टोली नेपाल प्रहरीको सहयोगमा पुगेको थियो । सोही क्रममा चेकजाँच गर्दा अवधै रूपमा राखिएका ९९७ थान पासपोर्ट तथा कागजात नियन्त्रणमा लिइएको महानिर्देशक आचार्यले बताए ।
त्यसरी पासपोर्ट बुझाएका अधिकांशले कम्तीमा १ लाख रूपैयाँ अग्रिम रूपमा बुझाएका छन् । काममा लगाइदिने भन्दै प्रत्येक व्यक्तिलाई ५ लाखभन्दा बढी रूपैयाँ लाग्ने बताउँदै एडभान्सको रूपमा १ लाख रूपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाउने गरेको पाइएको हो । त्यसरी पैसा जम्मा गर्न लगाउँदा वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि जानकारी उल्लेख गरिएको छैन ।
वैदेशिक रोजगार सम्बन्धी कानुन अनुसार कारबाही गर्न समस्या परेको खण्डमा ठगी कसुर अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ । फरार रहेका दुवै जनामाथि अनुसन्धान गर्न विभागले प्रहरीलाई पत्र पठाउने तयारी गरेको छ ।
अहिले विभागमा बरामद गरिएका पासपोर्ट लिन आउनेहरूको भिड लागेको छ । उनीहरूले आफ्नो परिचय खुल्ने अन्य कागजातको आधारमा पासपोर्ट लिन सकिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)