भूमिहीन भन्छन् - निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो ।
अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् । म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताइन् । “भूमिको नाममा कहीँकतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उनले भनिन्, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।”
सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी छिन् । “आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ,” उनले भनिन्, “अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ ।”
भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउछन् । निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ ।
वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हुँदा ढिलो भएको घिमिरेले बताए ।
म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्बासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु