धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आईबीआरडीका ३७ वर्षीय प्रकाश गैरेको दिनचर्या नयाँ यन्त्र उपकरण बनाएर खेल्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नमै बित्छ । बचेकुचेका समय विभिन्न विद्यालयमा गई विद्यार्थीलाई विज्ञान, प्रविधिका ज्ञान र सिप बाँड्न ठिक्क हुन्छ ।
सामान्य किसान परिवारमा हुर्किएका गैरेले मानविकी संकायबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । विज्ञान विषय नै अध्ययन नगरेका उनको लगाव र झुकाव भने यन्त्र उपकरणसँग छ । र, त उनी स्थानीयस्तरमा इन्जिनियरको रूपमा कहलिनुका साथै सामाजिक सञ्जालमा छाएका छन् ।
उनी भन्छन्, ‘बाल्यकालदेखि मेरो रुचि विज्ञानका सामग्री निर्माणमा थियो । २०५५ सालमा कक्षा ८ मा पढ्दा मैलै हेलिकप्टरको नमुना बनाएको थिएँ । त्यतिबेला हाम्रोतिर राम्रोसँग विद्युतीकरणसम्म थिएन । बच्चादेखि मलाई, गोलीडण्डा खेल्दादेखि नै गाउँघरमा इन्जिनियर भन्थे । साथीहरू भाँडाकुटी खेल्दा मलाई इन्जिनियर भन्थे । यो मेरो सानैदेखिको प्यासन हो ।’
बाल्यावस्थामा गाइड गर्ने कोही नभएको बताउने उनी स्वअध्ययन गरेरै यहाँसम्म पुगेका हुन् । ‘मलाई गाइड गर्ने कोही थिएन । पुस्तकहरू पढ्थेँ । साइन्स र टेक्नोलोजीसँग जोडिएको विशेष व्यक्ति कोही थिएन । स्वअध्ययनले गर्दा हो । आजभोलि त धेरै सजिलो भएको छ, इन्टरनेटले गर्दा । १७/१८ वर्षको हुँदा भारतको दिल्ली, लखनउबाट साइन्सका प्रोजेक्टका किताब किनेर ल्याउँथेँ र त्यही अनुसार बनाउँथेँ । जे पनि गर्थेँ, आफ्नै बलबुतामा गर्थेँ ।’
अविष्कारका भिडियो सामाजिक सञ्जालमा भाइरल
उनले दैनिक जीवनयापनमा प्रयोग हुने हालसम्म ६५ भन्दा बढी आधुनिक यन्त्र उपकरण निर्माण गरेका छन् । खासगरी भान्सादेखि कार्यालयसम्म प्रयोग हुने विभिन्न उपकरण उनले निर्माण गर्दै आएका छन् ।
उनले २०६५ सालमै एक्स–रे मेसिन, भोटिङ मेसिन बनाए । अटो स्कुल बेल, आफै चल्ने बच्चाको झोलुङ्गो, कोभिडको बेला सेन्सर सेनिटाइजर मेसिन, स्मार्ट डस्टविन, खुर्सानी काट्ने मेसिन, पेन्सिल ताछ्ने मेसिन, रोटी बेल्ने मेसिन, रात परेपछि आफै बल्ने र बिहान भएपछि आफै निभ्ने बत्ती, पानी हालेपछि बल्ने बत्तीलगायत उनले निर्माण गरेका प्रमुख सामग्री हुन् ।
उनले भने, ‘आफै बज्ने अटो स्कुल बेल त मैले अहिले प्रत्येक स्कुलमा गई बेचिरहेको छु । जुन टाइम सेट गरेपछि आफै बज्छ । केही गर्नै पर्दैन । अहिले बनाएको ६५ वटा प्रोजेक्ट युट्युब, इन्स्टाग्राम, फेसबुक र टिकटकमा छन् । स्मार्ट डस्टविन, खुर्सानी काट्ने मेसिनको १० मिलियन भ्युज पुगेको छ ।‘
युट्युबमा राखेर आम्दानी
उनले घरमै ल्याब स्थापना गरेका छन् । ल्याबबाट उत्पादन हुने सामग्री केही बजारमा बेच्छन् । साथै त्यही सामग्रीका भिडियो एकदमै सरल तरिका र भाषामा उत्पादन गर्छन् र सामाजिक सञ्जालमा राख्छन् । उनको भिडियो सामग्री हेरेर पनि घरमा प्रयोग हुने उपकरण सजिलै बनाउन सकिन्छ ।
उनले आफ्ना आविष्कार सम्बन्धी भिडियो सामग्री ‘डियर ह्यामर’ भन्ने मेरो युट्युब च्यानलमा राख्ने गरेका छन् । जसबाट पनि आम्दानी हुने गरेको गैरै बताउँछन् ।
उनले भने, ‘अटो स्कुल बेल बनाएर बेच्दा मलाई त्यति फाइदा छैन । मैले चाइनासँग प्रतिस्पर्धा गर्नुपरेको छ । चाइनाले पनि बनाएर यहाँ पठाउँदो रहेछ । मैले यहाँ प्रति अटो स्कुल बेललाई ८ हजारमा बेचिरहेको छु ।’
सबै सामानका निर्माण विधि सामाजिक सञ्जालमै सार्वजनिक गर्दा तपाईको व्यावसायिकतामा के फाइदा हुन्छ भन्ने प्रश्नमा उनले थपे, ‘स–साना प्रोजेक्टलाई मात्रै सामाजिक सञ्जालमा पोष्ट गरेर सार्वजनिक गरेको छु । तर ठूलो पोजेक्टलाई गरेको छैन । अटो स्कुल बेलको विज्ञापन गरेको छु तर बनाउने विधि सार्वजनिक गरेको छैन ।’
उनले सामग्री बिक्री गरेरभन्दा सामग्रीका भिडियो साामाजिक सञ्जालमा राखेर राम्रो आम्दानी गर्दै आएको सुनाउँछन् । ‘टिकटकबाट धेरै भ्युज आए पनि युट्युवबाट थोरै भए पनि राम्रै आएको छ । छोटो समयमा राम्रो भ्युज छ । महिनामा २ सयदेखि ३ सय डलर अर्थात २५/२६ हजार आइरहेको छ । यो क्रममा बढोत्तरी छ’, उनले भने ।
के छ उनको ड्रिम प्रोक्जेक्ट ?
उनी विगत लामो समयदेखि आफ्नो ड्रिम प्रोजेक्टमा तल्लीन छन् । वैकल्पिक ऊर्जा सम्बन्धी ३ वटा प्रोजेक्ट अझै सार्वजनिक नगरेको बताउने गैरेले त्यसमा १० वर्षदेखि तल्लीन रहेको सुनाउँछन् । जसमा पेट्रोलको विकल्प कसरी खोज्न सकिन्छ भनेर लागेको बताउने उनी त्यसकै लागि पैसा जोहो गर्न सामाजिक सञ्जालको प्रयोग गरिरहेको बताउँछन् ।
उनले ल्याबबाट बचेको समय विद्यार्थीहरुलाई दिने गरेका छन् । जसबाट आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको उनी सुनाउँछन् । ‘स्कुलमा गएर विद्यार्थीलाई सिकाउँन पाउँदा मलाई खुसी लाग्छ । मेरो सम्पत्ति त्यही हो । विद्यार्थीहरु राति १२ बजेसम्म मलाई इन्स्टाग्राममा जिज्ञासा राखिरहेका हुन्छन् । यस्तो समस्या आयो, के गर्ने होला भनेर सोधिरहेका हुन्छन् । कहिले काहीँ आँखाबाट आँशु आउँछ, खुसीको सीमा रहन्न ।’
कञ्चनपुरको पुनर्वासको समशिक्षा विद्यालय, बेलौरीको ब्राइट स्टार बोर्डिङ स्कुल, कैलालीको धनगढीस्थित क्रिस्टल, ग्ली एकेडमीललगायत स्कुलमा साइन्स क्लब गठन गरी उनले पढाउँदै आएका छन् । उनले अगाडि थपे, ‘विद्यार्थीहरु साइन्सका प्रोजेक्टहरु बनाउँछन्, अनि विद्यालयहरुले बोलाउँछन् । कहाँनिर कोडिङ र प्रोग्रामिङ्ख मिलेको वा नमिलेको सिकाउँछु । तर म इन्जिनियर होइन ।’
सुदूरपश्चिम आविष्कार केन्द्र खोल्ने लक्ष्य
सुदूरपश्चिममा आविष्कार केन्द्र खोल्ने उनको सपना छ । जहाँ सबै विद्यार्थीहरुलाई ज्ञान र सिप बाँड्ने उनको धोको छ । तर लक्ष्य प्राप्तिमा समय लाग्ने उनी बताउँछन् ।
उनले पीडा फुकाउँदै भने, ‘मेरो भिडियो हेरेर क्यानाडा, पोर्चुगललगायत देशबाट धैरै प्रस्ताव र अवसर पनि आउँछन् । देशभित्रैबाट पनि धेरै व्यक्ति विशेषको प्रस्ताव आउँछ । मिलेर काम गरौं भन्नुहुन्छ । तर सोचेको र चाहेको ठाउँबाट आउँदैन । म चाहन्छु, राष्ट्रिय आविष्कार केन्द्रसहित सरकारी निकायबाट प्रस्ताव आओस् । तर सरकारी निकायबाट आउँदैन ।’
उनको गुनासो आफ्नो गृह नगरपालिकासँग पनि छ । उनी भन्छन्, ‘मैले आफ्नो प्रत्येक भिडियोमा ‘पुनर्वास कञ्चनपुर’ लेखेर आफ्नो ठाउँको प्रवर्द्धन पनि गरिरहेको हुन्छु । तर आफ्नै नगरपालिकाले मलाई चिन्न सकेको छैन ।’
उनले जबसम्म विज्ञान र प्रविधिको विकास हुँदैन, तबसम्म देशको विकास नहुनेमा ठोकुवा गर्छन् । ‘विज्ञानका जति पनि ग्याजेट छन्, ती सबै हामी आफैले बनाउनुप¥यो । मेरो पुस्ताले नसक्ला तर आउँदो पुस्ताले क्यामेरा, मोबाइल, कम्प्युटरलगायत आफै बनाउन सक्लान् नि । अनिमात्रै देशको विकास सम्भव छ ।’
प्रतिक्रिया