केप टाउनको पानी सङ्कट विश्वलाई खतराको घण्टी
एजेन्सी
सायदै दृश्य योभन्दा बढी निर्जन हुनसक्छ । मध्यान्नमा सूर्यको तापले डढेको बालुवाको भूदृश्य, छिटपुट देखिने लडेका रूखका ठुटाहरू र केही मरेका माछाहरू । भग्नावशेष भवनहरू, सडकको अवशेष र एउटा रेल ट्र्याक मानवताको सङ्केत जनाउने कुरा यत्ति हुन् । यी धेरै पहिला यहाँबाट उठेको जीवनका अवशेष हुन् ।
सामान्य अवस्थामा यी अवशेषहरू दृश्यमा आउँदैनथे । जुन स्थानको बयान गरिरहेको छु, त्यो कुनै सुख्खा निर्जनस्थान होइन । केहीअघिसम्म यहाँ एक प्रमुख आधुनिक सहरको रक्तसञ्चारको काम गर्ने रिजरभ्वायर हुने गथ्र्यो ।
यी रूखहरू, भवनहरू र रेल ट्र्याकहरू सफा पानीको ५० फिट मुनि डुबेको अवस्थामा हुने गथ्र्यो । तर पानी सुकेर अहिले भुइँको सुख्खा माटो देखिएको अवस्था छ ।
“पानीको सतह घट्दै जाँदा प्रत्यक दिन केही नयाँ वस्तु बाहिर देखिन थालेको हो ।” स्थानीय स्पोर्टस क्लबका म्यानेजर ज्याक ड्रेयरले भने ।
ड्रेयरको घर रिजरभ्वायर नजिक छ । उनलाई दिनको केही समय यसको वरपर टहल्ने बानी परेको छ । पहिले २० यार्ड हिँडेर पानीको स्रोत नजिक पुग्ने उनी हाल त्यसका लागि डेढ माइल हिँड्नुपर्ने बताउँछन् ।
तर यो एक जनाको मात्र दुःखद् कहानी होइन, यो राष्ट्रिय सङ्कटकालको अवस्था हो । साथै यो क्षितिजमा आउँदै गरेको विश्वव्यापी सङ्कटको पूर्वाभास हो ।
वरिपरि सुन्दर पहाडले घेरिएको यो ठूलो रिजरभ्वाएरले केप टाउनको दुई–तिहाई पानीको पूर्ति गथ्र्यो । दक्षिण अफ्रिकी कृषिको उब्जाउ केन्द्र मानिने केप टाउनमा चालीस लाख मान्छेहरू बसोबास गर्छन् । यहाँ वरिपरिका खेतहरूमा उम्रेका फलफूल पश्चिमी देशका सुपरमार्केटको र्याक भरिन्छ, बसैभरी ।
तर पछिल्लो खडेरीले यो रिजरभ्वायरको पानी आफ्नो क्षमताको ११.७% मा झरेको छ र केही समयमै यसको पानीको सतह सहरमा पानी आपूर्ति गर्ने पाइपमा नजाने स्तरमा झर्दै छ ।
अफ्रिका महादेशको दशौँ ठूलो सहरले अभूतपूर्व सङ्कट बेहोर्न लागेको छ । पानी उपभोगमा लगाइएको कडा नियन्त्रणले हालका केही समय भरथेग गरिरहेको छ– तर यो प्रयाप्त नहुनसक्छ ।
‘शून्य दिन’ आउँदै छ । यो भनेको केप टाउनका सबै धारामा पानी आउन छोड्ने दिन हो । त्यसपछि पनि त्यहाँका बासिन्दाले पानीका लागि सहरका २०० स्थानमा राखिएका धाराबाट थोरै पानी उपयोगका लागि पाउँछन् । तर त्यसो गर्दा पनि वर्षाबाट प्रयाप्त पानी आएन भने आउँदै गरेको जाडोमा केप टाउनबासीले दुस्वप्नमा बाँच्नुपर्छ र त्यो दिन आउन सय दिन मात्र बाँकी रहेका छ ।
अधिकारीहरू यो अवस्थाले निम्त्याउने रोगको सक्रमण र सहरी विरोध समाना गर्ने तयारी गर्दै छन् । व्यवसायहरू सो अवस्था पनि टिक्ने रणनीति बनाइरहेका छन् । कैयौँ व्यवसायबाट हजारौँको सङ्ख्यामा कामदारहरू बाहिरिसकेका छन् ।
परिवारहरू समूह समूहमा ठूलो सङ्ख्यामा यो सहर छाडेर अन्तै जाने अनुमान पनि गरिँदै छ । कसैलाई थाहा छैन, ठूला सहरी क्षेत्रमा पानीको आपूर्ति बन्द हुँदा त्यसपछि के हुनेछ ? केहीले त अवस्था ‘म्याड म्याक्स’ फिल्ममा देखाइए जस्तो हुने बताएका छन् । पानी विश्लेषक बेनोत ले रोय भन्छन्– “मान्छेले सोचेको भन्दा पनि स्थिति खराब हुनसक्छ । युद्ध क्षेत्रमा पनि पानी पाइन्छ । पानी नै नहुने हो भने बेरोजगारी बढ्छ र त्यसले उत्पन्न हुने दुरावस्था नियन्त्रण गर्न सेना परिचालन गर्नुपर्छ ।”
केप टाउनको यो समस्या विश्वका लागि खतराको घण्टी हो : पानी सीमित स्रोत हो, मौसम परिवर्तनले यसमा असर पारिरहेको छ र संसारका समृद्ध भाग पनि यो समस्याबाट अछुतो छैनन् ।
तर यो पहिले चर्चामा नआएको विषय होइन । पश्चिम एसियामा जारी हिंसामा पानीको स्रोतमाथिको स्वामित्वको प्रतिस्पर्धाको पनि हात रहेको देखिन्छ । सैन्य रणनीतिकारहरूले पहिलेदेखि नै २१औँ शताब्दीका द्वन्द्वका सम्भावित कारणमा तेलभन्दा पानी हुनसक्ने बताएका छन् । सयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म ७० करोड मानिस पानीको अभावका कारण विस्थापित हुने चेतावनी दिएको छ ।
सहरी क्षेत्रमा पानीको अभावले जीवनलाई कसरी असर गर्छ भन्ने थाहा पाउन चाहनुहुन्छ हिजो आजको केप टाउनमा त्यसको उत्तर पाउनुहुन्छ । प्रत्यक व्यक्तिका लगि दैनिक ५० लिटर पानी सीमा तोकिएको छ । यो भनेको लन्डनमा एक जनाले एक पटक नुहाउन प्रयोग गर्ने पानी हो । सङ्कटकालीन नियन्त्रण अन्तर्गत कार धुन, बगैँचामा पानी हाल्न, स्विमिङ पुलमा पानी हाल्न गैरकानुनी घोषणा गरिएको छ ।
नुहाउँदा बाटामा नुहाइन्छ र त्यो पानी अन्य कामका लागि प्रयोग गरिन्छ । क्याफेहरूले आफ्ना ग्राहकहरूलाई ट्वाइलेट फ्लस नगर्न भनेका छन् । कपडाहरू धेरै समयसम्म लगाइन्छ । खेतमा पानीको मात्रा कटौती गरिएको छ । होटलहरूमा धाराहरू हटाइएका छन् र जताततै पानीको आपूर्ति कसरी बचाउने भनेर सङ्केत टासिएका छन् ।
पानी संरक्षण कमिटीकी प्रमुख जन्थिया लिमवर्गले आफूले पानीको अभावकै कारण कपाल पनि छोट्याएको बताइन् । “मसिनो कपाललाई थोरै पानी लाग्छ । यो हाम्रा लागि नयाँ यथार्थ हो । मौसम परिवर्तन यथार्थ हो । मौसमविदले दुई वर्षको विषम अवस्थापछि सन् २०१७ मा सामान्य वर्षा हुने अनुमान गरेका थिए तर त्यस्तो केही भएन ।”
कठोर राजनीति रहेको यो मुलुकमा यो अवस्थाको दोष कसलाई दिने भनेर होडबाजीको अवस्था रहेको छ । दोष मौसम परिवर्तनलाई मात्र दिने ठाउँ छैन । दशकभित्र जनसङ्ख्या दोब्बर हुँदा संरचनामा लगानी नै गरिएन ।
जनतासँग भने प्रयाप्त पानीका लागि प्रर्थाना गर्नबाहेक अर्को उपाय रहेको छैन । यो दृश्य रिजरभ्वायरको वरपर देखिन्छ । मान्छेहरू रिजरभ्वायरको छेउमा घुँडा टेकेर ईश्वरसँग प्रयाप्त वर्षाका लागि प्रार्थना गरिरहेका देखिन्छन् ।
पानी वितरणमा पनि धनी र गरिबबीच विभेद गरिएको कुराले मान्छेहरूमा असन्तुष्टि बढाएको छ । लागू गरिएको पानीको नियन्त्रण धनीहरूले आफ्ना स्विमिङ पुल भरिसकेपछि मात्र लागू गरिएकोमा गरिब क्षेत्रमा ठूलो असन्तुष्टि देखिन्छ ।
पानी सङ्कट गठबन्धनको कमिटी सदस्य साहिद मोहमेदले भने २,००,००० घरहरूमा ठूलो परिवार बस्छ । “तीनमा एक परिवारमा १५ जनासम्म बस्छन् । तर पानीको वितरण गरिँदा सानो परिवार भएको धनी परिवार र यी ठूला परवार दुवैमा समान गरिएको छ । यसले मान्छेमा रिस झनै बढाएको छ ।”
प्रशासन सम्भावित खराब अवस्थाका लागि तयारी गरिरहेको छ । उसको सबैभन्दा ठूलो प्राथमिकता दङगा नियन्त्रणमा रहेको देखिन्छ ।
यो सम्भावित सङ्कटलाई पश्चिममा मुलुकले पाठको रूपमा लिनुपर्छ भन्छन्, नामिबियाका आदिवासी केरसन पाफ्रे ज्याकसन “पश्चिममा मान्छेहरू सफा होलान, तिनका वरपरका सबै कुरा कारसमेत सफा होलान । सहरमा मान्छेहरू घण्टौँ सावर लिन्छन् ।” उनले थपे– “तर पानी जीवन हो । योसँग खेलाँची गर्न हुन्न ।”
अनुवाद : श्रवण उप्रेती
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?