मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
दस्तावेज

बाबुराम भट्टराईको खुलासा : जसपाभित्र पूर्वाग्रह, संङ्कीर्णता, पक्षपात र अपमानको शिकार हुनपर्‍यो

आइतबार, २४ पुस २०७९, १३ : ५५
आइतबार, २४ पुस २०७९

काठमाडौं । जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले जसपाभित्र पूर्वाग्रह, संङ्कीर्णता, पक्षपात र अपमानको शिकार हुनपरेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

७ वर्षअघि माओवादी छाडेर नयाँ शक्ति हुदै जसपामा पुगेका भट्टराई हाल नेकपा माओवादी केन्द्रमै फर्कने तयारीमा छन् । उनले विगत ७ बर्षमा पार्टी निर्माणबारे सिंहबवालोकन गर्दै जसपाबाट अलग हुनुपर्ने कारणबारे भनेका छन्, ‘पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । संगठनात्मक स्वैच्छाचारिताले गर्दा संगठन विल्कुलै तदर्थवादी बन्दै गयो ।’

पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले २०७९ पौष २४ गते बसेको नेसपाको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा लिखित राजनीतिक प्रतिवेदन पेश गर्दै ‘पार्टीका संगठन, समिति र सदस्य बढ्दै जानु पर्नेमा झन घट्दै गयो । कैयौं नेताकार्यकर्ताहरु राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य भए । एउटै पार्टीभित्र पूर्वाग्रह, संङ्कीर्णता, पक्षपात र अपमानको शिकार हुनपर्ने अवस्था सिर्जना भयो’, भनेका छन् ।

समाजवादको सृजनशील नयाँ धाराको विकास गर्नुको साटो ‘लोहियावाद’ नै समाजवादको सबैभन्दा राम्रो मोडेल र परिभाषा हो भन्नेतिर जोड दिएको देखियो । मुख्य नेतृत्वमा नै मधेश आन्दोलनको गरिमालाई विस्तार गर्नुभन्दा इतिहासमा सिमित गरी त्यसको व्याज मात्र खाने सोंच देखियो ।

उनले पार्टी भनेको एक संस्थागत समूहकार्य भएपनि जसपाभित्र पनि पछिल्लो समय सामुहिक र समावेशी नेतृत्व प्रणालीको बहस मुखरर भएपनि मुख्य नेतृत्वले त्यो बहस सुन्न तयार नभएकाले पार्टी छोड्नुपनरेको बताएका छन् । ‘अन्ततः जनता समाजवादी पार्टीसँग सम्बन्ध विच्छेद गरी नेपाल समाजवादी पार्टी गठन गर्न वाध्य भयौँ’, भट्टराईले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

यस्तो छ भट्टराईको प्रतिवेदनको अंश :

पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित २०७३ जेठ ३१ गते नयाँ शक्ति पार्टीको स्थापना गरिएको थियो । २०७६ वैशाख २३ गते तत्कालिन सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता गरी समाजवादी पार्टी (सपा) बनाइएको थियो । त्यसको ठीक एक वर्ष नपुग्दै २०७७ वैशाख १० गते तत्कालिन राष्ट्रिय जनता पार्टीसँंग समाजवादी पार्टीको एकता गरी जनता समाजवादी पार्टी, नेपाल बनेको थियो । र, पछिल्लो समय २०७९ साउन ..... गते नेपाल समाजवादी पार्टी निर्माण गरेर अहिले अघि बढिरहेका छौँ । सरसर्ति हेर्दा छोटो समयमा पार्टी गठन र पुनर्गठनको श्रृङ्खला तीव्र देखिनसक्दछ । तर नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको विचार, राजनीति र एजेण्डा आधारभूत रुपमा उही नै रहेको छ । राजनीतिक पार्टी भनेको अन्ततः विचारसहितको मिसन हो । तसर्थ, पार्टीको नाम र संख्याभन्दा पार्टीले अवलम्बन गरेको विचार, राजनीति, एजेण्डा के छ भनेर हेर्नुपर्दछ । वास्तवमा पार्टी साध्य नभएर साधन मात्रै हो ।

नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्म जति पनि पार्टी गठन, पुनर्गठनका प्रयासहरु भए ती कुनै निजी स्वार्थ र लाभका लागि थिएन । ती सबै युगीन आवश्यकता र जिम्मेवारीबोधको भावनाले ओतप्रोत थिए । पार्टी निर्माणको मुख्य आधार समावेशी चरित्रको एक वैकल्पिक प्रगतिशील–लोकतान्त्रिक, समाजवादी शक्तिको निर्माण गरी देशलाई समतामुलक समृद्धिको दिशामा लैजाने थियो । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सकारात्मक विभेद, सामाजिक न्याय, समावेशिता र समाजवाद उन्मुखजस्ता संवैधानिक आधारशीलालाई संवैधानिक प्रावधानमा अभिव्यक्त गरी देशको लोकतान्त्रीकरण र सङ्घीयकरणका बाँकी कार्यभार पूरा गर्नु थियो । त्यसको जगमा सुशासनयुक्त समावेशी विकास र समृद्धि हासिल गर्नु थियो । 

सुरुदेखि नै हाम्रा राजनीतिक एजेण्डाहरु प्रष्ट र मूर्त थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै पूर्ण र सबल पार्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बहुल राष्ट्रिय पहिचानका आधारमा सङ्घीयता र प्रदेशको पुनर्सीमाङ्कन, समावेशितालाई अझ ठोस र मूर्त बनाउने अनुपातिक आरक्षण प्रणाली, दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त निष्पक्ष संवैधानिक निकाय, अधिकार सम्पन्न जनलोकपालको व्यवस्था र भ्रष्टाचारको अन्त्य, तीव्र आर्थिक बृद्धि, समावेशी विकास, समन्यायिक वितरण र समतामुलक समृद्धि आदि हाम्रो आन्दोलनका ठोस एजेण्डाहरु थिए ।

हामीले विद्यमान औपचारिक, विकृत, संसदीय र ठिमाहा लोकतन्त्रको साटो सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक लोकतन्त्रको विकास गर्ने उद्घोष गरेका थियौं । राज्यको सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्रको सिद्धान्त मुताविक समाजवादउन्मुख राज्यको अभिष्ट हासिल गर्ने लक्ष्य राखेका थियौं । देशका सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायको पहिचान र अधिकारको आकांक्षालाई संवोधन गर्दै नयाँ प्रकारले राष्ट्रिय एकता हासिल गर्ने उद्देश्य राखेका थियौं ।

यसका साथसाथै हामीमा विश्वदृष्टिकोणसँग जोडिएका वैचारिक कार्यभारहरु पनि थिए । एकातिर हामीले शास्त्रीय पुँजीवाद, संसदीय उदार लोकतन्त्र तथा नवउदारवादी निरपेक्ष उदारीकरण, निजीकरण र भूमण्डलीकरणले सृजना गरेका आर्थिक अवसरका असमानता, बेथिति, शोषण, गरिबी, बेरोजगारी, कुशासन र अल्पविकासविरुद्ध जनमतलाई संगठित गर्नु परेको छ । अर्कोतिर शास्त्रीय, एकमनावादी, सङ्कीर्ण र जडसुत्रवादी साम्यवादी विचारधाराले सृजना गरेको सीमितता र जडताविरुद्ध बलियोसँग उभिन परेको छ । वैज्ञानिक समाजवादी चिन्तन पद्धति र परम्पराको सृजनशील विकासमार्फत् विचारधारात्मक शुन्यता र सङ्कटलाई चिर्दै जनसमुदायलाई समुन्नत समाजवादको उज्ज्वल भविष्यप्रति आशावादी बनाउनु परेको छ  ।

लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई बदनाम गर्न सामन्ती निरङ्कुशतावादी तत्वहरुले छर्ने गरेका झुठ, भ्रान्तिहरुको प्रतिवाद गर्नु परेको छ । सङ्कीर्ण राष्ट्रवाद, अन्धराष्ट्रवाद, नश्लवाद, नवफासीवाद, लोकरिज्याँईजस्ता विकृत विचारधारा र राजनीतिक प्रवृत्तिको जुन लहर चलेको छ । यस्ता विकृत र जनविरोधी विचार पद्धतिविरुद्धको संघर्ष पनि हाम्रो वैचारिक कार्यभारको महत्वपूर्ण पाटो हो ।

यी विचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य हासिल गर्नेतर्फ हाम्रा प्रयासहरु सोचे जसरी सफल भएनन् । यसको गम्भीर समीक्षा गर्नु पर्दछ ।

नयाँ पार्टी निर्माण विचार, राजनीति, मुद्दा, संगठन, नेतृत्व प्रणाली, व्यवस्थापन, संघर्षको स्वरुप, कार्यशैली सबै हिसाबले नयाँ हुनुपर्दथ्यो । विचार अनुरुपको संगठन भएन भने अन्ततः विचार नै असफल हुन्छ । वैचारिक रुपमा जुन उत्साह, ऊर्जा र विश्वाससहित नयाँ शक्ति पार्टी गठन भएको थियो, संगठनलगायत अन्य क्षेत्रमा त्यही स्प्रिटमा काम हुन सकेन । संगठनात्मक सिद्धान्त र नेतृत्व प्रणालीबारे नयाँ शक्ति पार्टीले नितान्त नयाँ प्रस्ताव अघि सारेकै हो, मुद्दाको हिसाबले पनि युगानुकूल सशक्त मुद्दाहरु स्थापित गर्दै लगेकै हो । विधानमा लेखिएका कुराहरुलाई संगठनात्मक जीवनमा लागु गर्दै जान नसक्दा पार्टीभित्र अवसरको खोजीमा आएका केही व्यक्तिहरुले संगठनको जीवन नै तहसनहस बनाए । राजनीतिक पृष्ठभूमि र गैरराजनीतिक पृष्ठभूमिबाट आएकाहरुबिच खासमा अन्तरघुलन नै हुनसकेन । राजनीतिक पृष्ठभूमि र गैरराजनीतिक पृष्ठभूमिबाट आएकाहरुको क्षमता र अनुभवको आधारमा सही कार्यविभाजन पनि हुन सकेन ।

नयाँ शक्ति पार्टी स्थापनाको ११ महिनापछि निर्वाचन आयो । निर्वाचन आयोगले दलीय चुनाव चिन्ह दिएन । जसको प्रत्यक्ष असर स्थानीय निर्वाचनमा पर्यो । अपेक्षित परिणाम नआएपछि पार्टीभित्र भागदौड सुरु भयो । समाजवादी शक्ति निर्माण गर्ने रणनीतिक उद्देश्यसहित तत्काल २०७४ को आम निर्वाचनका लागि कम्युनिष्ट पार्टी (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) हरुसँग गठबन्धन गरेर जाने प्रयत्न पनि सफल हुन सकेन । तत्कालै नेपाली कांग्रेससँग तालमेल गरेर चुनावमा जानुपर्ने अवस्था आयो । यसले पार्टीभित्र ठूलो भ्रम जन्मियो । जसको कारण पार्टी नेतृत्वमाथि नै शंका र अविश्वासको वातावरण बन्न पुग्योे ।

नयाँ राजनीतिक पार्टी निर्माण र विकासका लागि वैचारिक राजनीतिक स्पेस भएर मात्रै नपुग्ने रहेछ, त्यसका लागि समयको उपयुक्त छनौट पनि गर्नसक्नु पर्ने रहेछ । नयाँ शक्ति पार्टी हतारिएर घोषणा गर्नुभन्दा एकाध वर्ष पार्टी निर्माणको आधार तयार गर्न अभियान सञ्चालन गरेको भए निर्वाचनको दवाव पर्ने थिएन । निर्वाचनको दवाव नपरेको भए सायद नयाँ शक्ति पार्टी अर्कै रुपमा निर्माण हुने थियो । कम्तिमा १० वर्ष सत्तातिर फर्केर नहेर्ने पार्टी स्थापनाताकाको सङ्कल्प १ वर्षमै कमजोर हुनपुग्यो । त्यसले विशुद्ध भौतिक शक्ति निर्माणका लागि दवाव सिर्जना गर्यो । निकटवर्ती विचार मिल्ने शक्तिहरु र मुख्यतः पहिचानसहितको संघीयता पक्षधर शक्तिहरुसँग एकता प्रक्रिया शुरु भयो । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमबिचको एकता यसैको परिणाम थियो । त्यसपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिचको एकता पनि त्यसैको पछिल्लो श्रृङ्खला थियो ।

पार्टी एकता आधारभूत रुपमा सही हुँदाहुँदै पनि मधेस आन्दोलनको जगमा बनेका पार्टीहरुसँगको एकता सुखद् हुन सकेन । मधेस आन्दोलनको गरिमा, महत्व र मनोविज्ञानलाई उच्च सम्मान गरिएको थियो । तर मुख्य नेतृत्वमा देखिएको क्षेत्रीयतावादी सङ्कीर्ण सोंचका कारण राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्न सकिएन । साथै, देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको दिशातिर अभिमुख गराउन सकिएन । कार्यकारी नेतृत्वबाट जुनस्तरको वैचारिक काम हुनु पर्दथ्यो त्यतातिर रुचि पाइएन । समाजवादको सृजनशील नयाँ धाराको विकास गर्नुको साटो ‘लोहियावाद’ नै समाजवादको सबैभन्दा राम्रो मोडेल र परिभाषा हो भन्नेतिर जोड दिएको देखियो । मुख्य नेतृत्वमा नै मधेश आन्दोलनको गरिमालाई विस्तार गर्नुभन्दा इतिहासमा सिमित गरी त्यसको व्याज मात्र खाने सोंच देखियो ।

पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । संगठनात्मक स्वैच्छाचारिताले गर्दा संगठन विल्कुलै तदर्थवादी बन्दै गयो । पार्टीका संगठन, समिति र सदस्य बढ्दै जानु पर्नेमा झन घट्दै गयो । कैयौं नेताकार्यकर्ताहरु राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य भए । एउटै पार्टीभित्र पूर्वाग्रह, संङ्कीर्णता, पक्षपात र अपमानको शिकार हुनपर्ने अवस्था सिर्जना भयो ।  

पार्टी भनेको एक संस्थागत समूहकार्य पनि हो । पार्टीभित्र पछिल्लो समय सामुहिक र समावेशी नेतृत्व प्रणालीको बहस निकै मुखर भए पनि मुख्य नेतृत्वले त्यो बहस सुन्न तयार भएन । अन्ततः जनता समाजवादी पार्टीसँग सम्बन्ध विच्छेद गरी नेपाल समाजवादी पार्टी गठन गर्न वाध्य भयौँ ।

२०७९ आषाढ २८ र २९ गते काठमाण्डौंमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा पार्टी पुनर्गठनबारे २ विकल्प दिइएको थियो । ‘एक– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई– विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने ।’  

नेपाल समाजवादी पार्टीको गठन स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको र सङ्घ र प्रदेशको निर्वाचन मिति पनि घोषणा भैसकेको अवस्थामा भयो । शासकहरुको सत्ता स्वार्थका कारण दल विभाजन सम्बन्धी संवैधानिक अधिकार प्रयोग गर्न नपाउँदा पार्टी केन्द्रीय समिति र संसदीय दलमा झण्डै ५० प्रतिशत सदस्य संख्या रहेर पनि दलको मान्यता प्राप्त गर्न सकिएन । जसको कारण पार्टी पुनर्गठन प्रक्रियामा गम्भीर असर पर्न गयो ।

समुन्नत समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु नेसपाको मूल ध्येय हो । नेपाल समाजवादी पार्टीको घोषणा–पत्रमा स्पष्ट लेखिएको छ ः

‘नयाँ, अग्रगामी, प्रगतिशील–लोकतान्त्रिक चेतना तथा वास्तविक समाजवादी सोच भएको बलियो शक्तिविना देश अग्रगमनमा जान सक्दैन । वास्तविक रुपमा आर्थिक विकास र समृद्धिको युग शुरुवात हुन सक्दैन । तर यसका लागि विचार, संगठन, संघर्ष र नेतृत्व सबै हिसाबले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प र प्रस्तावना भएको राजनीतिक शक्ति चाहिन्छ । यसै उद्देश्यको परिपूर्तिका लागि स्वाधीनता, समावेशिता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आफ्ना मूलभूत सिद्धान्तको रूपमा अगाडि सारी नेपाल समाजवादी पार्टी स्थापना गरिएको छ ।’

उल्लेखित उद्देश्य प्राप्तिकालागि नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, वा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने हाम्रासामु यी दुबै विकल्प खुल्ला छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप