शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
टिप्पणी

के शिव–पार्वतीको कथा हुनाले स्वस्थानी नजलेको हो ?

शनिबार, २३ पुस २०७९, १२ : ४०
शनिबार, २३ पुस २०७९

पछिल्ला वर्ष स्वस्थानी व्रत–कथाको विषयवस्तु र पात्रलाई लिएर विविध टीकाटिप्पणी चलिरहेको छ । हरेक सांस्कृतिक चाडपर्व र धार्मिक अनुष्ठानको पछाडि कुनै न कुनै कथा हुन्छन् । दशैँ, तिहार, तीज, होली आदिको पिँधमा केही न केही कथा छन् । स्वस्थानी त आफैँमा कथा भन्ने पर्व हो । मान्छेको मन कथाबाटै प्रभावित हुने प्रकृति र प्रवृत्तिको हुन्छ । त्यसैले नयाँ होस् वा पुराना, प्रचलित कथामाथि हामीले बहस गर्नैपर्छ ।  

पात्रहरूबिनाको कथा हुँदैन । फरक यति हो, पात्रहरू दुई किसिमका हुन्छन्– लौकिक र अलौकिक । हाम्रा पौराणिक कथामा मानिस मात्रै होइन, ग्रह, तारा, ढुंगा, चरा, पशु आदि हाम्रै भाषामा बोल्छन् । यतिसम्म कि आकाश बोल्छ, अर्थात् आकाशवाणी हुन्छ । कथाका पात्र जो र जस्तासुकै होऊन्, तिनीहरू कतै न कतै प्रकृति वा प्रकृतिको शक्ति (काल्पनिक पनि) सँग जोडिएका हुन्छन् । र, कथाका पात्रले नकारात्मक वा सकारात्मक भूमिका निभाएकै हुन्छन् । 

के नकारात्मक र के सकारात्मक भन्ने प्रश्न जुन छ, यसमा मानिसले आ–आफ्नै बौद्धिक हैसियत अनुसार व्याख्या गरेको पाइन्छ । अधिकांशलाई यो थाहा छैन— नकारात्मक र सकारात्मक क्रिया वा गुण बौद्धिक हैसियतसँग मात्रै होइन, सिधै न्याय र अन्यायसँग सम्बन्धित छ । न्याय र अन्याय समग्र ब्रह्माण्ड वा प्रकृतिसँग पनि जोडिएको विषय हो । आज मान्छेका क्रियाकलापले प्रकृतिमै खराब असर परिरहेको छ । 

न्याय र अन्यायको प्रश्नमा, सबैभन्दा पहिले हामीले मानवतालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । कुनै व्यक्ति, समाज, संगठन वा राज्यको आचार र व्यवहारले कुनै अर्को व्यक्ति, समाज, संगठन वा राज्यमाथि मानसिक र शारीरिक हिंसा वा विभेद हुनु हुँदैन– प्राथमिक न्याय यही हो । यस कसीमा हामीले स्वस्थानी व्रतकथालाई परख गर्नुपर्छ ।  

शास्त्रकारले विधान गरेको जो नियम छ, त्यो व्रत हो र त्यो तपोमय हुन्छ । व्रतानुष्ठानमा गरिने जुन इन्द्रियदमन आदि क्रिया छन्, ती व्रतकै अंग मानिन्छन् ।

व्रत

स्वस्थानी कथा मात्रै होइन, व्रत–कथा हो । यसमा विधिपूर्वक व्रतानुष्ठान सम्पन्न गरिन्छ ।

प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशले ‘शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना’लाई व्रत भनेको छ । शब्दकोशमा व्रतको थप अर्थ छ, ‘देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम । नियतकालका निम्ति वा सधैँ केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन ।’ 

चेतोनाथ शर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’का अनुसार, वरण अर्थ भएको ‘वृ’ धातुबाट व्रत शब्द सिद्ध हुन्छ, जुन कुरा संकल्प गर्ने या चाहना राख्ने व्यक्तिको इच्छामा निर्भर रहन्छ ।

व्रतका सम्बन्धमा प्राचीन ग्रन्थ ऋग्वेदमा समेत केही श्लोक छन्– ‘विष्णोः कर्माणि पश्यत यतो व्रतानि पस्पशे । इन्द्रस्य युज्मः सखा ।’ अर्थात् देवराज इन्द्रको सहायक विष्णुको कर्म हेर, उनी आफ्नो व्रत याने आदेशको रक्षा गर्छन् । 

अग्नि पुराणमा भनिएको छ :

‘शास्त्रोदितो हि नियमो व्रतं तच्च तपो मतम् । 

नियमास्तु विशेषास्तु व्रतस्यैव दमादयः ।।

व्रतं हि कर्तृ सन्तापात्तप इत्यभिधीयते ।

इन्द्रियग्राम नियमाभिन्नयमश्चाभिधीयते ।।’

आज मानिसको मस्तिष्क र अवचेतन मनको शक्तिमाथि अनुसन्धान भइरहेका छन्, आत्मविश्वास भएकै मानिसले प्रगति गर्छन् भन्ने अनुसन्धानले देखाएकै छन् । तर, कसैले कसैलाई दास बनाउन वा कोही कसैको दास हुन आत्मविश्वास बढाउने होइन । 

अर्थात् शास्त्रकारले विधान गरेको जो नियम छ, त्यो व्रत हो र त्यो तपोमय हुन्छ । व्रतानुष्ठानमा गरिने जुन इन्द्रियदमन आदि क्रिया छन्, ती व्रतकै अंग मानिन्छन् । व्रतानुष्ठान दुई किसिमबाट गरिन्छन्, मानसिक संकल्प अनुसारको इच्छा पूरा गर्न र प्रायश्चितद्वारा पाप या दोष निवारण गर्न ।

कसैले संकल्प गर्‍यो– मदिरा सेवन नगर्ने, चोरी नगर्ने, भ्रष्टाचार नगर्ने वा व्यभिचार नगर्ने । यीमध्ये कुनै एक कार्य नगर्नका लागि कसैले मनमनै संकल्प गर्छ र त्यसो गर्दैन भने राम्रै भयो । तर मान्छेको मन र इन्द्रिय यति सजिलै बाँधिदैन । मान्छेको मन त्यसैको वशमा पर्छ, जेमाथि उसलाई विश्वास हुन्छ । प्रायः असाध्यै शक्तिशाली चिजलाई नै विश्वास गर्नु र त्यसको पूजाप्रार्थना गर्नु मानवीय प्रवृत्ति हो । आदिम मानवले खासगरी प्राकृतिक घटना पछाडिको कारणमा कुनै शक्ति वा देउताको कल्पना गर्न पुग्यो । पानी परोस्, अन्न फलोस्, विपत आइनलागोस् आदि प्रकृतिप्रतिको कामना वा प्रार्थनाको पिँधमा मानिसका अनेक संस्कृति जन्मेका छन् । प्रकृतिको शक्ति वा भगवानको पूजा वा प्रार्थना संसारभरि चल्दै आएकै छ । यसकै एक अंश निरन्तरता हो, स्वस्थानी व्रतकथा । 

हाम्रा अधिकांश संस्कृति विधि–तिथिसँग र विधि र तिथिहरू मौसमी खेतीसँग सम्बन्धित छन् । हिजो प्रकृतिको भर पर्ने युगमा, कुनै पनि बाली मौसम विचार गरी विधिपूर्वक लगाउनुपथ्र्यो । यसै विधिको बलमा टेकेर हामीकहाँ तन्त्रमन्त्रको विकास भयो । यसकै एक अंश निरन्तरता हो, स्वस्थानी व्रतकथा । 

तन्त्रमन्त्र विशेषतः मनसँग सम्बन्धित खेल हो, संसारमा नियम बिनाको कुनै खेल हुँदैन । कुनै काम विधिपूर्वक वा नियमपूर्वक गर्दा त्यसमा केहीबेर ध्यान दिनुपर्ने हुन्छ, यसो हुँदा सुरुमै मन भड्कन पाउँदैन । यो निश्चित छ— विधिपूर्वक पूजा गर्दा मान्छेको मन त्यसमै अडिन्छ र जसको पूजा गरेको हो, ऊप्रति विश्वास बढ्न थाल्छ । विश्वासपूर्वक गरिएको शक्तिको पूजाले मानसिक शक्ति बढ्छ । आज मानिसको मस्तिष्क र अवचेतन मनको शक्तिमाथि अनुसन्धान भइरहेका छन्, आत्मविश्वास भएकै मानिसले प्रगति गर्छन् भन्ने अनुसन्धानले देखाएकै छन् । तर, कसैले कसैलाई दास बनाउन वा कोही कसैको दास हुन आत्मविश्वास बढाउने होइन । 

स्वस्थानी व्रतकथाकै कुरा गरौँ— पार्वतीले शिवलाई पाउन व्रत बसिन् । यो प्रसंग त्यही समाजका लागि ठीक छ, जुन समाजमा पुरुषहरू शक्तिशाली हुन्छन् । महिलाहरूसँग सम्पत्ति, पेसा–व्यवसाय, रोजगारी, पद–प्रतिष्ठा हुन्छ भने उनीहरूलाई पाउन पुरुषहरूले संघर्ष गर्नुपर्ने हुन्छ । महिलालाई शक्तिशाली हुनदेखि रोक्ने किसिमको व्यवस्था वा परम्परा राज्य र समाजले अपनाउने अनि शक्तिशाली पुरुषलाई पाउन व्रत बस्ने बनाउनु उचित होइन । अर्कोतिर, आपसमा प्रेम भएका, उमेर पुगेका र हाडनाता बाहेकका व्यक्तिबीच विवाह हुन्छ भने त्यसमा विविध कारण देखाएर रोक्नु पनि न्यायोचित होइन ।  

कोही भन्न सक्लान्— आत्मनिर्भर त छु, तर रूप छैन, मैले जोडी कहाँ पाउँला र ! ढुक्क हुनु, यति धेरै मानिसमा अर्को कोही तपाईंसँग रूप र मन मिल्ने गरी जन्मेको छ । अर्कोतिर, प्रेम सम्बन्धमा धन र रूपले मात्रै होइन व्यवहारले अर्थ राख्छ । 

हामी त आफ्ना लागि व्रत बस्दै छौँ । वा, आफ्ना छोराछोरीको भलो होस् भनी पूजा–प्रार्थना गर्दै छौँ । सोच्नुस् त, सबैको न्याय र सबैले अवसर पाउने व्यवस्थाका लागि हामी व्रत बस्ने कहिले ? 

स्वस्थानी व्रतकथाको चर्चा गर्दा, निर्विवाद के छ भने, यो स्वस्थान अर्थात् आफ्नै स्थान वा ठाउँसँग सम्बन्धित छ । यस कथामा सृष्टि कथादेखि जन्म–पुनर्जन्मको कथा आएका छन् ।

स्वस्थानीको अर्थ र इतिहास

स्वस्थानी व्रतकथा कसले र कहिले रचना गर्‍यो भन्ने अझै अनुद्घाटित छ । विष्णुराज आत्रेयले श्लोकमा ‘स्वस्थानी व्रतकथा’ लेखेर त्यसको भूमिकामा काठमाडौं र मोफसलका विद्वान्मा समेत प्रचलित भनी एउटा अनुश्रुति उल्लेख गरेका छन् । उनका अनुसार, ‘आद्य शंकराचार्य विक्रमको आठौँ शताब्दीमा नेपाल आएका थिए । काठमाडौंको नक्साल चारढुंगेमा उनको शास्त्रार्थ त्यसबेलाका नेपाली विद्वान् अमर सिंह बाँडा (शाक्य)सँग भयो । त्यसबेला नेपालका एक सय नौ थान महत्त्वपूर्ण ग्रन्थ जलाइने क्रममा अमरसिंहले लेखेको ‘अमरकोश’, ‘स्वस्थानी’ र एउटा अन्य ग्रन्थ गरी तीनवटा ग्रन्थ जलाउन नपर्ने ठानियो । अमरकोशमा पाञ्चायन देवताको नाम र स्वस्थानीमा शिव–पार्वतीको कथा हुनाले यी दुई किताब जल्न पाएनन् ।’ 

हुन त यो अनश्रुति हो । निश्चित रूपमा यसले आंशिक सत्यतिर संकेत गरेकै छ । बाबुराम आचार्यको पुस्तक ‘नेपालको संक्षिप्त वृत्तान्त’का अनुसार, दशौँ शताब्दीको अन्त्यदेखि नेपालमा लिपिबद्ध हस्तलिखित पुस्तकका पाण्डुलिपि उपलब्ध छन् ।

वि.सं. ९३६ कात्तिक २६ गते तदनुसार २० अक्टुबर ८७९ देखि नेपालमा राजा राघवदेवबाट राष्ट्रिय संवतको उठान गरिएको पाइन्छ । आचार्य लेख्छन्, ‘नयाँ राजवंशको उत्थान भएको स्मारक स्वरूप यिनले नै ‘पशुपति भट्टारक संवत्’को नामले नयाँ संवत् प्रचलन आरम्भ गराएका थिए । यही संवत् आजभोलि नेवारी संवत् वा नेपाल संवत्को नामले प्रसिद्ध छ । पछि यसमा शंखधरको नाम जोडिन थालेको पाइन्छ ।’

स्वस्थानी व्रतकथा आफैँमा मौलिक वा उत्पत्ति कृति होइन, यो व्युत्पत्ति कृति हो । विभिन्न पौराणिक कथाको प्रभाव यसमा परेको छ ।

यस संवत् सुरुवातको किंवदन्ती शंखधरसँग सम्बन्धित छ । जस अनुसार, ज्योतिषीले दिएको शुभ साइतमा शंखधरले नदीबाट बालुवा ल्याउँछन्, त्यो बालुवा सुनमा परिणत हुन्छ र शंखधरले सम्पूर्ण देशवासीलाई ऋण मुक्त गर्छन् । यस अतिरञ्जित र अतिशयोक्तिपूर्ण किंवदन्तीमाथि विश्वास गर्न नसकिने आचार्यको धारणा छ । यो संवत् सुरु भएको आज ११४३ वर्ष भयो । निश्चय नै, यो संवत् सुरु भएको केही वर्षपछि यो किंवदन्तीको कल्पना गरिएको हो । मिथ्या हुँदाहुँदै पनि यस कथाले गरिबी हटाउन बालुवाबाट सुन निकाल्नुपर्नेतिर संकेत गरेको छ । झूटा नै सही, उन्नति र प्रगतिका लागि कथा कल्पनुलाई सभ्यताको एक कडी मान्नुपर्छ । 

स्वस्थानी व्रतकथाको चर्चा गर्दा, निर्विवाद के छ भने, यो स्वस्थान अर्थात् आफ्नै स्थान वा ठाउँसँग सम्बन्धित छ । यस कथामा सृष्टि कथादेखि जन्म–पुनर्जन्मको कथा आएका छन् । शिवले पार्वतीको शव बोकेर हिँड्दा पार्वतीका जुनजुन अंग जहाँजहाँ कुुहिएर पतन हुन्छन्, त्यहाँ त्यहाँ पीठ बनेको प्रसंग स्वस्थानीमा आएका छन् । यसबाट यस भूमिलाई पवित्र पार्न खोजिएको बुझिन्छ । यस्तै शालीनदीसँगै वरपरका भूभागको महत्त्व बढाउन यो कथा उद्यत छ । 

चेतोनाथशर्मा आचार्य लेख्छन्, ‘स्वस्थानी व्रतकथा भित्रको स्वस्थानस्थितिहेतुकम् भन्ने अंशले आफ्नै थातथलोमा अडेर र डटेर जीवनलाई अघि बढाउनुपर्ने कुराको संकेत गरेको छ ।

उसो त यस भूमिको महिमामा हामीसँग अन्य चार पुराण नै छन्— स्वयम्भू पुराण, पशुपति पुराण, हिमवतखण्ड र नेपाल महात्म्य ।

स्वस्थानी व्रतकथा आफैँमा मौलिक वा उत्पत्ति कृति होइन, यो व्युत्पत्ति कृति हो । विभिन्न पौराणिक कथाको प्रभाव यसमा परेको छ । विष्णुराज आत्रेय लेख्छन्, ‘नेपालमा प्रचलित स्वस्थानी कथा स्कन्द पुराण माहेश्वर खण्ड अन्तर्गत केदारखण्डको भनिए पनि उपलब्ध केदारखण्डमा स्वस्थानी कथा भेटिँदैन । अतः आफ्नो धर्म, संस्कृति र देशप्रति गौरव गर्ने कुनै नेपाली विद्वान्ले पद्मपुराण र लिंग पुराणको स्वस्थानी मूलकथालाई अन्य पुराणका शिव–पार्वती आदिका उपाख्यान जोडेर नयाँ स्वस्थानी तयार गरी त्यसलाई स्कन्द पुराण केदारखण्डसँग सम्बद्ध गराएको हुन सक्छ ।’

जेसिका भेन्टाइन बेरकेन्होल्जले स्वस्थानीको बारेमा लेखेको पुस्तक ‘रिसाइटिङ द गडेस’का अनुसार, अठारौँ शताब्दीको मध्यदेखि २०औँ शताब्दीको आरम्भसम्म स्वस्थानीले संस्कृत पुराणहरूमा निहित कर्म र विचारधारालाई ग्रहण गर्‍यो । राष्ट्रिय अभिलेखालयमा रहेको सन् १५७३ देखि प्रचलित स्वस्थानी व्रतकथालाई उनले सबैभन्दा पुरानो मानेकी छन् ।

सरसफाइ र दम्पती सम्बन्ध

२०१२ सालमा प्रकाशित स्वस्थानी व्रतकथामा पूजाको सामग्री र विधि यस प्रकार उल्लेख छ : 

आर्शी मनी बालुवाको शिवलिङ्गस्थापन गर्नू र त्यै शिवलिंगमा जोरेर श्रीखण्ड केशर कुङकुमका मसीले एक थालीमा अष्टदल यन्त्र लेखेर राख्नु । त्यै अष्टदलमा पूजाविधि अनुसार क्रमले पूजा गर्नु । 

प्राचीन कालमा विवाह संस्थालाई स्थापित गर्न सहज थिएन । पुरुषले बहुविवाह गर्ने हुँदा कतिपय अवस्थामा सामाजिक नियम तोडेरै स्त्रीले पनि बहुविवाह गर्नु अस्वाभाविक थिएन । त्यसैले वैवाहिक सम्बन्ध भत्कन नदिन पतिव्रताको मान्यता ल्याइयो ।  

पूजा थाल्ने दिन पौषशुक्ल चतुर्दशीका दिन हातगोडाका नङहरू काटी शुद्ध भई भोलिपल्ट पौष शुक्ल पूर्णिमाका दिन देखिन् शुद्ध रही हविष्य खाई स्वस्थानी भगवतीको छोटकरी पूजा गरि सायंकाल व्यतीत भयापछी कथाका आरम्भ गर्नू । श्रद्धापूर्वक चढायाको प्रसाद तहाँ कथा श्रवण गर्ने सबै जनाले भक्तिपूर्वक खानु एवं प्रकारले १ महिना पर्यन्त (अर्थात्) माघ शुक्ल पूर्णिमासम्म कथा सुनी खतम गरी ठूलो पूजा तेस दिन गर्नू । तेस दिनको सामग्री यस्तो चाहिन्छ ः अक्षता १०८ तेस्तै कुमारीले कातेको धागो १०८ तेस्तै कुमारीले अथवा सधुवा स्त्रीले कातेको बत्ती १०८ सिङ्गा सुपारी नपुगे काटेको सुपारी १०८ पान १०८ पुरी १०८ फल १०८ अर्थात् जे चढाये पनी १०८–१०८ राखनु । पञ्चामृत गङ्गाजल दुभो विल्पपत्र धतुरो धुपबत्ती निराजन जौ तिल कुश अर्ध कर्मपात्र शङ्ख घंटा दीयोकलश गणेश किसम्किसम्का नैवेद्य दक्षिणावस्त्र इत्यादि आफ्नु गछेले सके भरको पूजाको सराजाम तैयार गर्नु । 

यहाँ विशेष रूपले तीन कुरा आएका छन्— शिवलिंग स्थापना, अष्टदल यन्त्र र सरसफाइ । 

हातगोडाका नङ काटेर किन शुद्ध हुने ? देवीदेवताको पूजाआराधनाबाट एक त मानिसलाई सरसफाइको महत्त्व सिकाउनु थियो । नेपाल संवत्को नयाँ वर्ष फेरिएको दिनमा नेवार समुदायले म्हपूजा गर्छ । यस अनुष्ठानको आध्यात्मिक र धार्मिक महत्त्व आफ्नो ठाउँमा छ, यसले स्पष्ट रूपमा आफ्नो शरीरको सरसफाइमा विशेष जोड दिएको छ । सफा भए स्वस्थ भइने, स्वस्थ मान्छेले कर्म गर्न सक्ने र कर्मले नै गरिबी हट्ने विश्वास पनि स्वस्थानी व्रतकथामा लुकेको छ । यी सामान्य विज्ञानसम्मत् कुरा हुन् । 

यस्तै, स्वस्थानीको व्रतकथामा शिवलिंगको स्थापना किन गर्ने ? प्राचीन कालमा युद्ध, लुटपाट आदि बढी हुने हुँदा मानव समाज वा राज्यले रक्षाका खातिर बढी सन्तान र त्यसमा पनि पुत्र बढी जन्माउन चाहन्थ्यो । यसमाथि पवित्र लिंग अर्थात् कुल–वंशको विश्वास पनि छँदै थियो ।  

प्राचीन कालमा विवाह संस्थालाई स्थापित गर्न सहज थिएन । पुरुषले बहुविवाह गर्ने हुँदा कतिपय अवस्थामा सामाजिक नियम तोडेरै स्त्रीले पनि बहुविवाह गर्नु अस्वाभाविक थिएन । त्यसैले वैवाहिक सम्बन्ध भत्कन नदिन पतिव्रताको मान्यता ल्याइयो ।  

स्वस्थानीकै कथा हेर्नुस्, जवान गर्भवती पत्नी गोमया (गोमा)लाई छाडेर वृद्ध पति शिव शर्मा परदेश पस्छन् । सुत्केरी खर्च जुटाउने उनको ध्येय हुन्छ । शिव शर्मा फर्कंदैनन्, उनको उतै निधन हुन्छ । पहिले गोमाले कष्टले छोरो हुर्काउँछिन्, त्यसपछि पितालाई खोज्न परदेसिएको पुत्रलाई फर्काउने आह्वानसहित स्वस्थानीको व्रत बस्छिन् । अर्कोतिर, पुत्रलाई बाबु चिनाइदिनुपर्ने गोमाको सामाजिक र धार्मिक कर्तव्य बनाइएको थियो । पुत्रले पिताको सच्चाइ थाहा पाएपछि घर फर्कन्छन् । आज पनि, महिला हकका सम्बन्धमा प्रश्न अंशको मात्रै होइन, वंशको हकमाथि समेत हाम्रो बहस बाँकी छ ।    

स्वस्थानी कथामा आएको स्वस्थान र परदेशको सन्दर्भ हाम्रो आजको समाजदेखि त्यति धेरै टाढा छैन । आज पनि वैदेशिक रोजगारीले दाम्पत्य सम्बन्धमा खलल आएको प्रश्न हाम्रा लागि नौला होइनन् । आज दाम्पत्य सम्बन्ध र यौन सम्बन्धप्रति विश्वले नै फराकिलो दृष्टिकोण राख्नुपर्ने छँदै छ । योसँगै हामीले स्वदेशी उत्पादन बढाउनुपर्नेछ, ताकि देशमै रोजगारी सिर्जना भएर कामकै लागि बिदेसिनु नपरोस् । अथवा, कामका लागि अर्को देश वा महादेशमा बस्नुपर्दा पति र पत्नीबीचको भेटघाट सामान्य बनाइयोस् ।

उपरोक्त पूजा सामग्रीमा अष्टदल यन्त्र आएको छ । तन्त्र–मन्त्रले शरीरमा ऊर्जा प्रवाह हुन्छ, तन्त्र–मन्त्र मनको मैलो हटाउने विधि पनि हो । आजको चेतनामा अडिएर हामीले हटाउनुपर्ने मनको मैलो अन्तर्गत सामाजिक अन्याय नै प्रमुख हुन आउँछ । 

कथाले मानसिकतामा प्रभाव पार्छ । झुटा र अवैज्ञानिक कथाले मानिसको सोच र चिन्तनमा कस्तो असर गर्छ भन्ने सम्बन्धमा पनि हामीकहाँ बहस हुन बाँकी छ ।  

संशोधन गर्ने कि संग्रहालयमा राख्ने ?

हाम्रा कानुनका जग धार्मिक नीति–नियम वा शास्त्र नै हुन् । शास्त्रमा आधारित कानुनहरू संशोधन गर्दै हामी आज यहाँसम्म आइपुगेका छौँ । 

स्वस्थानी व्रतकथामा मिथ्या घटनासँगै बहुविवाह, बेमेल विवाह, लैंगिक विभेद आदिलाई प्रश्रय दिने थुप्रै सन्दर्भ छन् । त्यसैले आजका अलिकति चेतनशील महिलाले स्वस्थानी कथा पत्याउँदैनन्, यसमा विरोध पनि गरिरहेकै छन् । 

व्यवस्था विभेदकारी भयो भने न उत्पीडित वर्ग जन्मने हुन् र सामाजिक न्यायमा आधारित व्यवस्थाले नै उत्पीडन हटाउने हो । आजको मानिसको शिक्षा र स्वास्थ्य राम्रो हुन्छ, गरिखान रोजगारी र स्वरोजगारीको प्रत्याभूति हुन्छ भने कसैले मन कमजोर पारिरहनुपर्दैन । 

हिजोको चेतनाले जस्ता विभेदकारी शास्त्र वा पुराण बन्न पुगे, ती हाम्रा पुर्खाका अनुभवको सम्पत्ति हो । अनुभव सधैँ सुखद् वा न्यायकारी हुँदैनन् । विभेदकारी सम्पदालाई पनि हामीले भावी पुस्ताका लागि संरक्षण गरेर संग्रहालयमा राख्नुपर्छ ।  

यद्यपि, स्वस्थानी व्रत कथा मान्छेको आस्था र अनुष्ठानसँग जोडिएको छ । कसैले यही व्र्रत बस्न चाहन्छ भने यस कथाका विभेदकारी र अवैज्ञानिक प्रसंगलाई संशोधन गर्नेतिर बहस गर्न सकिन्छ । जस्तो ः सृष्टि कथामा आजको विज्ञान अनुरूप ब्रह्माण्ड र मानव समाज विकासको विषय राख्न सकिन्छ । विज्ञान आइसक्यो त अवैज्ञानिक कथा किन पढ्ने ?

त्यस्तै, सात वर्षीया गोमालाई २० वर्षीया र शिव शर्मालाई जवान बनाउन सकियो, जसरी कानुनका धारा संशोधित हुँदै आए । अर्कोतिर, प्रकृति र मनको शक्ति बुझाउने दर्शनमा केही मिथकीय घटना पनि राख्न सकियो । 

डा. योगी विकाशानन्दले स्वस्थानीका सम्बन्धमा भनेका छन्, ‘७० वर्षको बूढोले सात वर्षकी गोमासँग सहवास गरी गर्भवती गराउनुजस्ता प्रसंगबाट हाम्रा बालबालिका के सिक्लान् ? यही हैन कि संभोग त सातै वर्षदेखि पनि गर्न पो हुँदो रहेछ ।’   

कथाले मानसिकतामा प्रभाव पार्छ । झुटा र अवैज्ञानिक कथाले मानिसको सोच र चिन्तनमा कस्तो असर गर्छ भन्ने सम्बन्धमा पनि हामीकहाँ बहस हुन बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप