आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अरनिको स्मृति दिवस

अरनिकोको सालिकमा कस्तो पहिरन लगाउने ?

शनिबार, २३ पुस २०७९, १६ : १६
शनिबार, २३ पुस २०७९

आज आदरभावका साथ अरनिको (अनिको, अरनिको, अर्निको वा बलबाहु) लाई स्मरण गर्ने दिन । नेपाल सरकारको पञ्चांग निर्णायक समितिले आज (पुस २३) को दिनलाई ‘अरनिको स्मृति दिवस’ भनेर सूचीकृत गरेको छ । 

अरनिकोबारे केही भन्न वा लेख्न हामीसँगै खासै आधिकारिक स्रोत छैन । यसो हुँदा चिनियाँ स्रोत प्रयोग गर्ने प्रचलन बढी छ । यही आधारमा कलाविद्, विद्वान्, विदुषीले अरनिकोलाई यस्तै अनेकौँ नामले पुकार्ने गर्छन् । अरनिकोलाई ‘परबाहु’ पनि भन्ने सन्दर्भ उठ्न थालेको थियो । पछि संस्कृतिविद् सत्यमोहन जोशीले ‘परबाहु’ शब्द अपभ्रंश भएको भनी ‘बलबाहु’ वा ‘यालेबाबु’ हुन सक्छ भन्ने तर्क निकाले । अर्निको र बलबाहुको सन्दर्भमा अहिले पनि विवाद भइरहेकै छ । सबैले भन्ने गरेको र मान्ने गरेको नाम भने अरनिको नै हो । यसमा कलाविद्का पनि आ–आफ्नै तर्क र वितर्क हुने गर्छन् । 

सामान्य घरदेखि मठ–मन्दिर, दरबार, महल आदि यही वास्तुकलाभित्र पर्छन् । वास्तुकलाका शीर्षस्थ कलाकार हुन् अरनिको । नेपालमा पेगोडा–शैली, शिखर–शैली गुम्बज–शैली, चैत्य र स्तुपा–शैलीको लामो इतिहास छ । यस्तै, दरबार शैलीको समेत किसिम–किसिमका स्वरूप देखिँदै आएको छ । समयसँगै बाह्य कलाको प्रभावमा यी विकसित रूपमा देखिँदै आएका छन् । आज यी पुराना शैलीलाई पश्चिमी वास्तुकलाका शैलीले छोप्दा हामीले आफ्नो मौलिकतालाई खोज्नैपर्ने हुन्छ । अरनिकोका बारेमा स्मरण गरिरहँदा यो मूल विषय हुनुपर्ने हो । 

केही वर्षअघि राष्ट्रकै पहलमा वास्तुकलामा नेपालीपन हुनुपर्ने चर्चा उठेको थियो । नेपालीपनको चर्चा हुँदा भने अरनिकोको सन्दर्भ देखिन आउँछ । नेपालमा वास्तुकलाको अर्को विहङ्गम क्षेत्र छ— घर–महल बनाउने । घर बनाउन सिकाउने अनेकौँ शैक्षिक संस्था छन् । यसका पाठ्यक्रममा अरनिकोको नेपाली मौलिक वास्तुकलाका विशेषतालाई के कति पढाइन्छ थाहा छैन, अरनिकोको बारेमा छलफल गरेको समेत सुन्नमा आएको छैन । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा वास्तुकलालाई हेर्ने अलग्ग विभाग खडा गरिएको छ । तथापि यी निकायले वास्तुकलाको विषयमा केही गरेको देखिएको छैन । 

araniko-book

कलाकार अरनिको नामक पुस्तक 

कलाविद् सत्यमोहन जोशीकोे ‘कलाकार अरनिको’ नामक गहकिलो पुस्तक २०४४ मा प्रकाशनमा आएको थियो । त्यहाँ अरनिकोका बारेमा धेरै जानकारी छन् । सम्भवतः अरनिकोका बारेमा आजको दिनसम्म योभन्दा गहकिलो अन्य ग्रन्थ निक्लेको छैन । यही पुस्तक अनुसार, अरनिकोको जन्म सन् १२४४ मा र मृत्यु ११ मार्च १३०६ मा भएको थियो । उनी जन्मदा नेपालमा अभय मल्ल राजा थिए । अरनिको युवा अवस्थामै तिब्बत हिँडे, यता जयभीमदेव मल्ल राजा हुन पुगे ।  

अरनिकोको मृत्यु भने चीनमै भएको थियो । अरनिकोको कामलाई सम्मान गर्दै त्यहाँको तत्कालीन राजकीय निर्माण कला विभागमा उनलाई नियन्त्रकका रूपमा नियुक्त गरिएको थियो ।  उनलाई ‘मिङ होई’ र ‘ड्युक अफ लियाङ’ भन्ने मानपदवीद्वारा विभूषित समेत गरिएको थियो । यसबाहेक उनलाई ‘ल्याङको कुङ’को पदवी पनि प्रदान गरिएको थियो । जोशीको पुस्तकमा अरनिकोले बनाएको श्वैत चैत्यका बारेमा श्वैत चैत्यको अर्थ विशुद्धि नामकरणका साथ रेखाङ्कन चित्रसहित विस्तारमा व्याख्या गरिएको छ । चैत्यको शिरदेखि क्रमशः महामुकुट उष्णिश चूडामणिदेखि गजुर, कलश अम्बासा, धर्मछत्र, घण्टमाला, त्रयोदश भूपन, चक्, गर्भगृह, गोलचक्र, पद्मासन, वेदिका उपल्लो, मृगदाव, धर्मचक्र, वेदिका तल्लो, पादस्थापना आदि फेदसम्मको वर्णन गरिएको छ  । 

यसरी विस्तारमा गरिएको व्याख्यामा हरेकजसो अवयवले धर्म अनुसार विशेष अर्थ बोकेको कलागत विशेषतालाई छर्लंग पारेको छ । यसका साथै नेपाली मौलिक कलाको प्रत्याभूति पनि यसले यथेष्ट मात्रामा दिन्छ ।  ईशाको पहिलो शताब्दीमै बौद्ध धर्मको चीन प्रवेश भइसकेको थियो । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटी सम्राट स्रङ्चङ गम्पोसँग बिहे गरी तिब्बत गएपछि नेपाल र तिब्बतको सम्बन्ध राम्रो बन्न गएको थियो । उनैले नेपालबाट लगेका कैयौँ बुद्धका मूर्ति र अन्य कलाकृतिले नेपाल र तिब्बतलाई कलागत र सांस्कृतिक रूपमा जोड्ने काम गरेको थियो । बौद्ध धर्म र महात्मा बुद्धको प्रचार–प्रसार यथेष्ट मात्रामा हुन जाँदा नेपालको गरिमामय परम्परालाई पनि त्यहाँ मानसम्मान गर्न थालिएको थियो । यसैको निरन्तरतामा अरनिको अनि उनले बनाएको बहुमूल्य कृति ‘श्वैत चैत्य’ जोडिन आउँछ ।

अरनिकोको सालिक 

नेपालमा धेरै ठाउँमा अरनिकोको सालिक बनाई स्थापना गरिएको छ । नेपालमा सालिक बनाउने परम्परा आधिकारिक इतिहासकै रूपमा पनि ईशाको दोस्रो शताब्दीका राजा जयवर्माको कालदेखि प्रारम्भ भएको हो । राजा जयवर्माको पूर्णकदको सालिक प्राप्त भएको छ । उनको कालपछि लिच्छवि राजाहरू देखापरे । लिच्छवि राजाहरूको मुखाकृत सहितको कुनै पनि राजाको सालिक पाउन सकिएको छैन, यसपछि यता मल्ल कालमा आएर धेरै राजाको सालिक बन्ने गरेको छ । लिच्छवि राजाहरूको अर्कै ढंगको सालिक बनेको देखिन्छ, जुन सशरीर मान्छेको बने पनि मुखाकृति गरुडको हुने गर्दथ्यो । यही प्रथा पछि मल्लकालमा समेत देखिन्छ । यद्यपि पछिल्ला मल्ल राजाकै मुखाकृति सहितको सालिक बन्न थालेको देखिन्छ । शाहकालमा त राणा प्रधानमन्त्रीले बेलायतबाट कलाकार झिकाइ यथार्थ, वास्तुवादी मूर्ति बनाउन थालेको देखिन्छ, जसमा अहिले पनि टँुडिखेलमा घोडामा सवार राणा प्रधानमन्त्रीहरूको भव्य सालिकहरू देख्न सकिन्छ । उहिलेदेखि कलाकारहरूको सालिक बनाउने प्रचलन नहुँदा अरनिकोको सालिक कतै बनेको देखिँदैन । कलाकारलाई त्यसबखत मात्र शिल्पीकारको रूपमा हेरिने हुँदा उसकै कृतिमा नाम समेत लेख्ने चलन थिएन, कलाकारबारे अभिलेखन राख्नु परको कुरा भयो । यसर्थ अरनिको तिब्बत प्रस्थान हुनुअघि नेपालमै उनले के कति कलाका काम गरे भन्ने हामीसँग केही अभिलेख पाइँदैन । १३औँ शताब्दीका यी महान् हस्ती वास्तु कलाकारका बारे कहीँ केही उल्लेख नहुनु अनि यसैबेला उपत्यकामा सयौँको मात्रामा कलात्मक वास्तुकला बन्नु हाम्रो अभिलेखन परम्परामा केही नमिलेको जस्तो देखिन्छ ।    

आज बन्ने गरेका अरनिकोका सालिक झन्डै आजकै वेशभूषा (लबेदा सुरवालका साथ)मा देखिन्छन् । झन्डै सय वर्ष अघिदेखि नेपालमा फोटोग्राफीले प्रवेश गरेपछि त्यसवेलाका आम नेपालीले यस्तै प्रकारका लबेदा सुरुवाल (दौरा सुरुवाल) लाउँथे । जसलाई स्वदेशी र विदेशी फोटो ग्राफरले खिचेर राखेका छन् । सम्भवतः यही नै कलाकारका लागि स्रोतको रूपमा रहेको हुनुपर्छ । करिबकरिब यसैको प्रतिकृति जस्तो देखिने गरी अहिले अरनिकोका वेशाभूषा देखापरेका छन् । झन्डै सात–आठ सय वर्षअगाडि मल्लकालमा आम नेपालीले कस्ता खाले वेशभूषा, लुगाफाटा लागाउँथे भन्ने हामीकहाँ खासै अध्ययन गरेको देखिँदैन । राजा महाराजाको कलामा भारतीय मुगल वा राजपुत राजाले लाउने गरेको अति महँगा वेशभूषालाई चित्रण गरिएको देखिन्छ । तर सामान्य जनमानसको त्यस्तो कहीँ अभिलेख नपाउँदा हाललाई यो खोजीकै विषय रह्यो । 

अचेल बनेका अरनिकोका सालिक पनि अलगअलग मुहार र पोजमा  देखिन्छ । १७–१८ वर्षको युवावस्थामा उनी तिब्बत प्रस्थान गरेका हुन् भन्ने अभिलेखका आधारमा उनका सालिक पनि युवापन झल्कने खालका छन् । यसकारण धेरैजसोले यस बेलाको कलिलो अनुहारलाई प्रतिनिधित्व हुने गरी सालिक बनाइएको पाइन्छ ।

चाइनामा कलाकार अरनिकोमाथि कोरिएका व्यक्तिचित्र नितान्त अलग्ग छन् । स्वभावतः वेशभूषा पनि अलग्ग छ । नेपालमा अरनिको भनी कल्पना गरिएका मूर्तिमा कलाकार भएको नाताले हातमा ब्रस थम्याइदिने (अलग अलग पोजमा) गरेको देखिन्छ । अर्को हातले अलिकता मोटो कागजलाई गोलाकारमा राखेर समाएको देखाइने पनि गरेको छ । सम्भवतः यो घर बनाउनुअगाडि तयार गरिने नक्सा हुन सक्छ । कलाकार मनुजबाबु मिश्रको घरको प्रांगणमा रहेको अरनिकोको मूर्ति सर्वथा अलग्ग छ । घुँडा टेकेर अलग्ग पोजमा बसेको देखाइएको यो सालिकमा उनलाई भक्तपुरको ज्यापुको परिकल्पना गरी इस्टकोट लगाइएको छ । अनि गारो लगाउँदा इँटा फुटाउने ज्यावललाई हातले समाएको देखाइएको छ । यसका मूर्तिकार पूर्ण बनेम हुन् । समसामयिक कलाको रूपमा देखिने यी अरनिको मूर्ति पूर्ण बनेमकै अनुसार पनि मनुजबाबु मिश्रको स्वप्न सहर नामक उपन्यासको आधार बनाएका थिए ।  

नेपाली इतिहासलाई गहिरो अध्ययन गरी ऐतिहासिक चित्रको रचना गर्ने ८६ वर्ष कटिसकेका वयोवृद्ध कलाकार हरिप्रसाद शर्माले पनि ‘अरनिको चीन प्रस्थान’ भनेर चित्र बनाएका छन् । जसमा अरनिकोको पहिरन आज देखिने सामान्य लबेदा, सुरुवा, टोपी नै छन् ।  कलाकार भनेर चिनाउन कपडाको अलग्ग खालको झोलामा अन्य सामग्रीका साथै तुलिका टन्नै बोकेको देखाइएको छ । अहिले भारतीय सिरियलमा अलि पहिलेका धर्मशास्त्रमा आधारित धर्मपण्डितलाई यस्तै झोला बोकेको देखाइन्छ । सम्भवतः यसैका आधारमा यस्ता झोलाको प्रयोग भएको हुन सक्छ । अरनिको चित्रकारभन्दा पनि मूलतः वास्तुकलाका कलाकार हुँदा यही प्रतीकात्मक विम्ब कति उपयुक्त हो वा होइन खासै चर्चा छलफल भएको देखिँदैन । 

सबैभन्दा गौरव लाग्ने सन्दर्भ छ, उनले चीनमा बनाएको बौद्ध बिहारमा बौद्धसूत्र लेख्ने क्रममा नेपाली रञ्जना लिपिको प्रयोग गरिएको छ । त्यतिवेला यो रञ्जना लिपि औधि रूपमा प्रयोग गरिने नेपालको मौलिक लिपि थियो ।    

राष्ट्रले अरनिको स्मृति दिवस घोषणा गरे पनि राष्ट्र आफैँले, राष्ट्रद्वारा प्रदत्त कलाका आधिकारिक निकायले समेत अरनिको विषयमा कुनै कार्यक्रम गर्ने प्रचलन चाँहि छैन, गर्ने गरिँदैन । फाट्टफुट्ट कहिलेकाहीँ एकाध कार्यक्रमको आयोजना हुन्छन् तर यसलाई निरन्तरता दिने सोच कसैको देखिँदैन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बनाउँदै गरेको अजंगको अरनिको मूर्ति पनि कोठाभित्रै थन्किएको अवस्थामा छ ।  

images (3)

कलालाई व्यवसायको रूपमा अगाडि बढाउने संस्था ‘नेपाल कमर्सियल आर्टिस्ट, संघ’ले  भने कलाकार अरनिकोलाई विशेष रूपमा सम्झने गरेको छ । यहाँ धुमधामका साथ विभिन्न कार्यक्रम गरी ‘अरनिको स्मृति दिवस’ मनाएर झन्डै दुई दशकदेखि अरनिकोलाई सम्झने क्रम जारी छ । यो आर्टिस्ट संंघ आफैँ पनि २०५१ पौष २३ मै स्थापना भएको रहेछ । यसर्थ यस संस्थाको आफ्नै र अरनिकोको जन्मोत्सव सँगैसँगै मनाउने मेलोमेसो मिलेको हुन सक्छ । जे जस्तो भए पनि यो कलाको समूहले अग्रज कलाकारको सम्मान गर्ने परम्पराको विकास गरेको मान्नैपर्छ । 

सधैँजसो यो कार्यक्रमका मुख्य अतिथि संस्कृतिविद् सत्यमोहन जोशी हुने गर्थे । उनी अरनिकोबारे ज्ञाता थिए । उनलाई अरनिकोविद् पनि भन्न थालियो । उनले कण्ठस्थ भएजस्तो गरी अरनिकोका बारेमा लामो तथ्यपरक गाथालाई रोचक ढंगले प्रवचन दिन्थे, हरेकपल्ट श्रोतागण मख्ख परी सुनेर बस्दथे । यही वर्ष जोशी अस्ताए, अरनिको स्मृति दिवस शून्यजस्तै भएको छ । 

यो संस्थाले यही दिन एक दर्जनभन्दा बढी कलाका पुरस्कार दिने गर्छ । कलाको यो मात्र यस्तो संस्था हो, जसले यति विघ्न पुरकार दिने गर्दछ । अन्य कुनै पनि संस्थाले कलाकारलाई यसरी मान–सम्मानका साथ पुरस्कार व्यवस्था गरेको देखिँदैन । 

थाहा पाएर वा नपाएर यो संस्थाले स–साना पुरस्कार दिने चलन चलाउँदा चलाउँदै थुप्रै पुरस्कारको व्यवस्था गरिसकेको रहेछ । पुरस्कार सूची हेरौँ ः हेम गंंगा युवा कला प्रतिभा पुरस्कार, क्यान अमात्य कला पुरस्कार, बालकृष्ण स्मृति कला पुरस्कार, ऋचा मैनाली रिजाल स्मृति पुरस्कार, क्यान आइडल कला पुरस्कार, हेमगंगा महिला कला प्रतिभा पुरस्कार, मुल्मी ग्राफिक डिजाइन अवार्ड, निर्माण कला सम्मान, सुरेन्द्र प्रधान दीर्घ कला साधक सम्मान, क्यान सिग्देल आर्ट पुरस्कार, क्रोध कला शिरोमणि पुरस्कार, ज्ञानी शाह क्यान अमूर्तकला सम्मान, राजेश मानन्धर कार्टुन अवार्ड, ठाकुरप्रसाद इन्दिरा मैनाली मूर्तिकला पुरस्कार, नारायण देवी स्मृति पुरस्कार आदि ।

यस संस्थाको नेपालभर अनेकौँ शाखा छन् । आज यो संस्थाको क्रियाकलाप हेर्दा यसले व्यावसायिक कला, उपयोगी कलादेखि सिर्जनशील कला र यसपल्टदेखि लेखन–कलालाई समेत आफ्नो परिधिमा समेटेको छ । यसरी समग्र कला क्षेत्रलाई समेट्ने सम्भवतः यो पहिलो कला संस्था हो ।  

हाम्रो राष्ट्रमा आज अरनिको राष्ट्रिय विभूतिका रूपमा अथाह श्रद्धाका साथ स्थापित छन् । राष्ट्रले उनैको कृति अंकित दुईवटा हुलाक टिकट प्रकाशनमा ल्याइसकेको छ । उनी युवावस्थामै नेपालका ८० शिल्पकार लिएर गोल्डेन स्तुपा बनाउन तिब्बत हिँडेका थिए । प्रवासमा गएका यिनी नेपाल कहिल्यै फर्केनन् । तथापि तिब्बत अनि चीन हुँदै अनेकौँ कलात्मक वास्तुकला, चित्र र मूतर््िा  बनाउँदै नेपालको नाम विश्वभर नै प्रचलित गराए । बाह्य देशमा नेपाली कला शैलीलाई पनि स्थापित गराए । उनले श्वैत चैत्य बनाएर नेपालका नाम राखे । छिमेकी मुलुक चीनको हालको राजधानी पेकिङ पुगेका नेपाली वास्तुविद् कलाकार अरनिकोले तत्कालीन युआनवंशी सम्राट कुबलाइ खाँको आदेशमा आठ वर्ष लगाएर एउटा अनुपम श्यैत चैत्य (ह्वाइट डगोबा) र आठ वर्ष नै लगाएर अनुपम बौद्ध बिहार बनाएर देखाएपछि नेपाली वास्तुविद कलाकार अरनिकोको नाम र यस कृतिको चर्चा हुन गयो । त्यस्तै उनले तिब्बतमा समेत यस्ता चैत्य बनाएका थिए । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप