तिम्रो ह्याट्रिकलाई बधाई छ

पासा पल्टियो
भाग्य पुनः एक पटक तिम्रो दाहिने भयो,
डोकोमा उजेली गाईको दूध अडियो
चुहिने दुलोहरु
तिम्रो बँठ्याईको चोयाले
गज्जबले बुन्यो,
चुहिने दुलोहरु राम्रैसँग थुन्यो ।
पटक पटक उजेली गाईको थुनबाट
दूधको थोपाहरु चुहिरह्यो ।
तप तप तप...
तिमी हृष्ट पुष्ट हुँदै गयो
अवसरको भोजन गरेर,
मैंमत्त भएर मात्तिएको
छाडा साँढे जस्तै बनेर
बिगोहरुको भण्डार बनेर
यता डुल्यो, उता डुल्यो
जता जता गयो, उता उता
आफू भत्क्यो
अरुलाई पनि भत्काएर हिँड्यो ।
तिम्रो अस्थायी अस्थिर प्रवृत्तिमा
अलिकति सत्यता थियो
धेरै असत्यता
र, पनि
प्रारब्धले तिमीलाई साथ दियो
बधाई छ तिम्रो ह्याट्रिकलाई ।
नियम विपरीतको नियति
परिवन्दको पर्खालले घेरेको जिन्दगी,
यौद्धा र बन्दुक बिचको पिरती
पिरतीको कान्तिमा फक्रेको तिम्रो हुटहुटी
तिम्रो हुटहुटीको पूजा गरे
तिमीले टेकेको जमिनको माटोलाई
प्रसाद सम्झेर ग्रहण गरे
खोलाको पानीले
तिमीलाई कहिल्यै भिजाएन
मनसुनको झरीले तिमीलाई रुझ्न दिएन
बरु उनीहरु भिजे, उनीहरु रुझे
झुपडीको चुलोले
तिमीलाई कहिल्यै भोको राखेन ।
उनको शरीरले ग्रिनेटको छर्रा बोके
त्यो शरीरले तिमीलाई बोके
उनीहरुले बोकी बोकी जोगाएर पो
आज तिमीले ह्याट्रिक गर्न पाएको छौ
बधाई छ तिम्रो ह्याट्रिकलाई ।
तिम्रो दिन थियो
तिम्रो बोली बिक्थ्यो,
तिमीलाई निराकार देउता नै मान्थ्यो
आस्थाको आश्वासन ठान्थ्यो
विश्वासको बिम्ब सम्झिन्थ्यो,
तिम्रो लागि हाँसी हाँसी
ज्यान दिन तम्सिन्थ्यो
हिजो तिम्रो लागि रगत दिने
बा, आमा का छोराछोरीहरु
मलायादेखि अरबको गल्ली गल्लीमा,
तातो बतास सँगै बतासिएर
पसिनाले तिम्रो समकालीन
इतिहास लेख्दैछन् ।
तिम्रो चतुर्याइँ पनि गज्जबको
आफैं ढाल्दै,
आफैं उठाउँदैं
अमिल्दो अफ्ठ्यारो ठाउँमा
पलाएको घाउ जस्तो,
आफै चिरफार गर्दै, चिर्दै
मैमत्ता एक्ले राजा तिमीलाई
मन परे मन पर्नेले नि
मन नपर्नेले
मन नपर्दा नपर्दै पनि
तिमीले ह्याट्रिक गरिछाड्यो
त्यसैले, हार्दिक बधाई छ तिम्रो ह्याट्रिकलाई ।
तिम्रो ह्याट्रिकले कति हाँसे कति रोए
हिसाब किताब राख्ने लेखापाल बन्दिन म
यत्ति चाहिँ पक्कै भन्छु
तिम्रो ह्याट्रिकको
न म आरिस गर्छु
न म उत्साहित भएर उत्सव मनाउँछु
तिम्रो ह्याट्रिक मेरो लागि पाकेको बेल
म दुईखुट्टे नर काग
बाठो मान्छे तिमीले
नदेखेको भोलिहरुको लागि
उधारो आशा देखाउँदैं
सोझा सिधा बबुरो विश्वासहरुलाई
भरोसाको झोलामा खाँदी खाँदि
संकलन गरेर फर्केको छौ ।
नमिल्नेहरुसँग मिलेर
मिल्नेहरुसँग फुटेर
लोभको कसौंडीमा
स्वार्थको च्याँख्ला उमाल्दैं,
यो निवास र त्यो निवास धाउँदै
खै किन हो ?
कसको लागि हो ?
पटक पटक सत्ताको चास्नीमा डुब्न
मरिहत्ते गर्छौ ?
तिम्रो पूरा भएको सपना सँगै
बारुदको छर्रा बोकेको
घाइते जिन्दगीले राहत पाए
हराएको जिन्दगीको चिहान देखाए
फर्केर आउँछु भनेर दोबाटो चिहाएको
मुहारमा सत्य तथ्य कुराको खुशी फर्काए
तिम्रो ह्याट्रिकको
मुल्य अमुल्य बन्ने थियो ।
बधाई छ, तिम्रो ह्याट्रिकलाई ।
पाँचखाल, काभ्रेप्लान्चोक
हालः लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा